वामदेवका नाममा नेतृत्वमा साझा सहमति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता वामदेव गौतमलाई काठमाडौं–७ बाट चुनाव लडाउने भएको छ । लामो समयदेखि गौतमलाई चुनाव लडाउन नेतृत्वकै सहमतिमा विभिन्न निर्वाचन क्षेत्रको खोजी हुँदै आएको थियो । सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले काठमाडौं–७ बाट चुनाव लडाउन गरेको प्रस्तावप्रति शीर्ष नेताहरूसहित सबैले सहमति जनाएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतापछि गौतमजस्तो व्यक्तित्व संसद्का लागि आवश्यक रहेको भन्दै उपयुक्त क्षेत्रमा चुनाव लडाउनुपर्ने प्रस्ताव गर्दै आएका थिए ।
गत निर्वाचनमा बर्दिया–१ बाट नेता गौतम कांग्रेसका सञ्जय गौतमसँग थोरै मतान्तरमा पराजित भएका थिए । पार्टी एकताका लागि अथक मिहिनेत गरेका गौतमको पराजयलाई पार्टीभित्र मात्र होइन, सबैतिर आश्चर्यका रूपमा हेरिएको थियो । तत्कालीन माओवादी केन्द्रसँगको तालमेलबाट भारी मतसहित वामदेव विजयी हुने अपेक्षा गरिएको थियो । तर, पराजयलाई उनी स्वयंले मात्र होइन, पार्टीले नै अस्वाभाविक मानेका कारण छानबिन समितिसमेत बनाएर दोषीहरू पत्ता लगाएर पार्टी अनुशासनको कारबाही अघि बढाइएको थियो । यी सबै कारणले गर्दा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल उनलाई उपयुक्त समयमा उपनिर्वाचनमार्फत संसद्मा ल्याउने पक्षमा उभिएका थिए भने महासचिव विष्णु पौडेलले पार्टीले दिएको जिम्मेवारीअनुसार उपयुक्त निर्वाचन क्षेत्रको गृहकार्य गर्दै आएका थिए । अध्यक्ष ओलीको प्रस्तावप्रति गौतमले पनि सहमति जनाएका छन् ।
काठमाडौं–७ मा तत्कालीन एमालेबाट रामवीर मानन्धर निर्वाचित भएका थिए । मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसद्बाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गर्ने तयारी छ । मानन्धर उक्त क्षेत्रबाट दोस्रोपटक १८ हजार १ सय २ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम थापाले १० हजार ७९ मत पाएका थिए । कांग्रेस र राप्रपा मिल्दा पनि मानन्धरले ८ हजारभन्दा बढी फराकिलो मतान्तरमा जितेका कारण गौतमका लागि उक्त क्षेत्र सुरक्षित मानिएको छ । मानन्धर सामाजिक काममा क्षेत्रमा निकै लोकप्रिय नेता मानिन्छन् । उनलाई राष्ट्रिय सभामा सांसद बनाउने नेतृत्व तहमा सहमति भइसकेको बुझिएको छ ।
यसअघि नेता गौतम डोल्पाबाट पर्यटन राज्यमन्त्री धनबहादृुर बूढालाई राजीनामा गराएर डोल्पामा चुनाव उठ्ने सोचमा थिए । तर, उनलाई राजीनामा नदिन क्षेत्रबाट दबाब सिर्जना भएपछि महासचिव पौडेलले बाँकेका सांसद नन्दलाल रोकायसँग राजीनामाका लागि कुराकानी गरेका थिए । तर, त्यहाँ पनि सुनिश्चितजस्तो नदेखिएपछि शीर्ष नेताहरूको पहलमा गौतमलाई काठमाडौं–७ बाट उठाउन लागिएको हो । गौतमले आफू काठमाडौं–७ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न लागेको पुष्टि गरेका छन् । उनले यसबारे बुधबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताए ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply