बीपीले पटना बोलाउँदा-कमल कोइराला
विसं २०२२ (सन् १९६५) मा एलएलबी उत्तीर्ण गरेको ११ वर्षपछि २०३३ जेठमा मैले सर्वोच्च अदालतबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरें । यसबीचको ११ वर्षमा निर्वासन, जेल, बिहा, छोराको जन्म जस्ता काम पनि भएका थिए । खेतीपाती पनि गरें । मोरङ उखु उत्पादक संघको सचिव पनि भएँ । हाम्रो परिवारको मोरङका तीन विभिन्न ठाउँ कामत (खेतीपाती हुने ठाउँ) थिए, अहिले पनि छन् । ठूलो बेलारस ट्ेरक्टर पनि थियो, जसबाट उखु खेती, धान खेतको अग्रिम जोताइ, गहुँ खेती गर्नुका साथै भाडामा अरूको खेत पनि जोत्ने गरेको थियो । म जेलमा हुँदा दाजु विमलले सबै एक्लै हेर्नुभएको थियो । साथै, उहाँ स्कुलमा हेडमास्टर पनि हुनुहुन्थ्यो ।
०३३ मा भरतमोहन अधिकारी र मैले कोसी ल फर्म खोल्यौं । भूमिगत राजनीति छँदै थियो । सुरुमा हामीहरूको उदितनारायणलाल दास कर्णसँग मिलेर ‘ल फर्म’ बनाउने सोच थियो । हामी दुवैले कानुन व्यवसायको अभ्यास गरेका थिएनौं । उदितनारायण अभिकर्ता मात्र भए पनि उहाँसँग मस्यौदा गर्ने अनुभव हुँदा त्यो प्रयास गरेका थियौं । उदितनारायण कुनै समय नेपाल कम्युनिस्ट पार्टी वैध रहँदा २००८ देखि मोरङ जिल्लामा किसान संघर्षहरूका प्रारम्भकर्ता, संगठक र मोरङ जिल्ला कमिटीका सचिव रहनुभएका हरिहरप्रसाद उपाध्यायका सहायकका रूपमा किसानहरूका मुद्दा हेर्नुहुन्थ्यो । २०१७ पुस १ मा राजा महेन्द्रले ‘कु’ गरेकै दिन हरिहरप्रसाद उपाध्याय पनि विराटनगरमा मनमोहन अधिकारी, मातृकाप्रसाद कोइराला र शैलेन्द्रकुमार उपाध्यायका साथमा पक्राउ परेपछि उदितनारायणले राजनीतिक जीवन त्याग गरेर बस्नुभएको थियो र काननु व्यवसायलाई निरन्तरता दिनुभएको थियो । हामीहरूको प्रस्तावमा उहाँले आलटाल गरिरहनुभयो । सायद उहाँलाई हामीले वकालत गरी खाँदैनौं जस्तो लाग्यो ।
तर, हामी पहिले नै सार्वजनिक रूपले परिचित थियौं र मिहिनेतका साथ मुद्दाहरू हेर्न थालेपछि सुरुदेखि नै राम्रो काम र दाम पाउन थाल्यौं । विराटनगर, इनरुवा, झापा, धरानको अञ्चल अदालत र धनकुटाको क्षेत्रीय अदालतमा पालैपालो गरी भ्याउन थाल्यौं । ती ठाउँहरूमा पार्टीका कमरेडहरूसँग भेटघाट र सम्पर्क पनि झन् छिटो हुन थाल्यो । यस बखत सुशीला कार्की (हाल सर्वोच्चका न्यायाधीश), बोर्णबहादुर कार्की (हाल प्रेस काउन्सिलका अध्यक्ष) देवीबहादुर घिमिरेहरू धरानमा कानुन व्यवसाय गर्नुहुन्थ्यो । मोहन सिटौला (पछि सर्वोच्चका न्यायाधीश), विपुलेन्द्र चक्रवर्ती (सर्वोच्चको न्यायाधीश सिफारिस भए पनि मान्नुभएन), कालीकुमार लाल, नारायणराज खरेलहरू विराटनगरमा वकिल हुनुहुन्थ्यो ।
त्यस्तैमा एक दिन २०३३ मा बीपी कोइरालाले मनमोहन अधिकारी, भरतमोहन अधिकारीलगायत हामीहरूलाई भेट्न पटना आउने खबर पठाएको विराटनगरका कांग्रेसी मित्रहरूले बताए । हामी सीमापार जोगबनीबाट बिहारको रात्री बस चढी भोलिपल्ट पटना पुग्यौं । हामी पटना पुग्दा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शैलजा आचार्यलगायत देशभित्र र भारतमा रहेका कांग्रेसका नेता–कार्यकर्ता पुगिसकेका रहेछन् । पहिले बाटैमा चार्टर्ड एकाउन्टेन्ट कूबेर शर्मा र डाकुरनाथ भेटिए । राजपरिषद्का सभापति, राजदूत र परराष्ट्रमन्त्री भइसकेका ऋषिकेश शाहसँग पनि भेट भयो ।
बीपी कोइरालाले जेल परे पनि नेपाल फर्किने निर्णय गरेको कुरा पटनामा उहाँसँग भेट नहुँदै सुनिसकेका थियौं । बीपीसँग हाम्रो भेट हुँदा गिरिजाप्रसाद कोइराला र शैलजा आचार्य पनि हुनुहुन्थ्यो । बीपी कोइरालाले हामीलाई पनि त्यही कुरा सुनाउँदै ‘तिमीहरू के भन्छौं ?’ भनेर सोध्नुभयो । स्वाभाविक थियो, हामी देशभित्र बसेर राजनीति गरिरहेका कम्युनिस्ट र कांग्रेसीहरू बीपी कोइरालाको त्यो बुद्धिमत्तापूर्ण र साहसिक निर्णयबाट धेरै खुसी थियौं । मनमोहनजीले भन्नुभयो– ‘साह्रै राम्रो निर्णय गर्नुभयो । म धेरै खुसी छु ।’ अनि बीपीले अरु कुरा पनि थप्नुभयो– ‘अहिले देशको स्वतन्त्रताको रक्षा गर्न र साथै प्रजातन्त्र स्थापना गर्न मैले यो सर्वोत्तम ठानें’ इत्यादि ।
हामीले सुन्यौं– गणेशमान सिंह र शैलजा आचार्य पनि बीपीका साथ काठमाडौं जाँदै हुनुहुन्छ । देशभित्र कृष्णप्रसाद भट्टराई कार्यबाहक सभापति र निर्वासनमा रहेर गिरिजाप्रसाद कोइराला महामन्त्री रहनुहुनेछ ।
त्यसताका पटनाका अखबारहरूले पूर्वप्रधानमन्त्री बीपी कोइरालाका साथ पूर्वविदेशमन्त्री ऋषिकेश शाहको लगत्तै सँगसँगै नाम लेखेको तर पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, पूर्वमन्त्री गणेशमानको नाम उल्लेख नगरेकोमा गिरिजाप्रसाद कोइरालालाई मन परिरहेको थिएन । उहााले त्यसबखत मनमोहन अधिकारीसाग हाँस्दै भन्नुभयो– ‘जहाँ पनि हत्त न पत्त सान्दाजु (बीपी कोइराला)सँग काँध जोड्दै हिँड्छन् ।’ बीपी कोइराला र कांग्रेसका नेताहरूसँग भेट गरेपछि हामी विराटनगर फर्कियौं ।
०३३ मेरो जीवनमा धेरै दृष्टिकोणहरू राम्रो रह्यो । राजनीतिक, सामाजिक र व्यक्तिगत जीवनमा मन पर्ने घटनाहरू भएका थिए । केही दिनपछि बीपी कोइराला, गणेशमान सिंह र शैलजा आचार्य पटनाबाट काठमाडौं आए । बीपी कोइरालालाई विमानस्थलमा पक्राउ गरेर मुद्दाहरू चलाइने समाचार त्यसै दिन विराटनगरमा सुनियो । बीपी कोइराला स्वदेश फर्केको कुरा नेपालको प्रजातान्त्रिक आन्दोलनले सही मोड लिने ठूलो आशा भयो ।
मैले सर्वोच्च अदालतबाट अधिवक्ताको प्रमाणपत्र लिई कानुन व्यवसाय पनि थालेकाले आम्दानी पनि राम्रै बृद्धि हुन थालेको थियो । मेरो छोरा स–साना केटाकेटी पढ्न जेसी बाल सदनको पढाइ सकेर आदर्श विद्यालयमा भर्ना भएको थियो र दार्जिलिङ माउन्ट हर्मन स्कुलमा भर्ना गर्ने तरखर सुरु थियो । ०३३ मै मेरो छोरीको पनि जन्म भएको थियो । त्यसअघि छोराभन्दा मुनि एउटा छोरी समय नपुगी जन्मेर केही घन्टामै मृत्यु भएकाले एउटा उदास अनुभव म र मेरो पत्नीको जीवनमा थियो । त्यसैले छोरी नै जन्मेकोमा ठूलो मानसिक सन्तुष्टि पनि थियो । छिमेकी भारतमा पनि त्यसै वर्ष संकटकाल लागू गरी तानाशाहीपूर्ण शासन चलाएकोमा भारतीय जनताले ३० वर्ष निरन्तर शासनमा रहेको भारतीय कांग्रेसका उम्मेदवारहरूलाई व्यापक रूपमा चुनावमा सत्ताबाट झारिदिएका थिए । संकटकाल लागू गर्ने प्रधानमन्त्री इन्दिरा गान्धीको त जफत नै भएको थियो ।
नयाँ जनता पार्टी भारतको केन्द्रमा सरकार बनाउन सफल भएको थियो । नयाँ प्रधानमन्त्री मोरारजी देसाईले नेपालसँग राम्रो सम्बन्ध बढाउने काम थालेका थिए । उनी काठमाडौं भ्रमणमा आएका बखतको संयुक्त विज्ञप्तिमा नेपालको हित हुने जलविद्युत् योजनाहरू र दोलालघाट–धनकुटा मध्य पहाडी राजमार्ग बनाउने उल्लेख भएको थियो । यसप्रकार मेरो जीवनमा ०३३ व्यक्तिगत सामाजिक र राजनीतिक सबै रूपले सुखद मोडका अनुभवहरूको साथ थियो ।
मेरो पत्नी आदर्श बालिका विद्यालयमा शिक्षिका थिइन् । हरेक वर्ष गर्मीको छुट्टिमा उनको माइती काठमाडौं हुँदा म पनि केही दिनलाई उनको साथ आउँथे । तर, ०३३ मा भर्खर वकालत थालेको हुँदा म आएको थिइनँ । उनी र छोरामात्र आएका थिए ।
म विराटनगरमा हुँदै इन्द्रराज्यलक्ष्मी प्रसूति गृहमा छोरी जन्मेको खबर पुग्यो । बाबालाई जापानी राजदूतले दिएको महँगो रक्सी बाबालाई काम नहुँदा आमाले मलाई दिनुभएको थियो र मैले राखिरहेको थिएँ । छोरी जन्मेको खबर पाएको साँझ म भरतमोहन अधिकारी कहाँ त्यो बोतल लगेर गएँ ।
त्यहाँ महेशप्रसाद उपाध्याय र सुरेश अधिकारीलाई पनि बोलायौं । र खुसियाली मनायौं ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply