प्रमलाई थाहा छैन– टनकपुर कहाँ पर्छ ?
चिसो पूरै नसिध्दिँदै मध्य फागुनमा पूर्वमनसुन सुरु हुनुलाई जलवायु विज्ञहरूले बेमौसमीको संज्ञा दिएका छन् । तर, हाम्रा प्रधानमन्त्री सुशील कोइरालाले बल्लतल्ल मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि गृहनगर नेपालगन्ज पुगेर तिनलाई पनि माथ गर्दै भन्नुभएको छ– ‘टनकपुर भारतकै हो ।’ कुनै छलफल, बहस वा वार्ताका क्रममा नरहेको र सन्दर्भ पनि ननिस्किएको विषयमा प्रधानमन्त्री कोइरालाले के कारणले एकाएक सार्वजनिक अभिव्यक्ति दिनुभएको होला ? अहिले चर्चाको विषय बनेको छ । विगतमा आफूलाई प्रधानमन्त्री बन्न नदिनका लागि बाह्य चलखेल भएको भन्ने महसुस गर्नुभएका र प्रधानमन्त्री भइसकेपछि पनि भेट्न जानेहरूसँग राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबका बाबजुद प्रधानमन्त्री भएको भनेर आफ्नो महिमाका बारेमा सम्झाउने गर्नुभएका प्रधानमन्त्री कोइरालाबाट मुखबाट यत्तिकै चिप्लिएर यति गम्भीर अभिव्यक्ति पक्कै पनि आएको रहेनछ भन्ने कुरा उहाँ आफैंले पुष्टि गर्नुभएको छ । पछिल्लो दिन पत्रकार सम्मेलन नै गरेर उहाँले आफ्नो भनाइलाई थप पुष्टि गर्ने गरी जम्मा सात मिटर त नेपालको जमिन त छ नि भन्नुभएको छ । यसबाट के देखिन्छ भने प्रधानमन्त्री कोइरालाले कुनै गम्भीर अर्थ र उद्देश्यसहित चर्चामै नभएको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।
छिमेकी मुलुकहरूका बीचमा सीमा विवाद हुनु असामान्य कुरा होइन । हाम्रो छिमेकी भारत र उसको छिमेकी पाकिस्तानबीच आधा शताब्दी अघिदेखि सानो सीमाका विषयमा होइन, ठूलै भू–भाग कास्मिरका बारेमा जटिल विवाद छ । हाम्रा दुई ठूला छिमेकी चीन र भारतका बीचमा पनि बेला–बेलामा सीमा विवाद उठ्ने गर्दछ भने समाजवादी चीन र त्यस्तै अर्को समाजवादी भियतनामका बीचमा समुद्री सीमालाई लिएर गोलाबारी भएका समाचारहरू पनि बेला–बेलामा आउँछन् । दुई विकसित राष्ट्र जापान र चीनका बीचमा पनि त्यस्तो समस्या बेला–बेलामा विस्फोटक रूपमा दुनियाँका सामु आउने गर्दछ । नेपाल र भारतका बीचमा पनि सीमा बारेमा लामो समयदेखि विवाद थाँती छ । तर, त्यो विवाद अरू मुलुकहरूको जस्तो तिक्त र अस्वाभाविक छैन । कहीँ–कतै नदीको बहाव परिवर्तनका कारण समस्या उब्जेको छ भने कहीँ–कतै समयमै नक्सांकन नभएका कारण समस्या परेको छ । र, दुई देशका अधिकारीहरू सुस्त रूपमा भए पनि सीमा विवादका बारेमा लामो समयदेखि छलफलमै छन् । खासगरी, सुदूरपश्चिमबाट बग्ने महाकाली नदीका कारण नेपाल र भारतबीचको सम्बन्धमा निकै उतार–चढाव आएको पाइन्छ । त्यही संवेदनशीलतालाई ख्याल नगरी प्रधानमन्त्री कोइरालाबाट अभिव्यक्ति आएपछि त्यसले अस्वाभाविक तरंग सिर्जना गरेको छ ।
सीमा समस्या कुनै पनि मुलुकको सबभन्दा संवेदनशील विषयका रूपमा रहन्छ । कुनै पनि मुलुक र त्यस मुलुकका बासिन्दालाई आफ्नो एक इन्च जमिन पनि प्रतिष्ठाको विषय हुन्छ । यदि त्यस्तो हुँदैनथ्यो भने आज शताब्दीअघि देखि इजरायली र प्यालेस्टेनीबीच रक्तपातपूर्ण युद्ध हुने नै थिएन । अनि अरू मुलुकका बीचमा रहेका सीमा विवाद पनि अलिकति जमिनको कुरा त हो नि भनेर समाधान भइसक्ने थिए । तर, त्यस्तो हुँदैन र कुनै पनि मुलुकले त्यस्तो गर्न सक्दैन । थाहा छैन, नेपालका प्रधानमन्त्रीले आफ्नो मुलुकको सात मिटर त हो नि भनेर कसरी त्यति सजिलै भन्न सक्नुभयो ?
टनकपुरका बारेमा मुलुकमा भिन्नै बुझाइ छ र धेरै बहस भइसकेको छ । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणका क्रममा टनकपुरसम्बन्धी कागजमा हस्ताक्षर गरेर आएपछि त्यो सन्धि हो कि सम्झौता हो भनेर मुलुक दुई भागमा विभाजित मात्र भएन, सर्वोच्च अदालतले सन्धि नै हो भनेर त्यसलाई टुंग्याउनुपरेको थियो । अहिले फेरि टनकपुर कसको हो भन्ने कुनै सन्दर्भ पनि आएको छैन । प्रश्न कति मिटर जमिन च्यापिएको छ भन्ने होइन । बरु प्रश्न के हो भने अहिले उहाँले यो विषयलाई किन उठान गर्नुभयो ? सार्वभौम मुलुकका प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिँदा नेपाली जनता पक्कै पनि खुसी भएका छैनन् । त्यसो भए उहाँले आफ्ना देशका जनतालाई नभई कसलाई खुसी पार्नका लागि यस्तो अभिव्यक्ति दिनुभएको होला ? सात मिटर नै सही, नेपाली भू–भागसँग सौदाबाजी गर्ने अधिकार उहाँलाई कसले दियो ? म्यान्मारमा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहलाई भेट्न जानुपूर्व आएको उहाँको अभिव्यक्तिलाई गम्भीर रूपमा लिनुपर्छ र अरू राजनीतिक दलहरूले पनि यसमा मुख खोल्नुपर्छ ।
प्रधानमन्त्री कोइरालालाई हेक्का हुनुपर्ने हो, टनकपुर र महाकालीका बारेमा उहाँको सहयात्री दल नेकपा (एमाले) ले ठूलो मूल्य चुकाइसकेको छ । १७ वर्षसम्म डीपीआर पनि बन्न नसकेको महाकाली परियोजनाले एमालेमा पारेका घाउमा अझै खाटा बसिसकेका छैनन् । यही मुद्दाले पार्टी विभाजन भयो, नेताहरूमाथि अनेक आरोप लगाइयो । अझ रोचक कुरा के छ भने महाकाली सन्धिलाई मुख्य मुद्दा बनाएर पार्टी विभाजन गर्नुभएका वामदेव गौतमलाई पहिलो उपप्रधानमन्त्री बनाएर कोइरालाले सरकारको रथ हातमा लिएको बेला टनकपुरको मुद्दा ब्युँताउनुभएको छ । वास्तविकता के छ भने दुवै देशको हितमा छ भनिएको महाकाली सन्धि अहिलेसम्म कार्यान्वयन गरिएको छैन । अलि–अलि नेपालले पनि लाभ पाउने भएका कारण हस्ताक्षर भएको दुई दशक पुग्न लाग्दा पनि परियोजनाको कार्यालय कहाँ राख्ने, कार्यकारी निर्देशक कुन देशको बनाउने भन्ने जस्ता तपसीलका विषयमै यसलाई अड्काइराखिएको छ । प्रधानमन्त्री कोइरालाको ध्यान बरु यसमा जानुपर्ने हो । एकातिर नेपालका तर्फबाट महाकालीमा स्वदेशी वा विदेशी लगानीमा कुनै आयोजना सुरु नहोस् भनेर सन्धि गर्ने अनि अर्कातिर त्यसको कार्यान्वयन नगरेर अड्काइराख्ने काम किन भइरहेको छ ? प्रधानमन्त्रीले चासो दिनुपर्ने विषय यस्तो हुनुपथ्र्यो । र, टनकपुरकै विषयमा बोल्नुपर्दा पनि सार्वभौम मुलुकको प्रधानमन्त्रीले हाम्रो सात मिटर जमिन च्यापिएको छ भन्नुपथ्र्यो । तर, विडम्बना । अप्रिय र अरुचिकर दृश्यहरू हेर्न हामी नेपाली अभिशप्त छौं ।
सत्ताको चरित्र नै बडो गजबको हुँदोरहेछ । नपुगुञ्जेल कसरी पुगिने होला भन्ने चिन्ता हुँदोरहेछ भने पुगिसकेपछि कसरी टिकिराख्ने होला भन्ने त्यसभन्दा ठूलो चिन्ता हुँदोरहेछ । सायद सुशील कोइरालालाई पछिल्लो चिन्ताले यतिबेला लखेटिरहेको छ । तर, एउटा बुझ्नुपर्ने यथार्थ के हो भने घरेलु अवस्था ठीकठाक हुने होइन भने कसैको आशीर्वादमा सत्तामा पुगेर जतिसुकै सेवा गरे पनि टिक्न सकिन्न भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन, बाबुराम भट्टराईलाई हेर्दा पर्याप्त हुन्छ । सत्ताका लागि खुसी पार्न उहाँले के गर्नुभएन ? नेपाललाई चाहिँदै नचाहिएको बिप्पा सम्झौता गरेर जुवा खेले पनि तासको पत्ति सधैंभरि उहाँको भागतिर मात्र परिरहेन र सत्ताका लागि संविधानसभाको मृत्यु गराएको संगीन आरोपसहित उहाँ देशबासीका नाममा एक पटक सम्बोधन गर्न पनि नपाएर बालुवाटारबाट निस्किनुपर्यो, जुन दाग पखाल्न अहिले पनि उहाँलाई हम्मे–हम्मे परिरहेको छ । यस दुखान्तबाट पाठ सिक्नुभन्दा अरूलाई नै खुसी पार्ने अभियानमा कोइराला लाग्नु कुनै एउटा दलका लागि मात्र होइन, हामी सबै नेपालीका लागि लज्जाको विषय हो ।
प्रधानमन्त्रीले बोल्दा सारा मुलुकले हेरिरहेको हुन्छ । बोलेका सबै कुरा प्रस्ट नबुझिए पनि यतिबेला सुशील कोइरालाको बोलीमा मानिसहरूले अर्थ खोज्छन् । तसर्थ, के बोल्ने मात्र होइन, कतिबेला बोल्ने भन्ने कुराले पनि महत्त्व राख्छ भन्ने कुरा त्यस ओहोदामा पुगेको मानिसले हेक्का राख्नैपर्ने हुन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply