बोर्णहरूले सोचे जस्तो भएन
म छक्क परें । केन्द्रीय कमिटीको पूर्ण सदस्यहरूमा बोर्ण कार्की, लोकनारायण सुवेदी, शरणविक्रम मल्ल, हरिश्चन्द्रहरू पर्नुभएन । उहाँहरू पुष्पलाल समूहमा पहिलेदेखि नै काम गर्दै हुनुहुन्थ्यो । सहाना प्रधान र मनमोहन अधिकारीलाई दुवै पार्टी मिलेर एक भए राम्रो हुन्छ भनी कन्भिन्स गर्न सबैभन्दा बढी भूमिका पनि उहाँहरूले नै खेल्नुभएको थियो ।
सारनाथको संयुक्त एकीकरण सम्मेलनको काम सकिएपछि एक दिन वाराणसी शहर घुम्ने अवसर दिइयो । म मेरो जीवनमा लगातार १७ वर्ष वाराणसी बसेको थिएँ । म ८ कक्षामा गुर्जर पाठशाला हायर सेकेन्डरी स्कूलमा पढ्न थालेदेखि बीचमा छुट्टी र कुनै एकाध वर्ष अरु ठाउँ गएर बसे पनि पढाइ सकिएपछि पनि पार्टीको तेस्रो महाधिवेशन र त्यसपछि निर्वासनमा बस्दा पनि वाराणसीतिरै धेरैजसो बस्थेंं । मैले निर्वासनमा वाराणसी दशपुत्र गल्लीको त्यस समयको निर्वासनमा रहेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा प्रचार विभागमा कम्युनिस्ट बुलेटिन र अन्य प्रकाशन काम गर्दै बस्थेँ ।
त्यसरी बस्दा मैले वाराणसीकै हरिश्चन्द्र कलेजबाट सन्ध्याकालीन कानुनको पढाइ गर्दै एलएलबी उत्तीर्ण गरेको थिएँ । त्यहींँ पुष्पलाल, तुल्सीलालहरू पनि बस्नुहुन्थ्यो ।
सारनाथको एकीकरण सम्मेलन सकिएपछि म केही घन्टा वाराणसी शहर एक्लै घुम्न गएँ । त्यसबखत मैले मेरी पत्नीका लागि एउटा राम्रो बनारसी सिल्कको साडी किनें । सारनाथमा स्वास्नी मान्छे केवल सहाना प्रधान हुनुहुन्थ्यो । मेरो हातमा लुगाको झोला देखेर ‘के ल्याउनुभयो’ भनी सोध्नुभयो । मैले त्यो साडी देखाएँ, मुसुक्क हाँस्दै ‘राम्रो छ’ भन्नुभयो । बोर्ण कार्की, लोकनारायण सुवेदी, शरणविक्रम मल्ल र हरिश्चन्द्रहरू चारजना पुष्पलाल समूहको र एकजना रामप्रसाद खनाल मात्र हाम्रो समूहबाट केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा राखिनुभयो ।
सारनाथ सम्मेलन चलुन्जेल मैले किन यस्तो भयो ? सोध्न र कुरा गर्न पाइनँ । फर्किने बेलामा जाँदाखेरि नै रिर्जभ गरेर लगिएको भारतीय बसमा मैले बोर्ण कार्कीसँग भनें– ‘एकीकरणका लागि सहाना प्रधान र मनमोहन अधिकारीमाझ सुरुदेखि पछिसम्म सबै भन्दा रोल खेल्नुभएका तपाईंहरू किन पूर्ण सदस्यमा पर्नुभएन ?’
बोर्ण कार्कीले भन्नुभयो– ‘हामीले नै यस्तो होस् भनी सहाना भाउजुलाई पहिले नै भनेका थियौं । हामीहरूको भनाइ पोलिटब्युरोमा रहने सबैले सबै काम छाडी होलटाइमर भएर पार्टी संगठन बढाउन हिँड्नुपर्छ । केन्द्रीय कमिटीका पूर्ण सदस्यहरूले आ–आफ्नो इलाकामा सक्रिय रही काम गर्नुपर्छ । त्यही अवधारणा राखी हामी चारजनाले पूर्ण सदस्यमा नरही पुराना नेता र अनुभवी कार्यकर्ताहरूका लागि छाडेका हौं । उनीहरू होलटाइमर भएर हिँडेनन् भने हामीहरू पनि आफ्नो अनुसार हिँड्नेछौं ।’
तर बोर्णले सोचेको अनुसार भएन । केही समयपछि बोर्ण कार्की र अरु मिलेर काठमाडौंमा ‘इस्टवेस्ट ल’ फर्म’ स्थापना गर्नुभयो ।
०४२/०४३ तिर देशमा जनमत संग्रहताका एक बर्ष खुलेर बहुदलीयताको पक्षमा जनमत तयार पार्न व्यापक रूपले जनतामाझ आमसभाहरू गर्न पाएको अभिव्यक्ति र प्रकाशनको स्वतन्त्रताले तानाशाही नट–बोल्ट धेरै मात्रामा खुकुलो पारेको थियो । निर्दलीयतालाई जिताइएको परिणाम घोषणा र वीपी कोइरालाद्वारा त्यसको स्वीकृति पछि राजनीतिक दलहरू कानुनी रूपले प्रतिबन्धित रहे पनि प्रतिबन्धका लागि डेढ अक्षर ‘प्र.’ लेखेर काम गर्न पाइन्थ्यो । ‘प्र. नेपाल कम्युनिस्ट पार्टीका नेता मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, महेशप्रसाद उपाध्याय वा कमलप्रसाद कोइराला’ इत्यादि भन्दै कहिले सामूहिक कहिले एक्लै वक्तव्यहरू दिन्थ्यांैं र साप्ताहिकहरूले त्यसैगरी केही काँटछाँट गरे छाप्थे ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply