योगेश पुगे, प्रधानको अत्तोपत्तो छैन
काठमाडौं । विनाशकारी भूकम्पले घरवारविहिन बनाएको १७ दिनपछि राहतको नाममा आएको खाद्यान्नको पोका पाउँदा काठमाडौं, काभ्रेस्थलीस्थित कार्कीथोकका जनताको मुहारमा कम्ति खुसी छाएन । बेलायतमा रहेको ‘मुस्लिम ह्याण्डस्’ नामक संस्थाले उपलब्ध गराएको राहत सामग्री बोकेर एमाले सचिव योगेश भट्टराई कार्कीथोकका भूकम्पपीडितमाझ पुग्दा उनीहरुले ‘हामीलाई पनि हेर्ने कोही रहेछन्’ भन्ने अनुभूति गरे ।
संविधानसभाका दुईवटा निर्वाचनमा भट्टराई एमालेका तर्फबाट सोही क्षेत्रमा निर्वाचन लडे । तर, दुवै पटक झिनो मतान्तरले कांग्रेसका भीमसेनदास प्रधानसँग उनी पराजित भए । दु:खको यो घडीमा कार्कीथोकका जनताले सुरुमा जनप्रतिनिधी पनि भएकाले प्रधानलाई नै सम्झे । तर, आजसम्म उनी राहतको त कुरै छाडौं, सहानुभूति प्रकट गर्न समेत आफ्नो क्षेत्र पुगेका रहेनछन् ।
कार्कीथोकका शिव कार्कीले भने–‘ख्वै बिरामी भएर नआएको भन्छन्, साँच्चै हो कि झुक्याएका हुन् कुन्नि । तर हामीले जिताएर पठाएका प्रधानले अनुहारसम्म देखाएका छैनन् । अर्को चोटी पनि चुनाव जित्नु पर्ला नि ।’ आफ्नो गाउँमा पहिलो पटक एमाले नेता भट्टराई नै राहत बोकेर आएको उनले बताए ।
भूकम्पपीडित ७५ घरपरिवारलाई भट्टराईले प्रतिपरिवार १० केजी चामल, चाउचाउ, २ लिटर तेल, मसला, स्याम्पू, नेलकटर, ब्रसलगायतका सामग्री बाँडेका थिए ।
काठमाडौं नजिकै भएर पनि राज्यको आँखा यो गाउँमा पुग्न सकेको छैन । बालाजु वाइपासबाट ६ किलोमिटर उत्तरतर्फ रहेको यो कार्कीथोक टोलमा एकै ठाउँमा झुरुप्प करिब ३० घर थिए । परबाट हेर्दा निकै ठूलो बस्ती जस्तो लाग्थ्यो । तर अहिले यहाँ दुई वटा घर मात्र ठिंग उभिएका छन् । अरु घर १२ गतेको भूकम्पका कारण चिनोमात्र बाँकी बसेका छन् । यादव कार्की र कुमार थापाको बाहेक अरु सबैका घर ढलेका छन् । अन्नपात, भाँडाकुँडा सबै त्यही पुरिए । मानवीय क्षति ठूलो हुन पाएन । पाँच वर्षिय बालिका सुगम बुढाथोकीको निधन भयो । उनकी आमा सुनिता बुढाथोकीसहित ५ जना घाइते भए ।
२५ घरलाई दुइटा पाल
कार्कीथोकमा अहिलेसम्म सरकारी राहत पुगेको छैन । गाविसले काभ्रेस्थलीका लागि भनेर १ सय ५० वटा पाल छुट्याएको छ रे भन्नेसम्म यहाँका बासिन्दाले सुनेका छन् । तर, पाएका छैनन् । झण्डै २५ घर भएको टोलमा सबैजसो घर लडेका छन् । तर, पीडितले जम्मा २ वटा पाल पाएका छन् । त्यो पनि कुनै मनकारी व्यक्तिले दिएको स्थानीय अनु कार्कीले बताइन् ।
खाद्यान्नभन्दा पाल
भूकम्पपीडितका लागि यतिबेला पाल चाहिएको छ । ‘मुन्टो लुकाउन पाइयो भने गाँस त जसरी पनि जुटाइन्छ’– स्थानीय श्याम कार्कीले भने । त्यसो त घर लडेर पुरिएको अन्नपात केही मात्रामा भने पनि उनीहरुले झिकेका छन् । माटो मिसिएको धान निफन्नमा व्यस्त छन् स्थानीय महिलाहरु । त्यसमाथि गहुँ भित्र्याउने चटारोले उनीहरुलाई फुर्सद नै छैन ।
कर्कलोको पात थापेर रात गुजारा
सबै घर लडेर ध्वस्त भएपछि अहिले स्थानीयहरु मिलेर टहरा बनाएका छन् । एउटा टहरामा चार–पाँच जनाको परिवार मिलेर बस्दै आएका छन् । भाँडाकुँडा पनि पुरिएकाले पकाउने, खाने भाँडाको पनि समस्या छ । तर, मुख्य समस्या ओतकै छ । टहरामा पुराना जस्तापाता लगाइएको हुनाले पानी पर्दा पुराना प्वालबाट भित्रै पानी चुहिन्छ । अनु कार्कीले भनिन्–‘पानी परेपछि कहिले गिलास खोजेर र कहिले कर्कलाका पात थापेर रात कटाउनुपर्छ ।’
मेरो हेरी अरुको के दुख: श्याम
उक्त टोलमा एक जनाको त भूकम्पका कारण ज्यान नै गयो । तर मान्छे न हो जसलाई पनि आफ्नै दु:ख ठूलो । ५५ हाराहारीको उमेरका श्याम कार्कीले छेवैमा आएर भने–‘हजूर, दु:ख त मेरो पो छ । भएका दुइटै घर लडे । अहिले खेतको गह्रामा प्लाष्टिक टाँगेर आल्चाको बोटमुनि रात कटाउँदै आएको छु ।’
अर्का पीडित शिवका पनि तीन वटै घर लडेका छन् । उनी अहिले कुखुराको खोरमा बस्दै आएको बताउँछन् । उनी भन्छन्–‘अरु बाह्र–सत्ताइस कुरा के गर्नु, म त एउटा पाल पाइन्छ कि भनेर पाकेको चिया समेत छाडेर आएको ।’ यो टोलका जनतालाई राज्यले जनता नै होइनन् भनेजस्तो व्यवहार गरेको पनि उनले बताए ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply