धीरेन्द्रको पदवी र शरले ग्रिनी
वि.सं. २०३६ को राष्ट्रव्यापी संयुक्त आन्दोलनपछि निर्दलीय व्यवस्थामा पनि राष्ट्रिय पञ्चायतदेखि नगर र गाउँ पञ्चायतसम्म बालिग मताधिकारका आधारमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था भयो । तर, जिल्ला पञ्चायतको निर्वाचनले भने अप्रत्यक्ष नै रही रह्यो । वि.सं. २०४४ को जिल्ला पञ्चायत निर्वाचनमा धेरैजसो ठाउँ सीमित संख्याको मतदाता भएको अप्रत्यक्ष निर्वाचन हुँदा मत किनबेच भएको चर्चा पत्रपत्रिकाहरूमा आए, विशेषगरी तराईका जिल्लाहरूमा । त्यसभन्दा पहिले पनि जिल्ला पञ्चायतको अप्रत्यक्ष निर्वाचन हुँदा भ्रष्टाचार, होटेलमा मदिरा पानसहित भोजन र पैसाको लेनदेन भएको चर्चा पछि राष्ट्रिय पञ्चायत र नगरपञ्चायतहरू झैं प्रत्यक्ष हुनुपर्ने माग उठेको थियो ।
०४४ सालको चुनाव यो माग अझ बढी चर्को भयो । तर, पछि ०४६ साल फागुन चैतको आन्दोलनपछि ०४७ को संविधान र कानुनबमोजिम प्रतिनिधिसभादेखि गाउँ विकास समितिसम्मको प्रत्यक्ष निर्वाचन भए पनि जिल्ला विकास समितिको निर्वाचन अप्रत्यक्ष नै रह्यो र राजनीतिक दलहरूको वर्चश्व भए पनि कुनै–कुनै ठाउँ कुनै क्षेत्रको गाविस सदस्यहरूमा कम्युनिस्ट पार्टीको बहुमत भए पनि कांग्ेरसले जितेको घटना मोरङका कुनै–कुनै ठाउँमा देखियो । किनभने सीमितसंख्याको गोप्य मतदान हुँदा किनबेच सहज हुनसक्ने भई त्यस्ता घटना प्रजातन्त्र आएपछि पनि देखापरे ।
०४५ तिरकै घटनातर्फ फर्कौं । ०४२ देखि ०४५ सम्म काठमाडौंदेखि भरतपुरसम्म एक घन्टामा सुरुङ बाटो गरी पुग्न सकिने सडकको पनि खुब चर्चा सुनियो । तर, आज २८/३० वर्षपछि पनि यस्तो सडक विपना हुन नसकेर सपना नै छ । काठमाडौं–निजगढ फास्ट ट्रयाक सुरुङ मार्ग बन्ने चर्चा पनि ०६४ देखि ८ वर्ष भयो, वास्तविकतामा परिणत हुन अझ कति समय लाग्ने हो वा काठमाडौं–भरतपुर एकघन्टे बाटोको कल्पनाको कल्पनामै रहने हो ।
०४४ मा दशरथ रंगशालामा असिना पर्दा मच्चिएको झगडामा ७० जनाको मृत्यु भयो । अख्तियार दुरूपयोग नियन्त्रण आयोगले राजा वीरेन्द्रकै निर्दलीय शासनताका हेमबहादुर मल्लजस्ता बलशाली मन्त्री रहेकाहरूलाई थुनेर मुद्दा चलायो । उनी पञ्चायतकालको प्रत्यक्ष निर्वाचनमा पौने एक लाख मत पाएका व्यक्ति थिए र पछि पनि निर्वाचनहरू जितिरहे । जबसम्म भ्रष्टाचारलाई अपराध मान्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राजनीतिक इच्छाशक्ति सत्ताधारीहरूमा आउँदैन, तबसम्म चाहे निर्दलीयता होस् चाहे बहुदलीयता, भ्रष्टाचार व्याप्त रहन्छ ।
त्यस समय राजा वीरेन्द्रका भाइहरू ज्ञानेन्द्र र धीरेन्द्रको चुरीफुरी थियो । अधिराजकुमार धीरेन्द्रको व्यक्तिगत चरित्र एउटा गैरजिम्मेवार विलासीका रूपमा जनतामा थियो । उनका निजी सचिव र एडीसी भरत गुरुङको उद्दण्डताको चर्चा काठमाडौंमा खुब चलेका थिए । मान्छेहरू भन्दथे– एकपटक एउटा मन्त्रीलाई भरत गुरुङले कुनै काम गर्न टेलिफोन गरेछ, मन्त्रीले ‘हजूर को ?’ भन्दा भरत गुरुङले ‘तेरो बाउ’ भनी जवाफ दिएछन् । कैयौं विवाहित र अविवाहित महिलाहरूसँग धीरेन्द्रका यौन सम्बन्धका चर्चाहरू पनि प्रशस्त सुनिन्थे । यस्ता कामहरूले पत्नी प्ेरक्षासँग बराबर झगडा र चुटाइका घटना भएका कुरा पनि सुनिन्थे ।
यहीबीचमा धीरेन्द्रको शरले ग्रिनी नामक बेलायती युवतीसँग खुला उठबसको चर्चा सार्वजनिक भयो । उनले महाराजस्थित निवासमै ग्रिनीसँग रात बिताउन लागेको घटना र बिहा पनि गर्ने चर्चा चलेपछि ०४५ माघमा रानी ऐश्वर्याको दबाबमा राजा वीरेन्द्रले धीरेन्द्रलाई अधिराजकुमार पदवी छोड्न भने । यसरी अधिराजकुमार पदवीधारी धीरेन्द्र पदवीविहीन भए ।०४६/४७ मा बहुदलीय व्यवस्था आएपछि शरले ग्रिनीले छोरी पाएको हल्ला काठमाडौंमा सुनियो । शरले ग्रिनी र उनकी छोरीका बारेमा पछि के भयो ? मलाई अहिलेसम्म थाहा छैन ।तर, ०४४/४५ का यी घटनाहरूभन्दा धेरै ठूलो राष्ट्रिय जीवनलाई प्रभावित पार्ने घटना भारतको आर्थिक नाकाबन्दी, कलकत्ता बन्दरगाहको विदेश आयात–निर्यात सुविधा समाप्ति, १३ वटा मालसामान आउने जाने भन्सार नाकाहरूमध्ये ११ वटा बन्द गर्ने भारत सरकारको कामले नेपालको आर्थिक जीवन र विकासको गतिलाई धेरै नराम्ररी असर पार्न थाल्यो ।
त्यसअघि ०४५ सालमा उदयपुर इपिसेन्टर भएको पूर्वी नेपाल, दार्जिलिङ र सिक्किमतर्फ एउटा ठूलो भुइँचालो गएको थियो । यो भुइँचालो ०७२ सालमा काठमाडौं र मध्ये नेपालका जिल्लाहरूमा आएजति ठूलो र व्यापक क्षतिपूर्ण थिएन तर कैयौं सय मानिस त्यस भुइँचालोका कारणले मरे । धरान सहरको पुरानो बजार र नयाँ बजारलगायतका घरहरू लडे । महाराजा वीरेन्द्रले कुनै पनि विदेशी राष्ट्रको राहत नलिने र पुनर्निर्माणमा पनि सहायता नलिने भने । मृतकका परिवारजनलाई दाहसंस्कार खर्च र नेपालका बैंकहरूमार्फत् घर बनाउन जग्गा धितो राखी ऋण लिने व्यवस्था भयो र नेपालकै रेडक्रस, मारवाडी सेवा समितिले केही छाक खान बाँडे ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply