‘नेताका परिचय दिजिए’
नेपालको विधायिका–संसद्लाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अगाडि एकाग्र चित्त लगाएर आफ्नो भाषण सुनिरहेका नेपालका नेताहरूलाई लक्षित गर्दै भने– ‘नेताका परिचय दिजिए ।’ यसले के देखाउँछ भने उनको दृष्टिमा नेपालका नेताहरूको नेताका रूपमा कुनै परिचय छैन । नेपालका नेताहरूले नेपालमा यत्तिका वर्षसम्म जे काम गरिरहेका छन्, ती नेता लायक छैनन् वा नेताले गर्ने खालका काम होइनन् । अर्थात् नेपालका नेताहरूले नेताले नगर्नुपर्ने काम गरिरहेका छन् । नेताले यस्ता काम गर्दैनन् वा यस्ता काम गरेर नेता भइँदैन । मोदीले त्यसो भनिरहँदा नेपालका नेताहरूको अनुहारमा लज्जाबोधको कुनै संकेत झल्किएन । उनीहरूको एकाग्रता भंग भएन । उनीहरूको मन्त्र मुग्धता यथावत् अविचल रह्यो । त्यतिखेर सदनमा वर्तमान र भूतपूर्व गरी नेपालका ७ जना प्रधानमन्त्री सांसदका रूपमा उपस्थित थिए । विभिन्न पार्टीका उपसभापति र उपाध्यक्षको त हिसाबै भएन । मोदीको दृष्टिमा ती सबै नेपालका परिचयविहीन नेता थिए । त्यसैले उनले सोधिरहेका थिए–‘नेताका परिचय दिजिए ।’
आश्चर्य त यस कुरामा छ कि मोदीको त्यो वाक्यांशलाई नेपालका सबैले सुनेको नसुन्यै गरे । त्यसको कहीँकतै चर्चा र टिप्पणी भएन । सञ्चारमाध्यमले पनि थाहै नपाएको जस्तो गर्यो । किनभने, त्यतिखेरसम्म नेपाललाई मोदीको मायावी व्यक्तित्वले छोपिसकेको थियो । उनका हरेक शब्द र वाक्य ब्रह्मवाक्यमा परिणत भइसकेका थिए । त्यो वाक्यांशउपर नकारात्मक टिप्पणी गरौं, उनले बिल्कुल सत्य बोलिरहेका थिए, सकारात्मक टिप्पणी गरौं यही कुरा भन्दा–भन्दा यहाँका सबै थाकिसकेका थिए । त्यसैले ढिलै भए पनि के मात्र भनौँ भने– ‘आमा, किन तिमीलाई सबैले बोक्सी भन्छन् भनेर प्रश्न गर्ने छोरालाई आमाले जवाफ दिइथिन् रे † ‘बाबु, जस्तो देख्छन् उस्तै भन्छन् ।’
पछिल्लो आन्दोलन भएको पनि ८ वर्ष नाघिसक्यो तर अझै पनि त्यो परिवर्तनले ल्याएको परिवर्तन संस्थागत हुन सकेको छैन । दुई/दुई पटक संविधानसभाको निर्वाचन भइसक्यो तर अझै पनि संविधान बन्ने टुंगो छैन । डेढ दशकदेखि स्थानीय निकायको निर्वाचन भएको छैन । सोह्र मुलुकमा राजदूत खाली छन् नियुक्ति हुन सकेको छैन । मानवअधिकार आयोग र प्रज्ञा–प्रतिष्ठान रित्तै छन् तर नियुक्तिको चर्चासम्म छैन । निर्वाचन भएको ९ महिना पुग्न लाग्दा पनि संविधानसभामा २६ सदस्यको मनोनयन हुन सकेको छैन । जबकि, यी सबै काम सरकारका दैनिकी जस्ता काम हुन् र सरकारले यस्ता काम मात्र फटाफट गर्दा पनि त्यो सरकार सार्थक सरकार ठहरिँदैन । किनभने, यस्ता सबै काम कुनै पनि सरकारका नियमित, सबैभन्दा सजिला र काम चलाउनका लागि गरिने काम हुन् । त्यसैले यस्ता काम फटाफट गर्दा त नेता भइँदैन भने त्यो पनि गर्न नसक्नेहरूसँग नेताको परिचय माग्नु परेन ? जबकि यस्ता काम आवश्यकता पर्नासाथ सम्पादन गरेर जनतालाई सुख–सुविधा पुर्याउने, सरकारलाई हदैसम्म जनउत्तरदायी र संवेदनशील बनाउने, देशलाई समृद्ध बनाउने, नागरिकहरूको मनोबल र आत्मसम्मान बढाउने, विकासका नयाँ–नयाँ कोसेढुंगा स्थापित गर्ने, अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा बढाउने, देशका प्राकृतिक तथा अन्य सम्पदाहरूको जगेर्ना गर्ने आदि काममा नेताहरूको ध्यान केन्द्रित हुनुपर्ने थियो । तब न नेताको परिचय खुल्थ्यो । देशमा पानी छ बिजुली छैन, खेत छ सिँचाइ छैन, काम गर्ने मानिसहरू देश छोडेर बाहिर गइरहेका छन्, अर्थतन्त्र कृषिप्रधान छ तर आयात नगरी जनताको चुलो बल्दैन, विदेशमा गरेको ज्याला मजदुरीले देश चलेको छ । व्यापार घाटा कहालीलाग्दो छ । अर्थात् देश समग्र रूपमा लथालिंग र भताभुंग छ, देश दिन प्रतिदिन ओरालो लाग्दो छ । यस्ता कुरामा कुनै चासो र चिन्ता नलिने नेताहरूसँग मोदीले किन नमागुन् परिचय ?
हाम्रा नेताहरूको चिन्ता, चासो र ध्यान त केवल आफ्नो पार्टीभित्र आफ्नो हैसियत कसरी बढाउने ? आफ्ना प्रतिद्वन्द्वीको जरा कसरी काट्ने र आफू अग्लो देखिने ? सरकारलाई कहिले र कसरी ढाल्ने र आफू त्यहाँ पुग्ने ? धन–सम्पत्ति कसरी थुपार्ने र सुखसयल गर्ने भन्ने कुरामा मात्र केन्द्रित छ । अर्थात् सबै आत्मकेन्द्रित छन्, आफू र आफ्नाभन्दा बाहिर हेर्ने चलनै छैन । हाम्रा नेताको ध्यान त यदाकदा हुने सर्वदलीय बैठकमा के कुतर्क झिकेर अर्को पार्टीका राम्रा कुरा पनि अस्वीकार गरौं भन्ने कुरामा केन्द्रित हुन्छ । हाम्रा नेता त सहमतिमा भन्दा विमतिमा रमाउने गरेका छन् । यस्तै नभए देशको हालत यस्तो हुन्थ्यो ? देशमा यावत् किसिमका समस्या, संकट र विवादहरूको बिस्कुन लगाइएको छ तर तिनको सम्बोधन र समाधानमा कसैको चासो छैन । अनि छिमेकीको नाताले मोदीले आफ्नो अगाडि बसेका सबैको परिचय माग्नु परेन †
तर, यसो गर्दा र हुँदा पनि नेता भइएकै छ, मान सम्मान पाइएकै छ, सुख सुविधा भोगिएकै छ, दलभित्रको चुनौती छिमल्न सके यो पोजिसन निष्कंटक रहने पक्का छ र ६, ७ पटकसम्म देशको प्रधानमन्त्री हुन सकिने सम्भावना पनि छ । अनि केको पिरलो ? केही गर्नुपर्ने भए पो गाह्रो हुन्छ । गणतन्त्र ल्याइएकै छ, ठूलो पार्टी छँदै छ । अरू कसैले यति ठूलो पार्टी बनाउन सक्ने होइनन् । बन्न खोजेका पनि पुन: मुसिको भवेत् भने झैं भए । अनि हामीलाई भोट नदिएर जनता, कार्यकर्ताको अरू के विकल्प छ ? अनि किन देशको चिन्ता गर्नुपर्यो ?
देशका सबै नेता, कार्यकर्ता उपभोक्तावादमा चुर्लुम्म डुबेका छन् । आखिर देशमा पुँजीवाद आएकै छ । त्यसैले जीवनशैली र आचरण पनि त्यसअनुरूप हुनै पर्यो । समय अनुसार चल्न जान्नै पर्यो । पुँजीवादमा इज्जतसाथ रहन पैसा चाहियो । नेतागिरीबाट पैसा फल्छ भने सम्भव भएसम्म तान्नै पर्यो । पैसा भए पो चुनाव पनि सजिलै जितिन्छ । त्यसैले देशमा उत्पादनशील उद्योग टाक्सिए पनि राजनीतिक उद्योग फस्टाएको छ । नेपाली जनताले नेता मानेकै छन्, बस्ने, खाने, सबैथोक गर्ने नेपालमै हो, विदेश जाने त बिरामी पर्दा मात्र हो । त्यसैले विदेशीले नेता माने मानुन्, नमाने नमानुन्, त्यसले के फरक पार्छ र †
सिद्धान्त, आदर्श, नैतिकता र इमान्दारिता भन्ने जमाना गए । यस्ता कुरा विद्यालय, क्याम्पसहरूमा त पढाउन छोडिसके । त्यसैले त्यस्ता कुराको पछि लागेर आफू र आफ्नो परिवारले दु:ख पाउने जमाना गए । त्याग र बलिदान गर्ने दिन गए । वास्तवमा यस्ता शब्दहरूलाई अब त शब्दकोषबाटै हटाइदिनुपर्ने हो । शब्दकोष पनि समयसापेक्ष हुनुपर्यो नि । त्यो पनि केही वर्षपछि त पक्कै हुन्छ होला । अहिले त व्यवहारवाद, उपभोक्तातावादको बोलवाला छ † ‘खाओ पिओ मोज करो’ को जमाना छ † ‘सबसे बढा रुपैयाँ’को जमाना छ । त्यसैले जमाना र समयको माग अनुसार पनि चल्न जान्नुपर्यो नि †
यसमा अर्को कुरा पनि छ । मोदीले त्यत्रो सदनमा कुनै एक जनालाई मात्र लक्षित गरेर परिचय मागेका त होइनन् । त्यहाँ हामी ७ जना त वर्तमान र भूतपूर्व गरेर प्रधानमन्त्री नै थियौं । अझ उपसभापति र उपाध्यक्षसमेत जोड्ने हो भने त दर्जनै पुग्दछौं । त्यसैले कुनै एक जना मात्र पिरलिनुको कुनै अर्थ छैन । व्यवहार र आचरणमा हामी सबै लगभग उस्तै हौं । फरक भए पनि १९, २० को फरक होला । त्यसले के फरक पार्दछ र ? आखिर यत्तिका मध्ये एक जना मात्र आदर्श र सिद्धान्तमा चलेर पनि के हुन्छ र † साथै कुनै एक जनाले भनेको कुरा अरू कसैले मान्ने होइनन् । तब किन टाउको दुखाउनुपर्यो ? यस्तै–यस्तै गोल चक्करमा फसेको छ नेपालको राजनीति र विदेशी नेताले माग्न थालेका छन् नेपालका नेताको परिचय ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply