18th July 2018, Wednesday

E-budhabar

नवगठित नेकपा र यसको वैचारिक काम



नवगठित नेकपा र यसको वैचारिक काम

विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ‘परिवर्तन’ शब्दबाहेक प्रत्येक चिज परिवर्तनशील छ भनेका थिए । निःसन्देह समाज परिवर्तनशील छ । यो परिवर्तनशील समाजले पुराना कतिपय मान्यतालाई अंगीकार गर्न छाड्छ भने नयाँ मान्यतालाई जबर्जस्त अँगाल्नुपर्ने बाध्यता सिर्जना हुन्छ । पुरानो मान्यता छोडेर नयाँ मान्यता अँगाल्न संघर्ष र संक्रमणबाट गुज्रनु अनिवार्य छ । आदिम साम्यवादभन्दा दासयुग प्रगतिशील थियो र दासयुगभन्दा सामन्तवाद बिछट्टै प्रगतिशील । पुँजीवादी वा समाजवादी समाजका जनताले कुनैबेला प्रगतिशील ठानिएका दासयुग र सामन्तवाद सम्झदा जिब्रो काट्दछन् । पुँजीवादकोे सुरुवातसँगै मजदुर सर्वहारामाथि भएको शोषणका कारण तिनबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा कार्ल माक्र्सले ऐतिहासिक, दार्शनिक र राजनीतिक व्याख्या गरे । उनले तत्कालीन विश्व समाजको आधारमा व्याख्या गरे, वर्तमान विश्व परिवेशका आधारमा होइन । माक्र्सले भनेजस्तो गरी न रुस न चीनमा परिवर्तन भयो । माक्र्सवादमा लेनिनले थप व्याख्या नगरी रुसमा क्रान्ति सम्भव भएन । माक्र्सको शब्दकोशमा नभएको नयाँ जनवादी मोडल विकसित गरेर मात्र माओ चीनमा सत्ता कब्जा गर्न सफल भए ।
ठीक त्यसैगरी नेपालमा क्रान्तिका रुसी वा चिनियाँ मोडल प्रयोग गर्न सम्भव थिएन । पुष्पलालले नौलो जनवादी कार्यक्रम अगाडि सारेर २०१० सालको काठमाडौं नगरपालिकाको चुनाव र २०१५ को संसदीय चुनावमा भाग लिने विषय, सशस्त्र झापा विद्रोहबाट जन्मेर भूमिगत राजनीति गरिरहेको तत्कालीन नेकपा (माले) ले पञ्चायती निर्वाचनमा भाग लिने विषय र आफ्नो मूल सिद्धान्त माओवाद बनाएर दीर्घकालीन जनयुद्धमार्फत सत्ता कब्जा गर्न रणनीति बोकेको तत्कालीन नेकपा (माओवादी) ले एकाएक हतियार बुझाएर चुनावमा भाग लिने विषय नेपालको कम्युनिस्ट आन्दोलनका मौलिक विषय हुन् । त्यसकारण, आफ्नो देशको परिवेशअनुरूप राजनीति गर्न छोडेर सिद्धान्तमा मात्र टाँसिनु मुर्खतासिबाय केही होइन ।
नेपाली कम्युनिस्टहरूले आपूmलाई नौलो जनवादी भने पनि जनयुद्ध र जनविद्राहका पक्षधर भने पनि वा एकीकृत क्रान्तिको अभियन्ता भने पनि वा बहुदलीय जनवादी भने पनि संसदीय वा अन्य चुनावलाई आफ्नो राजनीतिक आन्दोलनको सबभन्दा महŒवपूर्ण अंग बनाएका छन् । चुनावमार्फत नै सत्तामा पुग्ने हो भने चुनावी विज्ञानको वस्तुवादी प्रयोग र त्यसमार्फत आमूल राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्दै समाजवादको तयारी गर्नु उनीहरूको साझा एजेन्डा बन्नुपर्ने हो । समाजवादको निर्माण विगतमा अभ्यास गरिएको जस्तो मात्र हुन सक्दैन भनिरहँदा समाजवादको नेपाली मोडलबारे विहंगम बहस सुरु हुनुपर्ने हो । संसदीय व्यवस्थाको अहिलेको निरन्तरताबाट मात्र नेपालका कम्युनिस्टहरूले चाहेको समाजवाद प्राप्त हुने हो वा यसमा ताŒिवक परिवर्तन गर्न आवश्यक छ भन्नेबारे निष्कर्षमा नपुगी समाजवादको वास्तविक यात्रा तय हुन सक्दैन । दुई तिहाइसहितको कम्युनिस्ट सरकारले समाजवादको आधार तयार गर्ने बताए पनि त्यसको ठोस सैद्धान्तिक र व्यावहारिक खाका बाहिर आइसकेको अवस्था छैन । पार्टी एकताको संक्रमणकाल लम्बिँदा यस्तो स्थिति निर्माण भएको हो भन्ने बुझ्न कठिन छैन । नेकपाको प्रथम महाधिवेशनको सेरोफेरोमा यसमाथि विहंगम छलफल हुने आशा गर्न सकिन्छ । देश नयाँ युगमा प्रवेश गरेको भए पनि सो युग सुहाउँदो कार्यनीति र रणनीति तय हुन अझै केही समय कुर्नुपर्ने भएको छ ।
नेपाली परिवेशमा लागू हुन सक्ने माक्र्सवादको नयाँ प्रारूप तयार नगरेसम्म नेपालको वाम आन्दोलन अब अगाडि बढ्न सक्दैन । एक्काइसौं शताब्दीको चेतनासँग मिल्ने गरी माक्र्सवादको सिर्जनात्मक ढंगले पुनव्र्याख्या हुनु जरुरी छ । आधुनिक नेपाली समाजलाई सयौं वर्ष पुरानो दृष्टिकोणबाट हेर्न पनि सकिँदैन र व्याख्या पनि गर्न सकिँदैन । आधुनिक समाजको व्याख्या र रूपान्तरण गर्न आधुनिक विश्व दृष्टिकोण आवश्यक पर्दछ । त्यसका लागि माक्र्स, लेनिन र माओका विचारहरू सन्दर्भ सामग्रीहरू मात्र बन्न सक्दछन् । नयाँ थेसिसको निर्माण गर्न पुराना थेसिसहरूको अध्ययन गर्ने हो, हुबहु नक्कल गर्ने होइन । अबको नेपाली समाजले सहजै ग्रहण गर्न सक्ने मौलिक सिद्धान्तको निर्माण गर्न राजनीतिकर्मी, दर्शनका अध्येता र सामाजिक अभियन्ताहरूले सामूहिक प्रयत्न गर्न ढिलो भइसकेको छ ।
माक्र्सवादको अनुशरण गर्नुको अर्थ हजारौं वर्ष पहिले लेखिएका भजनहरू पुरोहितले भट्याएको जस्तो हुन सक्दैन । त्यसको सिर्जनात्मक र समयसापेक्ष प्रयोग गर्नुचाहिँ क्रान्तिकारिता हो, संशोधनवाद वा दक्षिणपन्थता होइन । नेपालका केही आपूmलाई मूर्धन्य ठान्ने कम्युनिस्ट नेताहरूले माक्र्स, लेनिन र माओका विचारहरूलाई गायत्री मन्त्रजस्तो बनाइदिनाले नेपालको कम्युनिस्ट आन्दोलन लामो समय विभाजित भयो तर अहिले समाजवाद निर्माणको चरणमा एकीकृत हुन पुगेको छ । यो हर्ष र गौरवको विषय हो । आपूmले बुझेको जति माक्र्सवाद मात्र सही हुने र अरूले बुझेको माक्र्सवादचाहिँ सबै संशोधनवादी र दक्षिणपन्थी हुने रोगबाट ग्रसित नेताहरूको ह्याङओभरबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गरेर मात्र यसलाई जोगाउन सकिन्छ । मोहनविक्रम सिंह, मोहन वैद्य किरण, नारायणमान बिजुक्छेलगायत केही नेताको सोच्ने तरिकाबाट अब नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । त्यस्तै, नयाँ तरिकाले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ भन्ने नेत्रविक्रम चन्द पनि माओवादको छायाबाट बाहिर आउन सकेका छैनन् । युद्ध मोह र अव्यावहारिक राजनीतिक एजेन्डाबाट उनको समेत राजनीतिको रोटी सेकिने सम्भावना देखिँदैन ।
वर्तमान लोकतन्त्रवादी समाजबाट उच्चतम लोकतन्त्रसहितको समाजवादमा फड्को मार्न राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ । निःसन्देह, राजनीति उपरिसंरचना भएकाले परिवर्तन सबभन्दा पहिले त्यहीँबाट सुरु हुनु पनि त्यत्तिकै अपरिहार्य छ ।
बृहत बहसको माध्यमबाट कालजयी माक्र्सवादका आयामहरूलाई नेपालको धरातलीय यथार्थमा सैद्धान्तीकृत गरेर त्यही विचारका आधारमा सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता छ । यसले नेपाल कम्युनिस्ट पार्टीलाई मात्र पुनर्गठित गर्नेछैन, समग्र राष्ट्रलाई नै सही दिशा प्रदान गर्नेछ । आफू पनि केही नगर्ने अरूले सैद्धान्तिक वैचारिक क्षेत्रमा गरेको योगदान पनि सहन नसक्ने प्रवृत्तिलाई सबै क्षेत्रबाट दुत्कार्नुपर्दछ । र, हिजो मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र माओवादले देख्न नसकेका थुप्रै विषयलाई समेत सम्बोधन गर्ने नयाँ सैद्धान्तिक अवधारणा र सोहीबमोजिमको राष्ट्रव्यापी रूपमा सार्थक सांगठनिक एकीकरण र रूपान्तरण भइसक्दा त्यो भीमकाय शक्तिले नेपालको कायाकल्प गर्ने निश्चित छ ।
एक चिनियाँ दार्शनिकले भनेका छन्, आफ्ना विचारको ख्याल गर, किनभने ती शब्द बन्दछन् । शब्दहरूको ख्याल गर, किनभने ती कार्य बन्दछन् । कार्यहरूको ख्याल गर, किनभने ती बानी बन्दछन् । बानीहरूको ख्याल गर, किनभने ती चरित्र बन्दछन् । चरित्रको ख्याल गर किनभने, ती भाग्य बन्दछन् । र, भाग्य नै तिम्रो जीवन हुनेछ । ती दार्शनिकको यो भनाइमा सार्वभौमिक सच्चाइ भेटिन्छ ।
विचारअनुसारको चरित्र हरेक मानिसमा अपेक्षा गरिएको हुन्छ । व्यक्तिले व्यक्त गर्ने विचार उसको कार्य, बानी वा चरित्रसँग मेल नखाए त्यो विचार नक्कली हुन्छ । निःसन्देह, विचारअनुसारको कार्य नगर्ने, बानी नसुधार्ने र चरित्र प्रदर्शन नगर्ने व्यक्ति अविश्वसनीय हुन्छ, कहिलेकाहीँ खतरनाकसमेत हुन्छ ।
आज नेकपाका हरेक नेता–कार्यकर्ता र समर्थकका शब्द, बानी, विचार र व्यवहारलाई जनताले अत्यन्त सूक्ष्म ढंगले नियालिरहेका छन् । त्यसकारण अहिले खासगरी नेकपाका नेताले जनताको आस्था र उत्साह भड्कन नदिन उन्मादीले होइन, होस र इमानदारीपूर्वक कार्य सम्पादन गर्नु, जनचाहनाबमोजिम पार्टी र सत्ता सञ्चालन गर्नु, भ्रष्टाचारशून्य र पारदर्शी जीवनशैलीको अवलम्बन गर्नु त्यत्तिकै महŒवपूर्ण छ ।
पार्टी र व्यक्तिका लागि विचार प्रस्थान बिन्दु भएकाले विचारको क्षेत्रमा नवगठित नेकपा प्रस्ट हुनु जरुरी छ । पार्टी नेतृत्वदेखि तृणमूल तहसम्मका कार्यकर्तामा बुझाइमा एकरूपता ल्याउन पार्टीव्यापी बहस सञ्चालन जरुरी भइसकेको छ । यसमा ढिलाइ भए पार्टी र सरकार दुवैतर्फ दिशाहीनता पैदा हुनेछ । र, केही वर्षको अन्योलले दशकौंको यात्रा प्रभावित हुनेछ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

नेकपाको विधान र नियमावली पारित

महाधिवेशन प्रतिनिधि बन्न ओली र प्रचण्डले पनि चुनाव लड्नुपर्ने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन र अधिवेशनमा प्रतिनिधिमा- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अधैर्यको नमीठो स्वाद

आख्यान र गैरआख्यान दुवै विधाका किताबको अध्ययनमा गहिरो अभिरुचि राख्ने एक जना गम्भीर अध्येताले केही दिनअघि भने, ‘नेपाली लेखकहरूका एकपछि अर्को किताब फितला हुँदै गइरहेका छन् । लेखन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विडम्बनाको पर्दाफास

हरेक समाज केही न केही विडम्बना, समस्या र द्वन्द्वमा जेलिएका हुन्छन् । त्यस्तो समाजभित्र बाँचिरहेका मानिसहरूका अनेक कथाव्यथा हुन्छन्, अनगिन्ति पीर, सन्ताप, व्यथा, खुसी र उल्लास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा