उपचार गर्न विदेश धाउने परिस्थिति अन्त्य गर्नुपर्छ : राष्ट्रपति भण्डारी
१ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताउकी छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वणर् महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन् ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गरिन् । ‘स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको संख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित् गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ’, राष्ट्रपति भण्डारीले भनिन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताए ।
‘कोरोनाविरुद्धको खोपमा नेपालले सफलता हासिल गरेको छ, अहिले फेरि कोरोना बढ्न थाले पनि पहिले जस्तो समस्या नहुने गरी स्वास्थ्य पूर्वाधार स्थापना भएको छ, सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको छ, हालसम्म कोरोनाबाट ११ हजार ९५२ नेपालीको ज्यान गएको छ’, उनले भने । मुटुको सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमै हुन थालेकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्री खापुङको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरङ्ग सेवामा दुई हजार ३०० र अन्तरङ्ग सेवामा ७०० जनाले उपचार लिइरहेको जानकारी दिए । संस्थानका डीन प्रा डा दिव्यसिंह साहले ३०१ शय्याबाट सुरु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हाल एक हजार शैंया पुगेको जानकारी गराइन् । संस्थानमा हाल स्नातक तहदेखि विद्यावारीधिसम्म अध्ययन गर्ने व्यवस्था गरिएको छ ।
सन् १९७२ मा जापान सरकारको सहयोगमा त्रिवि शिक्षण अस्पताल स्थापना भएको हो । संस्थानअन्तर्गत हाल देशभर सात आङ्गिक, एक केन्द्रीय क्याम्पस र १५ सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । विश्वविद्यालयले हाल कीर्तिपुरमा संस्थानलाई ३०० रोपनी जग्गा उपलब्ध गराएको छ । उक्त जग्गामा स्वास्थ्य र शिक्षाको विशिष्ट सेवा दिने लक्ष्य राखिएको छ ।
संस्थानअन्तर्गत हाल चिकित्सा क्षेत्रका करिब ५० विधाको अध्ययन, अध्यापन एवं अनुसन्धानको काम भइरहेको छ । कार्यक्रममा संस्थानका पूर्व डीन प्रा डा मोहिन साह, प्रा डा हेमाङ्ग दीक्षित, प्रा डा गोपालप्रसाद आचार्य, प्रा डा मदनप्रसाद उपाध्याय, प्रा डा भीष्मराज प्रसाइँ, प्रा डा हरिगोविन्द श्रेष्ठ, प्रा डा अरुण सायमी, प्रा डा धर्मकान्त बाँस्कोटा, प्रा डा राकेशप्रसाद श्रीवास्तव, प्रा डा केशवप्रसाद सिंह र प्रा डा जगदीशप्रसाद अग्रवाललाई सम्मान समेत गरिएको थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
Leave a Reply