कांग्रेसको दहीच्युरे पारा

काठमाडौं । आफूलाई प्रजातन्त्र र लोकतान्त्रिक धारको पर्याय दाबी गर्ने नेपाली कांग्रेस केपी ओलीले प्रतिनिधीसभा भंग गरेर संविधानलाई च्यातचुत पारेको लामो समय भइसक्दा पनि ढुलमुले नीतिमा अघि बढिरहेको छ । उसको यो दहीच्युरे पाराले देखाएको तमामाले कांग्रेसीजन नै आश्चर्यमा परेका छन् । पछिल्लोपटक आधिकारिक नेकपा र अन्य शक्तिहरू प्रतिगमनविरुद्ध सडक आन्दोलनमा होमिइसक्दा कांग्रेस संयुक्त आन्दोलनका लागि तयार नहुनुले संशय पैदा गरेको हो । फागुन पहिलो साताबाट प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनको वातावरण बनाउनुपर्ने माग अघि बढिरहेको छ । नेकपाका केही नेताले यस्तो धारणासमेत राख्दै आएका छन् । यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि कुराकानी भइरहेको नेताहरूले बताइरहेका छन् । तर, सभापति शेरबहादुर देउवाले भने यस विषयमा सार्वजनिक रूपमा केही बोलेका छैनन् । केही समययता देउवा मौन छन् । हुन त उनलाई गगन थापालगायत युवा नेताहरूले प्रतिगमनविरुद्ध एक भएर सडक आन्दोलन तताउन आग्रह नगरेका होइनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कांग्रेस तत्कालै केपी ओलीले गरेको प्रतिगमनविरुद्ध एक भएर सडक आन्दोलनमा जान पर्नेमा अडिग छन् । तर, महामन्त्री शशांक कोइराला तत्काल कम्युनिष्टहरूसँग सहकार्य गर्न नहुने रुढी धारणामा रहेको र सभापति देउवा प्रधानमन्त्री ओलीसँग सम्बन्ध कायम राखेर भोलिका दिनमा राजनीतिक फाइदा लिन सकिन्छ भन्ने मनस्थितिमा रहेकाले कांग्रेसले आन्दोलनका विषयमा ठोस धारणा तय गर्न नसकिरहेको बताइन्छ । पछिल्लोपटक नागरिक समाज र पेसाकर्मीहरूसमेत दृढतापूर्वक सडक आन्दोलनमा आएर पानीको फोहरा खाइसक्दा कांग्रेसले आन्दोलनका लागि खुट्टा कमाउनु भनेको अवसरवादी नेतृत्वको संकेत भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
हुन त नेकपा अध्यक्ष प्रचण्डले राजनीतिक दलहरूका बीचमा मात्र होइन, विभिन्न संघसंस्था र नागरिक समाजसँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रस्ताव अगाडि सारेका छन् । केही दिनअगाडि पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘नेपाली कांग्रेस, जनता समाजवादी पार्टी अन्य थुप्रै पार्टीसँग, विभिन्न संघसंस्थासँग र नागरिक आन्दोलनसँग हामी लगातार छलफलमा छौं । किनकि, यो विषय सिंगै राष्ट्रको बनेको छ । सिंगै राष्ट्रलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने हाम्रो बुझाइ छ ।’ नेकपाको प्रचण्ड–माधव समूह संयुक्त आन्दोलनमार्फत जनलहर सिर्जना गरी पुनःथापनाको पक्षमा माहोल बनाउन चाहन्छ । तर, कांग्रेसले यस विषयमा ढुलमुले चरित्र प्रदर्शन गरिरहेको छ । दलहरूका बीचमा यस विषयमा कुनै संयुक्त बैठकसमेत आयोजना भएको छैन । प्रतिनिधिसभाको विघटनको भोलिपल्ट दलहरूको एउटा संयुक्त बैठक बस्यो, जहाँ प्रचण्डले संयुक्त आन्दोलनको प्रस्ताव गरे तर त्यसका लागि कांग्रेस तयार भएन । डेढ महिनायता नेकपाको प्रचण्ड–माधव समूह, कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेका छन् । देउवालाई पुनःस्थापनापछि प्रधानमन्त्री स्विकार्न तयार भए मात्र कांग्रेस आन्दोलनमा जाने देउवाको दाउ रहेको बताइन्छ । यसमा देउवाको व्यक्तिगत अडान र महŒवाकांक्षाले पनि काम गरेको छ । कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गरिरहे पनि देउवा ठूलो आन्दोलन गरेर अदालतलाई प्रभावित पार्नुहुन्न भन्ने पक्षमा छन् । देउवाको आन्दोलनमार्फत अदालतलाई धेरै दबाब दिने पक्षमा छैनन् । जसका कारण पार्टीभित्र उनको आलोचना पनि भइरहेको छ । तर, जानकारहरू कम्तीमा सर्वाेच्चको फैसला अगाडि संयुक्त आन्दोलनको सम्भावना नभएको बताउँछन् ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply