नेतालाई सही गराउन दौड

हामीहरू पहिले नै सावधान थियौं । हामीहरूले भन्यौं– ‘ठीक छ स्कुलमा नगरौंला । तर, राजाले बहुदल पक्षमा प्रचार र सभा गर्ने स्वतन्त्रता दिएकोमा तपाईंहरू सभा गर्नबाट चाहिँ रोक्न सक्नुहुन्न ।’ हामीहरूले अपरिचित बहुदल पक्षको सभाका आयोजक युवाहरूलाई भन्यौँ– ‘ठीक छ हामी सामुन्ने सडक पारी रूखमा माइक राखेर सम्बोधन गरौं ।’ स्कुलबाट निकालेर आयोजकहरूद्वारा रूखमा ढ्वाङ टाँगियो । र, तल मञ्च बनाउन एउटा चियाको पसलबाट टेबुल र बेञ्च ल्याउँदै थिएँ । त्यतिकैमा पर खेतको आलीमा १०/१२ जना भर्खरका युवाहरू आउँदै गरेका देखिए । हाम्रो सभाको आयोजकमध्ये एक जनाले मेरो कानमा भने– ‘अब मण्डलेहरू डराउँछन् । ती आउनेहरू नक्सलवादी समर्थक ठिटाहरू हुन् । कसै–कसैले यहाँको कुरा सुनी लुकाएर खुकुरी पनि कमिजभित्र लुकाएर बाँधेका छन् ।’ त्यसपछि हामीहरूको इटहरामा आमसभा निर्विघ्न रूपमा सम्पन्न भयो ।
साँझ पर्न लाग्ने बेला हुँदै थियो । ती आएका युवाहरूले भने– ‘आज तपाईंहरू हाम्रो गाउँमा बस्नुस्, कुराकानी पनि हुन्छ । तपाईंहरू आज फर्कंदा फेरि एक्लै देखेर बाटोमा मण्डलेहरू निहुँ खोज्लान् ।’
यो घटनाको पैंतीस वर्षपछि काठमाडांै नयाँ बानेश्वरमा यसै वि.सं. २०७१ मा एकदिन एक जना गोरो वर्णको पाको व्यक्ति भेट हुनुभयो र भन्नुभयो– ‘तपाईंले मलाई चिन्नुहुन्न होला, तर म तपाईंलाई पैंतीस वर्षअघि मेरो उमेर १५/१६ वर्षको हुँदादेखि चिन्दछु । मैले तपाईं र भरतमोहन अधिकारीलाई इटहरामा बहुदल पक्षको सभा गर्न सघाएको थिएँ । पछि म को–अर्डिनेसन कमिटीमा लागें । अहिलेसम्म हाम्रो एमाले पार्टी र आफ्नो दुर्नाम हुने कुनै काम गरेको छैन । इज्जत साथ छु ।
मेरो नाम लोकनाथ भट्टराई हो । तपाईंहरूको सभाका लागि रमा न्यौपाने, घनश्याम भट्टराई र अरूहरूले पनि साथ दिएका थिए । पद्म चुँडाल चाहिँ पछि गाउँ फर्के भए ।’
०३६ को इटहराको त्यो सभापछि भरतमोहन अधिकारी र म विराटनगर फर्कियौं र सोच्न थाल्यौं– यस्तै इटहराकै जस्तो वातावरण गाउँघरमा रहे बहुदलले जनमत संग्रहमा जित्न मुस्लिक पर्छ । सहरहरूमा पञ्चहरूले खुलारूपले बहुदलपक्षको प्रचारको प्रतिरोध गर्न त्यस समय आँट गर्न थालिसकेका थिएनन् । इटहराको घटना र नयाँ फेरिएका अञ्चलाधीशहरूको गतिविधिबारे सुन्दा हामीहरू चिन्तित भयौं ।
विराटनगरमा भरतमोहन अधिकारी, महेशप्रसाद उपाध्याय र मैले सल्लाह गर्यौं, निष्पक्ष जनमत संग्रह हुन पञ्चायतका सबै निकाय निलम्बन हुनुपर्छ र पञ्च सरकारको सट्टा अन्तरिम सरकार गठन हुनुपर्छ, कुनै राजनीतिक भेदभाव नराखी जेलमा रहेका सबै राजनीतिक व्यक्तिहरू रिहा हुनुपर्छ, निर्वासित र भूमिगतका सबै मुद्दाहरू फिर्ता लिइनुपर्छ, युवाहरू प्रचुर रूपले बहुदल पक्षधर हुँदा २१ को साटो १८ वर्ष मतदान गर्ने उमेर हुनुपर्छ । मौलिक अधिकारका सभाहरू गर्ने निर्भिक वातावरण हुनुपर्छ । यति भए बहुदल पक्षको जनमत संग्रहमा जित हुन्छ । राजाले नमाने यसका लागि बहुदल पक्षधरहरूले आन्दोलन नै सुरु गर्नुपर्छ ।
त्यसैताका साउनमा चौथो महाधिवेशनका नेताहरू जयगोविन्द साह र निर्मल लामा फार्बेसगञ्ज आउँदा हामीले केही पूर्वाधार नबने बहुदललाई जित्न कठिन पर्छ भन्ने विषयमा कुराकानी गर्दा उहाँहरू पनि सहमत हुनुभयो । त्यस समयसम्म चौथो महाधिवेशनवालाहरू पनि पार्टीगत रूपले नै जनत संग्रहमा बहुदल पक्षलाई जिताउन लाग्नुपर्छ भन्ने थिए । निर्मल लामा त्यस बखत दुई वर्षलाई मोहनविक्रम सिंह अनुशासनको कारबाहीमा परेको हुँदा महासचिव बन्नुभएका थियो । उहाँहरूसँग सहमति भएपछि ती पाँच पूर्वाधारहरूको माग राखी एउटा मस्यौदा दरभंगा पठाउने सल्लाह भयो । हामीहरू ढुक्क थियौं– यस्तो माग उठाउँदा हाम्रो पार्टीका नेताहरू मनमोहन अधिकारी र अरूहरूले साथ दिनु नै हुनेछ र सही पनि गर्नुहुनेछ । मस्यौदाका साथै दुई फुलेस्केप सादा कागजमा हामीहरू तीन जनाले सही गर्यौं । पाँच पूर्वाधार नछाडी मस्यौदामा सामान्य भाषा मिलाई ती सादा कागज टाइप गरेर दरभंगा पछि काठमाडौं गई त्यहाँ मनमोहन अधिकारी, हिक्मत सिंह र सिद्धिलालजीको सही गराएर मेरो प्रेस वक्तव्य सार्वजनिक गर्ने तय भयो । म विराटनगरबाट ती कागजहरू लिएर दरभंगा पुगें ।
दरभंगा पुगेपछि जयगोविन्द साह र निर्मल लामाले ‘नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे पनि यही हुनुहुन्छ, उहाँसँग पनि भनी हेर्नुस्’ भन्नुभयो । मैले नारायणमान बिजुक्छेलाई मस्यौदा देखाएँ । छिटो कुरा बुझन् बिजुक्छेले तुरुन्तै ‘ठीक छ’ भन्नुभयो । तर, आफ्नो पार्टी त १८ वर्ष होइन १६ वर्षमै मताधिकारको हक हुनुपर्छ भन्ने धारणा राखेको उहाँले गर्नुभयो ।
मैले भनें– ‘अरूहरूले पनि कुरा छ । २१ वर्षबाट पहिले मत दिने अधिकार १८ मा त आओस्, लाखौं युवा विद्यार्थी मतदाता भएर थपिने छन्, जो ठूलो मात्रामा बहुदल पक्षधर छन् ।’
मैले विराटनगरबाट लिँदै आएको मस्यौदामा दरभंगामा फेरि हामी चार जनाले सामान्य भाषा एक दुई ठाउँ मिलाई टाइप गराउन सहमत भयौं । तर, टाइप गर्दा केवल फुलस्केपको पानाभन्दा बढी हुनुहुँदैन थियो । किनभने, मस्यौदामा सहमति भएपछि सही गर्ने कागज सादा फुलस्केप एक–एक पाना गरी अलग–अलग दुई थानामा भरतमोहन अधिकारी, महेशप्रसाद उपाध्याय र मेरो सही भइसकेको थियो ।
त्यो टाइप गराउन नारायणमान विजुक्छे र म जाँदा उहाँले भन्नुभयो– ‘निर्मल लामाले उहाँहरूको पार्टीको तर्फबाट केवल जयगोविन्द साहको सही गर्ने जस्तो कुरा गर्दै छन् । तर, यसमा दुवै जनाको सही गराउनुपर्छ । नत्र पछि मोहनविक्रम सिंहसँग भेट हुनासाथ निर्मल लामा चिप्लिन्छन् । फेरि जयगोविन्द साह पोलिटब्युरोका सदस्य र किसान संघको अध्यक्ष तर निर्मल लामा चाहिँ पार्टीकै महासचिव भएको बेला छ । जसरी भए पनि तपार्इंले जोर गरेर लामालाई पनि सही गर्न भन्नुस्, म पनि जोर गर्छु ।’
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply