विद्यार्थी आन्दोलन र जनमत संग्रह

२०३५ को साउनमा राजाको पञ्चायती तानाशाहीका दिनमा पनि कमरेड पुष्पलालप्रति सार्वजनिक ठाउँमा खुला भीडमाझ विराटनगरमा शोकसभा गरेकोमा हामीहरू मनमनै उत्साहित थियौं ।
०३५ को भदौतिर फेरि बीपी कोइराला पटनाबाट काठमाडौं पुग्दा त्रिभुवन विमानस्थल बाहिर पञ्चहरू र मण्डलेहरूद्वारा विरोध प्रदर्शन आयोजना गरियो, जसमा भूपू प्रधानमन्त्री तुलसी गिरीसमेत सामेल थिए । ०३५ मा राजा वीरेन्द्र र पञ्चायती सरकार बडो परस्परविरोधी कामहरू गरिराखेका थिए ।
एकातिर बीपी कोइराला र गणेशमान सिंहहरूलाई छाडिएको थियो भने बीपी कोइरालाकै आह्वानमा सशस्त्र कारबाही र बम विस्फोट गरेको आरोप लागेका यज्ञबहादुर थापा भूपू क्याप्टेन र भीमनारायण श्रेष्ठलाई ०३१ का वारदातहरू गराएको भनी ०३३ मा मृत्युदण्ड सदर गरे पनि २ वर्ष नमारी थुनामै राखिएको थियो भने ०३५ साल माघमा दुवैलाई काठमाडौंको जेलबाट रातौंरात निकाली उपत्यका बाहिर लगी गोली हानेर मारिएको थियो । विराटनगरको बम विस्फोटमा कोही मरेको थिएन र घाइते भीमनारायण श्रेष्ठलाई पहिले पक्राउ नगरी पञ्चहरूले फूलमाला अस्पतालमा जाँदै चढाउँदै गरेका थिए । म त्यसताका विराटनगरमै थिएँ । तर, केही दिनहरू पछि पुलिसले उनलाई पक्राउ गरेको थियो ।
०३५ सालमा बीपी कोइराला पोखरा जान लाग्दा पोखरा विमानस्थलमा स्याङ्जा, तनहुँ र परपरबाट बस र ट्रकहरूमा पञ्चहरू र मण्डलेहरू ओसारी हवाईजहाज उत्रने धावनमार्ग कब्जा गर्न लगाई, प्लेन उत्रन नदिई, काठमाडौं फर्काइएको थियो । ०३५ चैतमा बीपी कोइराला विराटनगर आउने कार्यक्रम बनेको थियो । सबै राजनीतिक दलहरू कांग्रेस कम्युनिस्ट पार्टीका मान्छेहरू र विद्यार्थीहरू मिली स्वागतको ठूलो तयारी गरिएको थियो । अर्कोतिर सरकार, अञ्चलाधीश सीडीओहरू र पञ्चहरूले सुनसरी, धनकुटा, झापा र गाउँहरूदेखि पञ्च र मण्डलेहरू बस र ट्रकहरूमा ओसारेर विराटनगर विमानस्थलको धावनमार्ग कब्जा गरिएको थियो । हजारौं जनता विराटनगर एयरपोर्टको तारको घेराबाहिर दक्षिणपट्टिका खेतहरूमा जम्मा भएर स्वागत विमानस्थलमा माथि आकाशको आकाशै फर्काइयो । त्यसपछि पञ्चायतविरोधी जनता आक्रोशित भई जुलुसको रूप लिई नाराहरू लगाउँदै विराटनगर सहरतर्फ लाग्दा बारगाछी र पानीट्यांकीमाझ दुईतिरबाट प्रहरीहरूले घेरी लाठी चार्ज गर्नथाले । जुलुस तितरवितर भयो । कतिका जुत्ता–चप्पल हराए । म बीचको छेडोबाट भागेर एउटा घरका कम्पाउन्डभित्र छिरेँ । त्यस घटनाको दुई दिनपछि ०३५ चैत २० गते विश्वेश्वरप्रसाद कोइरालालाई जहाँ जाँदा पनि अशान्ति हुने हुँदा काठमाडौं उपत्यकाबाहिर जानबाट प्रतिबन्धित गरिएको सूचना सरकारले जारी गर्यो ।
तर, उँटको कम्मर एउटा परालको त्यान्द्रो राख्दा भाँचियो भन्ने उखानझैं त्यसको दुई दिनपछि ०३५ साल चैत २२ गते पाकिस्तानका जनताद्वारा निर्वाचित प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई फाँसी दिइएको विरोधमा चैत २४ गते काठमाडौंका क्याम्पस–क्याम्पसबाट विद्यार्थीहरू विरोधमा प्रदर्शन गर्दै एक ठाउँ जम्मा भई पाकिस्तानी दूतावासतर्फ अगाडि बढ्दा प्रहरीले लाठी चार्ज र पक्राउ गर्यो । विद्यार्थीहरूको त्यो विरोध प्रदर्शनले अर्को दिनदेखि नै एउटा विद्यार्थी आन्दोलनको रूप लिन थाल्यो । अनेरास्ववियु, नेविसंघ, नेराविफे मिलेर एउटा केन्द्रीय संघर्ष समिति गठन गरे । त्यस आन्दोलनमा विद्यार्थीहरूका हकहितका मागहरूका साथै ०३२ सालमा पञ्चायती व्यवस्थाविपरीत भनी निष्कासित प्राध्यापकहरू (जसमा साहना प्रधान हिरण्यलाल, वीरेन्द्रभक्त इत्यादि पनि हुनुहुन्थ्यो) को पुनर्बहाली र महँगी नियन्त्रणको माग पनि सामेल गरिएको थियो ।
०३५ चैतका अन्तिम दिनहरूमा काठमाडौंका क्याम्पसहरूमा विद्यार्थीहरूमा फैलिएको हड्ताल र जुलुसहरूको प्रभाव देशभर पर्दै गयो । ०३६ वैशाख लाग्दा नलाग्दै विराटनगर महेन्द्र मोरङ क्याम्पस, पोखरा पृथ्वीनारायण क्याम्पस, धरानकै कलेजहरूका साथै स्कुलहरूमा पनि हड्ताल र जुलुसहरू प्रारम्भ भइसकेका थिए । सिरहामा स्कुल कलेजका विद्यार्थीहरूले काठमाडौं जाने डे बस र नाइट बसबाट प्यासेन्जर उतार्दै ‘पञ्चायती व्यवस्था मुर्दावाद’ भन्न लगाई फेरि बसमा चढ्न दिन थाले । विराटनगरबाट काठमाडौं जान लागेको त्यस्तै एउटा बसमा दुई जना आफूलाई ठूला राजभक्त भन्ने पञ्चहरूले पनि अरूझैं ‘पञ्चायती व्यवस्था मुर्दावाद’ भनेर फेरि बस चढे ।
०३६ साल वैशाखमा अमृत साइन्स कलेज होस्टेलमा प्रहरीहरू पस्दा विद्यार्थीहरूसँग ठूलो झडप भयो । कैयौं विद्यार्थी र पुलिस पनि मरेको हल्ला देशव्यापी रूपले फैलियो । हेटौंडालगायत केही ठाउँमा पनि गोलीहरू चले । त्यहाँ ३५ घन्टा यातायात बन्द भयो । कैयौं लेखक, कलाकारहरूले सरकारका विद्यार्थी मदन नीतिका विरुद्ध संयुक्त वक्तव्य प्रसारित गरे ।
०३६ वैशाखभर यो विद्यार्थी आन्दोलन थालिनुको साटो झन्–झन् चर्कंदै र उग्र हुँदै गयो । कलैया वीरगञ्ज कैयौं ठाउँ कफ्र्यु लाग्यो । ०३६ जेठ ९ गते नयाँ सडकको मुखमा रहेको वायुसेवा निगमको भवनमा आगो लगाइयो ।
०३६ साल जेठ १० गते एकाबिहान अन्य समाचारभन्दा पहिले ६:४५ मा राजा वीरेन्द्रको जनताले बहुदलीय व्यवस्था सुधारसहित बालिग मताधिकारको पञ्चायती व्यवस्था रोज्न जनमत संग्रह गरिने र सात दिनभित्र त्यसका लागि राष्ट्रिय चुनाव आयोग गठन हुने घोषणा भयो । बीपी कोइरालाले राजाको यस घोषणाको समर्थन गर्दै ‘नेपालको इतिहासमा सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास हुनेछ’ भनियो ।
त्यसपछि मनमोहन अधिकारी, विष्णुबहादुर मानन्धर र पत्रपत्रिकाहरूले पनि स्वागत गरे । साहना प्रधान, तुलसीलाल र हामीहरूले पनि जनमतसंग्रहमा सक्रियता साथ बहुदलीय प्रजातन्त्रका लागि लाग्ने भन्यौं । विराटनगर आदर्श विद्यालयको चौरमा आयोजित खुलासभालाई मैले, भरतमोहन अधिकारी र कांग्रेसका साथै विद्यार्थीहरूले सम्बोधन गर्यौं । देशभर बहुदलीय प्रजातन्त्रका पक्षमा सभाहरू आयोजित हुनथाले ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply