कुन चोरलाई साथ दिने ?
वीरगञ्जको कानुन व्यवसायी सम्मेलनताका र त्यसपछि पनि केही समय बीपी कोइराला र नेपाली कांग्रेसका बालिग मताधिकारलाई उपयोग गर्दै चुनाव लड्ने कि नलड्ने भन्ने दुविधा नै देखापरिरहेको थियो । यस्तो लागिरहेको थियो कि निर्दलीयताप्रति आस्था प्रकट गर्ने कागज र पञ्चायती वर्गीय संगठनको सदस्यता लिनु नपर्ने भयो भने नेपाली कांग्रेसले निर्दलीय भए पनि आफ्ना उम्मेदवारहरू खडा गर्न बेर छैन ।
अस्ट्ेरलियाबाट फर्किएको केही दिनपछि बीपी कोइरालालाई राजा वीरेन्द्रले भेट दिए । यो फागुनको कुरा थियो । तर, भेटमा बीपीले वर्गीय संगठनको सदस्य लिनु नपर्ने भनेन जस्तो लागेन ।
बल्ल फागुन १८ गते सर्लाहीमा आयोजित बौद्धिक गोष्ठीमा बीपी कोइरालाले ‘हामीले दस वर्ष कागज गर्न नमानेकाले जेल बस्यौं, त्यसैले पञ्चायती वर्गीय संगठनको सदस्यता लिनुपर्ने कुरा मान्न गाह्रो छ’ भनी भनेको कुरा पत्रिकामा आएपछि हामी पहिलेदेखि नै निर्दलीय पञ्चायतप्रति प्रत्यक्ष वा अप्रत्यक्ष रूपले समर्थन प्रकटको विरोध गर्दै त्यस्तो अवस्था रहेसम्म चुनावमा भाग नलिने कुरामा स्पष्ट विचार राख्दै आएका थियौं । मैले पहिले नै भनेझैं केवल हामी वामपन्थीमध्ये नेमकिपाले मात्र त्यस्तो चुनावमा भाग लिने भएको थियो ।
यसरी ०३७ फागुनको अन्त्यतिर नेपाली कांग्रेसबाट पनि ०३८ वैशाखमा हुने राष्ट्रिय पञ्चायतको चुनावलाई बहिष्कार गर्ने भन्ने सार्वजनिक वक्तव्यहरू आउन थाल्यो । जेहोस्, बहुदल पक्षमध्ये नेपाली कांग्रेसले पनि चुनाव नलड्ने भनेपछि हामीले राहत अनुभव गर्यौं । वैशाख लागेपछि प्रतिबन्धित नेकपा (माले) केन्द्रीय कमिटीको तर्फबाट पनि बहिष्कार गर्ने हामीले पहिलेदेखि नै भन्दै आएको भनी अखबारहरूमा विज्ञप्ति आयो ।
रमाइलो स्थिति थियो, पार्टीहरू प्रतिबन्धित छन्, तर तिनका विज्ञप्ति र वक्तव्यहरू पत्रिकाहरूमा आई प्रकाशित पनि भइरहेका छन् । पार्टीहरूलाई आफ्नो नाम र आयोजनामा सभा गर्न प्रतिबन्धित थियो । तर, विद्यार्थी संगठनहरूलाई भने प्रतिबन्ध थिएन ।
०३८ वैशाखमा अनेरास्ववियुले मोरङको रंगेली बजारमा एउटा सभा आयोजना गर्यो । त्यहाँ पहाड र प्रवासतिरबाट आएकाहरू बसोवास गर्ने गाउँघरहरूमा प्रतिबन्धित माले पार्टीको आधारहरू थिए । तर, उनीहरूसँग कुनै नाम चलेको वक्ता थिएन । मलाई रंगेलीको सभालाई सम्बोधन गर्न वक्ताका रूपमा बोलाइएको थियो । त्यस सभामा अरूले के–के बोले त्यो याद छैन तर मैले ‘यो चोरलाई साथ दिने कि अर्को चोरलाई साथ दिने जे गरे पनि चोरलाई साथ दिने हुन्छ । त्यसैगरी यो पञ्चायती चुनावमा जसलाई भोट दिए पनि निर्दललाई नै भोट हुन जान्छ । त्यसैले हाम्रा लागि यो भोटको कुनै महत्व छैन’ भनें । त्यो सभा पनि रंगेलीमा अनेरास्ववियुद्वारा आयोजित पहिलो खुला सभा थियो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply