बहुदलबादीमाथि ढुंगामुढा
मनमोहन अधिकारीभन्दा अगाडि मेरो बोल्ने क्रम थियो । त्यसअघि बोल्नेहरूले प्रशस्त मजदुर र किसानका शोषणबारे बोलिसकेका थिए । मैले पाँच पूर्वाधार पूरा हुनैपर्छ । जेलमा र निर्वासनमा रहेकाहरूको सबैखाले मुद्दा नचलेका र चलेका र सजा भएकाहरू छुट्नैपर्छ भन्नसाथ ताली बज्यो । मैले ‘१८ वर्षका युवा विद्यार्थी पनि बालिग मानिनुपर्छ र उनीहरूले पनि भोट दिन पाउनैपर्छ’ इत्यादि बोलें ।
मनमोहन अधिकारी त झन् आमसभा सुन्न आएका जनताको मुड अनुसार बोल्न सिपालु हुनुहुन्थ्यो । उहाँले बहुदल पक्षमा ४५ मिनेट जति लामो बोल्दा उहाँको कुरा र आमसभामा कुरा राख्ने प्रस्तुतिले गर्दा पटक–पटक ताली बज्यो । भुटनदेवी विद्यालयको चौरमा भएको त्यस सभाको सभापतित्व बद्रीप्रसाद खतिवडाले गर्नुभएको थियो । सभा सकिएर बद्रीजीकहाँ फर्केपछि राति प्रकाश काफ्लेले भन्नुभयो– ‘काठमाडौंमा कोहीकोही बुद्धिजीवी प्रोफेसरहरू भन्दछन् कि संसारमा कुनै शासन सत्ताले आफूले हार्ने गरी जनमत संग्रह गराएको उदाहरण छैन । के नेपाल अपवाद होला ? जनमत संग्रहको घोषणाको टेप राति नै गर्दा पहिलो टेपमा राजाको आवाज एकठाउँ काँपेको जस्तो हुन जाँदा फेरि त्यो सुनेर अर्को टेप गराएर सबैभन्दा पहिले रेडियो नेपालले प्रसारण गर्ने भनी राजा सुत्न गए । ज्ञानेन्द्रले पनि भोलिपल्ट मात्रै जनमत संग्रह घोषणा भएको सुुनेर दरबारमा आए । दरबार पस्दापस्दै राजाको सचिव नारायणप्रसादलाई एक चड्कन दिए भन्ने हल्ला पनि सुने । कीर्तिनिधि विष्ट हटाएर सूर्यबहादुर थापालाई ल्याएको जेसुकै धाँधली गरेर पनि पञ्चायतलाई जिताउने हो भन्दछन् ।
मनमोहन अधिकारीले भन्नुभयो– ‘यत्रो ठूलो जनतामा उत्साह छ । मलाई त निष्पक्ष जनमत भए बहुदल जित्छ भन्ने लाग्छ । हाम्रो कर्तव्य पनि बहुदल पक्षलाई जिताउन हरेक सम्भव प्रयास गर्नु हो ।’
प्रकाश काफ्लेले भन्नुभयो– ‘त्यो त देखिहाल्नुभयो नि हामी पनि बहुदलको पक्षमा लागिपरेकै छौं । जे परिणाम भए पनि हामी बहुदलकै पक्षमा लड्छौं ।
पछि त्यही हेटौंडामा नजिक भएको प्रकाश काफ्ले, सुशील प्याकुरेल र बद्रीप्रसाद खतिवडाले मासम (मानव अधिकार संरक्षण मञ्च) र इन्सेक खडा गर्नुभयो । एउटा अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिएर फर्कंदा हवाई दुर्घटनामा प्रकाश काफ्लेको मृत्यु भयो । सुबोध प्याकुरेललाई पछि कोरियाको सम्मानपूर्ण ३० हजार अमेरिकन डलर पर्ने ख्वाङ्जु फ्रिडम प्राइज दिइएको थियो । संयोगले म पनि त्यस समारोहमा उपस्थित थिएँ । त्यही खुआङजु फ्रिडम प्राइज म्यानमारकी प्रजातन्त्रवादी योद्धा आङसाङ सुकीले पनि पहिले पाएकी थिइन् ।
सूर्यबहादुर थापाले प्रधानमन्त्री भएदेखि नै जेसुकै र जस्तोसुकै गरेर पनि निर्दलीय पञ्चायतलाई जिताउने पक्षमा काम गर्न लागे । अर्बौं रुपियाँको जंगल पश्चिम नेपाल र पूर्व नेपाल र सर्वत्र लकडी निर्यात गर्ने भन्दै पैसा दिन थाले । भारतबाट सर्पको छाला झिकाई प्रति सर्पको छाला १० डलर जम्मा गर्दै निर्यात गर्ने लाइसेन्स बाँडे । स्टेनलेस, सिन्थेटिक कपडाका लाइसेन्स कोटाहरू पैसा लिँदै बाँडिन थाले ।
ठाउँ–ठाउँ बहुदलको पक्षमा सभाहरू गर्न जाँदा वा फर्कंदा बाटोमा ढुकी ढुंगामुढा गर्ने सभामै पनि होहल्ला गर्ने ढुंगा हान्ने वक्ताहरूलाई पिट्नेजस्ता कार्य हुन थाले । रिडी पुग्नुभएका बहुदलवादी वक्ताहरूलाई मोहनसिंह थापालाई बेहोस हुनेगरी पिटियो र होसमा आएपछि साथ रहनुभएका काशीनाथ गौतमलाई कालोमोसो दली ‘कांग्रेस बाकसे–कम्युनिस्ट मुर्दावाद, कृषि क्रान्ति गर्छौ– गर्छौं’ जस्ता नारा लगाउँदै बजार घुमाइएका समाचारहरू पनि आए । त्यसैगरी, गोर्खामा आमसभामा केशरजंग रायमाझी र कृष्णप्रसाद भण्डारीहरूलाई सुरक्षाका लागि भाग्न बाध्य पारिएको समाचार पनि हेटौंडामा रहँदै सुनियो । ठाउँ–ठाउँ पहाडका सहर बजारहरूमा यस्ता घटना गर्न प्रशासनले र पञ्चले उचालेका घटनाहरू हुन थाले । तर काठमाडौं, विराटनगर र तराईका सहर बजारहरूमा भने विदेशीहरूलाई र विदेशी पत्रकारहरूलाई देखाउन यस्ता कुरा खुलेआम गरिएन । करोडौं रुपियाँ अञ्चलाधीशमार्फत् जिल्लाहरूमा निर्दल पक्ष जिताउन पठाइएको चर्चा पनि सुनियो । मनमोहन अधिकारी मेचीदेखि महाकालीसम्म बहुदल सभाहरू गर्न पुग्दा त्यस्ता ढुंगामुढा त भएनन् तर पुलिसले सभा सकेपछि भाषणबारे बुझ्न भनी पक्रँदै दुई रात राखी मुद्दा खडा गरी तारेखमा छाड्ने कामहरू गरिन थाले । खतरा मोलेर पनि मोटर पुग्ने तराई र पहाडका बजार र बस्तीहरूमा बहुदलका पक्षमा बोल्न कम्युनिस्ट कांग्रेसका पहिले बिग्रेभत्केका राजनीतिक कार्यकर्ताहरू समेत बहुदलका पक्षमा सभाहरू गर्न थाले ।
असोज ८ गते २०३६ बीपी कोइराला पोखराबाट स्याङ्जा जाँदा निर्दल र बहुदलमाझ झडप भयो । पुलिसले गोली चलाउँदा कैयौं जना घाइते भए । बीपी कोइरालाको गाडी पहाडमाथिबाट ढुंगा हानी कुच्याइदिए । स्याङ्जा बजारमा सभा गर्न दिइएन र खोलाको बगरमा सभा भयो । यस्तो प्रतिकूल वातावरण पार्न खोज्दाखोज्दै पनि बहुदलका पक्षमा देशभर साना र ठूला सयभन्दा पनि बढी सभा रोजै हुन थाले ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply