आयल निगमको कार्यकारीमा क–कसको नजर ?
काठमाडौं । सबैभन्दा आकर्षक मानिँदै आएको नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा धेरैले आँखा लगाएका छन् । तेल भण्डारणका लागि जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार आरोप लागेपछि मन्त्रालयमा तानिएका गोपाल खड्काले जेठ २४ मा निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएपछि पद रिक्त भएको हो । अहिले इन्जिनियर सुशील भट्टराईले निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक रिक्त भएको चार महिनासम्म पनि नयाँ नियुक्ति नगरी निमित्तकै भरका संस्था चलाइरहेको छ । सरकारले मन्त्रालय तानेर भट्टराईलाई निमित्त दिए पनि लामो समयसम्म निगममा फर्किन खड्काले प्रयास गरेका थिए । सो प्रयास सार्थक हुन नसकेपछि उनले राजीनामा दिएका थिए । खड्काले राजीनामा दिनुअघि र त्यसपछि पनि निगम निमित्त कार्यकारी निर्देशकका भरमा सञ्चालन हुँदै आएको छ ।
कार्यकारी निर्देशक नभएका कारण निगमका कामकारबाहीमा असर परिरहेको बताइन्छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव भने कार्यकारी निर्देशक नियुक्तिको विज्ञापन निकाल्ने पक्षमा अझै देखिएका छैनन् । संस्थान निर्देशन बोर्डअन्तर्गत खुला प्रतिस्पर्धाबबाट वा ती धाराहरू निलम्बन गरेर सिधै मन्त्रिपरिषद्बाट पनि निगमको कार्यकारी निर्देशक नियुक्ति गर्न सकिन्छ ।
निगमको कार्यकारी निर्देशक छनोटका लागि सार्वजनिक विज्ञापन निकाल्नुपर्छ । तर, चार महिनासम्म पनि मन्त्री यादवले नियुक्तिका लागि प्रक्रिया सुरु गरेका छैनन् । उनी निगमको कार्यकारी निर्देशकका लागि कसले बढी कबोल गर्छ भन्दै मोलमोलाइमा लागेको आरोप छ । निगमको कार्यकारी निर्देशक हुन आकांक्षा राख्ने अहिलेकै निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई, मुकुन्द घिमिरे र जनक शिक्षा सामग्री केन्द्र डुबाएका अनिलकुमार झालगायतका सरकारका पूर्वउच्च अधिकारीसँग पनि मन्त्री यादवले भेट गरिसकेका स्रोतको दाबी छ ।
निगमको कार्यकारी निर्देशकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलको नाम लिए पनि मन्त्री यादवले उनको नाम ठाडै अस्वीकार गरेको बुझिएको छ् । पछिल्लो समय मन्त्री यादव र उनको पीए टिम पैसा कमाउनेतिर केन्द्रित भएको बताइएको छ । उनले आयल निगमको कार्यकारी निर्देशकका लागि १५ करोड रुपैयाँसम्म दिने दाता खोजिरहेकाले पनि नियुक्ति प्रक्रिया लम्बिन पुगेको स्रोतले बताएको छ । अहिले निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साह, योजना, प्रशासन तथा मानव संशाधन विभाग प्रमुख विशाल ओझा, आपूर्ति वितरण विभाग प्रमुख वीरेन्द्र गोइत, गुणस्तर नियन्त्रण तथा अनुगमन विभाग प्रमुख करुणा क्षत्री, एलपीजी तथा एभिएसन विभाग प्रमुख दीपक बराल, अर्थ विभाग प्रमुख रविनचन्द्र अधिकारीलगायत कार्यरत छन् । उनीहरूमध्ये पनि कार्यकारी निर्देशकको रेसमा रहेको बताइएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply