फास्ट ट्र्याकमा यस्तोसम्म चलखेल
काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई–मधेस द्रुत मार्गका दुई चरणको कामका लागि ठेकेदार कम्पनी छनोट गर्दा आफैंले बनाएको मापदण्ड लत्याएर आफखुसी गरेको खुलासा भएको छ । सेनाले दुवै चरणको कामका लागि पूर्वयोग्यतामा छनोट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य ठेकेदारका रूपमा शुक्रबार छनोट गरेपछि ठेक्कामा भइरहेको चलखेल बाहिर आएको हो ।
अझ एउटा चरणका लागि योग्य भएको कम्पनी अर्को चरणका लागि अयोग्य बनेपछि सेनाभित्र फास्ट ट्र्याकमा भएको चलखेल पर्दाफास भएको हो । उच्च सैनिक स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाका सहोदर साला राजन रायमाझी र ठेकेदार लोकेन्द्र कार्कीको योजनामा उनीहरूले लबिङ गरिरहेको पोली छाङदा इन्जिनियरिङ कम्पनी लिमिटेडलाई दुवै चरणको कामका लागि योग्य ठेकेदार छनोट गरिएको हो ।
सेनाले विश्वका अब्बल २ सय ५० अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीको सूचीमा रहेका कम्पनीलाई पन्छाएर सूचीमै नरहेको पोलीलाई छनोट गरेको हो । सेनाले ३० फागुन २०७६ मा पूर्वयोग्यताका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि बोलपत्र माग गरेको थियो ।
फास्ट ट्रयाकको सचिवालयले १४ असोज २०७७ मा पहिलो चरणका लागि २१ र दोस्रो चरणका लागि २२ वटा कम्पनी पूर्वयोग्यतामा छनोट भएका थिए । यसरी छनोट भएका कम्पनीमध्ये पहिलो चरणको कामका लागि अमेरिकी स्वतन्त्र मूल्यांकनकर्ता इन्जिनियरिङ न्युज रेकर्डले बनाएको सूचीमा रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सूचीमै नरहेको पोली छाङदा योग्य ठेकेदार छनोट भएका हुन् ।
यद्यपि यो रेकर्ड ठेकेदार छनोटको सम्पूर्ण मापदण्ड होइन, तर यसले विश्वमा कम्पनीले गरेका कामका आधारमा उसको योग्यता सूची बनाउने गर्छ । अझ अचम्म त एकै प्रकृतिको दोस्रो चरणको कामका लागि पहिलो चरणमा योग्य भएको चाइना स्टेट दोस्रो चरणमा बाहिरिएको छ ।
सेनाले दोस्रो चरणका लागि पोली छाङदा मात्रलाई योग्य ठेकेदार छनोट गरेको छ । सेनाले फास्ट ट्र्याकअन्तर्गतको ७२.५ किलोमिटरभित्र दुुई लेनको द्रुत बाटो, टनेल, पुलको सम्पूर्ण कामलाई फेज १ र फेज २ मा बाँडेर योग्य ठेकेदार छनोटको प्रक्रिया थालेको थियो ।
सैनिक स्रोतका अनुसार पहिलो फेजमा महादेवडाँडामा ३.३४ किलोमिटर डबल लेन टनेल, १ सय २० मिटरका दुई, ४ सय १० र ४ सय ३० मिटर गरी चारवटा पुल र चार लेनको बाटो बनाउनुुपर्नेछ । यसको अनुमानित ठेक्का रकम करिब २४ अर्ब छ । यस्तै दोस्रो फेजको काममा पनि तीन किलोमिटरभन्दा बढिका दुईवटा दुई लेन टनेल, पाँचवटा पुल र चारलेनको बाटो बनाउनुपर्नेछ ।
यसको अनुमानित लागत २१ अर्ब रहेको छ । सेनाले शुक्रबार गोरखापत्र र राइजिङ नेपालमा प्रकाशित भएको योग्य ठेकेदार छनोटसम्बन्धी सूचना हेरेपछि काठमाडौं तराई–मधेस द्रुतमार्ग सञ्चालक समितिका अधिकांश सदस्य अचम्ममा परे । सञ्चालक समितिले पहिलो चरणका लागि कम्तीमा आठ र दोस्रो चरणका लागि सात योग्य ठेकेदार कम्पनी छनोटको आन्तरिक सल्लाह गरेका थिए । तर, सूचनामा जम्मा दुई कम्पनी छनोट भएका थिए । त्यसमध्ये पनि एउटा कम्पनीको योग्यताका विषयमा समितिभित्र नै पटकपटक कुरा उठेको थियो ।
आयोजना प्रमुख रहेका सहायक रथी विकास पोखरेलसमेतले समितिका सदस्यहरूसँग ठेकेदार छनोटका विषयमा अनभिज्ञता देखाएका थिए । सरकारले नेपाली सेनालाई सुम्पेको गौरवको आयोजना काठमाडौं तराई–मधेस द्रुत मार्गको जिम्मेवारी प्रधानसेनापति थापाले रोलक्रममा रहेका रथी प्रभुराम शर्मालाई दिएका छन् । आयोजनाको सञ्चालन समितिमा प्रधानसेनापतिले एकजना रथी छनोट गर्न पाउने अधिकारअन्तर्गत उनलाई राखिएको हो ।
तर, सेनाभित्र आयोजनामा हुने बदामासीको दोषको भार बोकाउन शर्मालाई त्यहाँ लगिएको विश्लेषण सुरुवातदेखि गरिँदै आएको थियो । आयोजनाको सञ्चालक समितिमा प्रधानसेनापतिका विश्वासपात्र युुद्धकार्य महानिर्देशक उपरथी प्रेम शाही, अर्थ मन्त्रालयका सहसचिव सुुमन दाहाल, रक्षा मन्त्रालयका सहसचिव शिवराम न्यौपाने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिलादेवी बज्राचार्य र राष्ट्रिय योजना आयोगका सहसचिव डा. वासुदेव शर्मा सदस्य रहेका छन् ।
यो आयोजना नेपाल सरकार, मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०७४÷७५ बाट नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिएको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले चार वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी यो आयोजना निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले २०७६ भदौं १ मा आयोजनाको विस्तृत आयोजना विवरण (डीपीआर) स्वीकृत गराएको यो योजनाको अनुमानित लागत १ सय ७५ अर्ब रुपैयाँ रहेको छ । सेनाले आर्थिक वर्ष २०८१ मा आयोजना सक्ने लक्ष्य लिए पनि जग्गा विवाद नै टुंगोमा पुगेको छैन । यसले अझै लागत बढ्ने अनुमान गर्न सकिन्छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply