सचिव सरुवामा व्यापक असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले नै सरकारले सचिव सरुवाको कुनै मापदण्ड बनाउन नसकेको र सोर्सफोर्सका आधारमा हचुवामा सचिवको सरुवा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले मनोमानी रूपमा गरिने सचिव सरुवाले प्रशासन क्षेत्रको विकासमा गम्भीर धक्का लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारले एकैपटक १६ सचिवको सरुवा गरेको थियो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत सचिवको सरुवा गरेको हो ।
निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाईंको उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ । उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपाने युवा तथा खेलकुद मन्त्रालयमा सारिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारी निर्वाचन आयोगमा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई अख्तियारमा पठाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्य नेपाल ट्रस्टको कार्यालयमा सरुवा भएका छन् भने राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुगेका छन् । नेपाल ट्रस्टका देवेन्द्र कार्कीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र शिक्षा सचिव गोपीनाथ मैनाली राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका छन् ।
यस्तै, सोही आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । भूमि मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सारिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतमको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । लोकसेवा आयोगका सचिव अर्जुन पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएका छन् । आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईं सरुवा भएका छन् । वाणिज्य सचिव बैकुण्ठ अर्यालको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा भर्खरै बढुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त रूपमा रहेका सचिव सुमन अर्याललाई पठाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउनेगरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएको बुझिएको छ । सुरुमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । मैनाली तुलनात्मक रूपमा इमानदार सचिवका रूपमा परिचित छन् । इमानदार सचिवको हुर्मत लिन खोजेको भन्दै सरकारको आलोचनासमेत भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत बिहीबार भएका सचिवको सरुवाको पत्र केही सचिवलाई थमाएको भए पनि केहीले भने पत्र बुझ्न नमानेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
चलखेलमा शिक्षा मन्त्री देखिए अब्बल
-
गृहमन्त्री र गृहसचिवकै खर्च डेढ करोड
- वर्तमान उत्सव
-
गृह सचिवमा अर्याल कि गौतम ?
-
प्रधानमन्त्रीका वचनले उपप्रधानमन्त्री–मुख्यमन्त्रीलाई घोच्दैन ?
-
जबज छाड्ने केपी ओली नै हुन्
-
ईश्वरलाई जता गयो त्यतै कालो झन्डा
-
फास्ट ट्र्याकमा यस्तोसम्म चलखेल
-
अख्तियारको ३० औं प्रतिवेदन
-
प्रभावशाली व्यक्तिहरूकै संरक्षणमा जनताको उठीबास
-
वामदेव र बादलमाथि भरोसा
- विज्ञापनलाई ‘हन्डी’ भन्नेलाई नै बोर्डमा नियुक्ति
Leave a Reply