छिन्ताङ आँसुमा विश्वास गर्दैन
१४ लाख गोटा सर्दाका छाला निर्यात गर्ने अनुमित, पहिलो पटक खाडीका देशहरूमा महिला पठाउन पाइने अनुमति, ५० मन चाँदी निर्यात गर्ने लाइसेन्स, ब्रिटिस सैनिकहरू र अरूहरूसँग १२ का दरले १ डलर (त्यसबखतको सटही दर) मा किन्ने तर व्यापारीले निर्यात गरी कमाएको डलरको दाम १६ गरी प्रतिडलर एक रुपियाँ निर्बललाई चन्दा भन्दै लिई देशलाई नोक्सान पार्ने काम, पञ्चहरूलाई बिघाका बिघा कुनैलाईै पाँच बिघासम्म गाँजा लगाउने छुट, कुनै जिल्लामा ५ लाख क्यूबिक फिट काठ कुनै जिल्ला १७ लाख क्यूफिट काठ काटेर भारतको बंगाल, विहार, उत्तर प्रदेश पठाउने वैध लकडी निर्यात काटेर (त्यसबखत ४ करोड २५ लाख क्यूबिक फिट वैध थियो) त्यसभन्दा धेरै गुणा बढी काठ निर्यातक भारतीय आयातक र तस्करहरू मिली काटियो । पश्चिमको कुनै जिल्लामा त एक महिनामै दुई किलोमिटर ठुटै ठुटाको मैदान बनिसकेको थियो । तैपनि काठ काट्ने अनियन्त्रित छुट दिइराखियो । पञ्च प्रचारकहरूलाई शाही वायुसेवा निगमको कम्प्लिमेन्ट्री टिकट दिइन्थ्यो । त्यतिले मात्र पुगेन, अरू त अरू बीपी कोइराला बहुदलको प्रचार गर्न पश्चिम नेपाल जाँदा मोटरलाई पहाडबाट ढुंगा बर्साई कच्याककुच्चुक बनाइयो । बजारमा हुलहुज्जत गरी जनतामाझ सभा गर्न नदिई खोलाको बगरमा सभा गर्नुपर्यो ।
जेठ २०३६ मा राजदरबारको विज्ञप्तिद्वारा बहुदल पक्षमा प्रचार र सभा गर्न स्वतन्त्रता छ भने पनि व्यवहारमा त्यसो गरिएन ।
मनमोहन अधिकारी र हाम्रो पार्टीसँग मोटर थिएन । मनमोहन अधिकारी र हामी बस चढेर नपुग्ने ठाउँ पैदल हिँडेर सभाहरूलाई सम्बोधन गर्न पुग्दथ्यौं । तर, मनमोहन अधिकारीलाई बुटवल र नवलपरासीका आमसभाहरू सम्बोधन गरेपछि पुस ९ गते पक्राउ गरी राजकाजको मुद्दा खडा गरी एक महिनाजति थुनेपछि बल्ल माघमा मुद्दा फिर्ता नलिई फेरि हाजिर हुन आउने भनी लुम्बिनी अञ्चलाधीशले तारेखमा रिहा गरेका थिए ।
हामीले यो गिरफ्तारी र थुनाको हरेक सभाहरू र प्रेस वक्तव्यहरूमा विरोध गर्यौं । तैपनि मनमोहन अधिकारीलाई एक महिना थुनी दर्जनौं ठाउँ सभा सम्बोधन गर्न जान दिइएन ।
मनमोहन अधिकारी थुनामै रहेका बखत त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाको घर भएको जिल्ला धनकुटाको छिन्ताङ गाउँमा त बहुदल पक्षधर जनतामाथि ठूलो देशव्यापी आतंक फैलाउने षड्यन्त्र कार्यान्वित गरिएको थियो ।
पुस ०३६ सालमा धनकुटाको छिन्ताङ गाउँमा मोदनाथ प्रश्रितले लेखेको पचास रुपियाँको तमसुक भन्ने नाटक हेर्न आठ–नौ सय वरपरका गाउँका समेत जम्मा भएका थिए । त्यो नाटक हुँदैछ भन्ने जानकारी पञ्च, प्रशासन र पुलिसलाई थियो । सशस्त्र पुलिसको जत्था पनि त्यहाँ पुग्यो । नाटक हेर्न भनी जम्मा सोझा, निमुखा र निर्दोष जनतालाई व्यापक कुटपिट, धरपकड, महिलाहरूमाथि बलात्कार गर्ने प्रयास भयो । त्यसको विरोध गर्दा घेरा हाली गोली चलाउन थालियो । त्रासले भाग्न खोज्दा कोही रती, कोही पिठुआ खोलामा खसेर बगे, धेरै जना मारिए । पहिले नै पक्राउ गरिएकालाई पनि गाउँबाहिर पुगेपछि र कसैलाई केही पर लगी गोली हानी मारियो ।
०३६ मा आजको जस्तो मोटर यातायात धनकुटा, धरान, विराटनगरमाझ थिएन भने छिन्ताङ, खोकु, आँखीसल्ला बेलहाराका गाउँघर झन् विकट स्थितिमा थिए । अपुष्ट समाचार धनकुटा हुँदै धरान र विराटनगर पुग्न थाले । आजको जस्तो मोबाइल र टेलिफोनका सुविधा पनि गाउँघरमा थिएन । हल्लाहरू सुन्यौं कि छिन्ताङमा ठूलो नरसंहार भयो । कति मारिए, यकिन कसैलाई थाहा छैन । धरानबाट बम देवान र अरू साथीहरू चुपचाप बुझ्न पुग्दा कैयौं गाउँ लोग्ने मान्छेहरू भेटिएनन् । स्वास्नी मान्छेहरू र बच्चाहरूले पनि त्रास र आतंकका कारण कुरा गर्न बोल्न मानेनन् । वरपर बुझ्दा धेरै मान्छे तर केही नाम आए । गाउँका लोग्नेहरू कैयौं गाउँ छाडेर अन्यत्र त्यसै रातदेखि हिँडेका हुँदा को मर्यो, को जिउँदो छ, को खोला नदीमा खसेर मर्यो, यकिन हुन सकेन । तैपनि हामीले त्यता पुगेर आउनुभएका बम देवानको ‘प्रेस कन्फ्रेन्स’ आयोजित गर्यौं र उहाँले पाएसम्मको जानकारी दिने प्रयास गर्नुभयो ।
हामीले पनि त्यस घटनाको भत्र्सना गर्यौं र भन्यौं कति जना मारिए, किन मारिए, सबै विवरण फासिस्ट सरकारले दिनुपर्छ । तर, हाम्रो वक्तव्यबाट फासिस्ट शब्द झिकी र केही छोटो पारी मातृभूमिले छापेको थियो । अरूमा प्रकाशित भए भएन थाहा छैन । त्यसबखत हामी विराटनगरबाट बहुदल बुलेटिन प्रकाशित गर्दथ्यौं । त्यसमा छिन्ताङमा मारिएका केही नाम परेका थिए । तर, त्यो ०३६ सालको अस्थायी रूपमा बेला–बेला छापिने बुलेटिन पनि मसँग छैन । अरू ठाउँ पनि पाउन गाह्रै होला ।
म भूमिगतकालमा धरानदेखि पैदल साथीहरूले बाटो देखाई पुर्याउँदा छिन्ताङ र खोकुमा केही दिन बसेको थिएँ । आनन्द सन्तोषी राई त्यसबखत हाम्रै पार्टीमा हुनुहुन्थ्यो । उहाँको घरमा पनि बसेको थिएँ । नरबहादुर कुथुमीको घरमा छिन्ताङ, खोकुतिरै थियो । उहाँ एउटा धनीमानी कम्युनिस्ट हुनुहुन्थ्यो । विराटनगरका ज्वाला रेग्मी पनि हाम्रै पार्टीमा हुनुहुन्थ्यो र पार्टीले खटाएबमोजिम शिक्षक भएर उहाँकै घरमा खाने बस्ने गरी हुनुहुन्थ्यो । तर, त्यो कुरा ०२९ को झापाकाण्ड भन्दा पहिलेको कुरा थियो । झापाकाण्ड र सरकारले पक्राउ गरेकालाई पनि जेलबाट निकाली चिसो रगतका हत्याहरू गर्न थालेपछि नै पूर्वी पहाडका गाउँहरूबाट त्यस समय थोरै संख्यामा भएका कमरेडहरू भागभाग गरेर मधेस र अन्यत्र बसाइँ सर्न थाल्नुभएको थियो । शिक्षक भएर विराटनगरबाट जानुभएका नारायण आचार्य, दधिराम आचार्य, रंगनाथ प्याकुरेल, ज्वाला रेग्मी, बलराम पोखरेल इत्यादि पनि फर्कनुभएको थियो । ०३६ को छिन्ताङ हत्याकाण्ड पछि ठूलो आतंक पूर्वी पहाडका गाउँहरूमा फैलियो । बहुदलका पक्षमा गाउँघरमा प्रचार गर्न जान पनि कैयौं डरलाग्दो वातावरण भयो ।
बल्ल ०३६ मा १६ गते पारी धनकुटामा प्र. नेपाल कम्युनिस्ट पार्टी र बहुदल प्रचार कमिटीको आयोजनामा सभा गर्ने भए । त्यस सभालाई सम्बोधन गर्न धनकुटाबाट साथीहरूले बोलाउँदा म गएको थिएँ ।
माघ १६ को त्यस सभामा सहिदहरूको नाम स्थानीय वक्ताहरूले भन्नुभएको थियो । तर, ती नामहरू सुनेको ३६ वर्षपछि सम्झेर लेख्न गाह्रो पर्छ । विभिन्न मान्छे र सामग्रीहरूबाट त्यसताका छिन्ताङ र धनकुटाका गाउँहरूमा मारिनुभएर प्रजातन्त्रका सहिद भएकाहरूको नाम यसप्रकार छन्–
आनन्दगोपाल राई, भैरव राई, गणेश विश्वकर्मा, किशोर राई, गमभे दमाई, लाखमान राई, हाङ्खिमा साइँली, पुत्रमान राई, टंकबहादुर विश्वकर्मा, झकेन्द्र राई, केशरमान राई, बलबहादुर छेत्री, मोहनदास राई, चन्द्रबहादुर दमाई, रणध्वज राई, धनबहादुर राई, गंगाबहादुर राई इत्यादि हो । तर, मेरो यो जानकारी यकिन तथ्य हो कि घटबढ हो म भन्ने स्थितिमा छैन । धनकुटा जिल्ला पार्टी र युुवा कमरेडहरूले यकिन गरेर भन्न सक्नुहोला । केही दिनअघि मैले गुगल र फेसबुकमा अजष्लतबलन mबककबअचभ भनेर खोज्दा जसमा कुमार राईले अजजष्लबिलन मयभक लयत चभष्भिखभ ष्ल तभयचक भन्ने डकुमेन्ट्रीको उल्लेख पाएँ । तर, कति हेर्न प्रयास गर्दा पनि सकिनँ । यो लेख्दा पनि हेर्न सकेको छैन ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply