वकालतको वरपर
वकालत मलाई पढ्दा रमाइलो लाग्दथ्यो । २०३३ मा वकालत गर्न थालेपछि पनि रमाइलो लाग्दथ्यो । भारतको उत्तर प्रदेशमा वि.सं. ०२२/२३ तिर कानुन पढ्दा १८ देखि २० प्रतिशत मात्र पास हुन्थे । तर, मलाई कानुनका पुस्तकहरू र मुद्दाहरू पढ्दा रमाइलो र रुचिकर लाग्ने हुँदा म चाख लिएर पढ्दथें । साथै, त्यसबखत वाराणसीको हरिश्चन्द्र डिग्री कलेज जहाँ म दिनभर पार्टीको केन्द्रीय कार्यालयमा बसी साँझ ५ बजेदेखि ८ बजे ‘ल’ पढ्न जान्थें । त्यो गोरखपुर विश्वविद्यालयसँग आबद्ध थियो र भर्खरै खुलेको थियो । कानुनलाई एउटा प्राविधिक विषय र अदालतहरूको भाषा अंग्रेजी नै हुँदा पढ्ने र जाँच दिने अंग्रेजीमै थियो । कानुनका किताबहरू, नजिरहरू पनि त्यसबखत प्राय: अंग्रेजीमा पाइन्थे । भर्खर मात्र वनारस हिन्दू विश्वविद्यालयले हिन्दीमा पनि उत्तर लेखे पाइन्छ भनेको थियो । हाइकोर्ट र सुप्रिम कोर्टहरूमा झन् अंग्रेजी आजसम्म पनि चल्दैछ । किनभने, न्यायाधीशहरू अन्य प्रान्तहरूबाट पनि ती अदालतहरूका न्यायाधीश र प्रधानन्यायाधीश हुन्छन् । भारतको संविधान सन् १९५० मा बन्दा १५ वर्षमा हिन्दी सरकारी भाषा बनाउने भनेर लेखिन गए पनि आज ६४ वर्षपछि सन् २०१४ (वि.सं. २०७०) मा पनि सर्वोच्च अदालत र हाइकोर्टहरू र धेरैजसो प्रान्तमा सरकारी कामकाजको भाषा अंग्रेजी छँदैछ ।
तर, नेपालमा कहिल्यै पनि अंग्रेजी अदालतहरूको भाषा रहेन र छैन । त्यसैले पनि सुरुदेखि मस्यौदा गर्न, बहस गर्न र नजिरलगायत अध्ययन गर्न झन् सजिलो र रमाइलो थियो । तर, मैले नेपालका कानुन र नजिरहरू पढेको थिइनँ । भरतमोहन अधिकारी र म दुवै पहिलेदेखि नै सार्वजनिक र राजनीतिक जीवन बिताउँदै आएकाले ‘कोसी ल फर्म’मा सुरुदेखि नै मुद्दाहरू आए । तर, सुरु–सुरुमा एक दुईपटक मबाट रमाइला अनाडी काम हुन गए । भारतमा मैले सम्पत्ति र उत्तराधिकारसम्बन्धी हिन्दू पर्सनल ‘ल’ (हिन्दू व्यक्तिगत कानुन) त्यसैगरी मुसलिम पर्सनल ‘ल’, मुसलानहरूका लागि अलग सम्पत्ति, लोग्ने स्वास्नी उत्तराधिकारका कानुनहरू पढेको थिएँ ।
जस्तै हिन्दू व्यक्तिगत कानुन (संशोधनहरू सहित) भन्दछन्– एउटा हिन्दूको एक समय एउटा मात्र पत्नी हुनसक्छ र अर्को पत्नी हुन सक्दिन र कानुनले अर्को पत्नी मान्दैन । तर, एउटा मुसलमान एकसाथ चारवटा विवाहित पत्नीसम्म कानुनी रूपले राख्न पाउँछ । एउटा हिन्दूले आफ्नी पत्नीसँग पहिले सम्बन्ध विच्छेद भएको छ तर दुवैले बिहा गरेका छैनन् र फेरि बिहा गर्न खोजे पाउँछन् । तर, एउटा मुसलमानले एकपटक तलाक (पारपाचुके वा डिभोर्स) गरेपछि फेरि ऊसँग बिहा गर्न मन लागे तबसम्म पाउँदैन जबसम्म उसकी त्यो पत्नीले अर्कोसँग बिहा गरेर फेरि त्यससँग पनि पारपाचुके गरेकी हुँदैन । त्यसो भएपछि मात्र उनीहरूबीच फेरि बिहा हुनसक्छ । जतिसुकै पछुतो लागे पनि पत्नीको अर्कोसँग विधिवत् वैवाहिक जीवन र तलाक (पारपाचुके) दुवै भएको हुनुपर्छ ।
वकालत सुरु गर्दा यसरी मेरो भारतीय कानुनहरूको मात्र अध्ययन थियो । तर, एलएलबी पास गरेको हुँदा अन्य कुनै सर्तबिना त्यसबखत अधिवक्ताको प्रमाणपत्र पाउन सकिन्थ्यो । एकपटक एउटा रमाइलो घटना भयो । एक दिन म मोरङ जिल्ला अदालतमा अर्को मुद्दाको बहस र काम सकी घरतर्फ लाग्दै थिएँ । एउटा बोकाहा (मोरङतिर गाउँघरतिर बस्ने र वरपरका गाउँको मुद्दा मामलाको वारेस बस्ने जस्तो काम गर्ने) ले भने– ‘यो महिलाको मुद्दा दर्ता गर्न सक्नुहुन्छ ?’ मैले हिँड्दा–हिँड्दै मुद्दाको संक्षिप्त विवरण सोधें । जवाफमा ती गाउँले वारेसले भने– ‘उसको वंशमा उनका तीन जना बाबु काकाहरू थिए । दुई जना नि:सन्तान मरेछन् । उसका पिता पनि यो छोरी पाएपछि मरेछन् । माइला पिता र ठूली आमा पनि मरिसकेका छन् । केवल नि:सन्तान माइली आमा छन् । ती महिलाको बिहा भइसकेको छ र साथै हिँड्ने उसको पति छन् । अब नि:सन्तान माइली आमा पनि बुढी भइसकिन् । अरू सबै राखेर मलाई मेरा बाबुआमाको सम्पत्ति भागबाट अंश दिनुस् भन्दा पहिले त दिन्छु भन्दै थिइन् । तर पछि, माइली आमाका माइतका मान्छेहरू र अरूहरूले बिहा भएकी छोरीले कुनै हालतमा अंश मुद्दा दर्ता गर्न सक्दिनन् भने । उचालेपछि दिने कुरा गर्न छाडिन् ।’
मैले हिँड्दा–हिँड्दै भनें– ‘यस्तो पनि अन्याय हुनसक्छ । तीन बाबुहरूकी एकमात्र सन्तान । वंश र परिवारको कहिल्यै अरू कुनै सन्तान नै भएनन् । अब यी एक मात्र सन्तानले अरूको होइन, आफ्नै बाबुआमाको सम्पत्ति माग्न पनि नपाउने ? म मुद्दा दर्ता गर्छु ।’ वारेस बस्ने काम गर्ने चौधरी थरका व्यक्तिका साथै पत्नी र पतिको मनखुसीले मुख उज्यालो भयो । घर पुगेर मैले मुद्दाको तथ्य विस्तृतमा उनीहरूसँग टिपें र भनें– ‘सात दिनपछि आउनू म मुद्दा दर्ता गर्छु ।’ उनीहरूलाई वारेस बस्ने काम गर्ने व्यक्तिले– ‘वकिल साहेबलाई फिस दिनुस् भने ।’ उनीहरूले मलाई फिस दिएर बिदा हुन लाग्दा वारेस बस्ने काम गर्नेले भने सबै वकिलले मुद्दा दर्ता हुन सक्दैन भनेका थिए । घरमा खाजा खाएर म फेरि ‘कोसी ल’ फर्मको अफिस रहेको ठाउँ भरतमोहन अधिकारीको घरमा गएर मुलुकी ऐन अंशबन्डाको महल र त्यस समयसम्म रहेका नजिरहरू हेर्छु त विवाह भएकी छोरीले त के अविवाहित छोरीले समेत अंश माग्ने प्रावधान छैन ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply