राइट टर्नभन्दा राइट टर्न गर्नु जियोपोलिटिक्स हो ?
के हो जियोपोलिटिक्स भनेको ?
नेपालको परराष्ट्र नीति र परराष्ट्र सम्बन्ध धेरैधेरै गम्भीर, ठूलो र जटिल विषय होइन । नेपाल आकारमा दुईटा छिमेकीको तुलनामा अलिक सानो छ । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध कि दक्षिणको भूगोल कि दक्षिणको आकाश पार गरेर मात्र अर्को देशमा पुगिन्छ, कि उत्तरको भूगोल, उत्तरको आकाश पार गरेर मात्र अर्को ठाउँमा पुगिन्छ । मलाई के लाग्छ भने हामीले धेरै तीनतासेले शब्द फिटेझैं धेरै फिटेर केही अर्थ छैन । एकेडेमिक एक्सरसाइजले धेरै केही गर्दैन । सोझो हिसाब छ– हाम्रो देशको सार्वभौमसत्ता, हाम्रो देशको स्वतन्त्रता, हाम्रो आफ्नो आन्तरिक मामिलाहरूमा निर्णय अधिकार हुन्छ । हाम्रो भौगोलिक अखण्डता, हाम्रो समृद्धिका आकांक्षाहरू अथवा हाम्रा हितहरू र हाम्रो स्वाभिमान यत्तिलाई हामीले ध्यानमा राख्छौं । यत्ति कुरा हाम्रो मानियोस्, हामी चाहन्छौं । यत्ति कुरा हामी छाड्न सक्दैनौं । हामी हाम्रा छिमेकीहरूसँग सुमधुर सम्बन्ध राख्छौं । यी चिजहरूका निम्ति हामीले सुमधुर सम्बन्ध राख्न जरुरी छ, राख्छौं । हामी मित्रतापूर्ण सम्बन्ध राख्छौं । कसैसँग हामीलाई म झमेला गर्नु छ, न झगडा गर्नु छ, न कसैसँग वैरभाव राख्नु छ, न वैरभाव राख्ने हाम्रो भौगोलिकलगायतका अरू हिसाबले हैसियत पनि छैन । हामी त्यो चाहँदा पनि चाहँदैनौं । हाम्रा निम्ति त्यो आवश्यक नै छैन । हाम्रा ठूल्ठूला ग्लोबल इन्ट्ेरस्टहरू छैनन् । ग्लोबल्ली हामी कामना मात्र गर्न सक्छौं । विश्वका सम्बन्धमा हामीले के गर्न सक्छौं र ? कसैले केही आक्रमण गरेर कब्जा गर्न खोज्यो भने ‘मंगलम् भगवान विष्णु, मंगलम् गरुडध्वज, शान्ति, …शान्ति …शान्ति’ भन्ने त हो । हाम्रो इन्ट्रेस्ट त कुनै फौजी प्रतिस्पर्धामा छैन । कतै कसैले अर्घेल्याइा गर्न खोज्यो भने ‘मंगलम् भगवान विष्णु… भन्ने हो । हाम्रो आफ्नो नेसनल सोभर्निटी, इन्ट्रेस्टजस्ता कुराहरू जोगाउने हो, यी कुराहरूको सम्मान होस् है भन्ने हो । म थुप्रै कुरा सुन्छु । आफ्नो भौगोलिक अवस्थिति थाहा पाउनुपर्छ, जियोपोलिटिक्स थाहा पाउनुपर्छ भनेको सुन्छु । हो, थाहा पाउनुपर्छ । नेपालीलाई थाहा छैन जियोपोलिटिक्स ? कुनचाहिँ नेपाली दक्षिणमा विशाल भारत र उत्तरमा विशाल चीन छ भन्ने थाहा नभएको छ नेपालमा ? जियोपोलिटिक्सका नाममा राइट टर्नभन्दा राइट टर्न गर्नुपर्ने लेफ्ट टर्नभन्दा लेफ्ट टर्न गर्नुपर्ने जियोपोलिटिक्स हो ? अथवा, ससाना सूक्ष्म व्यवस्थापनका पक्षहरूमा, निर्णयहरूमा राष्ट्रको स्वाधीनतालाई अन्डरमाइन्ड गर्दा पनि चुप लाग्नुपर्ने अथवा त्यो गर्नुहुँदैन भन्न नहुने वा नसक्ने जियोपोलिटिक्स ? हामी कसैका विरुद्ध छँदै छैनौं, हुनै सक्दैनौं । कसैका विरुद्ध हुने हामीलाई आवश्यकता पनि छैन । हामी सबैसँग मित्रता चाहन्छौं । कसैबाट लादिन चाहँदैनौं । हामी इम्पोज्ड गरिएका अरूका स्वार्थहरू बोकेर हिँड्न किन बाध्य हुन्छौं ? किन विवश हुन्छौं ? म भन्न चाहन्छु– यो एक्काइसौं शताब्दी हो । आज परापूर्वकालको जमाना होइन । मैले यसै ठाउँमा भएको एउटा कार्यक्रममा भनेको थिएँ– त्यही जंगलमा बाघ छ, त्यही जंगलमा मृग छ, त्यही जंगलमा हरिण छ, तिनले आफ्ना बच्चा आफ्ना बुझाइबाट कतापट्टि बाघ छ, त्यसबाट कसरी बचाउने भन्ने जानेको हुन्छ । त्यहाँ कुनै नियमको कानुनले केही पनि काम गर्दैन । खालि जुक्ती, तरिकाले मात्र बच्चा जोगाउने हो । हिजो हाम्रो पुर्खाले त्यसरी नै जोगाए । एउटा परिस्थिति थियो हिजो । आज संयुक्त राष्ट्रसंघ छ । अन्तर्राष्ट्रिय सम्बन्धहरू छन् । आज बेग्लै खालका नियमहरू छन्, थितीहरू छन्, अन्तर्राष्ट्रिय सम्बन्धका आधारहरू छन् । आज हामी अन्तर्राष्ट्रिय कानुन, अभ्यासहरूबाट पनि निर्देशित छौं । अब एउटा नेपालले कुन देशसँग बाटो जोड्न हुने, कुन देशसँग बाटो जोड्न नहुने ? यो पनि कुनै परराष्ट्र नीतिको एकदमै जटिल विषय हो र ? होइन ।
दुईटा छिमेकी छन्, दुवैतिर बाटो जोड्नुपर्छ । दुवैतिर व्यापार गर्नुपर्छ । अनि यसो गर्दा हाम्रो भूगोल बुझिएन, जियोपोलिटिक्स बुझिएन ? जियोपोलिटिक्स बुझ्दा के हुन्छ ? एउटा देशसँग बाटो बनाउनुपर्छ, अर्को देशसँग बाटो बनाउनुहुँदैन, त्यही हो जियोपोलिटिक्स बुझेको ? कि जियोपोलिटिक्स बुझ्दा, ती दुईटाभन्दा अरू धेरै देश छिमेकी आउँछन् ? दुईटा छिमेकी छन्, दुईतिर सम्पर्क गर्ने । दुईटासँग विशेष, निकट मित्रतापूर्ण, राम्रो सम्बन्ध हुनुपर्छ, जसले देशका लागि फाइदा होस् ।
हामीले पेट्रोलियम अन्वेषण गर्न किन नपाउने ?
हाम्रो परराष्ट्र नीति अरूका जायज स्वार्थलाई कुठराघात नगर्ने हुनुपर्छ । कसैका अहम् तुष्टि हामी गर्न सक्दैनौं । हामीले कसैका जायज हितहरूलाई तलमाथि गर्नुपर्ने आवश्यकता नै छैन । हामी दुवैतिरका विकासबाट लाभ लिन चाहन्छौं । नेपाललाई अगाडि बढाउन चाहन्छौं । सीधा छ कुरा । दैलेखमा पेट्रोलियम अन्वेषण गर्दा किन चित्त दुख्ने ? दुनियाँले पेट्रोलियम अन्वेषण गर्न पाउने, निकाल्न पाउने, खोज्न पाउने हामीले नपाउने ? हामी रेल पनि चलाउँछौं । रेलमा पनि हिँड्छौं । किन चित्त दुख्ने ? हामी अलिक आधुनिकतातिर जान चाहन्छौं । हाम्रो देश अत्यन्त उर्वरभूमि, स्रोतहरूले भरिएको भूमि, विद्वान्, वीरता र गौरवपूर्ण पुर्खाका सन्तान हामी, मेहनती जनसंख्या भएका हामी । हाम्रा युवाहरूले बाहिरसमेत गएर विभिन्न ठाउँका विकास निर्माणका काम अगाडि बढाएका छन् भने हामी आफ्नै ठाउँमा किन गर्न सक्दैनौं ? हाम्रो बाटो त्यतापट्टि हो । हामी रोजगारीमा बढीभन्दा बढी अवसर सिर्जना गरौं देशभित्र, ताकि तयार हुने नयाँ श्रमशक्ति अथवा उत्पादक शक्तिले देशमा प्राप्त गर्ने रोजगारीको अवसरले देशको विशाल घाटालाई परिपूर्ति गरेर नाफामा लैजाऔं र विस्तारै विदेश जाने क्रमलाई रोकौं ।
छौंडा खेलाएर दुख नदिइयोस
अहिले छोटो समयमा, संविधान जारी भए यताको समयमा एउटा आशावादिता जागेको छ । त्यस आशावादिताले युवाहरू विदेश जाने संख्या न्यून गराएको छ । बिस्तारै त्यो अझ न्यून हुादै जान्छ । हामीले धेरै कुरा गर्नेभन्दा कहीा तीव्र गतिका साथ आर्थिक विकासका योजनाहरू, नीतिहरू अगाडिअगाडि बढाउनुपर्छ । छटपटाउनेहरूले, राजनीतिक स्वार्थ देश र जनताका स्वार्थभन्दा माथि हुन्छन् भन्नेहरूले आलोचना गर्नु बेग्लै कुरा हो, तर हामीले यस वर्ष योजनासहित, दृष्टिकोणसहित, विकासका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छौं । त्यस नीति कार्यक्रमलाई कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका छौं । मलाई अचम्म लाग्छ, कत्तिले भन्ने गर्छन्, यसले भारतसागको सम्बन्ध बिगार्यो । म प्रधानमन्त्री हुादा यस देशमा, तराईमा आगो बलेको थियो । लगभग चार दर्जन मानिस मारिइसकेका थिए । सुरक्षाकर्मी, राजनीतिक कार्यकर्ता र सर्वसाधारण मारिने क्रम थियो । नाकाबन्दी थियो । हुन त नाकाबन्दीको कुरा सम्झिनु सामन्ती राष्ट्रवाद हो भन्ने विद्वान् अहिले अचानक प्रकट भइराख्नुभएको छ । फेरि मलाई अलिक गजब के लागेको छ भने मैले चीन भ्रमणमा जाादा एउटा चिनियाा नाटक हेरेको थिएा । त्यो नाटकमा एउटा गजबको कला हुादो रहेछ । उनीहरूले मास्क अर्थात् मुकुण्डो लगाएका हुन्छन् । यसो मुन्टो झट्कार्दा बादशाह देखिन्छ, फेरि मुन्टो झड्कार्दा साम्राज्ञी आइपुग्छिन् । फेरि मुन्टो झट्कार्दा गुलाम आइपुग्छन् । यो मुन्टो झट्कार्दा सबै परिवर्तन हुन्छ । नेपालमा पनि मुन्टो झट्कार्दापिच्छे मास्क फरकफरक परिवर्तन भइरा’छ । गज्जबको आर्टिटिक्स पोलिटिक्स अहिले यहाँ देखिएको छ । म नेपालको नीति भन्न चाहन्छु । कसैसँग दुश्मनी नगर्ने, कसैका उचित, जायज स्वार्थलाई बेवास्ता नगर्ने । उचित चासो, चिन्ताहरूलाई ध्यानमा राख्ने । सबैसँग मित्रता राख्ने । आफ्नो उन्नति गर्ने । यही हो नेपालको नीति । कुनै पनि मित्रराष्ट्रहरूले यस्तो नठानून् कि आफ्ना स्वार्थहरू हामीमाथि लाद्ने कोसिस नगरून् । आफ्ना मान्यताहरू लाद्ने कोसिस नगरून् । कसैलाई यहाँ सेक्युलारिज्म नभई भएको छैन कसैलाई हिन्दुइज्म नभई भएको छैन । नेपाली जनतालाई गर्न दिनुस् न–सेक्युलारिज्म हो कि हिन्दुजम हो ? हामी गर्छौं नि । कुन धर्म, कुन आस्था, कुन विश्वास मान्ने भन्ने हाम्रो कुरा हो । त्यसमा कोही किन धेरै कसिनुपरेको ? के छ र त्यसमा ? जेजे बनाउनुछ त्यो बहादुरीका साथ आ–आफ्नो देशमा बनाउनुस् न ! हामी पनि आफ्नो देशमा गर्छौं । अर्को देशको हितका निम्ति, अर्को देशको आकांक्षाका निम्ति, अर्को देशको तुष्टिका निम्ति हामी कुनै पनि देशसँग सम्बन्ध निर्धारित गर्दैनौं । हाम्रा निम्ति, नेपालका निम्ति, विश्व शान्तिका निम्ति, विश्वको वातावरण संरक्षणका निम्ति, के गर्न सकिन्छ, त्यो हामीलाई थाहा छ । अन्तर्राष्ट्रिय नियम पनि थाहा छ । तर, अरूका स्वार्थ लाद्ने कुरा, हाम्रा मामिलामा अरूका हस्तक्षेप थोपर्ने कुरा मान्य हुँदैन । गाउँघरमा भनेजस्तो एउटा विचित्रको स्थिति छ । हाम्रा मित्रहरूले मित्रको ठाउँमा बसेर हामीसँग व्यवहार गरून् । छौंडा खेलाएर रात दिन दु:ख दिने होइन । अत्यन्तै बेठीक तरिका हो त्यो ।
हालिदिएको ब्याट्री रत्नपार्क आउदै आउटडेटेड
अहिले संविधान बनाइयो/बनाइएकै हो । संविधान बनाएपछि जुन संख्याले सरकार बन्यो, त्यो यथार्थ नै हो । कसैले अहिले आएर होइन, यो सरकार बन्नुभन्दा अगाडिदेखि बन्न नै नदिने प्रयास पनि भयो, त्यो साँच्चै हो । तर, बन्यो । त्यसलाई करेली लगाउन खोजियो, लगाम लगाउन खोजियो । पिठ्यूामा जिक्का टिन कस्न खोजियो । सवार भएर कोही चढ्न खोजियो । नमानेपछि रिस उठ्यो । यिनीहरू त कस्तो, हामीलाई पिठ्याूमा, काँधमा चढ्न पनि दिादैनन् भनियो । हामी यो नगरौं, बसौं मित्रहरू भनियो । मलाई अहिले चिन्ता छ, अर्काे बलेको तराईलाई साम्य पारियो । त्यो साम्य भएकै हो । माग पूरा गरेर कि नगरेर ? माग त केही भए पो पूरा गर्नु । मैले यो चर्चा गर्छु नि । हालिदिएको ब्याट्री रत्नपार्कसम्म आइपुग्दा आउटडेटेड हुन्छ । सकिन्छ । यो थाहा नपाएझैं गर्दा या नबोल्दा सम्बन्ध राम्रो हुन्छ, त्यो पो हो त कूटनीति भन्ने पर्या छ कसैलाई । कूटनीतिभन्दा माथि नेपालको हित नीतिचाहिँ पहिलो हो र नेपालको स्वाभिमान नीतिचाहिँ पहिलो हो ।
मैले कहिल्यै कार्ड खेलेको छैन
ऐतिहासिक रूपले हामीले केही काम गरेका छौं, यसबीचमा । भारतसँग धेरै नराम्ररी सम्बन्ध बिग्रिएको थियो । त्यसलाई सामान्यीकृत गरियो र विशाखापटनसमेतको प्रयोगलाई सम्झौता गरियो र अरू काम पनि गरियो । एउटा सोभरेन्ट देशको स्टाटस पूर्णतया मेन्टेन गरियो । दुईटा सार्वभौमसत्ता सम्पन्न छिमेकी मित्रहरूको तहमा सम्बन्धहरू गरी भारतसँगको सम्बन्ध त्यसै आधारमा भएको हो । मलाई डर छ– अब फेरि बिग्रन्छ । त्यो स्टाटस खुस्काउनेबित्तिकै बिग्रिहाल्छ । हामी दुईटा भूगोलबाट घेरिएका छौं । चीनसँग पारवहन र आवागमन हाम्रो अधिकार हो । हामी उहाँहरूसँग आग्रह गर्यौं । सम्झौता पनि गर्यौं । मलाई विचित्र लाग्यो, हाम्रो देशका कतिपय सञ्चारमाध्यमहरूले बडो दु:ख मनाउ गरे । यो त हाम्रो मुठीमा थियो, हामीले नाकाबन्दी गर्दा भोकै मथ्र्यौं, हामीले नाकाबन्दी गर्दा यिनका चुलोमा ग्याँस बल्दैनथ्यो, अब अर्को देशतिरबाट पनि बाटो खुलेपछि त नाकाबन्दी हामीले गर्न नपाउने नै भयौं । हाम्रो हातबाट फुत्कियो भन्दै छन् । अनि कुरा चल्ने गर्यो, कहाँ अड्कियो ? म भारत भ्रमणमा जानुभन्दा पहिले पनि कार्डको कुरा चले । मैले भनें– मैले कार्ड कहिल्यै खेल्या पनि छैन, कार्ड थाहा पनि छैन, कार्डको मतलब छैन, म कार्ड चिन्दा पनि चिन्दिनँ । खालि राष्ट्रिय हितहरूको रक्षा र संवद्र्धन गर्ने कुरा हो । म ढुक्कसाथ भन्न सक्छु– दुनियाँका सबै मित्रहरू जोसुकैसाग पनि आँखा जुधाएर कुरा गर्न सक्छु । हामीले कसैको अहित गरेकै छैनौं । कसैको अहित चिताएका पनि छैनौं । आफ्नो राष्ट्रको हित गर्न पाइन्छ । तर, हामीले गरेका कामहरूको सन्दर्भमा कुनै जायज असन्तुष्टि छ भने सुनौं न त हामी । चीनसँग हामीले अरू पनि सम्झौता गर्यौं । भारत, चीन दुवैसँग सम्झौता गर्यौं । एउटा स्वतन्त्र राष्ट्रका हैसियतले हाम्रो देशको हितलाई ध्यानमा राखेर, हाम्रा समृद्धितर्फका यात्रालाई, हाम्रा विकासको चाहनालाई अगाडि बढाउन हामीले सम्झौताहरू गर्यौं । बिल्कुल ठीक गरेका छौं । नेपाल यसै गरेर अगाडि बढ्नुपर्छ । यसैगरी अगाडि बढ्छ ।
नेपालका गुाडमा के का अण्डा ?
कागका गुँडमा कोइलीले आफ्ना अन्डा खुत्रुक्क हालिदिन्छ र त्यहाँबाट बच्चा निकाल्छ । यहाँ नेपालका गुँडमा पनि कहाँ–कहाँबाट के–केका अन्डा हालेर के–केका बच्चा अनौठो ढंगले निक्लिएजस्तो देखिादै छ । तर, नेपाली जनताको सजगता असाधारण र अभूतपूर्व छ । अब यो जागरण पछाडि फर्कन सक्दैन । नराम्रोभित्र सायद अलिकति राम्रो भएको हुनुपर्छ । तुलनात्मक रूपमा पनि मान्छेले हेर्न पाउँछ । अरू भ्रमहरू पनि अब टुट्नेछन् अब । के भ्रमहरू टुट्नेछन् भने आफूले जसो गर्यो त्यसै गराइने भयो भने । मैले केही सञ्चारमाध्यम हेरेको थिएँ– ‘अब हाम्रा दिन आए, हामी पुनरोदय भयौं । अब के–के भो, के–के भो । दसैं आयो भनेर केटाकेटी आँगनमा निस्केर नाचेजस्तो देखियो । तर, म भन्न चाहन्छु– त्यस्तो केही पनि हुनेवाला छैन नेपालमा । अब बन्ने सरकार पनि जस्तो पायो त्यसै गर्न स्वच्छन्द हुन सक्दैन । सचेत नेपाली जनता त्यसको निगरानीको घेरामा हुन्छन् । त्यसकारण, बनिन्जेल एउटा कुरा, बनेपछि चल्नचाहिँ सचेत नेपाली जनताले हेरिरहेको हुन्छ । चल्न त नेपालमै चल्ने होला नि । त्यो सरकार अन्त गरेर चल्ने होइन होला । यही नेपालमा चल्ने हो, जहाँ नेपाली जनतामा काफी जागरण आइसकेको छ । खासगरी नयाँ पिाढी यसरी जागेको छ, तसर्थ यसलाई धेरै तलमाथि गर्न सकिने सम्भावना छैन ।
चुनाव नगराउने षड्यन्त्र
कार्यक्रममा कार्यपत्रमाथि आधारित भएर नै गम्भीर छलफल गर्दै हुनुहुन्छ, यसपछिको सत्रमा । मैले अहिल्यै नै अब विभिन्न विषयमा धेरै भनिरहनु आवश्यक छ जस्तो लाग्दैन । मैले धेरै केही गरें भन्ने मलाई लाग्दै लाग्दैन । मैले खालि नेपाली जनताको चाहनालाई, हामी नेपाली यस्तो पो चाहन्छौं भनेर यसो प्लेकार्ड उठाएको, ‘दिस इज द डिजायर अफ अस, वी नेप्लिज पिपुल वान्ट दिस’, त्यति हो भनेको । यो मेरो विषय होइन । अर्थात्, मेरो मात्र विषय त हुँदै होइन । केहीकेही बेग्लै प्रकृतिका होलान्, तर यो ३ करोड नेपालीको विषय हो । मलाई एउटा कुराको चिन्ता छ– गम्भीर खतरा पैदा भइ नै सक्यो, संक्रमणकाल समयमा नटुंगिने । मंसिरमा चुनाव नगरेर फागुन–चैतनमा लैजाने भनिसक्नुभयो, त्यो नगर्ने कुरा हो । चैत–वैशाखदेखि मंसिरसम्ममा कतिवटा चुनाव गर्नुहुन्छ ? स्थानीय निकाय, प्रादेशिक या प्रतिनिधि सभा, के–केमा निर्वाचन गरिसक्नुहुन्छ ? एकैचोटि सबै निर्वाचन गर्नुहुन्छ ? एकजना मान्छेले मतपत्र पनि डोकामा बोकेर हिँड्नुपर्ने जस्तो हुन्छ । कतिवटा मानिसका, कतिवटा वडाका, कतिवटा नगरका देखि प्रादेशिकसम्म । न मान्छे चिनिसाध्य, न उनले गएर भनिसाध्य ? वडाको प्रचार गरोस् कि गाविसको प्रचार गरोस् कि संसद्को प्रचार गरोस् कि प्रादेशिक सदस्यको प्रचार गरोस् कि, मान्छे त तिरीमिरी हुन्छन् । यो गर्ने कुरा होइन र नगर्ने बाटो समाउन गरिएको हो । मैले सञ्चारमाध्यममा हेरें– अहिले सरकार गठनमा जुटेका ठूला दलहरूले जनताको खपतका निम्ति आगामी फागुन–चैतसम्म स्थानीय निकायको निर्वाचन गर्ने भन्ने नोटिस टाँसिदिने, यथार्थ निर्देशन तामेल गर्नचाहिँ नगर्ने । चुनावचाहिँ नगर्ने । निर्देशन तामेलीचाहिँ त्यसरी गर्नेवाला छ । म भन्न चाहन्छु– स्थानीय निकायको कुरा छाडिदिऊँ, प्रदेशका कुरा छाडिदिऊँ, पहिले प्रतिनिधिसभाको निर्वाचन गर । किनभने ०७८ माघ ७ भित्र प्रतिनिधि सभाको निर्वाचन भएन भने देश फेरि भ्याकुममा जान्छ । मलाई लाग्छ, सायद निर्वाचन हुन नदिने एउटा भयानक जनप्रतिनिधि संस्थाविहीनताको रिक्ततामा फेरि पुर्याउने खेल हुँदै छ । पहिलो संविधानसभा भंग गराएर त्यही पुर्याइयो । दोस्रो संविधानसभाबाट संविधान बन्न नदिएर त्यहाँ पुर्याउन खोजिएको थियो । अहिले सरकार परिवर्तन गरेर त्यहीँ पुर्याउन खोजिएको छ । नेपाली जनता सजग हुनुपर्छ । एउटा मान्छेका एउटा सानो स्वार्थ समूहका स्वार्थहरूलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्वार्थलाई ड्यामेज गर्ने खालका प्रयासहरू चानचुने होइनन् । हामी सजग हुनुपर्छ ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply