गौतमले बदनाम बनाए महालेखा
काठमाडौं । शिक्षा मन्त्रालयमा हुँदा आफ्नै श्रीमतीको कापी जाँचेर पास गराई बदनाम भएका सूर्यप्रसाद गौतमले महालेखा नियन्त्रकको कार्यालयलाई पनि दुहुनो गाई बनाएका छन् । महालेखा नियन्त्रकको कार्यालयले विभिन्न सरकारी कार्यालयमा कार्यरत लेखापाल, सहलेखापाल तथा उपसचिवहरूको सरुवा गर्दा आर्थिक चलखेल गर्ने गरेको भन्दै गुनासो बढेको छ ।
उच्च प्रशासकहरू आफन्तलाई निजामती सेवामा प्रवेश गराउन पद र पहुँचको कतिसम्म दुरुपयोग गर्छन् भन्ने गतिलो उदाहरण गौतमले केही वर्षअघि नै देखाएका थिए । पूर्वशिक्षा सचिव रामस्वरूप सिन्हाले छोरी अन्तिमा कुमारी र गौतमले पत्नी इन्दिरालाई लोकसेवाले लिएको शाखा अधिकृत (विद्यालय निरीक्षक) पदको परीक्षाको कापी आफैंले जाँचेर उत्तीर्ण गराएको खुलासा भएपछि सो परीक्षा नै पछि बदर गरिएको थियो र उनीहरू नांगिएका थिए । ठीक यसैगरी अहिले कार्यालय प्रमुख गौतमले सीधै कमिसन लिएर मात्र सरुवा गर्ने काम गर्दै आएको भन्दै गुनासो बढेको छ ।
हरेक वर्ष लेखा समूहका कर्मचारीहरूले मालदार स्थानमा सरुवाका लागि करोडौंसम्म खर्च गर्ने र विभिन्न शक्ति केन्द्रबाट फोन गराउनेसमेत गर्दै आएका छन् । कर्मचारीहरूका लागि अत्यन्त आकर्षक मानिएको लेखा समूहमा कर्मचारी सरुवामा व्यापक आर्थिक चलखेल हुने गर्छ । महालेखा नियन्त्रकको कार्यालयले गरेको लेखा समूहका कर्मचारीहरूको सरुवामा आर्थिक चलखेलकै कारण व्यापक अनियमितता भएको पाइएको हो । पैसाको बलमा सरुवा मापदण्डविपरीत काम भएको भन्दै अधिकांश कर्मचारीहरूले गुनासो गरेका छन् । सो कार्यालयका महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम, प्रवक्ता जगन्नाथ देवकोटालगायत कर्मचारीहरू मिलेर अनियमितता गर्ने गरेको स्रोतले बतायो ।
उनीहरूले आर्थिक चलखेल गरेर मापदण्ड मिचेर सरुवा गरेको बताइन्छ । मूलतः कर्मचारी समायोजनपछि उनीहरू रोजेको स्थानमा जाने भयले उनीहरूलाई धेरै पहिल्यै सरुवा गरिएको र सरुवा गर्दा चलखेल गरेको बताइएको छ । सरुवा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक पार्न भन्दै सरुवा मापदण्ड लागू गरिएको छ । तर, उक्त मापदण्ड देखाउने दाँत मात्र भएको कर्मचारीहरूको गुनासो छ । अधिकांश कर्मचारीहरूको रोजाइ विकासे अड्डा, परियोजनाहरू र ठूलो संख्यामा बजेट प्रवाह र परिचालन हुने कार्यालय पर्छन् । मापदण्डअनुसार अनुसूची ३ मा कार्यरत कर्मचारीहरूलाई १ मा सरुवा गर्नुपर्नेमा राम्रा स्थानबाट राम्रामै र केहीलाई नराम्रा तथा अनाकर्षक स्थानबाट अनाकर्षक स्थानमै सरुवा गरिएको बताइन्छ ।
महालेखा नियन्त्रकको कार्यालय र त्यस मातहतका कोष तथा लेखा नियन्त्रण कार्यालयहरू तुलनात्मक रूपमा आकर्षक मानिन्छ । किनकि, हरेक सरकारी कार्यालयका आन्तरिक अडिटका क्रममा बिल पास गर्दा त्यहाँ सीधै प्रतिशतको हिस्सा माग गरिन्छ । र, त्यसरी अतिरिक्त आम्दानी लिनुलाई वैधानिकजस्तै मानिन्छ । त्यति मात्र होइन, ती अड्डामा काम गर्ने कर्मचारीहरूले ५० प्रतिशत भत्तासमेत पाउँछन् । महालेखा नियन्त्रकको कार्यालयमै बसेर च्यानल मिलाउन सक्ने अधिकांशले मापदण्ड मिचेरै भए पनि आकर्षक स्थानमा बस्ने मौका पाएका छन् । कार्यालयको नियन्त्रक रहेका गौतम शिक्षा मन्त्रालयमा रहँदा आफैंले आफन्तको कापी जाँचेर पास गराएपछि विवादमा आएका थिए । सरकारले उत्कृष्ट कर्मचारी भनेर २०६९ सालका पुरस्कार दिएको उनलाई त्यो साल नै लोकसेवाको कापी जाँच्दा आफन्तलाई पास गरेका थिए ।
गैरकानुनी रूपमा सिन्हा र गौतमले छोरी र पत्नीलाई उत्तीर्ण गराउन प्रश्नपत्र परिमार्जनमा बसेको र आफैंले उत्तरपुस्तिका जाँची उत्तीर्ण गराएको अनुसन्धानबाट खुलेपछि लोकसेवाले दुवैजनाको परीक्षा रद्द गरेको थियो । उनीहरूले ‘नियतवश नै उत्तरपुस्तिका परीक्षण गरेको भन्ने अर्थ गर्न सकिने अवस्था रहेको र प्रश्नपत्र परिमार्जनमा समेत संलग्न रहेबाट नियत सफा नरहेको’ भन्दै आयोगले सूचना जारी गरी अन्तिमा कुमारी र इन्दिराको परीक्षा रद्द गरिएको थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply