यस्तो दिमागले नेतृत्व गर्न सकिँदैन

आगामी जेठ २४ देखि हुन लागिरहेको महाधिवेशनमा केन्द्रित भएर छलफल चलिरहेको छ । म गृहमन्त्री भएको मान्छे, मलाई लामो भाषण गर्ने समय छैन । यहाँ कमरेड शंकर पोखरेललाई विषयवस्तु प्रस्तुत गर्नका निम्ति एउटा कार्यपत्र तयार पार्न भनिएको रहेछ । त्यो कार्यपत्र हात पनि परेन, पढ्न पनि पाइएन । पाएको भए पढिन्थ्यो कि पढिँदैनथ्यो, त्यो पनि भन्न नसकिने अवस्था थियो । किनभने, गृहमन्त्री त बनिएको छ, तर म गृहमन्त्री होइन, भेटघाट मन्त्री भएको छु । घरमा पनि भेटघाट, बाटोमा पनि भेटघाट ।
तर, मैले जे सुनें त्यसमा आधारित भएरै म आफ्ना कुरा राख्छु । आज अरू साथीहरूले कम्युनिस्ट पार्टीको ६० वर्षको इतिहास र जबजको २० वर्षको इतिहासको कुरा गर्नुभयो, त्यसमा मेरो समर्थन छ । तर, म मेरो विचार कहाँ केन्द्रित गर्न चाहन्छु भने कम्युनिस्ट पार्टीको सिद्धान्त, सिद्धान्तको निम्ति होइन समाज परिवर्तनका निम्ति हुन्छ । कार्ल माक्र्सले त्यहीँबाट सुरु गरे । दर्शनको अध्ययन विचार प्रवाहको निम्ति आजसम्म गरे । तर, फरक कुरा के हो भने त्यो समाज परिवर्तनका निम्ति हुनुपर्दछ । आज हामी कहाँ आइपुगेका छौं ? एकदमै आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ, कमरेड शंकर पोखरेल । यस्तो लाग्छ, उहाँले राखेको विचारको विरुद्ध अरू कुनै विचार छन् ? उहाँले त्यसरी विचार राख्नुभएकाले म पनि आक्रामक बन्नै पर्यो । कुनै विचारलाई खण्डन गर्नु परेपछि त्यसरी नै प्रस्तुत हुनैपर्यो । तर, महाधिवेशनका सन्दर्भमा अहिलेसम्म कसैले औपचारिक रूपमा ती विषय प्रस्तुत गरेका छैनन् । भएका छन् भने मैले
मात्र गरेको छु ।
हामीले महाधिवेशनका सन्दर्भमा दस्तावेज निर्माण गर्नका निम्ति मस्यौदा कमिटी बनायौं । पहिले म संयोजक भनिएको थिएँ, तर गृह मन्त्रालयतिर जानुपरेको हुनाले अध्यक्ष नै अहिले संयोजक हुनुहुन्छ । पहिलेको संयोजकलाई किन हटाइहाल्ने भनेर होला, मलाई सहसंयोजक बनाइएको छ । त्यो सहसंयोजकको भूमिका पनि मैले पूरा गरेको छैन । म त्यसका लागि आत्मालोचना गर्न तयार छु, बाध्यताको कुरा हो ।
हामीले अहिले पनि नवौं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका सम्बन्धमा एकीकृत विचार बनाउन सकिन्छ कि भनेर कोसिस गरिरहेका छौं । दस्तावेजको जब टुंगो लाग्नेछ, त्यसपछि त्यसमा असहमत हुनेहरूले आफ्ना विचार राख्ने हो । हामी अगाडि बढ्नुपर्छ । त्यसका लागि पहिला त हामी कहाँ छौं ? भन्ने किटान गर्नुपर्छ । अगाडि बढ्नुपर्छ मात्र भन्ने कुराको त्यति ठूलो अर्थ हुँदैन । हामी कहाँ छौं भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । ००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दा जहाँ थियौं, त्यहीँ छौं कि ? ०४७ मा जनताको बहुदलीय जनवादका आधारहरू तयार गर्दा जहाँ थियौं, त्यही छौं कि † ०४९ मा जबजको घोषणा गर्दा जहाँ थियौं, त्यही छौं कि † अथवा कहाँ छौं ? नेपाली समाजको अवस्था कहाँ छ ? यी यस्ता कुराहरू छन्, जसका निम्ति कसैलाई आरोप लगाउनुपर्दैन । गम्भीरतापूर्वक छलफल गरे हुन्छ, तथ्य–तथ्यांकहरू छन्, मान्छेहरूसित भेटघाट गरे हुन्छ ।
नेपाली समाज कहाँ छ भन्ने कुरा पत्ता लगाउने भनेको यो समाजको उत्पादन पद्धति कहाँनिर छ भन्ने कुरासँग जोडिएको छ । अरू विकसित देशका समाजका मान्छेहरू सहर छाडेर गाउँतिर बस्न जान्छन् भनिन्छ । स्कुल/कलेजमा पढाउँदा ‘धानको पात कस्तो हुन्छ ?’ भन्ने प्रश्नमा ‘मैले यो ठाउँमा एउटा केरा देखेको थिएँ, त्यही केराको पात जस्तै हुन्छ’ भनेर एउटाले जवाफ दिएको थियो भन्ने अवस्थामा नेपाली समाज छैन । नेपाली समाजका बुद्धिजीवी मात्र होइन, सामान्य मानिसले पनि सोझै भन्न सक्छन् कि हामी कहाँ छौं, हाम्रो आर्थिक अवस्था कस्तो छ ? भन्ने कुरा । त्यसकारण, यति धेरै बुझ्न नसक्ने स्थितिमा हामी छैनौं । हाम्रो देशमा कुनै पनि परिवर्तन भएको छैन ? निष्कर्ष के ? ००६ सालमा नेपाल कम्युनिस्ट पार्टीले भन्यो– हाम्रो देशको सामाजिक–आर्थिक–राजनीतिक अवस्था अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थामा छ । आज ६५ वर्ष पुग्यो, यो ६५ वर्षसम्म तराईतिर गोरु र राँगालाई दाइँ लगाउन घुमाएजस्तै हाम्रो समाज यस्तैगरी घुमिरहेछ कि क्या हो † ६५ वर्षसम्म जहाँको त्यहीँ । आज पनि हाम्रो समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक नै भनिरहेका छौं । यतिका वर्ष हामीले केही गरेनौं ? हाम्रा तथ्यांकहरूले के भन्छन् ? ती तथ्यांकका आधारमा हाम्रो समाजका अहिले प्रतिगामी वर्गहरू को हुन् ? प्रमुख वर्गहरू को–को हुन् ? प्रगतिशील वर्ग कुन हो ? त्यो प्रगतिशील वर्गलाई कसरी संरक्षित गर्नुपर्छ र कुन वर्गमा वर्गमाथि प्रहार गर्नुपर्दछ र त्यसपछि हामीले परिकल्पना गरेको समाजका निम्ति हामी अगाडि बढ्नुपर्छ ।
समाजको चरित्र निक्र्योल नगरीकन, त्यहाँभित्र कस्ता–कस्ता वर्गहरू छन् भन्ने पत्ता नलगाइकन, ६५ वर्ष पहिले जे थियो, आज पनि निष्कर्ष त्यही छ । म सोध्न चाहन्छु– नेपाल कहिले विदेशीको उपनिवेश भयो ? उपनिवेश नै नभएको समाज, अर्धऔपनिवेशक कसरी हुन्छ ? कसैले विचारमा भन्छन् । विचारमा पनि कहीँ हुन्छ ? यो संसारमा विचारमा अर्धऔपनिवेश हुन्छ ? उपनिवेशमा त विदेशीले पूरै राष्ट्र वा कुनै भूभाग कब्जा गरेको हुन्छ । सार्वभौमसत्ता समाप्त गरिदिएको हुन्छ । वा आधा राखिदिएको हुन्छ । त्यसलाई अर्धऔपनिवेश भनिन्छ । नेपाली समाज कहिल्यै पनि कसैको उपनिवेश भएन । तथ्यांकले त्यही बताउँछन् । १८१६ मा हामीले गरेको अंग्रेजसितको सम्झौताले हामी अर्धऔपनिवेश ठहरिँदैनौं । ब्रिटिस साम्राज्यले आयोजना गरेका त्यसबेलाका राष्ट्र मण्डलका कार्यक्रममा नेपाल कहिल्यै उपनिवेशका रूपमा प्रस्तुत भएन । त्यसबेला वामदेव गौतम थिएन, राणाहरू थिए, राजाहरू थिए । ब्रिटिस साम्राज्यले, त्यसको सरकारले कहिल्यै नेपाल सरकारलाई तल्लो दर्जाको व्यवहार गरेन ।
अनेकौं किसिमका षड्यन्त्रहरूको सिकार हुनुपर्यो तर नेपालले कहिल्यै सार्वभौमसत्ता गुमाउनुपरेन । स्वतन्त्रता समाप्त भएन । चीनका अनेकौं उपनिवेश थिए । हङकङ, मकाउ उपनिवेश भए । ब्रिटिस साम्राज्य, डच साम्राज्य, फ्रेन्च साम्राज्यले अनेकौं ठाउँमा भूमि कब्जा गरे । अधिकार समाप्त गरे । बैंक खोलेर चुंगीकर उठाएर बसे । त्यसो भएर माओत्सेतुङले ‘हाम्रो देश अर्धऔपनिवेश छ’ भने । माओत्सेतुङले भने बमोजिमको नयाँ जनवादी क्रान्तिमा सामेल हुने भएकाले हामीले पनि त्यही भन्यौं । अर्धऔपनिवेशिक र अर्धसामन्ती भनेपछि मात्र नयाँ जनवादी क्रान्ति हुने रहेछ भन्ने ठानेर हाम्रा नेताहरूले त्यही कुरा यहाँ नक्कल गरेर हुबहु ल्याए । ००६ सालमा त हाम्रो देशमा राणा शासन ब्रिटिस साम्राज्यको अधिनमा थियो भन्ने मानौंला । तर, ००७ सालपछि के भो ? नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएपछि पनि अर्धऔपनिवेश हो ? नेपाल अर्धऔपनिवेशक हो भने कसको
अर्धऔपनिवेश ? अमेरिकाको कि ? विश्व बैंकको कि ? एसियाली विकास बैंकको कि ? हामीले हाम्रो स्वतन्त्रता अरूलाई सुम्पिदिने ?
एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशको विचारको तहमा सबैभन्दा माथि रहेको कम्युनिस्ट पार्टीले समाजको चरित्रको विश्लेषण नगरीकन गौरवका साथ अर्धऔपनिवेशक भन्न मिल्छ ? यस्ता आत्मघाती विचारबाट हामी मुक्त हुनुपर्छ । नेपाल जन्मेदेखि आजसम्म स्वतन्त्र छ, सार्वभौमसत्ता सम्पन्न छ । हस्तक्षेप भएको छ तर हस्तक्षेपको प्रतिवाद पनि भएको छ । यो देश बचाउन हाम्रा पुर्खाहरू धेरै लडे । यो देश हामीले जन्माएको होइन, ती पुर्खाहरूले जन्माएको हो । अनि ती पुर्खाको अपमान गर्न पाइन्छ ? कम्युनिस्ट भएको नाताले हामी स्वतन्त्र छौं भन्ने हिम्मत गर्दैनौं । हाम्रो दिमाग साङ्लोले बाँधेका छौं । जबसम्म त्यो साङ्लोले चुँडाल्न सकिन्न तबसम्म समाजको यथार्थ चित्रण गर्न सकिन्न । यस्तो दिमाग बनाएर कम्युनिस्ट पार्टी हाँक्न सकिन्न । समाज बदल्न सकिन्न ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply