मातृकाप्रसाद कोइरालाको पराजय
२०३८ वैशाख २७ गते बालिग मताधिकारका आधारमा निर्दलीय राष्ट्रिय पञ्चायतका १ सय १२ स्थानका लागि चुनाव भयो । आफूलाई नेपाली कांग्रेस तर सुवर्णशमशेरनिकट भन्ने केहीले चुनावमा भाग लिए र जिते पनि ।
नेपाली कांग्रेसका महामन्त्री रहिसकेका श्रीभद्र शर्मा र काशीनाथ गौतम दुवैले जिते भने ०१८ मा सशस्त्र कारबाहीमा छोरा मारिएका बखानसिंह गुरुङ पनि राष्ट्रिय पञ्चायत सदस्य भए । बहुदलका पक्षमा सभा गरेर प्रचार–प्रसार गर्ने डा. के.आई सिंह, कांग्रेस समर्थक विद्यार्थी नेता अर्जुननरसिंह केसी र बहुदलका पक्षमा जनमत संग्रहताका सक्रिय नेमकिपाका कर्णप्रसाद हेजु पनि निर्वाचित भए ।
अर्कोतिर राजा वीरेन्द्रले जितेपछि प्रधानमन्त्री बनाउने भित्री चर्चा रहेका मातृकाप्रसाद कोइरालाको हार भयो । २९ गते राति ११ बजेदेखि भोलिपल्ट ४ बजेसम्म मतगणना हुँदा उहाँको ३१ हजारभन्दा बढी र कर्णबहादुर धिमालको ३० हजार ७ सय मत सुनाइयो । तर, ४ बजे चुनाव अधिकृतले मत कम हो भन्दा विवाद भयो र फेरि गन्ती गराइपाऊँ भनी काठमाडौं निर्वाचन आयोगमा भन्दा केही घन्टा केही पनि गरिएन । राति ९ बजेपछि प्रहरीको घेरामा मातृकाप्रसाद कोइरालाले ३० हजारभन्दा कम मत ल्याएको भन्दै परिणाम घोषणा गरियो ।
केही दिनपछि जेठमा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको भनाइ प्रकाशित भयो– ‘मलाई लाग्यो प्रधानमन्त्री थापालाई उहाँको विजय रुचिकर हुने छैन । दरबारलाई यस चुनावमा थापाको सबल प्रतिद्वन्द्वी संसद्मा पुग्दा जुक्ति चाल्न सजिलो पथ्र्यो । मातृकाप्रसाद कोइरालाको सानो रणक्षेत्र वास्तवमा अर्कै शक्तिहरूको अखडा पो रहेछ । त्यसो भए थापाको शक्ति सम्पन्नताको आधार के हो ?’
एक वर्षको वाक स्वतन्त्रताको असर चुनावपछि अन्य रुपमा देखा पर्न थाल्यो । त्रिभुवन विश्वविद्यालय र सञ्चय कोषका कर्मचारीहरूले माग राख्दै काम रोक, कलम रोक जस्ता आन्दोलन सुरु गरे ।
०३८ जेठमा नेपाल राष्ट्रिय शिक्षक संगठनको आह्वानमा देशका विभिन्न ठाउँबाट शिक्षक काठमाडौंमा आए र जुलुस गर्दा पक्राउ परे । त्यसबखत शिक्षक संगठन एउटै थियो र शिक्षकहरू गर्वका साथ भन्दथे– ‘हामीहरू पोल्यान्डका मजदुरहरूको संगठन सोलिडारिटीजस्तै बलियो र एकताबद्ध छौं ।’
निर्दलीय तानाशाही चलेको २१/२२ वर्षपछि विद्यार्थी लगत्तै शिक्षक पनि देशव्यापी रूपले एकगठ भई शक्ति प्रदर्शन गर्न सक्ने भएका थिए । अर्कोतिर राजनीतिक दलहरूलाई कमजोर पार्न दरबार र उच्च तहका पञ्चहरूले तिकडम गरिरहेका थिए र बहुदल पक्षका नेताहरूलाई मन्त्री पद र शुभलाभको प्रलोभन दिने काम जारी राखेका थिए । ०३८ को साउनमा बीपी कोइरालाले नेपालको ‘प्रधानमन्त्री हुन सक्ने’ भनेका र उनकै मन्त्रिपरिषद्मा समेत रहिसकेका कांग्रेसका महामन्त्री परशुनारायण चौधरीले पञ्चायतमा प्रवेश गरे । एकदिन अघिसम्म पनि उनी बीपी कोइरालासँगै चाबहिल जयबागेश्वरीको घरमै थिए । स्वाभाविक छ, यस कुराले बीपी कोइरालाको मनमा चोट नै लाग्यो होला ।
यसपछि ठूला पञ्चहरूले धाक लगाउन थाले– नेपाली कांग्रेसका महामन्त्री भएका विश्वबन्धु थापा, तुल्सी गिरी, काशीनाथ गौतम र श्रीभद्र शर्माझैं परशुनारायण चौधरीले पनि बीपी र नेपाली कांग्रेस छाडेर राजाप्रति समर्पित भए ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply