बीपीको विशाल शवयात्रा
वि.सं. २०३८ (सन् १९८१) मा राष्ट्रिय पञ्चायतको चुनाव सकेपछि राजा वीरेन्द्रले ०३९ (सन् १९८२) मा स्थानीय निकायहरूको चुनाव गराए । अघिल्लै चुनावमा बीपी कोइरालाको मन्त्रीमण्डल (२०१६) मा मन्त्री र त्यसपछि नेपाली कांग्रेसका महामन्त्री रहिसकेका परशुनारायण चौधरीले पञ्चायती व्यवस्थालाई मूलप्रवाह भन्दै स्थानीय निकायको चुनावमा भाग लिन सुवर्णशमशेरका सबै अनुयायीहरूलाई अपिल गरिसक्नुभएको थियो ।
जनकपुरमा भएको जनमत संग्रहको घोषणापछिको एउटा आमसभामा बीपी कोइरालाले परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री पनि भनिसक्नुभएको थियो । परशुनारायण चौधरी बीपीसँगै चाबहिल जयबागेश्वरीमा तारिणीप्रसाद कोइरालाको घरमा त्यस दिनभन्दा अघिसम्म साथै बस्दै आउनुभएको थियो । केही दिनपछि नै परशुनारायण चौधरीले ४५ जिल्लाका कांग्रेसीहरू विशेषगरी आफूलाई सुवर्णशमशेर पक्षधर भन्नेहरूलाई जम्मा गरी बालिग मताधिकारका साथ हुने स्थानीय निकायको चुनावमा भाग लिन भन्नुभयो । ०३८ कै राष्ट्रिय पञ्चायतको चुनावमा पनि बीपीको मन्त्रीमण्डलमा रहनुभएका काशीनाथ गौतम, महामन्त्री श्रीभद्र शर्मा र अरू केही नाम चलेका कांग्रेसका पुराना व्यक्तिहरूले निर्वाचन लडिसक्नुभएको थियो । व्यक्तिगत महत्त्वाकांक्षाको सजिलो उपायदेखि ०३९ को स्थानीय निकायको चुनावमा कैयौं तल–तलका कांग्रेसीहरूले भाग लिन पुगे । छिमेकी भारतमा ब्रिटिस साम्राज्यवादी शासन रहँदै १ सय २२ वर्षअघि सन् १९८२ देखि नै नगरपालिकाहरूको चुनाव हुन प्रारम्भ भएको थियो । त्यस समय नेपालमा जंगबहादुरको मृत्यु र रणोद्दीपको हत्यापछि वीरशमशेर श्री ३ महाराज भएको घोर मध्ययुगीन जहानियाँ हुकुमी शासन थियो ।
जनमत संग्रह हुँदा ०३६ र ०३७ मा सक्रियतासाथ ठाउँ–ठाउँ सभा सम्बोधन गर्न पुग्नुभएका बीपी कोइराला ०३९ मा उहाँको पुरानो रोग क्यान्सरको झन् च्यापमा पर्दै जानुभयो । केही समय अघिदेखि उहाँले गणेशराज शर्मा र शैलजा आचार्यसँग आफ्नो जीवनका घटनाहरू कहिले बसेर त कहिले बिछौनामै पल्टेर टेप रेकर्ड गराउँदै आउनुभएको थियो ।
०३९ असारको अन्तिम साता (जुलाई सन् १९८२) मा अवस्था गम्भीर भएपछि उहाँलाई बैंकक लगियो । साउन ६ गते साँझ विराटनगरमा मैले उहाँको मृत्युको खबरसँगै उहाँको शरीर काठमाडौं ल्याई चाबहिलको घरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको र भोलिपल्ट आर्यघाटमा जलाइने कुरा सुनें । त्यतिबेलासम्म काठमाडौं जाने नाइट बसहरू छुटिसकेका थिए । म रात परे पनि अञ्चलाधीश कार्यालय गएँ । जहाजमा भोलिको सरकारी सुरक्षित कोटामध्ये एउटा टिकटका लागि भनें ।
अञ्चलाधीशले भोलि कार्यालय खुलेपछि सरकारी कर्मचारीबाहेक कुनै प्लेनमा ठाउँ रहेछ भने मलाई नै दिने भन्दै कार्यालय खुलेपछि आउन भने । त्यस समय आज झैं निजी विमान कम्पनीहरू खोल्ने अनुमति दिइएको थिएन । आन्तरिक हवाई सेवामा शाही नेपाल वायुसेवा निगमको एकाधिकार थियो । विराटनगर–काठमाडौं सधैं अग्रिम बुकिङले खचाखच रहने गर्दथ्यो । भोलिपल्ट पनि मैले पछिल्लो उडानमा ठाउँ पाएँ । म काठमाडौं एयरपोर्टमा उत्रेर सोझै चाबहिल पुगें । मान्छेहरूले बीपीको शवमा फूलमाला चढाइरहेका थिए । शव तल्लो बरन्डामा राखिएको थियो । मधुरो आवाजमा राधास्वामीको भजन चलिरहेको थियो र टेप प्लेयरको छेउमा राधास्वामी मान्ने मदालसा दिदी हुनुहुन्थ्यो । हडबडमा म जुत्ता लगाएर अगाडि बढ्न खोजेछु । सुशील’दाले सुस्त स्वरमा ‘जुत्ता त फुकालेर आ’ भन्नुभयो । मैले जुत्ता फुकालेर भित्र आई फूल चढाएँ । बाबा (मातृकाप्रसाद कोइराला), भारतको जनता दलका अध्यक्ष चन्द्रशेखर सिंह र नेपाली कांग्रेसका अरू ठूला नेताहरू त्यहीं हुनुहुन्थ्यो ।
शवयात्रामा उहाँको शव लिएर नगर परिक्रमा गर्ने ट्रक सजाएर बाहिरपट्टि राखिएको थियो । कैयौं जनाले बीपीको शव रहेको शय्यासहित उठाएर निकाल्न लाग्दा मैले देखें, बीपीको आत्मकथा टेप गरिरहनुभएका गणेशराज शर्मा घरीघरी मौन हातले आँसु पुछिरहनुभएको थियो । बीपीको शव राखेपछि चन्द्रशेखरले बाबालाई पनि शवको छेउमा बस्न भने र उहाँ पनि उक्लनुभयो । अरू पनि धेरै चढ्नुभएको थियो । नारा गुञ्जिन थाल्यो– ‘बीपी कोइराला अमर रहून्, बीपीको सपना साकार पार्छौं, पार्छौं ।’ ट्रक विस्तारै सडकमा चल्न थाल्यो । शवयात्राको विशाल जुलुस झन्–झन् ठूलो हुँदै पछाडि पछाडि हिँड्न थाल्यो । म सामाखुशी, बानेश्वर, डिल्लीबजार, बागबजार, पद्मकन्या कलेजसम्म हिँडे । मेरो भतिजा विकास र उसको साथ पढ्ने वीरेन्द्रबहादुर बस्नेत (हाल बुद्ध एयरका सीईओ) पनि हिँड्दै थिए । मैले विकाससँग मेरो ब्याग मागें र जुलुसबाट किनारा लाग्दै निस्की सामान टेक दाजुकहाँ राखी आर्यघाट पुग्ने विचार गरें । निकै बेर लगाउँदै नयाँ सडक परिक्रमा गर्दै आर्यघाटतर्फ आउँदै थियो । आर्यघाटमा दीर्घराज कोइरालाले पहिले पुगेकाहरूलाई बसाउँदै हुनुहुन्थ्यो । म पनि उहाँले देखाएको ठाउँमा बसेँ । नेपालको सर्वप्रथम जननिर्वाचित प्रतिनिधि सभाद्वारा प्रधानमन्त्री भएको व्यक्तिलाई कुनै राजकीय वा सरकारी सम्मान दिइएन । तर, जनताको अपार समूहले ‘बीपीको सपना साकार पार्छौं पार्छौं’ र ‘बीपी कोइराला अमर रहून्’ का नारा लगाइरहेको थियो ।
बीपी कोइराला अमर हुनुभयो । कांग्रेसीहरू उहाँलाई ‘महामानव’ भन्छन् । भारतीय पत्रकार भोला चटर्जीले भारतीय अखबारमा ‘नेपालको शताब्दी–पुरुष’
(म्यान अफ द सेन्चुरी) भनेर लेखे । बीपी कोइराला अमर हुनुभयो । तर, बीपीको सपना आज पनि साकार हुनसकेको छैन । के थियो, बीपीको सपना ?
क्रमश:
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply