‘गद्दार’ भन्नेका सही एक ठाउँ
टाइप गर्नेले कालो कार्बन राखी दुई पाना एउटै व्यहोराको वक्तव्य तयार भयो । त्यसमा भरतमोहन अधिकारी, महेशप्रसाद उपाध्याय र मेरो पहिले नै खाली सादा हुँदै सही थियो ।
अब दरभंगामा जयगोविन्द, निर्मल लामा, नारायणमान बिजुक्छे र म थियौँ । नारायणमान बिजुक्छेले निर्मल लामालाई ‘तपाईंको पनि सही हुँदा धेरै राम्रो हुन्छ’ भन्नुभयो । मैले वातावरण सजिलो पार्न भनेँ– ‘जयगोविन्दजीले सही गरेपछि निर्मलजीले पनि गरिहाल्नुहुन्छ नि †’
तै पनि निर्मल लामाले एक पटक भन्नुभयो– ‘तपाईंले पनि गर्दा झन् राम्रो हुन्छ । नाम चलेका नेताहरूको सही देख्दा बढी उत्साह साथीहरूमा आउँछ ।’
जयगोविन्दजीले पनि भन्नुभयो– ‘साथीहरूको यस्तो जोड छ भने दिनुस् त ।’
निर्मल लामा चुप लाग्नुभयो । त्यसपछि जयगोविन्द साह, निर्मल लामा र नारायणमान बिजुक्छेको सही दरभंगामा थपियो ।
दुवै कापी मैले राखेँ । काठमाडौँ पुगेर मनमोहन अधिकारी, हिक्मत सिंह र सिद्धिलाल सिंहको सही गराएर सार्वजनिक गर्ने कुरा विराटनगरमै तय भएको थियो ।
राति म जयगोविन्दको डेरामा सुतेँ, जहाँ केही युवा कमरेडहरू पनि हुनुहुन्थ्यो । ३५/३६ वर्ष पहिलेको कुरा हो, यकिन साथ त भन्न सक्दिनँ तर सायद सीपी गजुरेल, ऋषि देवकोटाहरू पनि त्यहाँ हुनहुन्थ्यो जस्तो लाग्छ ।
भोलिपल्ट काठमाडौँ हिँड्ने दिन नारायणमान बिजुक्छेले मलाई दरभंगा टाउन हल नजिकको एउटा मुस्लिम होटलमा मासु भात ख्वाउनुभयो । तर, आफूले चाहिँ ‘स्वास्थ्यका कारण’ भनेर सादा दाल, भात, तरकारी मात्र खानुभयो । भारतमा मुस्लिम होटेल अरूभन्दा सस्तो हुन्छ ।
म दरभंगाबाट रक्सौल हुँदै साँझ वीरगञ्ज पुगेँ । काठमाडौँ जाने सबैभन्दा पहिलो बसको टिकट लिएर बसपार्ककै एउटा होटलमा सुतेँ ।
काठमाडौँमा बसबाट उत्रेर म सोझै पाटन पुगेँ । त्यहाँ मनमोहन अधिकारी, हिक्मत सिंह, सिद्धिलाल र अरू साथीहरूले सायद कुनै छलफल गरिरहनुभएको थियो । भरतमोहन अधिकारी विराटनगरमै हुनुहुन्थ्यो ।
विराटनगरमा हामीहरू ढुक्क थियौँ– मनमोहनजीहरूले सही गरिहाल्नुहुन्छ । मैले मनमोहन र हिक्मतसिंहलाई त्यो कागज सही गर्न भनेर दिएँ । तर, हिक्मत सिंहले पढ्नासाथ ‘तपाईंहरू ठूलो षड्यन्त्रमा फस्नुभयो’ भन्नुभयो ।
मनमोहनजीले पनि ‘केही सल्लाह गर्नु छैन, सोध्नु छैन, जो पायो, त्यहीसँग सही गरको छ’ भन्नुभयो ।
फेरि हिक्मत सिंहले दोहोर्याउनुभयो– ‘तपाईंहरू षड्यन्त्रकारीहरूको चक्करमा पर्नुभयो ।’
मलाई हत्तपत्त रिस उठ्दैन तर यो कुरा सुनेर रिस उठ्यो र मैले भनेँ– ‘हेर्नुस् हामीले आफ्नो विरुद्ध आफैँ षड्यन्त्र गर्यौँ भन्ने कुरा मान्दिनँ । जयगोविन्द र निर्मल लामासँग कुरा गर्ने भरतमोहन अधिकारी र म हौँ । उनीहरूले मानेपछि विराटनगरमा हामीहरू तीन जना भई मस्यौदा गरेका हौँ र मैले दरभंगा गई जोड गरेर निर्मल लामाको सही गराएको हुँ ।’
मनमोहनजीले भन्नुभयो– ‘निर्मल लामाका सबै कुरा तिमीलाई थाहा छैन ।’ मैले अब बुझेँ– बाझाबाझ गरेर केही फाइदा छैन । मैले भनेँ– ‘तपाईंहरू सही नगर्ने भए नगर्ने भन्नुस् न । तर, मस्यौदा गर्ने चाहिँ हामी नै हौँ । अब के गर्ने भन्नुस् ।’
मनमोहनजीले भन्नुभयो– ‘तिमीलाई जे मन लाग्छ गर । तर, हामीहरू सही गर्न ठीक ठान्दैनौँ ।’
म उहाँहरूसँग त्यो कागज लिएर हिँडे ।
वक्तव्यमा भदौ २४ गते आन्दोलन गर्ने कुरा लेखिएको थियो । अनि भदौ १ गते नै जारी गर्ने कुरा थियो । तर, दौडादौड गर्दागर्दै भदौ ३ गते भइसकेको थियो ।
म मेरो कपडाको ब्याग मामाका छोरा टेकचन्द्र पोखरेलकहाँ छाडेर ‘मातृभूमि’का सम्पादक गोविन्द वियोगीकहाँ गएँ ।
म काठमाडौँ जाँदा जहिले पनि गोविन्द वियोगीकहाँ एक साँझ साथ नबसी फर्किन्नथेँ । उहाँकी पत्नी पाटनको नेवार परिवारकी हुनुहुन्थ्यो । उहाँ आफैँले वियोगीजीका लागि भनेर घरमै राम्रो रक्सी बनाउनुहुन्थ्यो । मैले वियोगीजीलाई त्यो संयुक्त वक्तव्य दिएँ र मनमोहनजीहरूले सही गर्न नमानेको यथार्थ भनेँ ।
कागज हेरेर उहाँले भन्नुभयो– ‘तपाईं साहना प्रधानलाई केही नभनी यो वक्तव्य सही गर्न भन्नुस् । मैले साहनालाई भेट्दा उहाँ पनि यस्तै कुरा गर्नुहुन्थ्यो । पञ्चायती सरकार र पञ्चायती निकायहरू रहिरहँदा बहुदल पक्षले जित्न गाह्रो पर्छ । मलाई लाग्छ उहाँले सही गर्नुहुन्छ ।’
वियोगीजी कुनै पार्टीमा हुनुहुन्नथ्यो । तर, हामी र अरू वामपन्थीहरूले पठाएका वक्तव्यहरू वाक स्वतन्त्रताविरोधी तानाशाहीका अँध्यारा दिनहरूमा पनि सकेसम्म कम काँटछाँट गरेर छान्नुहुन्थ्यो । उहाँ आध्यात्मिक पूजापाठ गर्ने तर आधुनिक जीवनशैली यापन गर्ने व्यक्ति हुनुहुन्थ्यो । खाना खाँदा मलाई वियोगीजीले भन्नुभयो– ‘भोलि साहनाहरूको आमसभा छ । त्यसअघि नै भेटेर सही गराउनुहोला ।’
भोलिपल्ट म साहना भाउजुलाई भेट्न जाँदा त्यहाँ गोविन्द ज्ञवाली, जम्दार चित्रबहादुर गुरुङ, प्रभुनारायण चौधरी, शरणविक्रम मल्ल, तिलक पराजुलीहरू पनि हुनुहुन्थ्यो ।
गोविन्द ज्ञवालीले मलाई भन्नुभयो– ‘तपाईं एक छिन बाहिर बस्नुस् । हामीहरू यसमा विचार गर्छौं ।’
म बाहिर निस्केँ । १५ मिनेट जति पछि गोविन्द ज्ञवाली एक्लै त्यो कागज लिएर बाहिर आउनुभयो र भन्नुभयो– ‘सबै कुरा ठीक छन् । हामीहरूले पनि यस्तै भन्दै आएका छौँ । तर, एक ठाउँ सानो कुरा मिलाउनुभयो भने साहना भाउजू र चित्रबहादुर गुरुङ दुई जनाले सही गर्नुहुनेछ ।’
मैले भनेँ– ‘थपघट गर्ने त ठाउँ नै छैन । देखिहाल्नुभयो, पहिले नै छ जनाको सही छ ।’
गोविन्द ज्ञवालीले भन्नुभयो– ‘हामीले तपाईंको कुरा बुझेका छौँ । केवल एक शब्द जनतान्त्रिकलाई प्रजातान्त्रिक बनाइदिनुस् ।’
त्यसमा एक लाइन थियो– ‘देशभक्त र जनतान्त्रिक शक्ति’ । मैले कालो डटपेनले दुवै कापीमा जनको ठाउँ प्रजा बनाइदिएँ । गोविन्द ज्ञवालीले भन्नुभयो– ‘यो जनतान्त्रिक शब्द जहाँ पनि प्रजातान्त्रिकको साटो प्रयोग गरेर पेटेन्ट जस्तै पारेको छ ।’
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply