अन्यायमा परेका कार्यकर्ताको संरक्षण गर्छु
![अन्यायमा परेका कार्यकर्ताको संरक्षण गर्छु अन्यायमा परेका कार्यकर्ताको संरक्षण गर्छु](https://ebudhabar.com/wp-content/uploads/2015/02/MK.jpg)
विधिको नाममा एकले अर्कोलाई धोका दिँदै छ भन्ने पर्यो भने राम्रो हुँदैन । सबै चिज गर्नका लागि विधिको आधार चाहिन्छ । विधिका नाममा मदनकृष्ण हरिवंशको प्रहसन रहेछ । उनीहरूको बीचमा कुस्तीको प्रतियोगिता भएछ । हरिवंश पछारिएपछि मदनकृष्णले ‘जित मेरो’ भनेर कराए । हरिवंशले चाहिँ भने– ‘होइन, जित त मेरो हो । किनभने, मेरो टाउको आकाशतिर छ । आकाशलाई थाम्ने मेरो तागत हेर्नुहोस् त !’
दोस्रो ‘राउन्ड’मा मदनकृष्ण पछारिए । त्यसपछि हरिवंशले भन्छन्– ‘लु लु लु ‘सेकेन्ड राउन्ड’मा अर्को नियम लागू हुनेछ । पहिलो ‘राउन्ड’मा पछारिनेले जित्छ, दोस्रो ‘राउन्ड’मा उभिने जित्छ, त्यसैले मैले जितें ।’ यसलाई भन्छन्– जाली तरिका । यो जाली तरिकाले पार्टी र संगठनहरू चल्दैनन् । इमानदारी चाहिन्छ । कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको एउटा विशेषता इमानदारी हो । निष्ठा र समर्पण हो ।
संसाँझैँ एक्लै हिँडिरहेका बेला छ जना मुन्द्रे गएर युवा संघका सचिव अशोक चन्दलाई कुटे । ती गुण्डाहरूलाई अपराधी भन्ने कि नभन्ने ? ती गुण्डा, डन, मुन्द्रेहरूलाई, कारबाही गर्ने कि नगर्ने ? तिनीहरूलाई संरक्षण गरिन्छ भने त्यस्तो अवस्थामा तपाई संगठन कसरी चलाउनुहुन्छ ? गुण्डाहरू र कुटाइ खानेहरू कसरी सँगै बस्न सक्छन् ? यो सुरुआत हो । यो सुरुआत पहिला पनि भएको थियो होला तर अर्को नयाँ रूपमा देखा परेको छ । यस्तै तरिका तपाईं जहाँ–जहाँ पाउनुहुनेछ । बुझ्नुहोस्, यो प्रवृत्तिलाई अहिले प्रोत्साहन दिन खोजिएको छ । युवा संघ मुन्द्रेको जमात होइन, ‘डन’को संगठन होइन, पैसा ‘कलेक्टर’को संगठन होइन, रक्तचन्दनको तस्करी गर्नेको संगठन होइन । युवा संघ भनेपछि जनतालाई माया गर्ने सिद्धान्तनिष्ठ, सिद्धान्तप्रति समर्पित, जनताप्रति बफादार, राष्ट्रलाई माया गर्ने, समाजमा हुने अन्याय, अत्याचार भेदभाव सबैलाई उन्मूलन गर्ने भावना र संकल्प बोकेका युवाको संगठन हुनुपर्छ ।
वास्तवमा युवा संघका विकृति बारेमा धेरै कुरा आएको छ । सुन्दै छु, विधानमा एक जना पनि मनोनीत गर्ने कुरा छैन, केन्द्रीय समितिका सदस्यहरू चुनिएर आउने व्यवस्था छ । अनि १० जना जबरजस्ती मनोनयन गर्ने कुरा पास गरेछन् । विज्ञप्तिमा १५ जना मनोनयन गर्ने सहमति भयो भनेर लेखिदिएछन् । अनि २७ जनामा पछि सकुर्लर जारी गर्दा थपेर ४९ जना मान्छे मनोनयन गरियो भनेर लेखिएको छ । बैठक बस्दा एउटा, सर्कुलर जारी हुँदा अर्को निर्देशन जारी हुन्छ ? कसलाई कसलाई राख्न मन लागेको छ, आउरेबाउरे सबै राखिन्छ । यस्तो तरिकाले युवा संघ चलेको सुन्दा अन्याय भयो भन्न पनि नपाइने ? अइया..दुख्यो भन्न पनि नपाइने ? कुटाइ खाएको सहिरहनुपर्ने ? पार्टीको काम जोड्ने हो, फुटाउने होइनअन्याय पर्नेका पक्षमा छानबिन हुनुपर्छ । न्यायको पक्षमा उभिने पार्टीको काम हो । पार्टीको काम जोड्ने हो, फुटाउने होइन । मलाई आज युवा संघको इन्चार्ज शेरबहादुर तामाङले फोन गरेर भन्नुभयो ‘युवा संघको ब्यानरमा कुनै पनि कार्यक्रम हेटौँडामा हुँदैन र युवा संघको समानान्तर गतिविधि काठमाडौँमा पनि हुँदैन ।’ सर्कुलर जारी गर्नुभयो । अनि त्यो युवा संघका पदाधिकारीले हिजो पत्रकार सम्मेलन गरेर के भन्नुभयो भने ‘त्यस्ता इन्चार्जको कुनै पनि निर्देशन मानिँदैन ।’ त्यस्तो भन्ने ठाउँमा पार्टीका नेता खुरुखुरु हेलिकोप्टर लिएर पुगेका छन् । सम्भवत: ठानेका होलान् कि यी निरीहहरू दिलु पन्त, नरेश शाही, हस्तबहादुर शाही, अशोक चन्दको पछि को लाग्छन् ? तर, आत्तिनु पर्दैन मैले घोषणा गर्नुपर्ने अवस्था नआओस् ।
अन्याय परेकाको संरक्षण गर्छु
देशभरिका कुनै पनि कार्यकर्तामाथि अन्याय अत्याचार हुन्छ भने त्यसको संरक्षणका निम्ति माधव नेपाल उभिने छ । अन्याय, अत्याचारलाई सहने छैन तर म पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहन्छु । पार्टी जुटेर मिलेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्दछु । राष्ट्रिय राजनीतिमा एमालेको ठूलो भूमिका र महत्त्व छ । जनताले ठूलो आशा गरेका छन् । अहिले म मधेसबाट आउँदै छु । मधेसका पर्सा, बारा, रौतहटमा एमालेप्रति आम नागरिक आशावादी छन् । अस्ति, म जाजरकोट गएको थिए, एमाओवादी परित्याग गरेर एमालेमा आए, कांग्रेस परित्याग गरेर एमालेमा आए । मानिस एमालेमा प्रवेश गर्ने लहर चल्यो । त्यस्तो अवस्थामा पार्टीका नेताको बीचमा राम्रो सहमति समझदारी र विश्वास हुनु जरुरी छ । जहिले पनि संगठनको मियो भनेको नेता हुन् । कार्यकर्ता हुन्, नेताहरूले नै कार्यकर्ताले मिलाउने पनि हुन् ।
नेतालाई मिलाउने कार्यकर्ता हुन् । नेतालाई मिलाउँदा संगठन मजबुत हुन्छ । आज मेचीदेखि महाकालीसम्म एमालेको जति संगठनको सञ्जाल अरू कसैसँग छैन । मेचीदेखि महाकालीसम्म कार्यकर्ताको विशाल पंक्ति अरू कसैसँग छैन । तुलनात्मक रूपमा, इमानदर, नैतिकवान कार्यकर्ता एमालेका जति अरू कसैसँग छैनन् । विचारको हिसाबले प्रस्ट विचार र दृष्टिकोण बोकेर चल्ने पार्टी नेकपा (एमाले) रहेको छ । त्यसबाहेक अरू कुनै पनि छैनन् ।
हामीले प्रस्ट रूपमा पार्टीलाई जनताको बहुदलीय जनवादको रूपमा अगाडि बढाउन चाहन्छौँ । एकातिर यो पार्टीको क्रान्तिकारी चरित्रलाई जोगाउन र बचाइराख्न चाहन्छौँ । श्रमजीवी र दु:खी जनताप्रति जिम्मेवार छौँ हामी । अर्कोतर्फ यो पार्टीलाई लोकतान्त्रिक विधिबाट चलाउनुपर्छ । यो मुलुकलाई लोकतान्त्रिक तरिकाले चलाउनुपर्छ भन्ने मान्यता एमालेको हो ।
जबजभित्र अपराध लुक्न पाउदैन
कुरा गर्ने लोकतन्त्रका, व्यवहार गर्ने गैर लोकतन्त्रका ? तानाशाहीको व्यवहार गर्ने कुरालाई स्वीकार गर्न सकिँदैन । जनताको बहुदलीय जनवादको रामनामीभित्र कुनै पनि किसिमको अपराध कर्म लुक्न सक्दैन ।
त्यसैले म भन्न चाहन्छु, तपाईंहरू पनि समानान्तर कमिटी बनाएर लैजाने तरिकाले नजानुहोस् । अझै पनि यो संगठनका समस्यालाई हल गर्ने समाधान गर्ने ठाउँ पार्टीले दिनुपर्छ । अन्तिम समयसम्म तपाईंहरू लड्नुपर्छ । तर, जिल्ला जिल्लामा आफ्नो बहुमत भएको छ भने पेलेर जाने रे ! आफ्नो अल्पमत भएको छ भने समानान्तर कमिटी बनाउने रे ! यस्तो तरिका अपनाएका छन् ।
यो जंगलमा लागेको आगो जस्तो सल्किन्छ र फैलन्छ । त्यसो हुन दिनु हुँदैन, खास ठाउँमा कुरा उठाएर पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ भन्न चाहन्छु ।
सबै व्यक्तिका आफ्ना चाहना हुन सक्छन् । त्यो चाहना राख्नु अपराध होइन । व्यक्ति सबैको प्रिय बन्नका लागि सक्रियता देखाउनुपर्छ । सबैको विश्वास जित्न सक्नुपर्छ ।
सबैको समर्थन पाएर त्यसको आधारमा ऊ अघि बढ्न सक्छ । यदि उसले सक्रियता देखाउन सकेन भने आफ्नो योग्यता प्रदर्शित गर्न सकेन भने त्यत्तिकै आफूलाई प्रस्तुत गर्न पाउँदैन ।
सबै व्यक्तिको बीचमा स्वस्थ ढंगले काम गर्नुपर्छ । खुट्टा तानातान होइन अघि बढ्नका लागि हात समाएर अघि लिएर जानुपर्छ । त्यसो हुनाले हामीले कुनै पनि काम हतारमा गर्नु हुँदैन युवा साथीमा हतार ज्यादा हुन सक्छ । जुन निर्णय भएका छन्, विधानविपरीत भएका छन् । बेठीक कुरालाई विरोध गरेर तपाईंहरूले ठीक काम गर्नुभएको छ । तपाईंहरूले नै पार्टी र युवा संघलाई ठीक ढंगले लिएर जाने हो । तपाईंहरूले पहरेदारको रूपमा एउटा सिपाहीको रूपमा, न्यायको पक्षमा उभिनुपर्छ । न्यायको पक्षमा उभिनुहोस् । संगठनको सुधारको पक्षमा उभिनुहोस् । विधानको पक्षमा उभिनुहोस् । विधानसंगत काम हुनुपर्छ भन्ने पक्षमा उभिनुहोस् तर कसैका धाक धम्की देखाइदिन्छु, पत्तासाफ गदिदिन्छु भनेर कसैले धाक देखाउँछ भने त्यस्तालाई देखाउने मान्छे हामीसँग पनि छन् भनेर भन्दिए हुन्छ । तपाईंहरूले आफूहरूलाई निरीह ठान्नुपर्ने अवस्था छैन । तपाईंको साथमा हामी छौँ । नेकपा (एमाले)का एकसे एक नेता, कार्यकर्ता, सिंगो देशका न्यायप्रेमी जनता छन् । सबै संगठनमा आबद्ध भएका इमानदार
कार्यकर्ता छन् ।
एमालेभित्र एकता चाहिएको छ
गलत कुराको विरोध गर्नुहोस् र यसलाई संगठनभित्र हल गर्ने कोसिस गर्नुपर्छ । अहिले वास्तवमा राष्ट्रिय राजनीति जटिल मोडमा उभिएको छ । यस्तो बेलामा त झन ज्यादा एमालेभित्र एकता चाहिएको छ । विरोधीहरूले भन्न थालेका छन्– संख्याको मात लाग्यो एमालेहरूलाई । संख्याको मातले गर्दा मात्तिएर अरूलाई हेप्न थाल्यो एमालेले । तर, मलाई त त्यस्तो लाग्दैन तर आफ्नै पार्टीभित्र यस्तो गर्न थालेपछि हो कि क्या हो ? भन्ने पनि लाग्न थाल्यो ।
आफ्नै पार्टीभित्र गर्न थालेको व्यवहार देख्दा अरूलाई घोचेको कारण पनि त्यही को कि जस्तो लाग्यो । राष्ट्रहितमा जनताको हितमा समाजको विकासका निम्ति उपयोगी हुने कुराको सन्दर्भमा हामीले अफूलाई उभ्याउनु आवश्यक छ ।
मुलकमा संघीयता बहसको विषय छ । यो बहस चलेको धेरै लामो समय भइसक्यो । यो बहस गर्दागर्दै समय गुमाएको गुमाएकै छौँ । यो समयले राष्ट्रलाई ठूलो नोक्सानी भएको छ । युवा विदेश जाने लर्को लागेको छ । देशभित्र रोजगारी दिन सक्ने सम्भावना छन् । त्यो सम्भावनालाई हामी साकार पार्न सकिराखेका छैनौँ । हामी राजनीतिकै विवादमा फसेका छौँ ।
अब आर्थिक क्रान्तिमा जानुपर्ने आवश्यकता छ । संविधान निर्माण र घोषणा गर्ने कुराले समस्या खडा गरेको छ । छिटो संविधान जारी गर्नुपर्ने आवश्यकता छ । यदि संविधान निर्माणमा निरन्तर ढिलाइ भए २०६२/६३ को क्रान्तिको उपलब्धि एक–एक हुँदै हामीबाट हराएर जानेछन् ।
२०४७ साल र अहिले हामीले बनाउँदै गरेको संविधानको भिन्नता के हो ? मुख्य चार बुँदा छन् :
पहिलो कुरा गणतन्त्रको घोषणा भएको छ राजतन्त्रको अन्त्य भएको छ ।
दोस्रो, कुरा एकात्मकताको अन्त्य भएको छ, संघीयताको घोषणा भएको छ
तेस्रो, हिन्दू राष्ट्र भन्ने किसिमको अवस्था रहेको थियो अहिले धर्मनिरपेक्षताको घोषणा भएको छ ।
चौँथो, हिजो समावेशितामा कम ध्यान दिइन्थ्यो, अहिले समावेशितमा महत्त्व दिइएको छ ।
(एमालेका वरिष्ठ नेता नेपालले गत चैत ७ गते राजधानीमा युवा कार्यकर्तालाई गरेको सम्बोधनको सम्पादित अंश)
सम्बन्धित समाचार
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
पक्राउ परे रिगल
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply