भूमिगतदेखि आकाशसम्म
‘…यात्रा सुरु गर्दा थाहा थियो, हामी आदि यात्री थिएनौं । बाटोमा कहीँ–कहीँ अगुवाहरूका पाइतालाका डोबहरू भेटिन्थे र पछि–पछि कोही आउँदैछन् भन्ने आभास पनि हुन्थ्यो । त्यो बेला त्यस्तै नै थियो, हवाई मार्गजस्तो अस्तित्व छ तर नदेखिने । पदचाप नसुनिने गरी हिँड्नुपथ्र्याे । संघर्षको त्यो भूमिगतकाल थियो । यात्राको घोषणा गर्न सकिने बेला थिएन । अगाडिका मान्छेहरूको आकृति नदेखे पनि गाइँगुइँ आवाजहरू भने सुनिन्थ्यो । मैले तिनै आवाजहरूलाई पछ्याएँ र पछ्याउँदै गएँ । एउटा कठिन यात्राको सुरुआत, जो त्यसबेला अनन्त लाग्थ्यो ।
‘अहो, कहाँ पुग्नुपर्ने आखिर कहाँ पो पुगिएछ †’ अनायास एउटा प्रश्न जन्मिन्छ !
एउटा लामो समयको अन्तरालपछि एउटा मीठो सपनाबाट बिउँझेझैं लाग्छ । मैले यात्रा सुरु गरेयता झन्डै तीन चार दशक पार गरिसकेछु । आफूले पार गरेर आएका ती लामा बाटाहरूलाई एकपल्ट फर्केर हेर्छु..।’
भर्खरै पन्ध्र–सोह्र वर्ष मात्र काटेकी थिएँ, काँचोपना प्रशस्त बाँकी नै थियो । जीवन खोज्ने क्रम सुरु भइसकेको थियो । बालककालबारे यहाँ कुरा गरेकी छैन । एउटा अँध्यारो जगत् थियो मेरा निम्ति, त्यसको कुरा लेख्न मसँग यतिबेला जाँगर छैन, खास इच्छा पनि छैन । अँध्यारोको धेरै वर्णन गर्नुभन्दा बत्ती बाल्दै हिँड्नु जाती हो । सम्भवत: यही कुराले नै उज्यालोको यात्रामा लाग्न प्रेरित पनि गर्यो । उज्यालो बाटोसम्म पुग्नका निम्ति धेरै घुमाउरा बाटाहरू पनि पार गर्दै यहाँसम्म आइपुगेको छु । अब जीवनको उत्तराद्र्धको ढिस्को चढ्दै गर्दा, जीवनलाई फर्केर हेर्दा जीवनलाई कुनै एउटा स्वार्थको घोडा चढेर कसैप्रति अन्याय गरिनँ, कसैको अन्याय पनि सहिनँ । आफ्नो अन्तरआत्माले नदिएको कर्म पनि गरिनँ । आज संक्षिप्तमा आफ्नै जीवनको कुरा गर्नुपर्दा जीवनबारे मुक्तकण्ठले गीत गाउन सकेकी छु ।
किशोरावस्थामा नै छोटो आयु बोकेका रुसी लेखक निकोलाई अस्त्रोबस्कीले आफ्नै जीवनबारे लेखेका केही वाक्यहरूले प्रभावित भएँ, (अन्तिम अवस्थामा आफ्नै जीवनलाई फर्केर हेर्दा आफैंले गरेका जीवनका कुकर्महरूले लज्जित नबनाओस्, त्यो बेला जीवनप्रति गर्वका साथ भन्न सकूँ) जीवनमा सबभन्दा असल उद्देश्यका निम्ति जीवनलाई प्रयोग गरें…। यी वाक्यहरू जस्ताको तस्तै लेख्न सकें सकिनँ । उनका यी भावलाई भने त्यही बेलादेखि एउटा असल गुरु नभेटेको बेलामा पनि आफ्नै जीवनका निम्ति मूलमन्त्रझैं मनन् पनि गरें ।
अहिले फर्केर हेर्दा जीवनमा अत्यन्त ठूलो, उल्लेखनीय विश्वलाई देखाउने चकित पार्ने काम गर्न नसके पनि नराम्रो कर्म गरी देश र जनतालाई अहित हुने काम कहिल्यै गरिनँ भन्ने लाग्छ । आफूप्रति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा नकारात्मक दृष्टि राख्ने होस् या कसैले आफ्नो खुट्टा तानेको चाल पाएर पनि कहिल्यै बदलाको भाव लिएर कसैको हानिनोक्सानी पनि चिताइनँ । संसारको खेललाई बुझ्ने कोसिस गर्दै गएँ । सत्यको बाटो खोज्नमा अलि बढी समय लगाएँ । पछिल्लो अवधिमा बुद्ध वचनको पनि ख्याल गर्दै अगाडि बढें ।
अब फर्केर हेर्दा कति साथी शुभचिन्तकहरूलाई सम्झिन्छु, मेरो सत्य इतिहास बुझ्नेहरूले देख्नेहरूले आफ्नो जीवनबारे लेख्ने होइन ? भनी सोधेका छन्, लेख्ने सल्लाह दिएका छन् । म हाँसेर टार्छु, ‘लेखुँला नि कुनै दिन…’ कसैलाई साँचो कुरा पनि भन्छु लेखिसकें उहिल्यै तर छाप्न मात्र सकेको छैन । लेख्न त मैले पक्कै लेखें आजभन्दा बीस वर्षपहिले नै । कोही मित्रहरूलाई देखाएँ पनि पाण्डुलिपि, तर कहिल्यै हतार लागेन छाप्न छपाउनका निम्ति खोइ किन हो † बरु आफूले सोच्दै नसोचेका पुस्तकहरू निस्कन सके, दुई दशक बितिसक्दा पनि आत्मसंस्मरण भने निकाल्न सकिनँ ।
यो समयमा आत्मकथा आत्मालाप या आत्मकथाको बाढी आइरहेको बेला छ ।
यसपालि भर्खरै मलाई पनि एक लेखक मित्रले सल्लाह दिए, ‘लेख्नु पर्यो’ भनेर । मैले लेखिसकें भन्न पाएको पनि छैन । ती शुभचिन्तक मित्रले आफैंले लेखिदिने कुरा समेत भयो । एक जना नेपालीमा स्नातकोत्तर विद्यार्थीले मेरो जीवनबारे थेसिस लेख्नुभएको थियो, त्यसैलाई पुन: लेखेर बजारमा ल्याउनुपर्यो भनेर सल्लाह पनि दिए । ती मित्रको सदासयता बुझ्छु, प्रणाम गर्छु ! तर तुरुन्तै लेख्ने कुरामा अझै अगाडि बढ्न सकेकी छैन ।
म समयलाई विश्वास गर्छु, समयले आवश्यक ठाने यो हुन सक्छ ।
बीस वर्षपहिलेकै कुरा भइसक्यो जतिबेला म आफ्नो जीवनबारे फर्केर हेरिरहेको थिएँ, आत्मसंस्मरणको पहिलो भाग लेखिरहेकी थिएँ । बिहान दिउँसो चिनियाँ भाषा पढाउँथें विश्वाभाषा क्याम्पसमा । चीनबाट फर्केको समय पनि धेरै भएको थिएन । देशमा बहुदल आइसकेको बेला देशलाई नयाँ दृष्टिले हेर्नु र आफ्नै निम्ति नयाँ कर्ममा समय र स्वभावअनुसार अगाडि बढ्नु पनि थियो । नयाँ सन्तानको भूमिका निभाउनुपर्ने बेला पनि थियो । पहिलोचोटि सरकारमा एमालेको नेतृत्व हुँदा एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सञ्चारमन्त्री हुनुहुन्थ्यो त्यो बेला सञ्चार क्षेत्रमा काम गर्न प्रत्यक्ष रूपमा नै कुरा गर्नुभएको थियो । गार्डसहित घरसम्म पुग्नुभएको मन्त्रीज्यूको त्यो कुरालाई समेत नम्रताका साथ अस्वीकार गरेकी थिएँ । त्यतिबेला त्यही पुस्तक सिध्याउने तयारीमा थिएँ । आफ्नै जीवनबारे लेखिरहेका बेला अवश्य नै अलि बढी भावुक थिएँ हुँला ..। मैले गर्ने कामकै बारेमा पनि अलि बढी भावुक भएको हुँला । सञ्चार क्षेत्रमा रही सबैले देखिने ठाउँमा रही काम गर्नुभन्दा बरु अझै जनताको सेवामा समर्पण हुने मौका खोजिरहेको बेला पनि थियो सायद । अहिले बीस वर्षअगाडि फर्केर हेर्दा मैले ठीक गरें या गरिनँ ? तर, मेरो आफ्नै स्वभाव र हृदयको कुरा सुन्ने हो भने मैले बेठीक त गरिनँ भन्ने लाग्छ । तर, त्यतिबेला त्यसरी लेखेको पुस्तकलाई अझैसम्म पनि पाठकबीच पुर्याउन नसक्नु भनेको ठीक कुरा भन्न त मिल्दैन । भूमिगतदेखि आकाशसम्मका अनुभूति छ, अनुभव छ । देश छ, इतिहास छ । साथी, कामरेड, सहयात्रा, संघर्ष र प्रेमका सत्य कथा छन् पुस्तकमा ।
महाभुकम्पपछि जीवनको कुरा पनि नाफाको कुरा जस्तो भएको छ । यो अनिश्चित संसारमा सबै कुरा अनित्य छ । नाम, काम, पद जस्ता सबै नै अनित्य छ । जीवनमा कति म मात्र भन्ने पात्रहरूलाई पनि देखें । म भन्नै नजान्ने पात्रहरूलाई पनि देख्न भ्याएँ । यो अनिश्चित जीवन यात्रामा समयले कस्को कथा मात्र बाँकी राख्छ र ? जिउनु त फेरि वर्तमानमा नै छ । विगतको संस्मरणले मात्र कति सघाउ पुर्याउँछ र † र पनि, साहित्यका निम्ति होस् या असल राजनीतिका निम्ति पनि असल इतिहासको अध्ययन त जरुरी हुन्छ नै भन्ने महसुस हुन्छ ।
यसपालि आत्मसंस्मरणका केही अंश सम्पूर्ण आकाशका मेरा प्रिय पाठकसामु राख्नु भनेको नै अब छिट्टै पुस्तकले आकार लिँदैछ भन्नु पनि हो । यसरी नै पुस्तकका केही अंश मात्र नभएर सम्भवत: यसको पूर्ण भाग पनि पढ्नु हुने नै छ ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply