18th November 2017, Saturday

E-budhabar

आफैंले असफल बनाएको बाबुरामको एक इनिङ



आफैंले असफल बनाएको बाबुरामको एक इनिङ

एक समय सबैभन्दा बढी आशा गरिएका र सफल हुन सक्ने मानिएका राजनीतिक नेता डा. बाबुराम भट्टराईको राजनीतिक जीवनको एक इनिङ अहिले लगभग असफलतामा पुगेर समाप्त भएको देखिदैछ । झन्डै तीन दशकदेखि निरन्तर साथ रहेका देवेन्द्र पौडेल र बाबुरामको राजनीतिक सहयात्रा हिजोदेखि समाप्त भएर बाबुराम झन्डै एक्लोे परेकाले यस्तो भनिएको हो । त्यति नै समय साथ दिएका वामदेव क्षत्री र कुमार पौडेलले पनि बाबुरामलाई पौडेलसँगै बाईबाई गरेका छन् । नयाँ शक्तिमा अब बाबुरामसँग राजनीतिक विगत भएकामा उनकै पत्नी हिसिला यमी, गंगा श्रेष्ठलगायत केही औंलामा गन्न सकिने मात्र बाँकी छन् ।
२०७३ जेठ ३० गते नेपाली राजनीतिमा केही गर्ने आशा देखाएर गठन भएको बाबुरामको नयाँ शक्ति १५ महिनामै यो अवस्थामा किन र कसरी पुग्यो ? आउनुस्, एकछिन छलफल गरौं ।
संविधानसभाको दोस्रो चुनावमा माओवादी कमजोर तेस्रो बनेपछि त्यसका दोस्रो तहका नेता बाबुराम भट्टराईवरिपरीका नेताकार्यकर्तामा माओवादी नाम र पार्टीबाट अब राजनीतिक भविष्य उज्यालो हुन सक्दैन भन्ने परेको उनीहरूसँगको कुराकानीबाट बुझ्न सकिन्थ्यो । उनीहरूको यस्तो बुझाइ विकास हुनुमा खासगरी दुई तीनवटा कारण थिए ।
पहिलो, पुष्पकमल दाहालको नेतृत्वलाई अब नेपाली जनताले विश्वास गर्दैनन् भन्ने उनीहरूलाई त्यो बिन्दुबाट अरू बढी लाग्न थालेका थियो । जसका लागि त्यही निर्वाचन परिणामलाई उनीहरूले आधार बनाएका थिए । बाबुराम भट्टराईवरिपरि दशकदेखि गोलबन्द रहेकाले उनीहरूलाई बाबुरामको बौद्धिकताबारे राम्रो जानकारी हुने नै भयो र त्यही कारण बाबुरामको नेतृत्वलाई आममानिसले निश्चित रूपमा स्विकार्छन् भन्ने उनीहरूको विश्वास थियो । माओवादी जनयुद्ध पनि दाहालको संगठन र चमत्कारी व्यक्तित्वभन्दा बाबुरामको बौद्धिक र सार्वजनिक व्यक्तित्वको कारण त्यहाँसम्म पुगेको ती नेता कार्यकर्ताको बुझाइ थियो ।
बाबुरामको नेतृत्व सफल हुन्छ भन्ने विश्वास उनीहरूमा त्यो रूपमा बढ्नुमा त्यसबेला निर्माण भएको बाबुरामको सार्वजनिक छवि अर्काे प्रमुख कारण थियो । दाहाल सरकारमा अर्थमन्त्री छँदा र प्रधानमन्त्री हुँदा बाबुरामले बलियो विकासे छवि निर्माण गरेका थिए । त्यही कारण, राजनीतिक पार्टी कांग्रेस र एमालेलाई मन पराउने पनि नेतामा बाबुरामलाई नै रोज्थे । र, यो सबै उनीहरूलाई थाहा थियो ।
भारतको नयाँ दिल्लीमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको उदयले बाबुरामको नेतृत्वमा नयाँ पार्टी निर्माण गर्न र स्थापित गराउन सकिने उनीहरूमा विश्वास बढाएको थियो । चामत्कारिक व्यक्तित्व र स्वच्छ छवि भएको नेतृत्व हुने हो भने तथा राजनीतिक संघर्षको युग लगभग समाप्त भएकाले विकास र समृद्धिको नारा दिने हो भने नयाँ शक्ति बन्छ भन्ने उनीहरूको विश्लेषण थियो । बाबुराममा ती सबै खुबी भएको विश्वास भएकाले थप अरू केही सोच्नु र विचार गर्नुपर्ने उनीहरूले ठानेका थिएनन् ।
यता संविधानसभा चुनावअघि मोहन वैद्य–रामबहादुर थापा समूह फुटेकाले माओवादीमा दाहाल समूह केही कमजोर बनेको थियो र त्यस्तो अवस्थामा माओवादीभित्रै पनि दाहाललाई विस्थापित गरेर बाबुरामलाई प्रमुख नेता बनाउन सकिने उनीहरूको आँकलन थियो । त्यस्तो हुन सक्दा संगठन र कार्यकर्तापंक्ति रहेको माओवादीले नै राजनीतिक लडाइँ जित्न सक्ने उनीहरूको विश्लेषण थियो । त्यसैले, नयाँ पार्टी बनाउने विकल्प बाँकी राख्दै उनीहरूले माओवादीमै बाबुरामलाई प्रमुख नेतृत्वमा पु¥याउने प्रयास गरे ।
हेटौंडा महाधिवेशनमा उनीहरूको त्योे प्रयास असफल भयो र दाहाल नै पुनः नेतृत्वमा रहे । किनभने, वैद्य समूहले छाडे पनि माओवादीमा बाबुरामहरूले सोचेजस्तो दाहाल कमजोर बनेका थिएनन् । जनयुद्धकालीन नेताकार्यकर्तामै दाहालको पडला अझै भारी थियो भने नवप्रवेशीमा अधिकांश दाहाल पक्षधर नै थिए । बाबुराम प्रमुख नेतृत्वमा पुग्न सक्ने सम्भावनै थिएन ।
तर, त्यसपछि पनि अनेक बार्गेनिङ गर्दै बाबुरामले प्रमुख नेतृत्व पाउनुपर्ने माग राख्दै रहे । विपक्षी मोर्चा बनाएका दाहालको लोकप्रियता लगातार घट्दै थियो भने त्यसले बाबुराम र उनी पक्षधरको अलग हुनैपर्नै हुटहुटी झनै बढाउँदै लगेको थियो । त्यस्तोमा दाहालले कुनै हालतमा पार्टीको नेतृत्व नछाड्ने अनेक घटना र प्रसङ्गहरूले पुष्टि गर्दै लगेपछि संविधान जारी हुनुभन्दा केही अघि नै बाबुराम पक्षधरहरू अब माओवादीमा बस्नै नसकिने तथा छुट्टै पार्टी बनाएरै छाड्ने निश्कर्षमा पुगेका थिए ।
यस्तोमा उनीहरूले संविधान जारी भएपछिको समयलाई माओवादीबाट छुट्टिने र नयाँ पार्टी बनाउने समय रोजे । त्यसका लागि ‘नयाँ संविधान जारी भएपछि पुरानो युग समाप्त भएर नयाँ युग सुरु भएकाले त्यो युगको माग अनुसार नयाँ शक्ति बनाउनुपरेको’ तर्क उनीहरूले निर्माण गरे । केही महिनादेखि राजनीतिक दलहरूसँग असन्तुष्ट, पूर्वकर्मचारी, नागरिक समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग छलफल गरेर बाबुरामले त्यसको तयारी गरेकै थिए । राजनीतिक महŒवाकांक्षा भएर पनि पुराना स्थापित पार्टीमा मौका नपाएका त्यस्ता केहीले उनलाई साथ दिने वचन दिएका पनि थिए । र, त्यही तयारीअनुसार संविधान जारी भएलगत्तै बढो धुमधाम प्रचारसाथ बाबुरामले नयाँ शक्ति बनाए ।
बाहिरबाट हेर्दा निकै मौलाउने गरी खुलेको देखिए पनि त्यो पार्टीको जन्मअघि नै धमिराहरू लागिसकेका थिए । ती केही सैद्धान्तिक थिए, केही राजनीतिक थिए त केही बाबुरामको स्वभावसँगै जोडिएका थिए ।
संविधान जारी हुँदाको वखत बाबुरामले त्योरूपमा संविधान जारी हुँदा नेपालमा ठूलो अनिष्ट आउने भविष्यवाणी गरे । त्यही बेला भारतीय विदेश सचिव एस एस जयशंकरले पनि नेपालमै आएर त्यस्तै चेतावनी दिएका थिए । नभन्दै टीकापुर नरसंहार भयो । मधेसवादीहरूले संविधान ध्वस्त पार्न तराई–मधेसमा आमहडताल गरे । भारतले नाकाबन्दी लगायो । नेपालीको जिवनयापनलाई नै संकटमा पु¥याए ती घटनाहरूले । यसअर्थमा बाबुरामको भविष्यवाणी सही साबित भए । तर, ती घटना र प्रसंगमा बाबुरामलाई भविष्यद्रष्टा भनेर कसैले सम्झेनन्, बरु नेपालको विपक्षमा भारतको सहयोगीका रूपमा बुझे ।
नेपालीले भिलियन मान्ने सम्भावना हुँदाहुँदै बाबुरामले त्यत्रो खतरा किन मोले होलान् त ? बुझ्न नसकेर होला त ? होइन, खासमा उनी पक्षधर नेताकार्यकर्तासँग त्यसबेला कुरा गर्दा उनीहरू प्रस्टैसँग भन्थे, ‘सुगौली सन्धिपछि नेपालको मामिलामा भारत निर्णायक छ र भारतको साथ सहयोगबिना नेपालमा कुनै परिवर्तन सम्भव छैन तथा शक्तिमा पुग्न पनि उसको आशीर्वाद अनिवार्य चाहिन्छ ।’ संविधानमा भारतीय चाहनाको प्रतिनिधित्व देखिने गरी हुनुपर्छ भनेर बाबुराम मुखर बन्नुमा उनमा रहेको यही सोच प्रमुख कारण देखिन्छ । त्यही कारण उनले लामो समय भारतीय चाहनालाई सहयोग पु¥याउन देखिने गरी काम गरे, चाहे माओवादीमा होस् वा माओवादी छाडेपछि । जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्ययन गर्दादेखि नै उनी भारतीय संस्थापनसँग नजिक थिए भन्ने आरोप गलत होला, तर सक्रिय राजनीतिमा आएपछि उनले सधैं भारतीय संस्थापनलाई सहयोग पुग्ने गरी नै काम गरेको स्थापित छ ।
तर, सुगौली सन्धिपछि बितेको यति लामो समय, त्यसक्रममा निर्माण भएको नेपाली चेतना र पछिल्लो समय फेरिदै गएको विश्व र एसियाली शक्तिसन्तुलनको अवस्थाले उनको बुझाइ र निष्कर्षलाई गलत ठह¥याएको छ । भारतीय संस्थापनलाई नेपालको हितविपरीत सहयोग पु¥याउनेहरू नेपालको राजनीतिमा ओरालो लाग्न थालेको पछिल्लो समय प्रस्ट रूपमा देखिन थालेको छ । भारतको अहिलेजस्तै हेपाहा मानसिकता र व्यवहार रहने हो भने यो क्रम अरू तीव्र बन्नेमा शंका छैन ।
त्यसबेला बाबुरामलाई संविधानको जति विरोध ग¥यो मधेसी मत त्यति बटुल्न सकिन्छ भन्ने बुझाइ पनि रहेको देखिन्छ र त्यो रूपमा प्रस्तुत हुनुमा त्यो महŒवाकांक्षा अर्काे प्रमुख कारण बनेको देखिन्छ । संविधानविरुद्ध भारतको सहयोगमा मधेसवादीले जबर्जस्त अभियान चलाएकाले मधेसी जनमत पुरै संविधानविरुद्ध देखिएको थियो र त्यस्तो विरोध गर्दा मधेसी जनमत आफूवरिपरि गोलबन्द हुन्छ भन्ने भ्रम उनमा देखिन्थ्यो । त्यसैले मधेसवादीको विरोधका बाबजुद जनकपुरलगायत केही ठाउँमा जाने प्रयत्न गर्दै उनी पुगे पनि । तर, मधेसवादी नेताहरू सबैले आफ्नै लागि राजनीति गरेका थिए । बाबुरामलाई नेता बनाएर उनीहरूलाई के फाइदा हुन्थ्यो ? नश्ल र जातको राजनीतिलाई बढावा दिँदा जे हुन्थ्यो बाबुरामले पनि अर्काे भोग्ने कुरै थिएन । कांग्रेस, एमाले, माओवादी मान्ने मधेसी त्यो भीडमै थिएनन्, नश्ल र जातिवादी त्यो भीडले गोरखाको पहाडे बाहुन किन नेता मान्थ्यो ? मानेन ।
बाबुराम असफल हुनुमा यतिकै महŒवपूर्ण भूमिका सैद्धान्तिक प्रश्नको पनि रहेको देखिन्छ । एसएलसीमा बोर्ड फस्र्ट, पिएचडी जस्ता शैक्षिक उपलव्धीको आफ्नै ठाउँमा गणना होला तर, बाबुरामको व्यक्तित्वको मूल आधार भनेको जनयुद्ध नै हो । र, त्यसको सैद्धान्तिक आधार भनेको माओवाद हो । माओवाद उनले छाड्नुपरेको कारण के हो ? असफल भएर हो ? माओवादलाई माक्र्सवादको विकसित रूप भनेकोमा अब माओवाद विकास गर्न नसक्ने अवस्थामा पुगेको हो ? पहिले उनैले बुर्जुवा भनेर दुत्कारेको विचारमा उनी किन पुग्नुपरेको हो ? राजनीति गर्नेलाई यस्ता प्रश्न आउँथे नै र आए पनि । कांग्रेसले सशस्त्र क्रान्ति गर्दा, छोडेर राजासँग मेलमिलाप गर्दा, जनमतसंग्रह माग्दा, हारेर पनि परिणाम स्विकार्दा, २०४६ सालको जनआन्दोलन गर्दा, त्यसमा कम्युनिस्टसँग कार्यगत एकता गर्दा र गणतन्त्रमा आउँदा तर्क र कारण दिएकै थियो । एमालेको पूर्वरूप मालेले झापा आन्दोलन गर्दा, त्यो गलत ठह¥याउँदा, जनमतसंग्रह बहिष्कार गर्दा, त्यो गल्ती भएकाले आत्मालोचना गर्दा, पञ्चायती चुनावमा जनपक्षीय बनेर भाग लिँदा र २०४६ मा कांग्रेससँग सहकार्य गरेर भाग लिँदा पनि कारणहरू दिएकै थियो । तर, बाबुरामले त्यस्ता कारण दिन सकेनन् तथा दिएका कारणलाई पनि आम मानिसले पत्याएनन् ।
जनयुद्धमा भएको धनजनको क्षतिले पनि उनलाई पछ्याउँथ्यो नै । शान्तिपूर्ण राजनीतिको पक्षपाति बताउँदा भर्खरै अघि उनले गरेको हिंसाको कारण बताउनैपर्दथ्यो । तर, त्यसको सम्पूर्ण जिम्मा दाहाललाई दिँदै उनी भाग्न खोजे । जसलाई त्यो दुर्दान्त भोगेको पुस्ताले पत्याउने कुरै थिएन । पत्याएन । यसमा बिर्सनै नहुने पक्ष के हो भने माओवाद र कम्युनिस्ट जातै छाडेकाले माओवादीको ठूलो पंक्ति उनीसँग जानै सक्दैनथ्यो । गएन । कम्युनिस्ट र माओवाद नरुचाउने पंक्तिले उनलाई १७ हजारको ज्यान लिएको जनयुद्धभन्दा अलग रूपमा हेर्नै चाहेन । यसो हुँदा उनीसँग जोडिनेको संख्या सीमित हुने नै भयो ।
र, यो दुर्गति भोग्नुमा यीजत्तिकै महŒवपूर्ण कारण उनको स्वभाव पनि देखिन्छ । माओवादीमध्ये उनले लोकतान्त्रिक छवि बनाएको भए पनि माओवादी नेता कार्यकर्ताचाहिँ उनलाई लोकतान्त्रिक मान्न तयार नै छैनन् । उनी अन्तरमुखी छन्, एकांकी छन्, आफूले सोचेको मात्र सही ठान्छन्, अरूसँग सल्लाह गर्दैनन्, अरूको कुरा मान्न तयार नै हुँदैनन्, अधिकांश माओवादी नेता कार्यकर्ताको यही बुझाई छ । त्यही स्वभावका कारण उनले पार्टी चलाउन सक्दैनन् भनेर टोपबहादुर रायमाझी, राम कार्की, प्रभु साहलगायत उनलाई वर्षाैं साथ दिएको ठूलो पंक्ति माओवादी छाडेर उनीसँग गएन । गएका, देवेन्द्र पौडेल, वामदेव क्षेत्री र कुमार पौडेलले पनि अहिले छाडेका छन् ।
यसरी, आफ्नै सैद्धान्तिक, राजनीतिक र व्यावहारिक कमजोरीका कारण बाबुरामको एक इनिङ असफलतामा टुंगिएको छ । राजनीतिक व्यवस्था स्थापनाका लागि कम्युनिस्ट आन्दोलन र माओवाद काम लाग्यो, अब समृद्धि निर्माणको युग भएकाले तिनको भविष्य छैन भनेर नयाँ शक्ति बनाएकाले माओवादीमा जाने बाटो पनि उनी आफैंले बन्द गरिसकेका छन् । यसकारण, उनैले खेल यस्तो अप्ठ्यारो अवस्थामा पु¥याएका छन् कि अर्काे इनिङको उज्यालो पनि कतै देखिँदैन । आठै प्रहारबाट

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा