पुष्पलालको निधन हुँदा
२०३४ भदौमा सुवर्ण शमशेरको कलकत्तामा मृत्यु हुनुभन्दा तीन दिनअघि बीपी कोइराला अमेरिकाबाट सोझै कलकत्ता आइपुग्नुभएको थियो । त्यसपछि केही समय उहाँ केही दिन भारतमै घुमिरहनुभएको थियो । नेपालमा पञ्चहरूले यज्ञबहादुर थापा र भीमनारायणलाई पहिले नै मृत्युदण्डको सजाय सुनाइएको हुँदा वीपीलाई पनि फर्केपछि फाँसी दिनुपर्छ भनेर हल्ला मच्चाइरहेका थिए । ०३३ सालमा वीपी भारतबाट नेपाल फर्केकोले पञ्चहरूलाई बडो असजिलो लागिरहेको थियो । उनीहरूका लागि वीपी तर्सेर भारततिरै बसिदिए हाइसञ्चो हुने थियो । किनभने, वीपी फर्केपछि उहाँलाई मृत्युदण्डको सजाय सुनाउन गाह्रो पर्ने थियो । किनभने, उहाँका पक्षमा प्रशस्त अन्तर्राष्ट्रिय र राष्ट्रिय जनमत बनिसकेको थियो ।
०३४ मा कमरेड पुष्पलाललाई भेट्न मनमोहन अधिकारीका साथ म दरभंगा पुगेको थिएँ । मेरो विचारमा वीपी कोइराला र उहाँका साथीहरू २०३३ मा फर्केको र त्यसको परिणाम राम्रो भएकोले पीएलले पनि नेपाल आउँदा झन् राम्रो हुन्छ । अर्को कुरा कमरेड पुष्पलाल माथि कुनै सशस्त्र आन्दोलन उठाई हिंसात्मक घटना गराएको आरोप र सजाय पनि सुनाइएको थिएन । पीएलले ‘म पनि सोच्दै छु’ भन्नुभयो ।
त्यस समय पीएल दरभंगामा एउटा भारतीय डाक्टरको घरमा बसिरहनुभएको थियो । मनमोहनजी र मचाहिँ एउटा होटलमा बसेका थियौं । त्यहीँ खाना खाएर उहाँलाई भेट्न जान्थ्यौँ । एक दिन पीएलले मलाई ‘म एकैछिन मनमोहनसँग एक्लै कुरा गर्न चाहन्छु’ भन्नुभयो । म बाहिर निस्केँ ।
साँझ मैले मनमोहनजीलाई सोध्दा जवाफ पाएँ– ‘पीएललाई साहना र शम्भुरामहरूले पनि नेपाल आउने सुझाव दिएका रहेछन् ।’ हामीले पीएललाई सानो हृदयघात (माइल्ड हर्टएट्याक) भएको हल्ला नेपालमै अपुष्ट रुपले सुनेका थियौं । तर, त्यस विषय मैले केही सोध्न ठिक ठानिनँ । कमरेड पीएलसँग दरभंगामा भेट्दा स्वस्थ र प्रसन्न मुद्रामै हुनुहुन्थ्यो ।
मनमोहनजीले मलाई भन्नुभयो, पीएल छोरीको बिहा चाहिँ यतै सक्ने सोचमा छन् जस्तो लाग्यो । मैले मनमोहनजीसँग त्यत्रोबेर अरु के के कुरा भयो भनी बढी सोधिनँ ।
वीपी कोइराला ०३३ मा फर्केपछि यज्ञबहादुर र भीमनारायणलाई २०३३ फागुनमा सर्वोच्च अदालतका दुई न्यायाधीश बासुदेव शर्मा र झपटसिंह रावलले विशेष अदालतले मृत्युदण्डको सजाय सुनाए पनि कार्यान्वयन नगरी थुनामै राखिएको थियो ।
वीपी कोइराला अमेरिका र भारत भ्रमण गरेर काठमाडौं फर्कंदा कात्तिक २०३४ मा विमानस्थलमै पक्राउ गरी थुनामा राखियो । तर फेरि दुई तीन महिनापछि तारेखमा छाडियो ।
०३५ असार लाग्दा नलाग्दै गणेशमान सिंहलाई पनि तारेखमा छाडियो । त्यसपछि विराटनगरमा एक दिन दिउँसो मैले अल इण्डिया रेडियोको समाचार प्रसारणमा सुनेँ–नेपालका शीर्ष कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठलाई भारी हृदयघात भयो र उहाँ अस्पतालमा हुनुहुन्छ ।
मैले तुरुन्तै मनमोहनजी र भरतमोहनजीलाई भेटेँ । अरु केही थप जानकारी पाइन्छ कि भनी म फार्वेसगञ्जमा बृजमोहन बाँयेंवाला कहाँ जान हिँडे । उनका एक दाइ जगदीश र एक भाइ विद्यासागर वाँयेवाला नयाँदिल्लीमा बस्थे भने उनकी भतिजी रुचिरा गुप्ताले पनि दिल्लीमा पत्रकारका रुपमा काम गर्न थालेकी थिइन् ।
स्वाभाविक रुपले नेपालको सीमावर्ती क्षेत्र र दिल्लीमा बस्ने भारतीयहरूले पनि कमरेड पुष्पलालका बारेमा काफी चासो राख्दथे ।
वृजमोहनले फोन गरेपछि भने– ‘भारी हृदयघात’का मतलव हे बचनेकी उम्मिद कम हैं । देखो अब आगे क्या होगा ।’
भारतमा एउटा राजनीतिक साँस्कृतिको विकास भइसकेको छ: जस्तै विरोधी विचारको राजनीति गर्ने किन नहोस्, उसको स्वास्थ्यप्रति चिन्ता र चासो व्यक्त गर्छन् । भारतीय जनता पार्टी त्यस समय सरकारमा थियो र भारतीय जनता पार्टीका अध्यक्ष चन्द्रशेखर तुरुन्तै पुष्पलालजीको राम्रो हेरविचार पुगोस् भन्ने तरखरमा लागेको खबर पनि सुनियो । तर, नयाँ दिल्लीमै पनि ३५ वर्ष पहिले आजजस्तो हृदयरोगको उपचार विकसित रुपको थिएन । पहिलो हृदयघातपछि पनि स्वास्थ्यप्रति परवाह नगरी राजनीतिक कामहरूमा व्यस्त र राजनीतिक जीवनका उतारचढावहरूमा तनावग्रस्त कामहरूमा सक्रिय रहँदा रहँदै यो दोस्रो ठूलो हृदयघात भएको थियो ।
२०३५ साउन ७ गते (२२ जुलाई १९७८) अल इण्डिया रेडियोबाट पुष्पलालको निधन नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भएको समाचार सार्वजनिक भयो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply