हतारको अविश्वासको प्रस्तावले मुलुक संकटमा
आज कस्तो संयोग परेछ भने हिजो सुदूरपूर्वबाट बोल्ने पालो पर्यो, आज सुदूरपश्चिमबाट । म मध्यको मान्छे परें । सुदूरपश्चिम र सुदूरपूर्वको बीचमा मध्यको मान्छेले उभिएर बोल्दा के बोल्ने भन्ने प्रश्न मेरो दिमागमा खडा भयो । मैले भन्न खोजेको कुरा के हो भने नेपालको राजनीति कहिले पूर्वीय ध्रुवमा त कहिले पश्चिमी धु्रवमा जाने गरेको छ । कहिले एउटा छोर त कहिले अर्को छोरमा जाने गरेको छ । कुनै विषयको विश्लेषण गर्दाखेरि कुनै विषयका बारेमा सोच्दाखेरि हामी जहिल्यै पनि अतिबाट सोच्दछौं । यो मुलुकलाई अतिबाट छुट्टि चाहिएको छ । यो मुलुकमा सहमतिको खााचो छ । यो सहमतिको यात्रा कसले प्रारम्भ गर्ने ? प्रधानमन्त्रीको यो म्युजिकल चेयर चलिरहन्छ । यो म्युजिकल चेयरमा रमाइरहने हो भने देशको बिजोग हुन्छ । मेरो चिन्ता देशका बारेमा छ । मेरो चिन्ता नेपाली जनताको हानिका बारेमा छ । यो अवस्थाबाट देशलाई जोगाउने कसरी ?
हिजो म एउटा कार्यक्रममा भाग लिन गएको थिएा । त्यहाा एउटा सांस्कृतिक कार्यक्रम प्रस्तुत भयो, एउटा नृत्य । त्यो नृत्यमा भनिएको थियो– ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, यो देशलाई किनारा लगाइदिने माझी देखाइदेऊ ।’ त्यस्तो मान्छे चाहियो, देश डुब्न लाग्यो । आम जनताको मनमा के छ भने त्यस्तो मान्छे फेला परिरहेका छैनन्, जसले देशका बारेमा सोचोस्, जसले राष्ट्रका बारेमा सोचोस् । आफ्ना बारेमा सोच्ने जो पनि फेला पर्छन्, देशका बारेमा सोच्ने पार्टी पनि छैनन् यहाा । एक वक्ताले एमालेबाहेक भन्नुभयो, तर मैले त एमाले पनि देखिरहेको छैन । एमाले भइदिएको भए म एमालेलाई त चित्त बुझ्थ्यो नि ! एमाले पनि छैन त्यहाा, गुट छ त्यहाा गुट ! यस्तो अवस्था छ हाम्रो देशको । यो कुनै एउटा व्यक्तिबारे होइन, यो प्रवृत्ति छ । कुनै पनि चीज संस्थागत ढंगले चल्दैन । देश पनि चल्दैन संस्थागत ढंगले, सरकार पनि चल्दैन संस्थागत ढंगले, पार्टी पनि चल्दैन संस्थागत ढंगले ।
प्रत्येक नेताहरूले छातीमा हात राखेर, आफूलाई आत्मसमीक्षा गरेर, आफूमा रहेका कमीकमजोरीलाई सुधारेर अघि बढ्ने संकल्प गर्नुपर्दछ । त्यो संकल्प गर्न सक्यौं भने मात्र देश उाभो लाग्न सक्छ । नभए त व्यक्तिहरू आउन सक्छन्, फोटो नभएकाहरूले फोटो झुन्ड्याउन सक्छन्, फोटो भएकाहरूको फेरि नम्बर थपिन सक्छ– दोस्रोपटक, तेस्रोपटक, चौथोपटक… । तर, त्यसबाट देशले पायो के ? त्यो महत्त्वपूर्ण कुरा हो । कसैका बारेमा पनि एउटा छोरमा पुगेर विश्लेषण गर्नु जरुरी छैन । आग्रहबाट प्रेरित भएर पनि विश्लेषण गर्नुहुादैन । आग्रहबाट प्रेरित भएर आरोप लगाउनु पनि हुादैन ।
मैले यो अविश्वासको प्रस्तावभन्दा पहिले जब नेकपा (माओवादी–केन्द्र)बाट यो सरकार छाड्ने, समर्थन फिर्ता लिने कुरा सुनें, त्यो बेला मेरो प्रतिक्रिया थियो– ‘यो दुर्भाग्यपूर्ण भयो, यस्तो हुनुहुादैनथ्यो ।’ अवश्य पनि अहिलेको यो सरकार जुन गठबन्धनको सरकार थियो, त्यही नै रहनुपर्छ म भन्दिना । किनभने, यो अन्तिम संक्रमणकालमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता थियो । राष्ट्रिय सहमतिका निम्ति मैले पनि आफ्नो तर्फबाट, विभिन्न नेताहरूले आ–आफ्नो तर्फबाट आह्वान पनि गर्नुभयो, आवाज पनि उठाउनुभयो । फेरि मैले सबैभन्दा धेरै मत पाउने पहिलो र दोस्रो ठूलो पार्टी कसरी एउटै सरकारमा बस्न सक्छन् भन्ने ब्रह्म वाक्य पनि सुनें । यस्तैयस्तै मानसिकताले हामीलाई बिगारिरहेको छ । पहिलो र दोस्रो बसेकै हुन् । सुशील कोइराला प्रधानमन्त्री भएका बेला पहिलो र दोस्रो पार्टी सागै सरकारमा बसेका हुन् । त्यसबेलामा बस्न सक्थे भने अहिले बस्न सक्दैनथे ? त्यसबेला के भयो र ? सहमति भएको थियो, जसलाई हामी भद्र सहमति भन्छौं, त्यो सहमतिको पालना भएन । त्यसले समस्या खडा गरिदियो । प्रश्न अहिले पनि उठेको होला, तर मैले अविश्वासको प्रस्तावको पत्र हेर्दाखेरि लाग्यो, अलिक बढी नै लेखिएको छ । यो सरकारले केही गतिलो काम गरेको छैन भनेर लेख्दाखेरि आफैंमाथि आइलाग्छ । यो सरकारको अंग भएर आफूले पनि नौ महिनासम्म त सहभागिता जनाइएको छ नि ! तर, म एउटा बाध्यता बुझ्छु । किनभने, अविश्वासको प्रस्ताव दर्ता गर्नु छ, राम्रो कुरा त लेख्नै भएन । त्यही भएर केही न केही त थप्नैपर्यो । जम्मै बुादा हेर्दा त कुनै राम्रा, गतिला काम यो सरकारले गरेको छ भन्ने त कतै चर्चै छैन । राम्रो गरेकालाई पनि नराम्रो गरिएको जस्तो ढंगबाट विश्लेषण गरिएको छ । यस्तो किन भयो भने हाम्रो आपसी सम्बन्धमा अविश्वास, असमझदारीको दूरी बढेर गएको छ ।
यो देशका निम्ति वास्तवमा अहिले सहमतिको खााचो छ । हाम्रो देशको विडम्बना हो, हामीले हाम्रो देशको राष्ट्रिय सुरक्षा नीतिबारे पार्टीहरूका बीचमा साझा सहमति बनाउन सकेका छैनौं, एक राय बनाउन सकेका छैनौं । परराष्ट्र नीतिबारे एउटा दस्तावेज पास गर्न सकेका छैनौं, एउटा राय बनाउन सकेका छैनौं । अहिलेको अवस्थामा त झन् राष्ट्रिय विकास नीतिबारे हामीले एउटा साझा सहमति, समझदारी र त्यसैअनुसारको एउटा प्रतिबद्धताको दस्तावेज तयार गर्नुपर्ने आवश्यकता छ । सााच्चै हामी इमानदारीसाथ जान चाहन्छौं भने सुशासनका सवालमा पनि, राज्य सञ्चालनका निम्ति, राज्यमा थिति बसाल्न के गर्नुपर्ने हो, त्यसका निम्ति पनि एउटा साझा सहमति बनाउन जरुरी छ । त्यो लक्ष्मणरेखालाई कसैले पनि पार गर्न नसकोस् । त्यो सीमाभित्र प्रत्येक बसून् । भ्रष्टाचार, अनियमिततादेखि ढिलासुस्ती हुन नपाऊन् ।
हाम्रो काम कहिल्यै समयमा सुरु हुादैन, समयमा सम्पन्न हुादैन । आर्थिक विकासको गति तीव्र हुन सक्दैन । हामी कुरा गर्छौ ठूल्ठूला । भाषण गर्छौं ठूल्ठूला । भिजन छैन भनौं विशाल–विशाल भिजन छ । मिसन छैन भनौं, मिसनका कुरा अरू पनि छन् । तर, ती भिजनहरू व्यवहारमा रूपान्तरण हुन सकेका छैनन् । ती मिसनअनुसार हामी दृढताका साथ अघि बढ्न सकिरहेका छैनौं । मैले भन्न खोजेको कुरा के हो भने कहाा रहेको छ कमजोरी ? सबैले देशभित्र प्रवेश गरौं, आत्मसमीक्षा गरौं र कुनै एउटा बिन्दुमा पुगेर भनौं– अब बढी भयो । पुराना कुरालाई बन्द गरौं, नयाा प्रारम्भ गरौं । नयाा ढंगले अघि बढ्नुपर्ने खााचो छ हामीमा । यो देशलाई हामीले विकासको बाटोमा तीव्र गतिका साथ लानुपर्ने खााचो छ । संसारका अरू देशहरू कहााबाट कहाा पगिसके ? तर, हामी जहााको तहीा छौं । हामीसाग के छैन ? हामीले अहिले जति प्रयोग गरिरहेका छौं, त्यति मात्र होइन, थुप्रै यस्ता कुराहरू छन् । तर, हामीले केही गर्न सकेका छैनौं, खनिज पदार्थहरूको त कुरै छाडौं । यस अर्थमा पनि म यो सरकारलाई धन्यवाद दिन चाहन्छु, यसपटक राम्रो बजेट ल्याएको हो ।
संविधान ल्याउन एमालेसहित प्रमुख तीनवटै दलबाट राम्रो भूमिका खेल्ने काम भएको हो । बीचमा कतिपय नेताका खुट्टा डगमगाएका पनि थिए, हल्लिएका पनि थिए । केही समूहहरूको चित्त बुझेको पनि थिएन । त्यसलाई पनि समेटेर लिएर जानुपर्ने आवश्यकता थियो । तर, कहाा हामी चुक्यौं ? क–कसबाट कमीकमजोरी भए ? हामीले हाम्रो देशको आफ्नो सीमालाई बुझ्नु जरुरी छ । हामीमा के छ भने मुख हेर्छौं, मन बिर्सन्छौं, एक हेर्छौं, अनेक बिर्सन्छौं, नेपाल हेर्छौं, संसार बिर्सन्छौं । संसार हेर्छौं, नेपाल बिर्सन्छौं । यो हामीमा रहेको एकांगीपनबाट हामी मुक्त हुनैपर्दछ ।
समष्टिमा नेपालको स्थान कस्तो छ, नेपाल कसरी अगाडि बढ्न सक्छ ? अवश्य पनि राष्ट्रियता र सार्वभौमसत्ताको सवालमा भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको सवालमा नेपालीहरूले कसैका सामु शिर झुकाउनुहुादैन । तर, हामीले सबैलाई विश्वासमा लिएर जाने कसरी ? गम्भीर चिन्ताको पनि विषय हो । किनभने, सम्बन्धहरू विश्वासको जगमा उभिएका हुन्छन् । विश्वास टुटिसकेपछि बााकी कुराहरू जोड्न धेरै गाह्रो हुन्छ । त्यस हुनाले हामीले कहाा के गर्न खोजेका छौं ? त्यो प्रस्ट रूपमा हामी गर्दैनौं । कताकता विभिन्न किसिमका जालझेल, अनेक खालका तिकडमहरूमा लागिरहेका हुन्छौं । अब यो जालझेल र ताल–तिकडमहरू बन्द गरौं र मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ, जनताका चाहनालाई कसरी परिपूर्ति गर्न सकिन्छ र देशलाई कसरी विकासको बाटोमा लान सकिन्छ भन्ने सोचौं । हामीले अधिकारको लामो कार्यकाललाई पूरा गरेका छौं । राजनीतिक क्रान्तिको लामो प्रक्रियालाई लगभग टुंग्याएका छौं । अब हामी आर्थिक विकासको नयाा चरणमा प्रवेश गरेका छौं, आर्थिक क्रान्तिको नयाा युगमा प्रवेश गरेका छौं । त्यो युगमा हामी प्रवेश गर्दा विगतका बााकी कुराहरूलाई छिटो टुंग्याएर, समझदारी कायम गरेर अगाडि बढनुपर्ने खााचो छ ।
हामीले छलफल गर्दा मैले सुनें, यही सरकारको प्रशंसा गर्दा पनि विगतमा यस्तो कुनै सरकार नै थिएनन् भने जसरी व्याख्या भयो । अनि, मलाई पनि घोच्यो । सरकारको प्रधानमन्त्री भएर २१ महिनासम्म बसेको छु । अन्तर्राष्ट्रिय सम्बन्ध मैले पनि सञ्चालन गरेको छु । राष्ट्रिय नीति मैले पनि लिएको छु । २२ वटा पार्टीलाई समेटेर अन्तिम समयसम्म लिएरै गएको छु । कुनै पार्टी तलमाथि गर्न कहिल्यै पनि तयार भएन । मैले राजीनामा गर्दा सबै असन्तुष्ट भए होलान् । प्रतिपक्षको त धर्म नै थियो– अनेक ताल–तिकडम गरेर मलाई ढाल्ने । तर, दुर्भाग्य मलाई प्रतिपक्षले पनि ढालेको होइन, म आफैं ढले, म आफैंभित्र ढालिएा । यो देशको, हामीहरूभित्रको विडम्बना हो । यस्तो विडम्बनाहरू दोहोरिनुहुादैन । त्यसैले, आफ्नो समयमा गरेका कामहरूप्रति मलाई पनि गौरवबोध छ । नेपालको स्वाभिमानलाई उठाउने कुरामा, नेपालको अन्तर्राष्ट्रिय नीतिलाई संसारभर फैलाउने कुरामा, सबैको विश्वास लिएर देशलाई अगाडि बढाउने काममा मात्र होइन, त्यसभित्र पनि चाहे त्यो फास्ट ट्रयाक होस्, चाहे अन्तर्राष्ट्रिय विमानस्थल होस्, चाहे १० वटा मेगा सिटी होस्, चाहे २० वर्षमा २५ हजार मेगावाट बिजुली उत्पान गर्ने योजना निर्माणको कुरा होस् । यस्ता फेहरिस्त सबै लिएर आएको छु, पढौं कि झैं लागेको थियो । किनभने, विगतको चर्चा नै गर्दैनन् ।
नेकपा (माओवादी–केन्द्र)का अध्यक्ष प्रचण्डले हिजोभन्दा मलाई पनि यहाा बोलौं भन्ने कुराले पोल्यो । मलाई हिजो खुसी पनि लाग्यो, मेरो पनि नाम लिनुभएछ, शान्ति प्रक्रियामा मेरो भूमिकाबारे । मान्छेलाई के चाहिन्छ त ? म सम्झिरहेको छु– मनमोहन अधिकारीले भन्नुभएको कुरा, ‘मलाई प्रधानमन्त्री भनेर कसैले सम्झेकोमा त्यति गर्व लाग्दैन, जति मलाई एउटा असल मानिस भनिदिए सन्तोष लाग्छ, गौरव लाग्छ ।’ मान्छेलाई पनि उसको भूमिकाको चर्चा गर्दा खुसी लाग्छ । म पनि सुन्छु– बेलाबखत विगतमा यो एमालेको कुनै सरकार थियो कि थिएन ? हुादाहुादा मनमोहन अधिकारी प्रधानमन्त्री हुादाखेरि भारतसागको सम्बन्धबारे म परराष्ट्रमन्त्री भएर, एडभान्स टिम भएर त्यहाा त्यत्रो खेलेको भूमिकाको कोही चर्चा नै गर्दैनन् । मनमोहनजीले न विवाद गर्नुपर्यो, न बहस गर्नुपर्यो । सबै काम मैले पूरा गरें, कागजमा मनमोहन अधिकारीले सही गर्नुभयो । माधव नेपालको त चर्चै छैन । अनि ऊ आफैं प्रधानमन्त्री भएर गरेका एक से एक कामहरूको फेहरिस्त मसाग छ । अनि नेकपा (एमाले)को त यस्तो कुनै सरकार नै बनेको थिएन भन्दाखेरि त कस्तो–कस्तो लाग्छ । यस्तो नगरौं । यो आम प्रवृत्ति छ ।
मैले भन्न खोजेको के हो भने सबैको स्वाभिमान हुन्छ । सबैको मान–सम्मान गर्नुपर्छ । त्यसो हुनाले एउटा शब्दको प्रयोग सुशील कोइरालाजीले जहिल्यै गर्नुहुन्थ्यो । उहाा भन्नुहुन्थ्यो, ‘जिमा यसै वावरी का गई वात बबाल, आपुन तो भितर धुसी मार खाई कपाल ।’ हामीले यस्तो कुरा बोलौं, जसले अरूलाई घोचोस् होइन, अरुलाई पनि मीठो लागोस् । हिजो हाम्रा माननीय सुवास नेम्वाङजीले कति मीठो पाराले भन्नुभयो । मीठो भन्दाभन्दै पनि कतिपयलाई घोच्यो होला, त्यो आफ्नै ठाउामा छ ।
यहााको समस्या हामीले राजनीतिक रूपले नै ‘डिल’ गर्नुपर्छ । हामीले यो संविधानको रक्षा गर्ने हो । यो संविधानको कार्यान्वयन गर्ने हो । हाम्रो ध्यान संवैेधानिक संकट सिर्जना गर्ने कुरामा जानुहुादैन । यो संविधानबारे, संविधान कार्यान्वयन गर्ने कुरामा हामी गम्भीर भएनौं भने संविधानबमोजिम देशलाई अगाडि बढाउने कुरा गरेनौं भने हामी सबै त्यसको मारमा पर्छांै । यहाा गम्भीर षड्यन्त्र भइरहेको कुरा म सुनिरहेको छु, यो देशमा संवैधानिक संकट निम्त्याउने, माघ ७ सम्म संविधान लागू नहुने वातावरण बनाउने । त्यसपछि त्यसको मार तपाईं–हामी सबैले खानुपर्छ । हामी त भुक्तभोगी । नेकपा (माओवादी)का साथीहरू त भर्खर आउनुभएको छ, तपाईंहरू भुक्तभोगी हुनुहुन्न । हामीले त लगातार लड्नुपर्यो । लड्दालड्दा एउटा यस्तो लडाइा लड्नुपर्यो, जहाा एउटा शासन, एउटा वंश राजतन्त्रको नै अन्त्य गर्नुपर्ने अवस्था बन्यो । त्यो स्थिति दोहोरिनुहुादैन ।
यहाा अनेक पक्षहरूले खेलिरहेका छन् । संविधानले दिएका उपलब्धि समाप्त पार्ने, उल्टाउने सोच बनाइरहेका छन् । त्यो अवस्था नबनोस् भन्नेमा हामी सजग हुनुपर्छ । त्यस अर्थमा म फेरि पनि के आग्रह गर्न चाहन्छु भने यसरी अविश्वासको स्थितिमा जानुहुादैनथ्यो । मेरो सीधा भनाइ यसमा माओवादी केन्द्रले हतार गर्यो । म यसमा संलग्न छु, केमा भन्दा मिलाएर लाने कुरामा । मिलाएर लाने वातावरण बन्न लागिरहेकै थियो, बन्थ्यो पनि । नेपाली कांग्रेसले पनि आत्तिनुपर्ने कारण नै थिएन । त्यो पनि समेटिने स्थिति बन्थ्यो, बनाउनुपर्दथ्यो । तर, हतार गरेर समर्थन फिर्ता लिने काम भयो । हतार गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने काम भयो । अविश्वासको प्रस्ताव दर्ता पनि छिटो गर्ने काम भयो, आर्थिक विधेयक पास गरेर गरेको भए पनि हुन्थ्यो । देश नै संकटमा पर्यो, अन्योल उत्पन्न भयो ।
देशमा दुई चीजको आवश्यकता छ– शान्ति र स्थायित्व । अनि मात्र त्यो परिवेशमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ । तर, कतिपय देशमा के देखिन्छ भने राजनीतिक स्थिरता नभए पनि आर्थिक क्षेत्रमा हस्तक्षेप हुने गर्दैन । इटाली एउटा यस्तो देश हो, जहाा सरकार छिटोछिटो परिवर्तन भइरहे तापनि आर्थिक विकासमा त्यसले कुनै बाधा–अवरोध खडा गरेको देखिादैन । हामीकहाा त हाम्रो ब्युरोक्रेसीको अहिलेको संरचनाले पनि ठूलो समस्या खडा गरेको छ । पूरै देशमा ‘ओभरहलिङ’ गरिएन भने कहाा–कहाा को–को बसेका छन्, सबैले बाधा खडा गर्छ । विकास विरोधी हाम्रा संस्थाहरू भए, हाम्रा मानसिकताहरू भए, संयन्त्रहरू भए । चाहे त्यो संसद्भित्रका समिति हुन्, चाहे हामीले बनाएका संवैधानिक निकायहरू हुन् । देशको विकासका निम्ति सबै मित्रवत् हुनुपर्ने हो, सहयोगी हुनुपर्ने हो । तर, बीचैमा बाधा खडा गरिन्छ, अघि बढ्नै दिइादैन । केही गर्न खोजियो भने बीचैमा रोकिन्छ । कोही पनि विकासको बाधक बन्नुहुादैन । विकासलाई अगाडि बढाउनुपर्छ, त्यो देशको हितमा हुनुपर्छ ।
त्यसैले, हामी कसैले पनि राष्ट्रिय हितमा गरेका कामहरूको सकारात्मक मूल्याङ्कन गरौं । समष्टिगत मूल्यांकन गरौं । कसैले पनि आर्थिक विकास, समृद्धि र सुशासनका निम्ति गरेका कामहरूको सकारात्मक मूल्यांकन र समीक्षा गरौं । जस कसैले पनि राष्ट्रघाती र भ्रष्ट काम गरेका छन् भने तिनको पनि समीक्षा गरौं र तिनीहरूको आलोचना पनि गरौं । तर, हामीले नभएका कुराहरू ल्याएर कसैलाई पनि आरोप–प्रत्यारोप गर्ने काम गर्नुहुादैन ।
यहाा भइरहेको अति धेरै राजनीतीकरणलाई बन्द गर्नुपर्छ । यो राजनीतीकरण पार्टीकरण पनि भएको होला । आज त्यो गुटकरण भएको छ । त्यो विभिन्न नियुक्तिहरूमा देखिन्छ । अहिलेको सरकारले पनि गरेको छ, अरूबेला पनि म देखिरहेको छु । त्यसैले, यी सबै कुराबाट माथि उठ्ने स्थिति बनाउने कसरी ? यो सिस्टममा देशलाई लाने कसरी ? राम्रो संस्कृति, परम्परा र संस्कारको विकास गर्ने कसरी ? यस अर्थमा हामीले नयाा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ । मैले धेरैचोटि स्वर्गीय सुशील कोइरालालाई भनेको थिएा– ‘हेर्नुस्, तपाईं यस्तो बेला प्रधानमन्त्री हुनुभएको छ, जुनबेला संक्रमणकालको अन्तिमअन्तिम हुादै छ । यो सिंगो चरण हुादै छ । यो अन्त्यभित्र हामीले प्रत्येक चीजलाई सिस्टममा ढाल्ने कसरी, नियुक्ति, सरुवा, बढुवा, ठेक्कापट्टाजस्ता सबै कामको मूल्यांकन गर्ने, सबै चीजलाई सिस्टममा ढाल्न आजसम्म भएका कमजोरीको समीक्षा गरौं ।’ र, अहिले सबै पार्टीलाई सरकारमा ल्याएर एउटा सिस्टममा ढाल्यौं भने अनि ०७४ माघ ७ गतेपछि आउने सरकार त्यो लिकमा जान बाध्य हुनेछ । मेरो अहिले पनि आग्रह छ, मैले बारबार भन्ने गरेको छु यो सिंगो देशलाई सोचौं । हामी सिंगो देशको मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराई–मधेससम्मको सिंगो भूभागलाई ध्यानमा राखेर सिंगो मास्टर प्लान बनाउने कुरा गरौं । देश विकासको प्राथमिकता निर्धारण गर्ने कामहरू गरौं ।
देश विकासका तीनवटा पूर्वसर्तहरू छन्– पहिलो बाटो, यातायात र दूरसञ्चार । दोस्रो, जलविद्युत् वा विद्युतीकरणको विकास र तेस्रो सञ्चार क्षेत्र । यी तीन क्षेत्रलाई हामीले सबैभन्दा प्राथमिकतामा राखौं । त्यो हुनासाथ बााकी चीजहरू आफैं गतिका साथ अघि बढ्छन् ।
आज मकहाा केही विदेशी आएका थिए, हामी नेपालमा लगानी गर्न चाहन्छौं भन्दै । तर, राजनीति कुरा सुन्नासाथ उनीहरू लगानीमा रुचि नै राख्दैनन् । यहाा विश्वास गर्ने कसरी ? कुनै कुरा गर्न एउटा निकायमा गयो, उसले अर्को निकायलाई देखाउाछ, हैरानहैरान हुन्छ । अस्ति म लुम्बिनी भ्रमण गर्न गएको थिएा, त्यहााको विमानस्थल निर्माणको काम कस्तो भएको छ भनेर सोध्दा उनीहरूले भने– ‘हामीलाई ६ लाख घनमिटर गिटी चाहिएको छ । तर, हामीलाई दिइएको छ– जम्मा ५ हजार घनमिटर ।’ ६ लाख चाहिनेमा ५ हजार ! समयसीमा तोकिएको छ, तर कुनै निकाय सुन्नेवाला छैन । एउटा निकायमा भन्न गयो, उसले भन्छ– ‘अर्कोलाई सोध ।’ अर्कोलाई भन्न गयो, उसले भन्छ– ‘अर्कोलाई सोध ।’ प्रधानमन्त्रीलाई भन्यो– प्रधानमन्त्री पनि लाचार । प्रधानमन्त्रीले पनि केही गर्न सक्नुहुन्न । हामी सबै लाचार छाया भइराखेका छौं । कतै हाम्रो देशको विकास नहोस् भनेर अवरोध खडा गर्ने मानसिकता कहीा बसेको त छैन ? त्यसैले, हामी सबैले खोजौं । एकले अर्कालाई आरोप लगाउने कुरामा होइन, हाम्रो प्रहार हुनेछ, अनियमिततामाथि, भ्रष्टाचारमाथि, ढिलासुस्तीमाथि, देशविरोधी कुराहरूमाथि । त्यसैले, हामी देशभक्त नेपाली भएर आफूलाई सोचौं । हामी जहाासुकै जाादा पनि शिर ठाडो पारेर उभिने वातावरण निर्माणमा जुटौं । यो देशलाई कसरी उकास्ने हो ? कसरी उभार्ने हो ? कसरी अघि बढाएर लैजाने हो ? यसमा गम्भीर हुन म सबैलाई फेरि पनि आग्रह गर्छु ।
सरकारको यो म्युजिकल चेयरमा जाने हो भने यो सरकार पनि कति महिना टिक्ने हो भन्न सकिादैन । सिस्टममा नजाने हो भने यो मुलुकले कहिल्यै स्थिरता पाइनेछैन । त्यसको मार जनतामा पर्नेछ । त्यसको मार देशलाई पर्नेछ । त्यसकारण, म फेरि पनि भन्छु– भएका राम्रा कुरालाई राम्रो भनौं । यो सरकार हटाउनुपर्यो, यो–यो चीजले गर्दा अविश्वास बढ्यो, असमझदारी बढ्यो, हाम्रो समर्थन नरहने भयो भन्नु नै पर्याप्त हुन्छ । यहाा अनेक खालका कुरा समावेश गरेर ल्याइएका आठवटा बुादामा सत्यता छैन । कतिपय कुरा ठीक पनि होलान् । कतिपय अरू कुराले चिन्ता ल्याएको पनि होला । ती चिन्ताहरूलाई पनि हामीले बुझ्नुपर्दछ । एकअर्काको चिन्ता, सरोकार र भावनालाई राम्ररी बुझ्न सक्ने हो भने एउटै चीज हो– मिलनबिन्दु देश र नेपाली जनताको हित । त्यो मिलनबिन्दुलाई केन्द्रमा राखेर हामी अघि बढ्ने हो भने यो देशको कल्याण हुन्छ । यिनै कुरामा सबैको ध्यान जाओस् ।
(सरकारविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफलका क्रममा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले साउन ८ गते व्यवस्थापिका–संसद्मा गरेको सम्बोधन)
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply