म किन तयार भएँ ?
पाँचौं महाधिवेशनको ४ महिना पनि बित्न नपाउँदै पार्टीका महासचिव जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु हुनु पार्टीको जीवनमा असाधारण विपत्तिको अवस्था थियो । त्यस अवस्थामा पार्टीका श्रद्धेय अध्यक्ष कमरेड मनमोहन अधिकारी र अन्य वरिष्ठ कमरेडहरूको आग्रहलाई इन्कार गर्न सकिनँ र म पार्टीको महासचिवको जिम्मेवारीका लागि तयार भएँ । हामीले शोकलाई शक्तिमा बदल्ने कसम खायौं र पार्टीलाई सम्हाल्यौं । दिवंगत नेताहरूप्रति अभिव्यक्त भएको शोकलाई राष्ट्रियता, जनवाद र जनजीविकाको लागि आन्दोलनरत पार्टीको शक्तिमा रूपान्तरित गर्यौं । त्यसैक्रममा हामी २०५१ सालको निर्वाचनद्वारा पहिलो पार्टी बन्यौं । जनताप्रति उत्तरदायी र लोककल्याणकारी दिशाका साथ हामीले सरकारको सञ्चालन गर्यौं । आजसम्म पनि नेकपा (एमाले)को नौमहिने सरकार नै विकास र सुशासनको नमुना उदाहरणका रूपमा लिइने गरेको छ । यसै सन्दर्भमा हामीले नेतृत्व गरेको सरकारले पनि धेरै महत्त्वपूर्ण र दूरगामी महत्त्वको काम गरेको कुरा र नौमहिने सरकारको कार्यक्रमलाई निरन्तर अवलम्बन गरेको कुराप्रति ध्यानाकर्षित गर्न चाहन्छु । नौमहिने सरकारको लोकप्रियताको बलमा ०५४ सालको स्थानीय निर्वाचनमा पार्टीले ऐतिहासिक नतिजा ल्यायो । एकातिर पार्टीले एकपछि अर्को विजय हासिल गर्दै थियो भने अर्कोतर्फ भर्खर स्थापित प्रजातन्त्रका विरुद्ध दरबारले षड्यन्त्र आरम्भ गरेको थियो । त्यसैबेला माओवादी उग्रवादले विद्रोह आरम्भ गर्यो । परिस्थितिले हामीबाट दूरदर्शिता र सावधानीको माग गरिरहेको थियो भने हामी आन्तरिक कचिंगलमा फस्दै गयौं । पार्टी विभाजनलाई रोक्न मेरोतर्फबाट अनेकौं प्रयत्न गरें तर त्यसमा म असफल भएँ । नेतृत्व पंक्तिले संकीर्ण हितलाई केन्द्रमा नराखेको भए पार्टीको विभाजन रोक्न सकिन्थ्यो भन्ने लागेको हुँदा पार्टीको एकताका लागि पनि मैले नै पहलकदमी पनि लिएँ र केही क्षतिका साथ भए पनि पार्टीको पुन: एकीकरण भयो ।
एकातिर उग्रवादले मुलुकलाई अस्थिरताको भुवँरीमा धकेल्यो भने अर्कोतिर दरबारिया कुण्ठा जाग्रत हुँदै गयो । यस्तो अवस्थामा पार्टीभित्र राजाका विरुद्ध माओवादी उग्रवादसँग घुँडा टेक्ने र अर्कोतर्फ उग्रवादको विरोधका नाममा राजाको पक्षमा वकालत गर्ने प्रवृत्तिहरू देखा परे । माओवादी विद्रोह र दरबारका महत्त्वाकांक्षाले गर्दा मुलुकमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चासो गहिरिँदै गयो । थोरै पनि असावधानी हुँदा हामी माओवादी, दरबार र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका गोटी बन्नसक्ने असामान्य जटिलताको अवस्थाबाट गुज्रिनुपर्यो । पार्टीलाई माओवादी उग्रवादसँग बचाउनुपथ्र्यो तर त्यस उग्रवादलाई हतियारका बलमा मात्रै एकपक्षीय रूपमा दबाउने बाटो लिनु ठूलो गल्ती हुन्थ्यो किनकि त्यसले मुलुकलाई राजाको नेतृत्वमा सैन्यीकरणको दिशामा धकेल्थ्यो । दरबारको महत्त्वकांक्षालाई सहयोग पुग्ने कुनै पनि कदम गल्ती हुन्थ्यो तर दरबारसँग हाम्रो अन्तरविरोधबाट माओवादी उग्रवाद र अन्यशक्तिले फाइदा नलिऊन् भन्ने कुरामा ध्यान दिनुपर्ने थियो । हरेकजसो महिना पार्टीका नेता–कार्यकर्ताको हत्या भइरहेको थियो, ज्यानको पर्वाह नगरिकन गाउँ–जिल्लामै बस्नुस् भन्न सकिँदैनथ्यो, गाउँ–जिल्ला छोड्नुस् भन्न पनि सकिँदैनथ्यो, कैयन् स्थानीय नेताहरू विस्थापित भइरहनुभएको थियो । त्यस्तो असामान्य अवस्थामा पनि पार्टीभित्र गुटबन्दीले जरा हालिरह्यो । यस्तो अवस्थामा पार्टीको प्रमुखका हिसाबले मैले अनेक खतराहरू झेल्दै र कतिपय अवस्थामा अपमान र ग्लानि व्यहोर्दै भए पनि मुलुकको राजनीतिलाई शान्ति र लोकतन्त्रको मार्गमा ल्याउन निरन्तर प्रयत्न गरिरहें ।
देशभित्र र बाहिरका शक्ति र दबाबले उत्पन्न गरेका अनेकौं उतार–चढावपछि मुलुकको राजनीति क्रमश: हामीले अपेक्षा गरेको र पहलकदमी लिएकै दिशामा अगाडि बढयो । माओवादीसँग हामी लोकतन्त्रमा सम्झौता गर्न सक्दैनथ्यौं, दरबारसँग गणतन्त्रमा सम्झौता गर्न सक्दैनथ्यौं । त्यसैले हामीले लोकतान्त्रिक गणतन्त्रको बाटो लियौं । हामीले लोकतान्त्रिक गणतन्त्रको पक्षमा घोषणा गरेपछि नेपाली कांग्रेस पनि त्यसमा समाहित हुँदै गयो र हाम्रो आन्दोलन क्रान्तिमा विकसित हुँदै गयो । गणतन्त्रलाई रोक्न देशभित्र र बाहिरबाट समेत अनेकौं प्रयत्न भएका थिए तर ती सबैलाई हामीले चिर्न सक्यौं । तर, उग्रवादको लपेटाका प्रभावबाट जनमतलाई जोगाउन सकिएन । ०६४ सालको संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा निरन्तर पहलकदमी गरिरहेको हाम्रो पार्टीले पराजय व्यहोर्नुपर्यो । नेकपा (एमाले)ले राजनीति जितेको थियो र निर्वाचनमा पराजित भयो । त्यसको नैतिक जिम्मा मैले लिएँ र महासचिवबाट राजीनामा गरें । मैले पार्टीको पराजयको नैतिक जिम्मा लिएको थिएँ तर राजनीतिबाट भागेको थिइनँ । नैतिक जिम्मा कबोल गरेबापत मलाई कतिपय कमरेडहरूले लाञ्छित गर्ने प्रयत्न गरेको देख्दा दु:ख लाग्छ । मुलुकको असामान्य राजनीतिक अवस्थामा मैले पार्टीको नेतृत्व सम्हालें । यहाँनिर एउटा तथ्यबारे मैले पार्टी पंक्तिलाई जानकारी दिनैपर्छ कि जब पार्टीलाई कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको शोकको अवस्थाबाट सम्हालियो त्यहाँदेखि नै पार्टीमा गुटबन्दी आरम्भ भयो । यो साना दु:खले आर्जेको पार्टी थिएन र पार्टीका अगाडि धेरै सम्भावनाहरू उभिएका थिए, तर बढ्दै गएको गुटबन्दीले गर्दा पार्टीमा समस्या गहिरिँदै गयो । गुटबन्दीको चरित्र विषय केन्द्रितभन्दा बढी स्थायी प्रकृतिको बन्दै गयो । गुटबन्दीलाई व्यवस्थापन गर्नु पर्दा संगठनका कैयन् पक्षमा मैले सम्झौता गर्नुपर्यो । पार्टी बाहिरको अस्थिर र उतार–चढावपूर्ण राष्ट्रिय परिस्थिति र पार्टीभित्र घर गरेको स्थायी गुटबन्दीका दबाबहरूका कारण पार्टी सञ्चालनका दैनन्दिन मामिलामा मबाट कतिपय कमीकमजोरी भएका हुन सक्छन् भन्ने कुरा इमानका साथ म स्वीकार गर्छु तर पार्टी र मुलुकको राजनीतिलाई बचाउन, मुलुकमा शान्ति बहाल गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने काममा पार्टीको मुख्य जिम्मेवारका हिसाबले मैले जेजति मेहनत र पहलकदमी गरें त्यसमा मैले ठीकै गरेको छु भन्ने लाग्छ । केही वर्ष अगाडि मात्रै पार्टी र मुलुकको राजनीतिले हिँडेको बाटो सबैको सम्झनामा ताजै छ भन्ने मेरो विश्वास छ ।
पार्टी र मुलुकका चुनौती र सम्भावनाका बीच नेकपा (एमाले)को नवौं महाधिवेशनमा अध्यक्ष पदका लागि तयार रहन तपाईंहरू र देशभरिबाट भएका आग्रहलाई म सम्मान गर्छु, तर त्यसभन्दा अगाडि मेरो प्रस्ताव सबैका सामु राख्न चाहन्छु । पार्टीमा दोस्रो पुस्ताबाट नेतृत्वको भरपर्दो पंक्ति तयार भइसकेको छ । यो पंक्ति सैद्धान्तिक–राजनीतिक, सांगठनिक, वैदेशिक तथा कूटनीतिक चेतना, सुझबुझ र दक्षताको क्षेत्रमा हामी पहिलो पुस्ताभन्दा कुनै पनि हिसाबले कमजोर छैन । त्यसैले हामी पहिलो पुस्ताका नेताहरू सक्रिय छँदै पार्टीको नेतृत्व दोस्रो पुस्तामा नेतृत्व हस्तान्तर गरौं भन्ने मेरो पहिलो प्रस्ताव छ । हामीले आ–आफ्ना गुटहरू खडा गरेर दोस्रो पुस्ताका नेताहरूलाई विभाजित नगर्ने हो भने हामी पहिलो पुस्ताको रेखदेख तथा सल्लाह–सुझावमा दोस्रो पुस्ताले पार्टीलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न सक्छ भन्ने मेरो विश्वासका आधारमा मैले उक्त प्रस्ताव राखेको छु । तर, पार्टीलाई योग्यता–क्षमताका आधारमा सञ्चालन गर्ने होइन, हामी पहिलो पुस्ताकै नेताहरूका बीचमा आलोपालो गर्ने हो र औपचारिक रूपले नै असैद्धान्तिक तथा अवैचारिक गठबन्धनका आधारमा अल्पतन्त्र चलाउने हो भने पार्टीमा हामीले हुर्काएको नयाँ पुस्ताले आफ्नो योग्यताको प्रदर्शन गर्ने अवसरसमेत पाउँदैन । त्यस्तो पार्टीले आजको मुलुकको अभिभारा बोक्न सक्दैन । तसर्थ, नेकपा (एमाले)को सम्पूर्ण पार्टी परिवारले मेरो प्रस्तावलाई समर्थन गर्न आह्वान गर्दछु ।
आजकल विचार, सिद्धान्त र कायभारहरूलाई किनारा लगाएर नवौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने अमूर्त चर्चा चलेको छ । म आफैं पनि सहमतिको विरुद्ध छैन । तर, म दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने र पार्टीको अग्रगतिको ग्यारेन्टी गर्ने प्रस्तावका साथ सहमतिका लागि तयार छु । यदि मेरो यस प्रस्तावमा सहमति हुँदैन र ‘मिलिजुली बसौं, बाँडीचुँडी खाऊँ’ लाई नै पार्टी नेतृत्वको सिद्धान्त बनाउने हो भने म त्यस्तो सहमतिको पक्षमा छैन । यदि मेरो प्रस्तावमा सहमति हुँदैन भने दसौं महाधिवेशनभित्रै दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने ग्यारेन्टीका साथ नवौं महाधिवेशनमा पार्टी नेतृत्व सम्हाल्नका लागि तपाईंहरूले गर्नुभएको आग्रहलाई स्वीकार गर्नु म आफ्नो कर्तव्य ठान्दछु ।
One response to “म किन तयार भएँ ?”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
काम्रेड विचार,विवरन र तर्कहरु मार्मिक छन तर के एसो भन्दैमा नेत्रित्वो सधैं जाम गरेर एकल नेत्रित्वमा रहने ? युवा पुस्तकओ नाममा सधैं आफै मात्र सर्ब शक्तिमान भएर बस्ने ? अरुको मुल्याङ्कन गर्ने अवशर कहिले आउने ?अनी आफु नभए दुमै राज गरेर केटाहरुलाई उचाल्नुत भएननी ।