प्रमको जिल्लावासीलाई धमाधम नियुक्ति
काठमाडौं । प्रधानमन्त्रीको जिल्लावासी हुनु र कुनै राजनीतिक नियुक्ति नपाउनु ? योजति अपत्यारिलो विषय अरू केही हुन सक्दैन । प्रधानमन्त्रीको जिल्लावासी भएकै हैसियतले पछिल्लो समय झापाका केही मानिसले राम्रै फाइदा उठाएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको जिल्लावासी भएकै हैसियतले मदन खरेलले फाइदा उठाउन पुगेका छन् । खरेललाई केही दिनअघि मात्रै नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको छ । वायुसेवा निगममा कार्यकारीकै हैसियतमा महाप्रबन्धक सुगतरत्न कंसाकार हुँदाहुँदै कंसाकारको ‘सौता’का रूपमा खरेललाई ल्याइएको हो । यसअघि चारवर्षे कार्यकाल पूरा नगरी राजीनामा दिएर वायुसेवा निगम छाडेका खरेललाई जिल्लावासी भएकै हैसियतले प्रधानमन्त्री ओलीले अध्यक्षमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीको जिल्लाबासी नवीन घिमिरेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएको छ । घिमिरेको नाममा संसदीय सुनुवाइ हुन बाँकी रहेको छ । दक्ष प्रशासकका रूपमा चिनिने घिमिरेलाई क्षमताकै आधारमा अख्तियार प्रमुख बनाइए पनि प्रधानमन्त्रीको जिल्लावासीको ट्याग भने उनलाई लाग्न पुगेको छ । २०५१ सालमा वर्तमान प्रधानमन्त्री ओली गृहमन्त्री हुँदा घिमिरेलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाइएको थियो ।
यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडा पनि झापा निवासी नै हुन् । मन्त्री बन्नुअघि अर्थ मन्त्रीका लागि खासै चर्चा नभएका डा. खतिवडालाई एकाएक अर्थ मन्त्री बनाइएको थियो । उनलाई राष्ट्रिय सभामा ल्याउनेदेखि अर्थमन्त्री बनाउनेसम्ममा प्रधानमन्त्री ओलीकै जोडबल रहेको बताइन्छ । पहिलोपटक आफू प्रधानमन्त्री हुँदा झापाकै अग्नि खरेललाई ओलीले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त गरेका थिए । बीचमा ओली र खरेलबीच केही तिता–टर्रा भए पनि दोस्रोपटक प्रधानमन्त्री बन्दा भने खरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
प्रधानमन्त्रीको जिल्लावासी भएकै कारण ‘भाग्य’ चम्किएका अर्का पात्र हुन्, नरेन्द्र दाहाल । पूर्वसचिव दाहाललाई ओलीकै जोडबलमा निर्वाचन आयोगको आयुक्तमा नियुक्त गरिएको थियो । यस्तै, इन्जिनियरिङ काउन्सिलमा नियुक्ति पाएका डिल्लीराम निरौला पनि झापाकै हुन् । लामो समय एमालेको मजदुर संगठनमा रहेर काम गरेका झापावासी उमेश उपाध्यायलाई भने बिमा कम्पनीमा नियुक्त गरिएको छ । पत्रकारिता क्षेत्रमा रहेर ठगी गरेको आरोपमा पटकपटक प्रहरी हिरासतमा पुगेका झापाकै दीपक पाठकलाई भने रेडियो प्रसार विकास समितिको सञ्चालक समितिमा नियुक्त गरिएको छ ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply