मुख्यमन्त्रीलाई ‘स्वाद चखाउने’ दाउमा स्थापित
काठमाडौं । मुख्यमन्त्रीसँग मुखमुखै लागेको भनेर बर्खास्तीमा परेपछि प्रदेश नम्बर ३ का तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले राजधानी टुंगो लगाउने विषयमा भने मुख्यमन्त्री डोरमणि पौडेललाई स्वाद चखाउने भएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडामा राख्नेबारे लबिइङ गरे पनि स्थापितले भने काभ्रेमा राख्न केही दिनयता पहल थालेका छन् ।
मुख्यमन्त्री पौडेलसँग विवाद हुनुअघिसम्म तत्कालीन मन्त्री स्थापितले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा खासै चासो दिएका थिएनन् । उनले आफू जुन जिल्लामा पुग्यो, त्यही जिल्लामा नै स्थायी राजधानी राख्न उपयुक्त हुने हचुवा आश्वासन दिँदै आएका थिए । सिन्धुली पुग्दा सिन्धुलीमा र दोलखा पुग्दा दोलखामा राजधानी राख्न उपयुक्त हुने उनले बताउँदै आएका थिए । प्रदेश नम्बर ३ को स्थायी राजधानी राख्ने विषयमा गठन भएको संसदीय समितिले भने मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर र चितवनको नाम छनोट गरेको थियो ।
मन्त्रीबाट बर्खास्तीमा परेसँगै स्थापितले काभ्रेमा स्थायी राजधानी राख्न तीव्र रूपमा लबिइङ थालेका हुन् । त्यसका निम्ति उनले उपत्यकाका तीन जिल्लाका प्रदेश सांसदहरूलाई भेट्ने र काभ्रेमा राजधानी राख्नुपर्ने कुरामा सहमत गराउन थालेका छन् । काभ्रेका सांसदहरूले त आफ्नै जिल्लामा राजधानी राख्नुपर्ने कुरामा पहिलादेखि नै लबिइङ गर्दै आएका थिए । तर, मुख्यमन्त्री पौडेलले भने हेटौंडामा राजधानी बनाउनुपर्ने विषयलाई आफू मुख्यमन्त्री भएदेखि नै आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।
हेटौंडामा स्थायी राजधानी राख्न आफू मुख्यमन्त्री भएदेखि नै पहल गर्दै आएका पौडेललाई स्वाद चखाउन स्थापितले पहल गरेको बताइन्छ । काभ्रेमा राजधानी राख्नेका लागि स्थापितकै पहलमा आगामी १ मंसिरमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका साथै काभ्रेका सांसदहरूको भेला बस्ने भएको छ । तत्कालका निम्ति सो भेलामा चार जिल्लाका सांसदहरूलाई मात्र बोलाइए पनि काभ्रेमा राजधानी राख्दा अनुकूल ठान्ने रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा र सिन्धुलीलगायतका सांसदहरूलाई समेत बोलाएर अर्को भेला राख्ने टुंगो गरिएको छ । उपत्यकाका तीन र काभ्रेका गरी ३४ जना सांसद छन् । भेलाको तयारीमा जुटेका एक जना प्रदेश सांसदले भने, ‘हामी पहिलादेखि नै काभ्रेमा राजधानी राख्नुपर्ने पक्षमा छौं । दुई तिहाइ पु¥याएरै काभ्रेमा राजधानी राख्छौं ।’ एक सांसदका अनुसार काभ्रेमा राजधानी राख्ने विषयमा प्रदेशसभाका ८० प्रतिशत सांसदहरू एकमत रहेका छन् ।
प्रदेश ३ को स्थायी राजधानीको विषय टुंग्याएपछि मुख्यमन्त्री पौडेललाई फेर्ने विषयमा पहल हुन सक्ने संकेत पनि ती सांसदले गरे । उनले भने, ‘मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच के विषयमा विवाद भएको हो र स्थापितलाई के कारण बर्खास्त गरिएको हो, त्यस विषयमा पार्टीको संसदीय दलको बैठकमा नै कुराकानी उठ्छ । तर, पहिला राजधानीको विषय टुंग्याएपछि मात्र हामी अरू विषयमा प्रवेश गर्छौं ।’ केही सांसदहरूले भने राजधानीको विषय टुंग्याएपछि मुख्यमन्त्री पौडेललाई फेर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने विचार पनि गरेका छन् ।
मुख्यमन्त्री पौडेलले राजधानीको विषय टुंग्याएपछि मन्त्रिमण्डल विस्तार गर्ने कुरा बताइरहे पनि उनले मन्त्रिमण्डल विस्तार गर्नुअघि नै उनलाई बदल्ने विषयमा नेकपाका प्रदेश सांसदहरू जुर्मुराएका छन् । करिब आठ महिनाअघि तत्कालीन एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरेर पौडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply