ताली पाएको केहीबेरमै पक्राउ
त्यस समय सबैभन्दा चर्चित जुलुस र सभा जनकपुरको रंगभूमिबाट सुरु भएर पछि त्यहीँ पुगी विशाल सभामा परिणत भएको भयो । सिरहा, सिन्धुली, धनुषा र अरू ठाउँहरूबाट समेत गम्छामा च्यूरा बाँधेर हातमा टेक्ने लठ्ठी लिएर १० कोस, १५ कोस परपरसम्मका किसानहरू गाउँबाट निस्कदैदेखि साना–साना जुलुस भएर पैदल पुगेका थिए । त्यस जुलुस र सभामा भाग लिन मनमोहन अधिकारी जनकपुर पुग्नुभएको थियो । विशेष रूपले निकै ठूलो (२५ हजारभन्दा बढीको) जनकपुरको त्यो जुलुस प्रदर्शन यस कारणले पनि नेपालमा चर्चित भयो कि पुलिसले जुलुसमा भाग लिन आएका किसानहरूलाई लाठी लिएर जुलुसमा हिँड्न पाइँदैन भन्दा रंगभूमिको मैदानमा उनीहरूले बिसाएको लठ्ठी चार ट्रक भएको थियो । त्यहाँ चाहिँ मनमोहन अधिकारीले विशाल जनसमूह सामु ‘जनमत संग्रह निष्पक्ष गर्न पाँच मागहरू पूरा हुनुपर्छ र जनमत संग्रह निष्पक्ष भएन भने संघर्ष गर्न तयार रहनुपर्छ’ भन्दा जनताको गड्गडाहट ताली पाउनुभएको थियो । साथै, उहाँले ‘जनमत संग्रह सम्पन्न भएपछि संविधान बनाउने संविधानसभाको चुनावका लागि संघर्ष हुनेछ’ भनेर फेरि तालीमाथि ताली पाउनुभएछ । पाण्डवराज घिमिरे, बलराम सुवेदीहरूले पनि बोल्नुभएको थियो । सभा सकेर किसानहरू तितरबितर भई घरतर्फ लागेपछि मनमोहनजीलाई पुलिसले २४ गते बयानबारे सोध्न पक्राउ गरी त्यो रात र २५ गते दिन रात थुनेर बल्ल २६ गते दुई महिनाको तारेखमा छोड्यो ।
काठमाडौंमा भदौ २४ गतेको एक दिनअगावै पसल–पसलमा २३ गते साँझै पर्चा बाँडिएको थियो । भोलिपल्ट २४ गते नयाँसडक, मखन, इन्द्रचोक, भोटाहिटी र हत्तपत्त बन्द नहुने असनका दाल–चामल पसलहरू मध्याह्नपछि पूर्णतया बन्द भए । त्यस दिन वसन्तपुरबाट पञ्चायतका निकायहरूको निलम्बन, अन्तरिम सरकार, १८ वर्षको उमेरलाई बालिग मानिनुपर्ने, राजनीतिक बन्दीको रिहाइ र मुद्दाहरूको खारेजी इत्यादि मागहरूका प्लेकार्ड र नाराहरूका साथ निस्केको भव्य जुलुसले नगर परिक्रमा गरेर सभामा परिणत भएको थियो । त्यस सभालाई काठमाडौंका कृष्णदास श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ (केबी), पाटनका दिलबहादुर श्रेष्ठ, भक्तपुरका गोविन्द दुवालहरूले सम्बोधन गर्नुभएको थियो । त्यतिबेला काठमाडौंका अखबारले लेखे– ‘जुलुसमा कुनै नेतृत्व वर्ग देखा परेनन् ।’
भक्तपुरमा अर्को जुलुसले पनि सहर परिक्रमा गरी सभामा कैयौंले बोल्नुभएको थियो । हेटौंडामा पनि एउटा जुलुस बजार परिक्रमा गरी भुटनदेवी विद्यालयको मैदानमा आमसभामा परिणत भएको थियो र हिरण्यलाल श्रेष्ठ र अरू वक्ताहरूले बोल्नुभएको थियो । पोखरामा पनि एउटा जुलुसले बजार परिक्रमापछि सानो टुँडिखेलमा सभा भएको थियो ।
०३६ भदौ–असोजसम्म त माले र चौथो महाधिवेशन (पछि मसाल) दुवैले बहुदल पक्षमा लागेको अनुभव गर्दै थिए । तर, कात्तिक १० गते २०३६ मा हामीलाई बहुदल पक्षको आमसभामा सम्बोधन गर्न बोलाइयो । त्यस आमसभाका आयोजकहरूमा प्रकाश काफ्ले, सुशील प्याकुरेल र बद्रीप्रसाद खतिवडा प्रमुख हुनुहुन्थ्यो । हामीहरू एक दिनअगावै त्यहाँ पुगेका थियौं र बद्री खतिवडाको घरमा राखिएको थियो ।
भोलिपल्ट आमसभा सुरु हुनुभन्दा एक दुई घन्टा अगाडि बद्रीप्रसाद खतिवडा आउनुभयो र हामीलाई भन्नुभयो– ‘हामी जनमत संग्रहभन्दा मजदुर किसानका समस्याहरूमा जोड दिऊँ । यहाँ मजदुरहरूको ठूलो संख्या छ । यो जनमत संग्रहमा धाँधली हुन्छ र निर्दललाई जिताइन्छ ।’ यस्तै कुराहरू एकैछिन भनेर निस्कनुभयो । उहाँ जानासाथ मनमोहनजी उहाँको कुरामा रिस प्रकट गर्दै बुढीऔंला देखाउँदै भन्नुभयो– ‘इस बोल्छु यिनले भनेझैं । जनता बहुदलको पक्षको कुरा सुन्न आएका हुन्छन् । अनि बहुदल पक्षमा जनतालाई मन पर्ने नबोलेर किसान मजदुरका कुरा मात्रै बोल्ने ? बद्रीले भनेझैं ?’ बद्री खतिवडा ०२५/२६ तिर हामी मनमोहनजी र मेरो साथ भद्रगोल जेल काठमाडौंमा पनि हुनुहुन्थ्यो ।
मैले भनें– ‘म पनि के बोल्थें त्यसरी । म जनमत निष्पक्ष हुन पाँच पूर्वाधार पूरा गर्नैपर्छ भनी बोल्छु ।’
One response to “ताली पाएको केहीबेरमै पक्राउ”
Leave a Reply to LoK Naryan Subedi Cancel reply
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
यो संस्मरणात्मक लेखबाट धेरैजनाको सैद्धान्तिक पोल पनि खोलिदिनु भएछ, धन्यवाद । तर जनमत संग्रहमा पाँच पूर्वशर्त कसले राखेको थियो कमलजी ? यो त तपाईले भनेको सहान समूह जो बनारसमै थियो त्यतिबेला नेकपाको हेडक्वाटर, त्यही नेकपाले राखेको हो नि । अनि जनमत संग्रह पछाडिको तपाईहरुले गोरखपुरमा गरेको सम्मेलनमा त्यो पाँच पूर्व शर्तको कुरासम्म चलेको होला, होइन र ? सहाना प्रधान धाँधली जनमत संग्रह हुन सक्तैन भनेर पञ्चायती साशकहरुले जनमत संंग्रहमा गरेको धाँधली बिरोधी आम सभा गर्दा त्यतिबेला पक्राउ परेकी थिइन् । कुनै सभा गर्दा भनेर कुरा लुकाउनु पनि भएन नि !