नेपालको संविधानमा जबजको प्रभाव
निर्मल भट्टराईनेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधान देशमा लागू भएको आधा दशक अवधि पूरा भएको छ । यो अवधिमा नयाँ संविधानले परिकल्पना गरेका शासकीय संरचनाहरु र तिनीहरुलाई चाहिने ऐन कानुनहरुको समेत निर्माण भएको छ Ι वर्तमान संविधानको प्रावधानअनुसार सम्पन भएको आम निर्वाचनबाट बनेको झन्डै दुइतिहाइ समर्थन प्राप्त सरकारले यस क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
नेपालमा संवैधानिक परम्पराको सात दशकको इतिहासमा वर्तमान संविधान नै सर्वस्वीकृत संविधान हो । जनताद्वारा निर्मित र अनुमोदित संविधान हो Ι यस अघि जारी भएका सबै सम्विधानहरु एकातिर पूर्ण लोकतान्त्रिक थिएनन भने अर्कातिर विवादित पनि थिए Ι जारी हुन नसकेको नेपाल सरकार वैधानिक कानून २००४,नेपाल अन्तरिम शासन विधान २००७ ,नेपाल अधिराज्यको संविधान २०१५,नेपालको संविधान २०१९, नेपालको संविधान २०४७,नेपालको अन्तरिम संबिधान २०६३ हुदै नेपालको वर्तमान संविधान प्रचलनमा आएको हो Ι
मुख्य गरी २०१५ सालको संविधान, २०४७ सालमा जारी भएको संविधान र वर्तमान संविधान जनताको सहभागितामा बनेका हुन् Ι नेपाली कम्युनिष्टहरुको शक्ति मजबुत भै नसकेको बेला राजा(कांग्रेस दाउपेचको बिचमा जारी भएको २०१५ सालको संविधान दुइ वर्ष पनि नपुग्दै शाही कूको शिकार बन्यो Ι जनताले पाएको सिमित लोकतान्त्रिक अधिकारको चीरहरण हुन पुग्यो Ι
२०४७ सालको संविधान जानताको वलिदान र संघर्षबाट प्राप्त संविधान थियो Ι तर संविधान निर्माण तत्कालिन राजनीतिक शक्तिहरुको असहमतिकै विचबाट जारी भएको थियो Ι नेपालको एक कम्युनिस्ट घटक तत्कालिन नेकपा (चौम ) संविधान निर्माणको प्रक्रियाबाटै बाहिरिएको थियो भने ०४६ सालको जनआन्दोलनको एक निर्णायक शक्ति तत्कालिन नेकपा (माले )ले पनि उक्त संविधानमा २७ बूंदे असहमति प्रकट गरेको थियो Ι
नेपालमा कम्युनिस्टहरुको प्रमुख सहभागितामा निरङ्कुश राजतन्त्र कुनामा धकेलिएकै बेला विश्वमा कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खाएको थियो Ι तत्कालिन सोभियत संघ र पूर्वी युरोपको कम्युनिस्ट शासन ढलेको थियो Ι
विश्वमा कम्युनिस्ट आन्दोलनले खाएको धक्काका कारण पहिल्याएर तत्कालिन नेकपा (एमाले )का महासचिव मदन भण्डारीले प्रस्ताव गरेको र पाँचौं महाधिवेशनको अत्यधिक बहुमतले पारित गरेको कार्यक्रम ’जनताको बहुदलीय जनवाद’ का १४ विशेषतामा बहुलवादी खुल्ला समाज ’ लाई दोश्रो नम्बरमा राखिएको छ . त्यसको पेटबोलीमा भनिएको छ –“ प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरु अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ . यो स्वाभाविक र प्रकृतिसंगत कुरा हो . त्यसको उल्टो केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरु पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन . प्रत्येक व्यक्तिलाई सरकार ,राजनीतिक पार्टीहरु ,सामाजिक संस्थाहरु ,नेताहरु र अधिकारीहरुको बारेमा आफुलाई लागेका कुराहरु स्वतन्त्ररुपमा बोल्न दिनुपर्छ . मुलुकको संविधान र नियम कानुनको आधारमा प्रेस र पर्यटनको स्वतन्त्रता हुनुपर्छ . बाहिरी दुनियाँबाट अलगथलग , बन्द र एकोहोरो समाज हुनुहुदैन . कम्युनिस्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुल्लापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन . हामी बहुलवाद र खुला समाजको पक्षमा छौं . “
यतिमात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनबाट शिक्षा लिएर वहुदलियता ,मानवाधिकार , संविधानको सर्वोच्चता, कानूनी राज्यलगायतलाई स्वीकारेर चुनावी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर सत्तामा पुग्ने शान्तिपूर्ण प्रतिस्पर्धाको कार्यनीति नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख घटक तत्कालिन नेकपा (एमाले)ले तय गर्यो Ι तत्कालिन एमालेले आफुलाई एक शान्तिपूर्ण प्रतिस्पर्धामा विश्वास गर्ने र जनताको वैधानिक अभिमतद्वारा मात्र शासन गर्ने पार्टीको रुपमा आफुलाई स्थापित गर्यो ।
तर अर्कातिर २०४७ को संविधान निर्माणको प्रक्रियाबाटै बाहिरिएको नेपालको कम्युनिस्ट आन्दोलनको एक पक्षले चीनमा अभ्यास गरिएको दीर्घकालीन जनयुद्धमार्फत गाउँबाट सहर घेर्ने र सत्ता कब्जा गर्ने बाटो तय गर्यो Ι मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यक्रममा प्रयोग गरेकोको “बहुदलीयता” शब्दप्रति तीव्र घ्रिणा नै तत्कालीन माओवादी आन्दोलनको वैचारिक प्रस्थानविन्दु थियो ।
२०५१ जेठ १६–२०सम्म चितवनमा सम्पन्न तत्कालीन माओवादी पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा कमरेड प्रचण्डद्वारा प्रस्तुत एवं पारित राजनीतिक प्रतिवेदनमा जबज र एमालेप्रति गरिएको टिप्पणी यसको सबभन्दा दह्रो प्रमाण हो । त्यहाँ भनिएको छ–“हाम्रो पार्टीको महाधिवेशन भएदेखि एताको अढाईबर्षको अवधिमा एमाले संशोधनवादी गूट सैद्धान्तिक रुपमा र व्यवहारिक दुवै अर्थमा प्रतिक्रियावादीको स्तरमा गिर्दै गएको छ । यसले संसदीय व्यवस्थाप्रतिको आफ्नो विश्वासलाई बहुदलीय जनवादको पूँजीवादी राजनैतिक दिशा निश्चित गरेर घोषितरुपमा जाहेर गरेको छ । प्रतिक्रियावादी सरकार र व्यवस्थाको रक्षाको निम्ति त्यसले जानीबुझी जनतालाई धोका दिएको छ । विभिन्न साम्राज्यवादी,विस्तारवादी एवं प्रतिक्रियावादी गुटहरुसंगको दावेदारी र तालमेलद्वारा यही प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत सत्तामा पुग्ने दाउपेचमा यो गुट दिलोज्यानले लागिपरेको छ । सरकार बनाउने हौवा खडा गरेर यो गुटले कार्यकर्ता र जनतालाई भ्रम दिन पूरा कोशिस गरिरहेको छ । यसरी सिद्धान्त, राजनीति र व्यवहारिक आचरणको कुनै पनि हिसाबले एमाले गुटले अब निम्न पूँजीपतिबर्गको समेत प्रतिनिधित्व गर्न नसक्ने हुदै गएको छ । यो गुटको अब सामान्य देशभक्त र जनतान्त्रिक चरित्र पनि तीव्र गतिमा ह्रास भईरहेको छ । हामीले अगाडि एमाले संशोधनवादी गुटको यसप्रकारको चरित्रको व्यापक र व्यवस्थित भण्डाफोर गर्नुपर्दछ ।“
समयक्रममा सामन्तवाद र साम्राज्यवादविरोधी जनवादी राज्यसत्ता कायम गर्ने रणनीतिक लक्षमा नेपालका सबै कम्युनिस्टमा सहमति भए पनि कार्यनीतिक कार्यदिशामा उनीहरुवीच लामो समय गम्भीर मतभेद रहे । कहिले त ती मतभेदहरु दुस्मनी र आपसी मारकाटको तहमा समेत पुगे ।
मदन भण्डारीले जनताको बहुदलीय जनवादको व्याख्या गर्ने क्रममा जबज भनेको सामन्तवाद, साम्राज्यवाद विरोधी सत्ता हो भन्नुभएको थियो । करिब एक दशकको सशस्त्र द्वन्द्वपछि त्यही पदचिन्हलाई पछ्याउँदै माओवादी जनयुद्धका नायक प्रचण्डद्वारा अघि सारिएको एक्काइसौं शताब्दिको जनवाद नामक दस्तावेजमा “सामन्तवाद र साम्राज्यवाद विरोधी जनवादी राज्यसत्ताको संवैधानिक सीमाभित्र राजनैतिक प्रतिस्पर्धा संगठित गरी कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनु पर्दछ । यदि पार्टीले आफैंलाई क्रान्तिकारीकरण गर्न नसक्ने त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पुर्याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेमा मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढंगले रोक्न सकिनेछ । सामान्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनैतिक दल, संघसंस्था, जसले जनवादी राज्यसत्ताको संवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन् । उनीहरुको बीचमा कम्युनिष्ट पार्टीलाई सहयोग मात्र गर्नुपर्ने यान्त्रिक सम्बन्धमा होइन, जनताको सेवामा जनवादी राजनैतिक प्रतिस्पर्धा गर्ने द्वन्द्वात्मक सम्बन्धमा जोड दिइनुपर्दछ ।” भन्ने उल्लेख गरियो ।
बन्दुकबाटै सत्ता कब्जा गर्ने उध्येश्य राखेर युद्धमा होमिएको शक्तिले नै यसरी बहुदलीय राजनीतिक प्रतिस्पर्धा गर्न सकिने औपचारिक घोषणा गरेपछि नै कम्युनिस्ट शक्तिवीच सहमति र सहकार्यका ढोकाहरु खुले ।
अर्कातिर संवैधानिक राजतन्त्रलाई आफ्नो बटमलाइन अनाउदै आएको नेपाली कांग्रेस पनि सामन्तवादको नाइके राजतन्त्रलाई उच्छेद गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जान सहमत भएपछि बाह्रबूंदे सहमति, १९ दिने जन क्रान्ति, संविधानसभाको निर्वाचन र राजतन्त्रको निषेध भएको हो । राजा नभई हुदै नहुने नेपाली कांग्रेस र बहुलवाद र बहुदलियता स्वीकार्ने अवस्थामा नरहेको तत्कालिन माओवादीलाई एक ठाउँमा ल्याउन जनताको बहुदलीय जनवादी विचार शृंखलाले महत्वपुर्ण भूमिका खेलेको थियो । जनताको बहुदलीय जनवादका पक्षधर नेताहरुको नेतृत्वदायी भूमिका रह्यो ।
कम्युनिस्टहरुको बाहुल्य रहेको संविधानसभाले जारी गरेको संविधानकोको प्रस्तावनामा ’जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार , मानवाधिकार,बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहने’ उल्लेख छ ।
नेपालको सम्विधानको प्रस्तावनामा उल्लिखित विषय र जनताको बहुदलीय जनवादका विशेषताहरुसंग हुबहु मेल खान्छन् । अर्थात जबजले परिकल्पना गरेको जनवादी सत्ता प्राप्त भएको छ र लामो लोकतान्त्रिक प्रक्रियाबाट गुज्रदै प्रतिस्पर्धात्मक समाजवादमा पुग्ने बाटो समेत तय भएको छ ।
त्यसकारण नेपाली जनताको प्रत्यक्ष सहभागितामा बनेको नेपालको संविधानका बहुआयामिक पक्षमा चर्चा परिचर्चा हुदैगर्दा यसको पृष्ठभूमिका जनताको बहुदलीय जनवाद र यसका प्रणेता मदन भण्डारीलाई नसम्झीरहन सकिदैन ।
(नेता ,नेकपा )
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply