राष्ट्रिय सभामा जान क–कसले देखाए आकांक्षा ?
काठमाडौं । प्रदेश र प्रतिनिधिसभामा टिकट पाउन धेरै नेता–कार्यकर्ताले दौडधुप गरे । लामो समय राजनीतिमा बिताएका नेता–कार्यकर्ताले टिकटका लागि दौडधुप गर्नु सामान्य हो । तर, सबैले टिकट पाउनु स्वाभाविक थिएन । प्रदेश र प्रतिनिधिसभामा टिकट नपाएका नेकपा (एमाले) का नेताहरूले माघको तेस्रो साता हुन लागिरहेको राष्ट्रिय सभाको निर्वाचनका लागि अहिले आकांक्षा देखाउन थालेका छन् र टिकटका लागि लबिइङसमेत तीव्र तुल्याएका छन् ।
एमालेले स्थानीय, प्रदेश र प्रतिनिधिसभामा टिकट नपाएकाहरूले मात्र राष्ट्रिय सभाका लागि दाबी गर्न पाउने गरी मापदण्ड बनाएपछि अहिले सातवटै प्रदेशमा आकांक्षीहरू देखा पर्न थालेका छन् । एमालेको राजनीतिमा लामो समय बिताएकादेखि भर्खरका युवा पुस्ताले समेत राष्ट्रिय सभातिर नजर सोझ्याएका छन् । राष्ट्रपतिले नियुक्त गर्ने तीन जनाबाहेक ५९ सदस्यीय राष्ट्रिय सभामा वाम गठबन्धनले कम्तीमा पनि ३० सिट जित्ने अनुमान गरिएको छ । त्यस कारण पनि एमालेको भागमा धेरै सिट पर्ने भएको हुँदा आकांक्षीहरू बढ्न पुगेको हो ।
आकांक्षा राख्नेहरूमा १ नम्बर प्रदेशबाट परशुमेघी गुरुङ, जगन्नाथ खतिवडा, हरिशरण शिवाकोटी र धर्म पौडेल रहेका छन् । यसैगरी महिलातर्फ जयन्ती राई र शारदा घिमिरे, दलितबाट डीबी साह शंकर र खेम नेपाली रहेका छन् । २ नम्बर प्रदेशबाट यदुवंश झा, प्रभु हजारा पासवान र सुधीर शाहले आकांक्षा राखेका छन् ।
३ नम्बर प्रदेशमा भने राष्ट्रिय सभामा जान चाहने धेरै छन् । जसमा प्रेमलकुमार खनाल, रघुजी पन्त र आनन्दप्रसाद पोखरेल रहेका छन् । महिलामा भने शान्ति अधिकारी, गोमा तिमल्सिना र सावित्रा भुसाल र विष्णु ओझा रहेका छन् । यसैगरी दलितमा गोविन्द नेपाली र अपांगबाट बालकृष्ण गैरेले आकांक्षा देखाएका छन् । प्रदेश नम्बर ४ मा भने गणेश तिमल्सिना, प्रेमनारायण पौडेल, तोयनाथ चालिसे, चक्रबहादुर पराजुली, श्रीनाथ बरालले आकांक्षा देखाएका छन् भने महिलातर्फ भने श्रीमाया थकाली, मीना बानियाँ र रत्ना गुरुङ र अपांगमा भोलानाथ शर्माले आकांक्षा राखेका छन् ।
५ नम्बर प्रदेशमा भने झपेन्द्र जीसी, बेदुराम भुसाल, खिमलाल भट्टराई र घनेन्द्र घिमिरे, महिलामा पुष्पाञ्जली उपाध्याय र कौशिला सिंह र दलितमा दलबहादुर सुनार र पूर्णप्रकाश नेपालीले आकांक्षा राखेका छन् । यसैगरी ६ नम्बर प्रदेशमा उदय बोहरा, निरज आचार्य, भैरवसुन्दर श्रेष्ठ र देवीलाल थापा, महिलामा नन्दा शर्मा र दलितमा भीमसेन नेपाली आकांक्षी देखिएका छन् । ७ नम्बर प्रदेशमा परमानन्द भट्ट, उर्वादत्त पन्त, रामकुमार ज्ञवाली र ईश्वरी खरेल, दलितमा पुरनसिंह दयाल र भालबहादुर विक र अपांगमा वीरेन्द्रबहादुर मल्लले आकांक्षा देखाएका छन् ।
एमालेमा आकांक्षीहरू धेरै भए पनि माओवादी केन्द्रसँग तालमेल गर्नुपर्ने भएको हुँदा अधिकांश आकांक्षीले राष्ट्रिय सभा टेक्न पाउने भने छैनन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि ककसलाई पठाउने भन्नेबारे छलफल गर्न कार्यदल बनाएको हुँदा सो कार्यदलको सुझावका आधारमा उम्मेदवारहरू टुंग्याउने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा अहिले बैंककमा रहेका र बिहीबार स्वदेश फर्किने भएको हुँदा ओलीको आगमनपछि मात्रै उम्मेदवारहरू टुंगो लाग्ने देखिएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply