जातीय संस्कार बुझ्न उपयोगी
नेपाली समाज बहुसांस्कृतिक समाज हो । हुन पनि, नेपाली समाजको यथार्थ यसको विविधता र बहुलतामा झल्किन्छ । विविधता र बहुलताबाट नै राष्ट्र निर्माण हुँदै आएको छ । अनेक जातिका सामुहिक भावना र संवेदनशीलताले नै हाम्रो संस्कृतिलाई समृद्ध र भरिपूर्ण तुल्याउँदै आएको छ ।
प्रा.डा. प्रेम खत्रीद्वारा सम्पादित ‘नेपालको जातीय संस्कार’ पछिल्लो समय नेपाली वाङ्मयमा भित्रिएको उम्दा कृति हो, जुन ५ खण्डमा निस्किएका छन् । नेपालका प्रायजसो जाति÷जनजातिका सांस्कारिक पक्षहरू समेटिएका उक्त कृति करिब दुई दशकभन्दा बढी समयको अथक मिहिनेत र लगावको परिणतिसमेत बन्न पुगेको छ । २०५३ सालबाट प्रारम्भ भएको उक्त कार्य २०७६ सालमा आएर टुंगिएको थियो । सम्बन्धित जाति÷जनजातिको अध्ययन–अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरूले लेखेका सामग्रीलाई कुशल रूपमा सम्पादन र संयोजन गरिएको छ ।
पहिलो खण्डमा किसान, कुमाल, किरात (कोयु), ताजपुरिया, तामाङ, थकाली, दराई, धिमाल, बराम, ब्राह्मण, मगर, मेचे, राजवंशी, रानाथारु, लिम्बु, लेप्चा, वालुङ, सुनुवार र सेर्पा जातिको संस्कृति र संस्कारसँग जोडिएका पक्षहरू समाविष्ट छन् । दोस्रो खण्डमा कपाली, काठमाडौं तथा तराईका मुस्लिम, तराईका ब्राह्मण, दनुवार, दमाई, पहाडी मुसलमान, बाँतर, ल्होमी, बज्राचार्य, च्यामे, च्यामाखल, द्यौला, पोडे र हायू जातिबारे लेखिएका सामग्रीहरू छन् । तेस्रो खण्डमा उराँव, कामी, कायस्थ, कुशवाडिया, कोइरी, गन्धर्व, तेली, थामी, दुसाध, शिख, यादव, वादी, सतार र सार्की जातिका सामाजिक संस्कारबारे प्रस्ट पारिएका छन् । चौथो खण्डमा भने कीर्तिपुर भेगका ज्यापू, कोचिला थारू, चिडिमार, छन्त्याल, दशनामी सन्न्यास कर्म, पश्चिमाञ्चलका थारू, पहरी, बज्जी, बोटे, निस्याङ्तेन, मारवाडी, योल्मो, हुम्ली भोटे–लामा (साठीखोले) र श्रेष्ठको जातीय एवं सामाजिक संस्कारबारे उल्लेख छन् र पाँचौ खण्डमा पश्चिम नेपालको काइके मगर, कानू, कुर्मी, कुसुन्डा, गोपाली, डोम, पुमा राई, बान्तवा राई, दार्चुलाका व्यासी, माझी, मुगाल (मुगुम), याख्खा, राउटे, राजी, रौनियार, साम्पाङ, सुदूरपश्चिमका ब्राह्मण र सोनार जातिका सांस्कृतिक पक्षबारे लेखिएका छन् ।
अहिलेसम्म नेपालका विभिन्न जाति÷जनजातिहरूका सामाजिक, सांस्कृतिक पक्षहरूबारे व्यवस्थित रूपमा पुस्तकहरू लेखिएका थिएनन् । नेपाली संस्कृतिको गहन अध्यता डा. खत्रीलाई यो कार्यमा अग्रसर हुन नेपाल प्रज्ञा–प्रतिष्ठानले सघाएपछि नै पाँच खण्डसम्मका कृतिहरू आउन सम्भव देखिएको हो । प्रज्ञा–प्रतिष्ठानको लामो र धैर्यवान् परियोजनाअन्तर्गत नै यी कृतिहरू बाहिर आउन सकेका हुन् ।
पछिल्लो समय प्रज्ञा–प्रतिष्ठानले गहन खोज र अनुसन्धानमूलक पुस्तकहरूका प्रकाशनमा विशेष ध्यान पु¥याउन थालेको दृष्टान्त पनि यी कृतिहरू हुन् । विगतमा आफ्ना निकटस्थ, चाकडीबाज र सत्ताको वरिपरि घुम्नेहरूका पुस्तक प्रकाशनमा लगाव राख्दै आएको प्रज्ञा–प्रतिष्ठानद्वारा नेपाली समाज, संस्कृति, भाषा, साहित्यलाई बुझ्ने गहन र अर्थमूलक कृतिहरू प्रकाशन गरिनु सुखद पक्ष मान्नुपर्छ । तर, प्रज्ञा–प्रतिष्ठानले अझै पनि पुस्तक प्रकाशन गरेर प्रचारप्रसार र वितरणमा उचित ध्यान दिन नसक्दा आम पाठकका बीचमा गहन कृतिहरू पुग्न सकेका छैनन् । वितरण प्रणालीमा चुस्त र प्रभावकारी नहुँदा राम्रा र पठनीय कृतिहरू गोदाममै थन्किएर बस्नुपरिरहेको अवस्था छ । प्रा.डा. खत्रीले सम्पादन गरेका ‘नेपालको जातीय संस्कार’ जस्ता कृतिहरूको वितरणमा उचित ध्यान पु¥याउन सके प्रज्ञा–प्रतिष्ठानले केकस्ता कार्य गरिरहेको छ भन्ने स्वतः प्रस्ट हुने थियो ।
कृति ः नेपालका जातीय संस्कार (५ खण्ड)
विधा ः संस्कृति
सम्पादक ः प्रा.डा. प्रेम खत्री
प्रकाशक ः नेपाल प्रज्ञा–प्रतिष्ठान
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply