विभिन्न कालखण्डको प्रतिनिधित्व
प्रयोगशील कला–सर्जक थिए, मनुजबाबु मिश्र । कला सिर्जनमा उनी जति प्रतिबद्ध र प्रयोगशील थिए, निबन्ध लेखनमा पनि त्यही शैली र तरिका अपनाए उनले । उम्दा कला–सिर्जनासँगै उनले उम्दा निबन्ध पनि लेखे । जुन आज नेपाली साहित्यका निम्ति अतुलनीय खजानाका रूपमा स्थापित छन् । उनले लेखेका प्रतिनिधि निबन्धहरूको सँगालो ‘एकलानुभूति’ ले विभिन्न कालखण्डको प्रतिनिधित्व गर्छन् ।
प्रजातन्त्रलाई विश्वकै उत्कृष्ट शासन प्रणाली मान्ने गरिन्छ । मिश्रले ‘प्रजातन्त्रको पोटे«ट’ मा भने संसारले नै सर्वोत्तम मानेको यो शासन प्रणालीमाथि शूक्ष्म रूपमा कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘प्रजातन्त्रको वर्ण, अनुहारको रङ कस्तो होला त ? एक्कासि अरिस्टोटलको मूर्तिमा देखेजस्तो अनुहार अनि राफायलले भ्याटिकन प्रासादमा बनाएको स्कुल अफ एथेन्समा चित्रित अरिस्टोटलको अनुहारजस्तो झलक मेरो मनमा आयो । अनि फेरि उनले प्रजातन्त्रलाई विकृततन्त्र भनेको पनि सम्झन पुगें । फेरि मार्टिन वर्नलले ब्लाक एथेनामा उठाएको प्रश्नलाई सम्झिँदा प्रजातन्त्रको रङ अवश्य पनि ग्रिकको सँग मिल्दैन जस्तो लाग्यो । त्यसो भए प्रजातन्त्रको अनुहारको रङ खुफु वा खाफ्राको जस्तै होला त ?’
विश्व कलाको इतिहासमा धेरै कला–सर्जकहरूले धेरै सिर्जना गरे । तर, अहिलेसम्म पनि मोनालिसाले जति चर्चा कमाए, अरू सिर्जनाले सायदै त्यति चर्चा पाए । आजभन्दा पाँच शताब्दीअघि भिन्चीले सिर्जना गरेको त्यो कलाकृतिलाई विश्व कलाको एक नम्बरको मापकका रूपमा लिइन्छ, अझै पनि । हुन पनि, मोनालिसाको लोकप्रियताकै कारण सत्रौं, अठारौं र उन्नाइसौं शताब्दीमा त्यो उम्दा रचनाको धेरै प्रतिकृति तयारसमेत पारिए । ‘एउटा लियोनार्दो, धेरै मोनालिसा’ मा उनले मोनालिसासँग जोडिएको रमाइला तथ्यहरू पस्किएका छन् ।
मिश्रका अधिकांश निबन्ध कला–धरालत र चिन्तन वरिपरि नै घुमेका छन् । चाहे चालीसको दशकमा प्रकाशित निबन्ध होस् वा साठीको दशकमा । अधिकांश निबन्धमा उनको कला–चिन्तन प्रस्ट रूपमा उजागर हुन्छन् । कला चिन्तन वरिपरि घुम्दाघुम्दै पनि उनी समसामयिक राजनीतिक बेथिति, विसंगति, सामाजिक मूल्यबोधमा आइरहेको ह्रासप्रति उत्तिकै चिन्ता जाहेर गर्छन्, जति चिन्ता र चिन्तन उनका कलाप्राधान्य निबन्धमा प्रकट हुन्छन् ।
दुई वर्षअघि निधन भएका मिश्रका जीवनकालमा ६ वटा निबन्धकृति प्रकाशनमा आए । ती थिए– मेरो चित्र मेरो छाया, अन्तर तरंग, तरंग तरेली, दुरान्तर, अनुहारका पानाहरू, म र मेरो परम्परा । यो संग्रहमा चालीसको दशकदेखि साठीको दशकसम्म प्रकाशित उनका तिनै ६ वटा निबन्धकृतिबाट चयन गरिएका उत्कृष्ट निबन्धहरू समेटिएका छन् । कुनै कालखण्डमा अधिक चर्चामा रहेका निबन्धहरूलाई नै ‘एकलानुभूति’ भित्र अटाएका छन् । हुन पनि पछिल्लो समय मिश्रका निबन्धकृतिहरू अप्राप्य नै थिए । विभिन्न समयको प्रतिनिधित्व गर्ने उनका निबन्धहरू एउटै सँगालोमा आउनु सुखद पक्ष हो ।
मिश्रका निबन्धहरू पढ्दा उनको विश्व कलाप्रति अध्ययनको धरातल कति फराकिलो रहेछ, उनको ज्ञानको ढोका कति समृद्ध रहेछ भन्ने स्पष्ट हुन्छ । अतः विश्वकलाको ज्ञान, इतिहास र आरोह–अवरोहबारे बुझ्न चाहनेहरूले उनको निबन्ध–क्षितिजलाई पर्गेल्नैपर्ने हुन्छ ।
कृति ः एकलानुभूति
विधा ः निबन्ध
निबन्धकार ः मनुजबाबु मिश्र
प्रकाशक ः फाइनप्रिन्ट
पृष्ठ ः २७४
मूल्य ः ५२५।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply