शोकसभा गर्दा पक्राउ
२०३५ सालमा पुष्पलालको निधन हुँदा पञ्चायती तानाशाहीका दिन थिए । खुला सभा गर्न प्रतिबन्ध थियो । तर, विराटनगरमा उहााको श्रद्धाञ्जलि सभा खुलारुपले आयोजना नगर्नु हामीहरूका लागि साह्रै अपमान र पीडाबोध हुने कुरा हुन्थ्यो । जेहोस्, जसरी होस्, चाँडै पक्रोस् वा थुनोस्, चाहे लाठी चार्ज गरोस्, हामीहरूले उहाँको शोकसभा सार्वजनिक ठाउँमै गर्ने संकल्प गर्यौं । विराटनगरमा रहेका पार्टीका साथीहरू, समर्थक, विद्यार्थीहरू, कांग्रेस र स्वतन्त्र प्रतिष्ठित व्यक्तिहरू र युवा व्यापारीहरूलाई समेत मुखैमुख दुई दिन पछि विष्णुमाया पुस्तकालयको प्रांगणमा शोकसभा आयोजना हुने सूचना गर्यौं । आफूले नसके पनि सरकारी निषेधाज्ञा र प्रतिबन्ध तोड्दै सभा गर्ने त्यस समयको एउटा चुनौतीपूर्ण काम हेर्न शहरका जनता जम्मा हुनु स्वाभाविक थियो ।
सभा गर्ने थलोतिर जाँदा बाटैमा आयोजकहरूलाई पक्राउ गर्ने र सभा नै नहुन दिने काम त्यससमय अञ्चलाधीश, सिडिओ र प्रहरी प्रशासनले गर्दथे । त्यसैले सल्लाह के भयो भने म र महेशप्रसाद उपाध्याय दुई घण्टा पहिले नै विष्णुमाया पुस्तकालयभित्र लुकेर बसी सक्ने, अरु त्यसपछि बाहिर जम्मा हुने । भरतमोहन अधिकारी र अरु साथीहरू पछाडिको बाटोबाट भीड जम्मा भएपछि पुग्ने पनि तय भयो ।
तीन बजे सभा हुने तय थियो । प्रहरीका जीप र ट्रक दुई बजेतिर नै सडकमा तैनाथ भए । तर, सयौं युवा विद्यार्थीहरू पहिले नै विष्णुमाया पुस्तकालयको प्राङ्गणमा छिरिसकेका थिए । पुलिस तैनाथ भएपछि सडकमा आवागमन अवरुद्ध भयो र जनता पनि उत्सुकतापूर्वक सडकमा ठूलो संख्यामा जम्मा भए ।
पुस्तकालय भित्र लुकेर रहेका महेशजीसँग मैले भनेँ– ‘पुलिसले सभा बिथोल्न र हुनै नदिन हरसम्भव प्रयास गर्नेछ । त्यसैले तपाईंले भीडमा मिसिदै गई विष्णुमायाको मूर्ति रहेको ठाउँमा बनेको घेराको डिलमा उभिएर यो एक हरफ फटाफट पढिहाल्ने– ‘विराटनगरका जनताको यो शोकसभा कमरेड पुष्पलालप्रति उच्चतम सम्मानका साथ श्रद्धाञ्जलि प्रकट गर्दछ ।’
महेशप्रसाद उपाध्याय पुष्पलालका साथमा प्रथम महाधिवेशन वि.सं. २०१० (सन् १९५४) मा केन्द्रीय कमिटीको सदस्य हुनुहुन्थ्यो । उहाँले त्यो पढ्नसाथ शोकसभा भए पनि जनताले जोडले थपडी बजाए । पुलिसले झम्टेर महेशजीलाई तल तानिहाल्यो । म छेउमा थिएँ । मलाई पनि महेशजीका साथ जीपमा लिएर पुलिस हिँड्यो । हामीहरूलाई सीडीओ चक्रबन्धु अर्यालकहाँ पुर्याइयो । सीडीओले केही थाहा नपाएको जस्तो गरी इन्स्पेक्टरलाई सोधे– ‘उहाँहरूलाई किन ल्याएको ?’ इन्स्पेक्टरले महेशजीलाई देखाउँदै भने– ‘उहाँले भाषण गर्न खोज्नुभयो ।’ अनि सिडिओले मलाई देखाउँदै सोधे– ‘उहाँले के गर्नुभयो ?’ इन्स्पेक्टरले भने– ‘उहाँ छेउमा उभिरहनुभएको थियो ।’ सिडिओले भने– ‘अच्छा । उहाँ केही नगरी उभिरहनुभएको थियो । तपाईंहरूले लिएर आउनुभयो ।’ इन्स्पेक्टर चुप बसे ।
हामीहरूलाई प्रहरी जीपमा लग्नासाथ भरतमोहन अधिकारीले त्यहाँ रहनुभएका चिरञ्जीवी रिजाल, शिवप्रसाद रिजाल, गायत्री रिजाल, ईश्वरी रिजाललगायत २०/२२ जना प्रतिष्ठित व्यक्तिहरूका साथ अञ्चलाधीश सुरेन्द्रबहादुर श्रेष्ठकहाँ पुग्नुभएछ । उहाँहरूले ‘श्रद्धाञ्जलि समेत दिन रोक्नुभयो । यो त अति भयो’ भन्नुभएछ ।
कुनै बेला अञ्चलाधीश सुरेन्द्र श्रेष्ठ नेपाली कांग्रेसका समर्थक थिए । पछि अञ्चलाधीश भएका थिए । वीपी कोइरालालाई ०३४ मै अमेरिकामा उपचार गर्न राजा वीरेन्द्रले छुटकारा मात्र दिएका थिएनन्, खर्च पनि दिएको घटना त्यसअघि भइसकेको थियो । हामीहरूसँग सीडीओले कुरा गर्दागर्दै कहीँबाट फोन आयो । त्यस समय मोवाइलको जमाना थिएन । उनी टेलिफोनमा कुरा गर्न भित्र पसे ।
केही छिनमा आएर हामीहरूलाई भने– ‘पुलिसले ल्याइहाल्यो । अब एक घण्टा जति बसौं, चिया खुवाएर म तपाईंहरूलाई घर पुर्याउन लगाइदिउँला । ’
त्यसै साँझ हामीहरूलाई छाडियो ।
केटाकेटीमा ८/९ वर्षको उमेरदेखि नै पहिले पुष्पलालजीको नाम १९९७ का सहिद गंगालालका भाइका रुपमा सुनेको थिएँ ।
२००३ सालको विराटनगर मिल एरिया हड्ताल र जुलुसहरू पछि वीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला आदि पक्राउ परेपछि मेरा पिता मातृकाप्रसाद कोइराला नेपाली राष्ट्रिय कांग्रेस्को कार्यवाहक सभापति भई भारतको जोगबनी बजार निर्वासनमा बस्नुहुन्थ्यो । त्यहीँ ००४ सालमा राष्ट्रिय कांग्रेसको डेलिगेट कन्फरेन्समा पुष्पलाल पनि काठमाडौंबाट भाग लिन पुग्नुभएको थियो । तर, त्यसबेला उहाँको व्यक्तित्व केवल गंगालालको नामसँग मात्र जोडिएको थियो ।
त्यसपछि कलकता बस्न लाग्नुभयो, जहाँ उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । भूमिगतकालमा ००७ देखि ०१२ सम्म मैले उहाँलाई देखिनँ । तर ०१४ सालको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन म भरतमोहन अधिकारी, तारानाथ शर्मा, बल्लभमणि दाहालका साथ भारतको बनारस युनिटका प्रतिनिधिका रुपमा भाग लिँदा मोरङका प्रतिनिधिहरू बसेको ठाउँ आफ्नो कुरा बताउन आउनुहुँदा र महाधिवेशनका दिनहरूमा भेटघाटहरू भइरहे ।
२०१४ को दोस्रो महाधिवेशन हुँदा मनमोहन अधिकारी चीनमा औषधि उपचार गराइरहनुभएको थियो । अधिवेशन हलमा गणतन्त्रबारे रायमाझीहरूसँग विवाद हुँदा पुष्पलालले ‘गणतन्त्र हाम्रो जन्मसिद्ध अधिकार हो’ भनेर बोल्दा हलमा जोडदार ताली गडगडाहट भएको थियो ।
त्यसपछि फेरि राजा महेन्द्रले ०१७ पुस १ गते सैनिक बलमा प्रजातन्त्र समाप्त पारेपछि दरभंगा प्लेनममा महिनौं दिन सहभागी भइयो । केशरजंग रायमाझी र तत्कालीन द्वितीय महाधिवेशनद्वारा निर्मित हुनपुगेको केन्द्रीय कमिटीको बहुमतद्वारा राजा महेन्द्रको तानाशाही समक्ष आत्मसमर्पण गर्दै पार्टी विसर्जनतर्फ लाने खतरा भयो । पुष्पलाल, तुलसीलाल, हिक्मतसिंह, मोहनविक्रम सिंहले मात्र रायमाझीको प्रतिनिधिमा त्यो केन्द्रीय कमिटीका सदस्यहरूमध्ये हुनुभयो । मनमोहन अधिकारी जेलमा हुनुहुन्थ्यो । अन्तरजोन सामञ्जस्य समितिको गठन र तेस्रो महाधिवेशनको आयोजना गर्दा हामीहरूमाझ घनिष्ट सहकार्य भएको थियो । तेस्रो महाधिवेशन पछि पनि पक्राउ नपर्दासम्म मैले पुष्पलालसँग वाराणसी दशपुत्र गल्लीमा रहेको केन्द्रीय कार्यालयमा सात वर्ष निकट सहकार्य गरेको थिएँ ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply