मनमोहन–सहानाको वक्तव्य
म कहिलेकाहीँ साप्ताहिक ‘विमर्श’मा लेख दिन्थें । त्यसका सम्पादक जनार्दन आचार्य, हरिहर विरही, प्रकाशक कमल जोशीहरूले त्यसबखत एउटा लेखको पाँच सय दिँदै भन्थे– ‘तपाईंको लज र खानालाई यो हाम्रो पारिश्रमिक हो ।’ किनभने त्यो बेलामा १८/२० रुपियाँ लजको भाडा थियो र खाना पनि सस्तै थियो । ‘विमर्श’ त्यसबखत सूर्यबहादुर थापा निकट मानिन्थ्यो । सूर्यबहादुर थापा छोडी अन्य मन्त्री र कर्मचारीहरूको भ्रष्टाचार र अनियमितताको चर्चा गरेर पत्रिका लोकप्रिय थियो । त्यसबखतका सम्पादकहरूले पत्रिका चलाउन भित्री रूपले एउटा न एउटा पञ्चायतको बलियो व्यक्तिलाई समाउँथे र त्यसलाई छाडी अरू सबैलाई गाली गरेर जनतामाझ आफ्नो इज्जत जोगाउँथे । मैले पनि पत्रिकामा लेख्ने हुँदा त्यस समय प्रकाशित हुने धेरैजसो साप्ताहिकहरूको भित्री कथा केही जानकारी छ।
साप्ताहिक पत्रिकाहरू कोही कांग्ेरस पक्षीय थिए भने कोही कम्युनिस्ट पक्षीय थिए । तर, पत्रिका जोगाउन र चलाउन उनीहरूले गर्नुपर्ने यो बाध्यता म बुझ्दथें । भित्रभित्रै तुलसी गिरी, कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा वा दरबारको कुनै सचिवसँग सहारा लिनैपर्ने अवस्था थियो । साह्रै थोरै पत्रकार मात्र अपवाद थिए ।
विद्यार्थी अवस्थामा जनार्दन आचार्य हाम्रो पार्टीसँग निकट थिए । त्यही बेला कैयौं पटक म उनको घरमा बसेको थिएँ । केही समयपछि उनी देशव्यापी रूपले परिचित विद्यार्थी नेता हुन पुगेका थिए ।
२०४२ सालमा एक दिन बोर्णबहादुर कार्कीले मलाई छुस्स भन्नुभयो– ‘हामीहरूको पार्टी मिलेर एक भए कसो होला ?’ मैले भनें– ‘मनमोहनजीको मन बुझ्नूस् न ।’ उहाँले भन्नुभयो– ‘उहाँको विचार त राम्रै छ ।’ जनमतसंग्रहमा पञ्चायतको हारका लागि पाँच पूर्वाधारको वक्तव्यमा सहाना प्रधान र चित्रबहादुर गुरुङको सही गराउँदा पनि गोविन्द ज्ञवाली र बोर्णजीहरूले सहयोग नै गर्नुभएको थियो ।
मैले हाँस्दै भनें– ‘मनाउनूस् न त मनमोहनजीलाई, म त तयार नै छु । तपाईंहरूले बरु सहाना प्रधानलाई मनाउन विशेष जोड गर्नुपर्ला कि †’ उहाँले भन्नुभयो– ‘त्यो प्रयास हामी चारैजना मिलेर गर्दैछौं ।’
म विराटनगरमै थिएँ । एकदिन मैले मनमोहन अधिकारी र सहाना प्रधानको संयुक्त वक्तव्य आएको थाहा पाएँ । मलाई पहिले पनि के थाहा थियो भने सहाना प्रधानलाई मनमोहनजीप्रति कुनै कारणले ठूलो तुष थियो । तर, वक्तव्य आएपछि मैले सोचें– बोर्ण कार्की, लोकनारायण सुवेदी, रामसिंह रावल, हरिश्चन्द्र र शरणविक्रम मल्लहरूको प्रयासले काम गर्यो । संयोगले यस अवधिमा बलराम उपाध्याय वाराणसीमै हुनुहुन्थ्यो । पछि मैले थाहा पाएँ– यो संयुक्त वक्तव्यको मस्यौदा बोर्ण कार्कीहरूले नै गर्नुभएको रहेछ । त्यसबखत बोर्णजी नेपाल प्रगतिशील विद्यार्थी युनियनको अध्यक्ष भएकाले मनमोहनजीले ‘तपाईंको पनि सही भए राम्रो हुन्छ’ भन्नुभएछ तर उहाँले ‘तपाईं दुई जना शीर्षस्थको संयुक्त वक्तव्य दुवै पार्टीलाई पूरा हुन्छ’ भन्नुभएछ । क्रमश:
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply