18th February 2018, Sunday

E-budhabar

सदा स्मृतिमा रहने छन् प्रा.डा. सीएन पण्डित



 पिता प्रजापति पण्डित र माता कलावती पण्डितका सुपुत्र प्रा.डा. सीए पण्डित (चिदानन्द पण्डित) व्यापक जन समुदायबीच सुपरिचित नाउँ हो । उनी अब भौतिक रूपमा हामीमाझ रहेनन् । मृगौला रोगको उपचार गराउँदा गराउँदै अचानक मस्तिष्कको रक्तस्राव भई २०७४ भाद्र २ गतेका दिन ६० वर्षको उमेरमा उनको निधन भयो । उनी यस धर्तीमा नरहे पनि उनले गरेका असल कर्महरू यहीँ नै छन् र उनी सदा हाम्रो स्मृतिमा रहिरहनेछन् ।
त्रिभुवन विश्व विद्यालयको शिक्षाशास्त्र संकायको विज्ञान तथा वातावरण शिक्षा केन्द्रीय विभागको प्राध्यापक एवम् प्रमुखका रूपमा उनी हाल कार्यरत थिए । केही समय महेन्द्र रत्न क्याम्पस, ताहाचलमा समेत प्राध्यापन गरेका डा. पण्डित आफ्ना विद्यार्थीहरूमाझ अत्यन्त प्रिय थिए भने सहकर्मीहरूका असल मित्र थिए । उनको निधनपछि विद्युतीय मुहार पुस्तिकाका भित्ताहरूमा उनीप्रति पोखिएको सद्भावबाट नै उनी को थिए भन्नेबारे धेरै कुरा प्रकाशमा आएका छन् ।
उनी राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य थिए र निकट भविष्यमा आयोजना हुन लागेको महासंघको राष्ट्रिय सम्मेलनको आयोजक समितिका सदस्य थिए । उनी विज्ञानका प्राध्यापक थिए र राष्ट्रलाई बदल्न वैज्ञानिक चिन्तनको आवश्यकता बोध गरी रूढि, अन्धविश्वास र अवैज्ञानिक चिन्तनका विरुद्ध माक्र्सवादको दर्शनलाई अँगाल्दै दृढतापूर्वक डटेका थिए । काठमाडौं क्षेत्र नम्बर १ मा बुद्धिजीवीहरूलाई सङ्गठित गर्दै निरङ्कुशता विरोधी आन्दोलनको दियो बाल्ने उनी एक प्रमुख व्यक्ति थिए । यहाँका चुनाबमा बुद्धिजीवी सहयोग समितिको अध्यक्षका रूपमा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजयी गराउन उनले गरेको योगदानलाई कसैले बिर्सन सक्तैन । प्राध्यापक क्षेत्रमा इलाका स्तरीय कमिटीमा रहेर प्राध्यापकका हकहित र पेसागत समुन्नयनका लागि पनि उनी क्रियाशील रहे । काठमाडौँमा रहेर पनि आफ्नो जिल्ला कास्कीमा राजनैतिक जागरण ल्याउन सम्पर्क मञ्चको नेतृत्व सम्हाल्दै उनी लागि परे । बुद्धिजीवी क्षेत्रमा होस् वा भौगोलिक क्षेत्रमा उनी निर्भिकतापूर्वक समाज रूपान्तरणको झन्डा उँचो तुल्याउन सक्रिय रहे । कहिले आन्दोलनको पंक्तिमा लामबद्ध भएका, कहिले मञ्चमा उभिएर विचार प्रवाह गरिरहेका, कहिले चुनावका मैदानमा कुदिरहेका र कहिले कलम चलाइरहेका सीएन आफ्नो पंक्तिका लागि भरोसा र विरोधीहरूका लागि त्रासका रूपमा रहेका थिए ।
उनी बौद्धिक क्षेत्रमा एक प्रतिष्ठित लेखकका रूपमा स्थापित थिए । उनले विज्ञान शिक्षण विधि, वातावरण शिक्षाका आधार, स्वास्थ्य र वातावरण विज्ञान शिक्षण विधि, आधुनिक विज्ञान शिक्षण, प्रारम्भिक वातावरण शिक्षा, रसायनशास्त्र पाठ्यपुस्तक, रसायनशिक्षा, आधुनिक अनुसन्धान विधि, निर्देशनात्मक मूल्यांकन, प्रयोगात्मक रसायनशास्त्र आदिसँग सम्बन्धित एक दर्जन पुस्तकहरू नेपाली वाङ्मयलाई सुम्पेका छन् । उनले उच्च माध्यमिक शिक्षा परिषद्को विज्ञान शिक्षा विषय समितिको सदस्यका रूपमा पनि आफ्नो सेवा प्रदान गरे । दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्बद्ध भएर उनले विभिन्न अनुसन्धान कार्य सम्पन्न गरेका छन् । लखनउ विश्वविद्यालयबाट वातावरणीय रसायन शास्त्रमा विद्यावारिधि, त्रिभुवन विश्व विद्यालयबाट रसायन शास्त्रमा एम.एस्सी. र दिल्ली विश्व विद्यालयबाट वातावरण विज्ञानमा एम.एस्सी.का साथै त्रिविबाट बीएड अध्ययन पूरा गरेका डा. पण्डितले विभिन्न महŒवपूर्ण तालिमहरू पनि प्राप्त गरेका थिए । उनी विद्यालयदेखि विश्व विद्यालयसम्मका पाठ्यक्रम निर्माण र मूल्याङ्कनका काममा पनि संलग्न थिए । राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठी आदिमा विभिन्न प्रस्तुति गर्नुका साथै देशका विभिन्न भागमा पुगेर तालिमहरू दिने काम पनि उनले गरेका थिए । उनको विशेषज्ञताको ख्याल गरेर सरकारबाट उनलाई तत्कालीन शाही औषधि लिमिटेडको सञ्चालकको जिम्मेवारी पनि प्रदान गरिएको थियो ।
अत्यन्त मिलनसार, तार्किक र निर्णय क्षमतायुक्त बौद्धिक व्यक्तित्व सीएनको निधन राष्ट्र र समाजको निम्ति अपूरणीय क्षति हो । उनको निधनले धेरैलाई व्यथित तुल्याएको छ । मृत्यु सबैका जीवनमा अवश्यांभावी भएकाले यस शोकलाई धैर्यपूर्वक सामना गर्नुको विकल्प छैन । शोकलाई शक्तिमा बदल्दै उनको समाज बदल्ने सपना पूरा गर्नु हामी सबै सहृदयको कर्तव्य हो ।
सीएन आफू मात्र होइन, उनकी जीवनसँगिनी रूक्मिणी पण्डित पनि श्रमजीवी जनताको पक्षमा क्रियाशील छन् र कामपा ३१ नम्बर वडामा संगठित भई महिला आन्दोलनमा सक्रिय छन् । योग्य पिताका योग्य पुत्रीहरूका रूपमा डा. अञ्जली पण्डित, ई. आरती पण्डित र डा. बेन्जु पण्डित तथा पुत्रका रूपमा डा. विदुर पण्डित सीएनका नासोका रूपमा हामीले पाएका छौं । निर्दयी कालले प्रिय मित्रलाई हामीबाट अलग्याए पनि हामी उनका असल कार्यबाट सदा प्रेरणा प्राप्त गरिरहनेछौं ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा