२७ लाख डुबाउनेलाई बढुवाको कसरत
काठमाडौं । अनियमितता र भ्रष्टाचारले थिलोथिलो बनेको नेपाल वायुसेवा निगममा फेरि अर्को अनियमितताको कसरत भएको छ । निगमका विवादास्पद र सोझै निगमलाई २७ लाख डुुबाउने कर्मचारीलाई गुपचुपमा बढुवा गर्ने योजना बनाइएको छ । यसरी बढुवा हुँदै गरेका पात्रलाई निगमकै उच्च अधिकारीहरूको सहानुभूति रहेकाले ती अधिकारीहरू पनि सन्देहको घेरामा परेको बताइन्छ ।
वाइड बडी जहाज खरिद गर्ने टेन्डर आह्वान भइसकेर निगमका उच्च अधिकारीहरू त्यही खेलोमेलोमा लागेका बेला एक्कासि बढुवाको प्रसंग पनि उठेको हो । निगमका आठौं तहका निमित्त प्रमुख महेश मरितालाई त्यसरी बढुवा गरी नवौं तहमा लगेर डेपुटी डाइरेक्टर बनाउन गृहकार्य भइरहेको बताइन्छ । इन्जिनियरिङ विभागका हर्ताकर्ता रहेका मरिता भारतको मुम्बईमा रहेको एक कम्पनीलाई जहाजको सिट तथा क्याबिनसम्बन्धी तालिम प्रदान गर्ने प्रयोजनका लागि भन्दै २५ हजार अमेरिकी डलर भुक्तानी गरेर विवादमा आएका थिए । सुरुमै सेटिङका आधारमा रकम निकासा गरिएको तर उक्त कम्पनीले तालिम दिन नसकेपछि निगमलाई उक्त रकम घाटा लागेको थियो ।
मरितालाई बढुवा गर्नकै लागि देखावटी परीक्षा लिइसकेको र अब परिणामको पर्खाइमा रहेको बताइन्छ । प्रतिस्पर्धामा अन्य व्यक्तिहरू रहे पनि मास्टर्स गरेको हुनुपर्ने भन्ने प्रावधान राखेर उनलाई नै बढुवा गर्ने तयारी गरिएको निगम स्रोतले बतायो । शैक्षिक योग्यताको थप नम्बरांकन गरेर मरितालाई नै बढुवा गर्ने गरी परीक्षा लिने बेलामा नै सेटिङ मिलाइएको निगम स्रोतको दाबी छ ।
तर, उक्त कुराको बचाउ गर्दै केही अधिकारीहरू भने ‘सानो भूल भएको’ जवाफ दिने गरेका छन् । तर, त्यति धेरै रकम भूल भयो भन्दैमा निगमले माया मार्न नसकिने बरु उसैबाट असुलउपर गर्नुपर्ने र अन्यथा निकासा गर्ने कर्मचारीबाट शोधभर्ना गर्नुपर्ने कुरा उठेको छ । उक्त कम्पनीको हैसियत नै नबुझी रकम निकासा गरिएको र पछि बुझ्दा उक्त कम्पनी त्यस्तो खालको तालिम गराउन सक्ने कम्पनी नै नभएको पुष्टि भएको छ । तालिम गराउन नसकेपछि निगमले रकम फिर्ताका लागि प्रयास गर्दा उसले रकम दिन पनि आनाकानी गर्दै आएको बताइन्छ ।
पहिल्यै पुरै रकम पठाउन आवश्यक नहुँदा नहुँदै पनि मोटो रकम कमिसनका लागि इन्जिनियरिङ विभागले उक्त निर्णय गरेको निगमका कर्मचारीहरू बताउँछन् । सुरुमा थौरै रकम पेस्कीस्वरूप पठाउँदा पनि हुने अवस्था थियो । तर, कमिसन बाँडेर मालामाल हुने सुरले उक्त रकम एकैचोटि निकासा गरिएको निगमका कर्मचारीहरूको गुनासो छ ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply