पेस्तोल बोकेका साथीसँग इलाम

३५ वर्षपहिले ठूलो देशव्यापी विद्यार्थी आन्दोलन झन्झन् गाउँगाउँमा व्यापक भएर कसै गरी रोक्न नसकेपछि तत्काल त्यसलाई समाधान गर्न राजा वीरेन्द्र जनताले बहुदल रोज्छन् कि निर्दल त्यस विषय जनमतसंग्रह गरिने घोषणा गरेका थिए ।
३३ वर्ष उमेर नपुगेका वा पुगे पनि सम्झने बुझ्ने त्यसबखत उमेर नपुगेका आजका ४५ वर्षको उमेर पुगेका युवा राजनीतिक र पत्रकार पंक्तिका समेत धेरैलाई यो पत्याउन गाह्रो पर्ला कि निर्दल पक्षलाई जिताउन आज विश्वव्यापी रूपले लोपोन्मुख र संरक्षित प्रजाति मानिएको गैंडाको छाला १८ सय केजी निर्यात गर्ने लाइसेन्स, चितुवाको छाला त मात्रै नतोकी निर्यात, १४ लाख थान सर्पका छाला विदेश निर्यात गर्न दिने जस्ता संसारले नै नराम्रो मान्ने कामसमेत दरबारको संरक्षणमा पञ्च सरकारले गरेको थियो ।
पत्यार लाग्दैन भने त्यस समयका साप्ताहिक ‘समाज’ मातृभूमि इत्यादिको पुराना फाइल हेरे हुन्छ । हाम्रो पार्टीका तर्फबाट मनमोहन अधिकारीले १४ मध्ये १२ अञ्चल र ७५ मध्ये ५० जिल्लाका विभिन्न बहुदल पक्षका सभाहरू सम्बोधन गरिसक्नुभएको थियो । मनमोहनजी काठमाडौँमा उपलब्ध नरहेका बखत टुँडिखेलमा हामीहरू भरतमोहन अधिकारी, सिद्धिलाल सिंह र मैले ठूलो आमसभालाई समेत सम्बोधन गरेका थियौँ ।
जति जति जनमतसंग्रह नजिकिँदै थियो, त्यो त्यति पञ्चहरू र पुराना मण्डलेहरूले हिंस्रक आक्रमणहरू बहुदल पक्षका नेता–कार्यकर्तामाथि गर्न थालेका थिए ।
कोसी अञ्चलाधीश शत्रुधनप्रसाद सिंहले नग्न रूपले खलनायकको भूमिका निर्वाह गर्दै पञ्चहरूलाई उचालिरहेका थिए । विराटनगरमा हामी नेपाल कम्युनिस्ट पार्टीका बहुदल प्रचार कार्यालय ट्राफिक चोकको पुलिस अफिसको ठीक सामुन्ने एउटा होटलको तेस्रो तल्लामा राखेका थियौँ । तल २५/३० जना विराटनगरभन्दा बाहिरका मानिसहरू तरबार, खुकुरी, भाला, लाठीका साथ उफ्रिरहेका थिए । होटेल मालिकले आफ्नो होटेलको सुरक्षाका लागि होटेल छिर्ने ढोका पूरै बन्द गरेर माथि आई हामीहरूलाई भने– ‘ढोका खोल्ने वा तल जाने प्रयास नगर्नुहोला । यी हुलदंगा गर्न तयार भएर आएकाहरू पस्नेछन् ।’
ती हुल्याहाहरूलाई प्रश्न गर्यौँ– ‘तपाईंहरूलाई यसरी हतियार लिएर हिँड्न कसले अनुमति दियो ?’ रक्सीले मातेका उनीहरूले तलबाटै भने– ‘जसले तिमीहरूलाई यो अफिस खोल्न अनुमति दियो ।’
त्यसपछि ती हुल्याहाहरू कराउन थाले– ‘बहुदले चोर देश छोड । मर्दका छोरा हौ भने तल आओ ।’ प्रहरी कार्यालयकै सामुन्ने, पुलिसहरूकै आँखाका अगाडि हतियारबन्द गुन्डाहरू उफ्रिरहेछन् । प्रहरीहरू तमासे भएर हेरिरहेका छन् । अब हामीहरूले ती हुल्याहाहरूसँग केही भन्नुभन्दा सामुन्ने प्रहरी कार्यालयको प्राङ्गणमा उभिएका पुलिसका हाकिमतर्फ हेर्दै कराएर भन्न थाल्यौँ– ‘यत्रो हतियार लिएको हुल उफ्रिरहेको छ । तपाईंहरू किन हेरेर बस्नुभएको छ ? हतियार खोस्नूस् र जान भन्नूस् ।’ पुलिस अफिसरहरूले मुखामुख गरे । अनि, ती हतियार लिएर उफ्रिरहेकाहरूलाई भने– ‘यसरी हतियार बोकेर हुल गर्न पाइन्न ।’
तर, त्यो हतियार बोकेको हुल हतियार लिएरै त्यो ठाउँ छाडी अगाडि बढ्यो । पुलिसले हतियार खोस्ने कुनै प्रयास गरेन । ०३६ चैतको अन्तिम साता मनमोहन अधिकारी र मैले झापाको सुरुङ्गामा बहुदल पक्षको आमसभालाई सम्बोधन गरेका थियौँ ।
त्यसको केही दिनपछि ०३७ वैशाखमा इलामतिरबाट हाम्रा साथीहरूले त्यहाँ बहुदलको आमसभा आयोजित गर्ने भए र हामीहरूलाई सम्बोधन गर्न आउन भने । ठाउँठाउँका हिंस्रक हुलहुज्जतका घटना र खबरहरूमाझ हामीहरूले झीनो भए पनि केही न केही सुरक्षा अपनाउनुपर्ने सल्लाह गर्यौँ । हाम्रो पार्टीका सुरेश अधिकारी कुनै समय कोसी प्रोजेक्टमा सबैभन्दा माथिल्लो पदमा नियुक्त भएर बसेका थिए । इलाम पुगेपछि त समस्या हुने थिएन किनभने सभा आयोजक हाम्रा साथीहरूका साथै कांग्रेस र बहुदल पक्षका अरूहरू पनि इलाम बजारमा राम्रै संख्यामा थिए । बाटोमा सावधानी राख्दै आउन साथीहरूले भनेका थिए ।
सुरेश अधिकारीको कोसी प्रोजेक्टका लागि अफिसर रहँदा बनेको नेपाल भर बोकेर हिँड्न पाइने पेस्तोलको लाइसेन्स थियो । हामीहरूले उनलाई त्यो पेस्तोलका साथ हामीहरूका साथ इलाम जाने प्रस्ताव गर्दा उनले खुसीसाथ स्वीकार गरे । मनमोहन अधिकारी र म सँगै बसको सिटमा बस्ने । सुरेश अधिकारीचाहिँ हाम्रो साथ नहिँडेको झैं गरी दुई–तीन सिट पछाडि बस्ने गरी हिँड्यौँ । त्यस समय विर्तामोडबाट इलाम जाने बस छुट्ने गर्दथ्यो । विराटनगरबाट हामीहरू विर्तामोड गयौा र बसबाट उत्रियौँ ।
मनमोहन अधिकारी चारपानेमा रामनाथ दाहालका घरमा कैयौँ दिन रहनुभएको थियो । विर्तामोडमा विशेश्वरा दाहालले हामीहरूलाई देख्नासाथ चिया नास्ता गरेर जान मनमोहनजीलाई भन्नुभयो र एउटा मिठाई दुकानमा लानुभयो ।
विर्तामोडबाट अब मनमोहनजीका साथ म र सुरेश अधिकारी इलाम जाने बसमा हिँड्यौँ । पहाड उकालो लागेपछि ठाउँठाउँमा निर्दलका पहेंला झन्डा बोकेको हुल उनीहरूलाई इलाम पुर्याउन लाने ट्रक पर्खेर बसेका थिए । हामीहरूले बुझ्यौँ कि इलाम बजारमा पञ्चहरूले हाम्रो बहुदल पक्षको आमसभाको समानान्तर सभा प्रदर्शन गर्ने पूरा तयारी गरेका छन् ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply