के–के छन् हाम्रा कमजोरी ?
प्रसंग–१
२०६३ जेठ २६ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा भारतीय विदेश मामिला राज्यमन्त्री आनन्द शर्माले स्वागत गर्ने कार्यक्रम थियो । काठमाडौंमै हामीलाई उपलब्ध गराइएको कार्यक्रम विवरणअनुसार राज्यमन्त्रीले स्वागत गर्ने भएकाले हामी (नेपाली पत्रकार)हरूले त्यति महत्त्व दिएका थिएनौं र प्रधानमन्त्री कोइराला प्रवेश गरेको विशेष कक्षको साटो अर्को ढोका प्रयोग गरेर निस्किने तरखरमा थियौं । त्यतिबेलै मलाई कोट्यार स्थानीय विकासमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोध्नुभयो– ‘ऊ त्यो फेटा बाँधेका मनमोहन सिंह होइनन् ?’ हेर्दै नहेरी मैले ‘होइन होला’ भनि नसक्दै हेरेको त ती दुई नेता अँगालोमा बाँधिइसकेका रहेछन् । बाहिर निस्किसकेका कारण हामी भित्र जान पाएनौं । पछि बाहिर निस्केर अर्थमन्त्री डा. रामशरण महतले भन्नुभयो– ‘डा. सिंहले गिरिजाबाबुलाई ‘द टलेस्ट लिडर अफ एसिया’ (एसियाका अग्ला नेता) भन्नुभयो ।’
पछि थाहा पायौं, हाम्रा प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि भारतका प्रधानमन्त्री आउने कार्यक्रम अन्तिम घडीमा मात्रै बनेको रहेछ । त्यसअघि डा. सिंहले अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस र अफगानी राष्ट्रपति हमिद कारजाई आउँदा पनि ‘प्रोटोकल तोड्नुभएको’ रहेछ । पछि जाम हुन्छ भनेर सेभेन रेसकोर्सबाट हेलिकोप्टर चढेर डा. सिंह विमानस्थल आइपुग्नुभएको रहेछ । फर्किंदा नेपाल र भारतका झन्डा फहराउँदै दुवै प्रधानमन्त्री एउटै गाडीमा फर्किनुभयो । सम्भवत: नेपाल–भारतबीचको सम्बन्ध र सहकार्यका बारेमा औपचारिक वार्ताहरूमा जे–जति कुरा भए, ती सबैभन्दा बढी कुरा दुई अनुभवी नेताबीच गाडीमै भए होलान् ।
भोलिपल्ट बिहान म्यपेरियल होटलको स्विट रुममा प्रधानमन्त्री कोइरालाले नेपाली पत्रकारहरूलाई भेट्न बोलाउनुभएको थियो । मैले अघिल्लै दिन डा. सिंह विमानस्थलमा स्वागत गर्न आएको र ‘एसियाका अग्ला नेता’ भनेको प्रसँग कोट्याएँ । प्रधानमन्त्री कोइरालाले धेरै व्याख्या नगरी भन्नुभयो– ‘उनी (डा. सिंह) विद्वान छन् । विद्वानहरू नम्र हुन्छन् । उनले आफ्नो महानता देखाएका हुन् । त्यसभन्दा बढी केही होइन ।’
प्रसंग–२
२०६७ भदौमा प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाँदा स्थिति एकदमै सहज थिएन । जनमतबाट पहिलो स्थान प्राप्त दल एमाओवादी चर्को रूपमा भारतको विरोध गर्दै सडकमा थियो भने सत्ता साझेदार कांग्रेस पनि माधव नेपालको ‘कद’ नबढोस् भनेर सचेत थियो । भ्रमणको अन्तिम बिन्दुमा उपप्रधानमन्त्री नपाएको भन्दै परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारत भ्रमण रद्द गरेर अनावश्यक समाचारको विषय बनिन् । कमजोर गठबन्धनको प्रधानमन्त्रीका रूपमा भारतले माधव नेपाललाई बुझेको थियो । त्यसबेला नेपालमा एकातिर प्रधानमन्त्री नेपालमाथि खुला रूपमा ‘कठपुतली’को आरोप थियो भने अर्कातिर आफ्नो अनुकूल कुनै काम गरिदिएन भनेर भारतीय संस्थापन (खासगरी कर्मचारीतन्त्र र एजेन्सी)ले दबाब बढाइरहेका थिए । पहिला हिसिला यमीले अघि बढाएको ‘भारतीय विमानमा एअर मार्सल राख्न पाउनुपर्ने’ प्रस्तावमा उनीहरूको शिेष जोड थियो भने पटक–पटक छलफल भइसकेको सुपुर्दगी सन्धि, बिप्पा सम्झौता, यूटीएलको रोयल्टी मिनाह जस्ता अनेक कुरामा उनीहरूले निरन्तर चासो दिँदै आएका थिए । बालुवाटारमा र सिंहदरबारमा भएका एक होइन, अनेक बैठकमा यस्ता विषयमा कुराकानी भएका थिए । प्रधानमन्त्री तहमा मात्र होइन, हाम्रा (सल्लाहकारको) तहमा पनि भारतीय अधिकारीहरूले लबिङ गरिरहेका थिए ।
तर, हाम्रो स्पष्ट मान्यता थियो– कमजोर सरकार भएको बेला राष्ट्रिय सहमति निर्माण नगरी सानोभन्दा सानो काम गर्ने हो भने पनि भोलि कलंकको टीका लगाउनुपर्छ । हामीले राजदूत राकेश सुद र भारतबाट बारम्बार आउने विभिन्नस्तरका अधकिारीहरूसँग यही कुरा गरिरहेका थियौं । तर, ‘केही पनि नगरिदिने हो भने कसरी हुन्छ ?’ भन्ने शैलीमा कुरा गरिरहेका थिए ।
यही बेला प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा निस्किनुभएको थियो । हैदरावाद हाउसमा दुवै देशका मन्त्री, सचिव, राजदूत र अन्य अधिकारीलाई साथमा राखेर दुई प्रधानमन्त्री वार्तामा बस्नुअघि ‘वान–टु–वान’ कुराकानीमा बस्नुभएको थियो । त्यहाँ प्रधानमन्त्री नेपालले प्रधानमन्त्री डा. सिंहसँग स्पष्ट रूपमा आफ्नो अप्ठेरो राख्नुभयो– ‘तपाईंहरूको सरोकार अनुचित छैन । तर, यतिबेला नेपाल संक्रमणमा छ । मैले गठबन्धन सरकार चलाइरहेको छु । अनि एउटा ठूलो शक्ति अनावश्यक एजेन्डामा सडकमा छ । यस्तो बेलामा राष्ट्रिय सहमति नगराएर म कुनै सम्झौता गर्न सक्दिनँ ।’ कार्यकालभरि नेपालमा पाइला नहाले पनि छिमेकीप्रति नरम व्यवहार गर्ने डा. सिंहले तत्काल जवाफ दिनुभयो– ‘महामहिम नेपाललाई सहज महसुस नगरुञ्जेल कुनै पनि सम्झौता हुँदैन ।’ सायद उहाँले आफ्ना अधिकारीसँग यही कुरा गर्नुभयो होला, त्यस उप्रान्त यी कुरा उठेनन् ।
माथिका दुई प्रसंग उठाउनुको खास सन्दर्भ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमण गरेर सोमबार फर्किनुभएको छ । नेपाल बसाइका क्रममा उहाँले संसद्मा गरेको भाषण र नेताहरूसँग गरेका कुराकानी सुनेर काठमाडौं प्रफुल्लित छ । कतिले अब सम्बन्ध राजनीतिक तहमा विकास हुने विश्वास व्यक्त गरेका छन् भने कतिले नेपालको विकासमा भारतले ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन् । देशभित्र र बाहिरका विश्लेषकहरूले अब भारतले नेपालसम्बन्धी आफ्नो दृष्टिकोण र शैली बदलेको रूपमा पनि यसको व्याख्या गरिरहेका छन् । परिणाम जेसुकै आए पनि मोदीको भ्रमणले केही ठोस संकेत चाहिँ गरेको छ । परम्परागत सम्बन्धभन्दा भारत माथि उठ्न चाहन्छ भन्ने यस भ्रमणबाट बुझ्न सकिन्छ । उदारतापूर्वक प्रधानमन्त्री मोदीले जे कुरा बोल्नुभएको छ र जे–जति सम्झौता भएका छन्, तिनलाई मात्रै आधार बनाउन सक्ने हो भने पनि नेपालले फाइदा लिन सक्छ ।
हामी भारतसँग सम्मानपूर्ण, पारस्परिक लाभपूर्ण र हार्दिक सम्बन्ध चाहन्छौं । तर, आफ्नो तर्फबाट त्यसका लागि आवश्यक कार्यसम्पादन गर्न सकिरहेका छौं त ? एकपटक आत्मसमीक्षा गर्नुपर्छ ।
१. रित्तो राजदूतावास
नि:सन्देह नेपालका लागि भारत महत्त्वपूर्ण छिमेकी हो । कुटनीतिक सम्बन्धका कारणले मात्र होइन, हाम्रो जनसंख्याको उल्लेख्य संख्या भारतमा भएका कारण पनि दिल्लीले हाम्रा लागि विशेष महत्त्व राख्दछ । त्यस्तो महत्त्वपूर्ण मुलुकमा करिब ३ वर्षदेखि हामीले राजदूत नियुक्त गर्न सकेका छैनौं । दुई देशका प्रधानमन्त्रीहरूको भ्रमण हुँदा पनि हाम्रो दूतावास नेतृत्वविहीन अवस्थामा छ । के यो पनि भारतले गरिदिएको हो ? झलनाथ खनाल प्रधानमन्त्री भएका बेला परराष्ट्रमन्त्री उपेन्द्र यादवले रुक्मशमशेर राणालाई बाह्रखम्बा रोडबाट फिर्ता बोलाएयता त्यो जीर्ण भवनले आफ्नो काया अनुसारकै देशको प्रतिविम्ब देखाइरहेको छ । धेरै ठूला विषयमा दलहरूका बीचमा अहसमतिका बीच पनि सहमति कायम भएको छ । के एउटा मुलुकमा राजदूत नियुक्त गर्ने जस्तो सामान्य काममा सहमति कायम गर्न सकिँदैन ? हाम्रा प्रधानमन्त्री उता जाँदा र उताका प्रधानमन्त्री यता आउँदा पनि राजदूत चाहिँदैन भने कस्तो बेलामा चाहिन्छ होला त ?
२. गृहकार्यमा लापरवाही
भारतले प्रधानमन्त्री मोदीको भ्रमणको मौका पारेर नेपालसँग ऊर्जा व्यापार सम्झौता (पीटीए) गर्न चाहेको रहेछ । त्यो प्रस्ताव उसले तीन महिनाअघि नेपालको ऊर्जा मन्त्रालयलमा मस्यौदाका रूपमा पठाएको रहेछ । तर, उक्त प्रस्तावका बारेमा आवश्यक छलफल र परामर्श गरेर निष्कर्षमा पुग्नुको साटो त्यसलाई तीन महिनासम्म लुकाएर राखियो । जब भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश आउने बेला भयो, तब मात्रै त्यसका बारेमा सार्वजनिक रूपमा बहस छेडियो । यसबाट मस्यौदामा सहमति बन्नेभन्दा नबन्ने वातावरण बन्न पुग्यो । वास्तवमा पीटीए भारतका लागि भन्दा नेपालका लागि बढी जरुरी छ । पक्कै पनि त्यस्तो पीटीए नेपालको हितअनुकूल हुनुपर्छ र हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई माथि राखेर मित्र राष्ट्रसँग वार्ता र सहमति गर्नुपर्छ । यसमा नेपाली अधिकारीहरू नराम्ररी चुकेका छन् ।
३. किन हावी भए कर्मचारी र एजेन्सी ?
विदेशमन्त्री स्वराज र प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सन्दर्भ पारेर नेपालमा राजनीतिक दलका नेतादेखि बुद्धिजीवीसम्म सबैका मुखमा झुन्डिरहेको एउटै वाक्य छ– भारतले आफ्नो कर्मचारी र एजेन्सीका भरमा छोडेको नेपाल सम्बन्ध अब राजनीतिक तहमा विकास गर्नुपर्छ । बाहिरबाट हेर्दा त्यस कुराको विरोध गर्नुपर्ने वा अस्वीकार गर्नुपर्ने कुनै कारण पनि देखिन्न र पछिल्ला केही वर्षहरूलाई हेर्ने हो भने भारतले अधिक रूपमा आफ्नो नेपाल नीति कर्मचारीतन्त्र र एजेन्सीका भरमा छोडेको छ । तर, यति भनेर भारतलाई मात्र दोष दिएर हामी पानीमाथिको ओभानो बन्ने ठाउँ छैन ।
किनभने, नेपालका नेताहरू नै भारतीय कर्मचारीतन्त्र र एजेन्सीको शरणमा पुगेपछि अरूलाई दोष दिएर पन्छिन कसरी सकिन्छ ? मेरा छोराछोरीलाई छात्रवृत्ति देऊ, मेरो गाउँमा यति करोडको योजना पारिदेऊ भन्ने तहमा जब हाम्रा नेताहरू पुग्छन्, अनि कसरी दुई देशबीचको सम्बन्ध राजनीतिक तहमा विकास हुन्छ ? जब तपाईं कसैसँग हात थाप्नुहुन्छ भने तपाईंले याद गर्नुपर्छ, दिनेको डाको अलिकति ठूलै हुन्छ र तपाईं ठाडो शिर लगाएर बोल्न सक्नुहुन्न ।
४. बिचौलियाको बिगबिगी
प्रधानमन्त्री मोदीले भने जस्तै नेपाल र भारतबीचको सम्बन्ध हिमालय र गंगाजत्तिकै पुरानो छ । तर, यसलाई सञ्चालन गर्ने सम्बन्धमा विभिन्न उतारचढावहरू देखिने गरेका छन् । कूटनीति सञ्चालन गर्ने केही सर्वमान्य र विश्वव्यापी मान्यताहरू छन्, जसले पात्रहरूको पनि निर्धारण गर्दछ । संकटका बेला वा कुनै विशिष्ट परिस्थितिमा ‘ट्रयाक टु’का रूपमा कुनै पात्र, सूमह वा संयन्त्रको प्रयोग भए पनि सधैंभरि त्यस्तो हुँदैन । तर, नेपाल र भारतबीचको सम्बन्धका बारेमा ख्याल गर्नुभयो भने वैधानिक र औपचारिक संरचना र संस्थाभन्दा अवैधानिक, अदृश्य र हैसियतबिनाका व्यक्तिहरूको सक्रियता बढी देख्न पाइन्छ । यसबीचमा एकाएक पलाएका केही नेपाली नागरिकताधारी पात्रहरूलाई देख्नुभयो भने तपाईं आफैं अन्दाज गर्न सक्नुहुन्छ । आखिर नेपाल–भारतबीच आउने कुनै पनि समस्या समाधान गर्न यस्ता बिचौलियाको भूमिका आवश्यक छ र ? के प्रयोजन र उद्देश्यका लागि यस्ता पात्रहरूमाथि लगानी गरिन्छ र यिनलाई महत्त्व दिइन्छ ? अनि त्यसरी बिचौलिया हुन गर्व गरुञ्जेल कसरी हाम्रो राष्ट्रिय स्वाभिमान उँचो हुन सक्छ ?
५. भित्र त्वम् शरणम्, बाहिर राष्ट्रवाद
नेपालमा बाहिर राष्ट्रवादका चर्का कुरा गर्ने र भित्र चाकडी गर्ने विरोधाभाष आम रूपमा अनुभूत गर्ने गरी विकास भएको छ । उदाहारणका लागि एमाओवादी पार्टीलाई लिन सकिन्छ । गाउँघरमा भारतका विरुद्ध सुरुङ युद्ध गर्नुपर्छ भनेर खाल्डा खन्न लगाउने एमाओवादीका नेताहरूले सन् २००२ मै ‘भारतका कुनै पनि भित्री स्वार्थहरूमा धक्का पुर्याउने छैनौं’ भनेर गुप्तचर संस्थामार्फत प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको कुरा सार्वजनिक भइसकेको छ । अनि जब एमाओवादी वैधानिक राजनीतिमा आयो, तब आफ्नै ढंग नपुग्दा सेनापति प्रकरणका कारण सत्ताबाट बाहिरिन पुग्यो । आफैं राजीनामा दिएर बाहिरिएका पुष्पकमल दाहालले खुला रूपमा ‘प्रभु’ ले आफूलाई हटाएको भन्दै अनिश्चितकालीन आमहडताल नै आयोजना गरे । तर, बाहिर यसो भनिरहँदा भित्र–भित्र चाहिँ उनको योजना बिचौलियामार्फत लैनचौरसँग चाकडी गर्ने नै थियो । अनि यस्तो बेलामा अरूले हामीलाई कुन दृष्टिले हेर्छ भन्ने पनि हामीले थाहा पाउनुपर्ने होइन र ?
६. यी पनि नेपाली नै हुन्
०६२/६३ को जनआन्दोलनपछि एकाएक तराईकेन्द्रित दलहरू गठन भए र तराईको साटो मधेस शब्द प्रयोगमा आयो । त्यसका पछाडि क–कसको हात थियो र के आधार थियो ? केही बुझिएको छ र केही भोलिका दिनमा पनि बुझिँदै जाला । तर, काठमाडौंलाई भन्दा दिल्लीलाई निकट ठान्ने र केही पर्दा उतै मुख फर्काउने मधेसी नेताहरूका कारण नेपाललाई मात्र होइन, भारतलाई पनि घाटा भएको छ । जब रातारात ठूला पार्टीबाट मान्छे लिएर पार्टी बनाइयो, आन्दोलन गर्न लगाइयो र मधेसलाई स्थापित गर्न खोजियो, त्यसपछि पहिलाभन्दा नेपालमा भारतको आलोचना बढेको छ, ‘विरोध’ बढेको छ । यसबाट भारतले पनि नेपालीको भावना बुझ्नुपर्छ ।
वास्तवमा मोदीको भ्रमणले अरू धेरै नगरे पनि नेपाली राजनीतिक नेतृत्वलाई आफ्नो शक्तिमा विश्वास गर्न, राष्ट्रको नेतृत्व गर्न र धेरै परनिर्भर नहुनका लागि झक्झक्याएको छ । हेरौं, आउँदा दिनमा यो सम्बन्ध कसरी अघि बढ्छ ?
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply