जोखिमकै बीच विद्यालय खुल्दै
काठमाडौं । कोभिड–१९ को जोखिम कायमै रहे पनि मंसिर लागेपछि अधिकांश स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्न थालेका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले स्वीकृति दिएसँगै गएको चैत ११ गते लकडाउन भएपछि बन्द भएका विद्यालयहरू सञ्चालनमा आउन लागेका हुन् ।
स्थानीय तहहरूले विद्यालय खोल्न तत्परता देखाए पनि मन्त्रालयले स्वीकृति दिएको थिएन । कोभिड–१९ को सन्दर्भमा मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा’ मन्त्रालयमै थन्किएर बसेको थियो । तर, सो कार्यढाँचा मन्त्रालयले कात्तिक २० गते स्वीकृत गरेसँगै स्थानीय तहहरूलाई विद्यालय सञ्चालनको ढोका खुलेको हो । कार्यढाँचा स्वीकृत भएसँगै मंसिरको पहिलो सातादेखि नै स्थानीय तहहरूले विद्यालय सञ्चालन सुरु गर्न लागेका हुन् । कात्तिक २० नै कार्यढाँचा स्वीकृत भए पनि बीचमा तिहार र छठजस्ता पर्व परेकाले मंसिरको पहिलो सातादेखि विद्यालय खोल्न तत्परता देखाइएको छ ।
मन्त्रालयद्वारा स्वीकृत कार्यढाँचामा कतिपय प्रावधान रहे पनि अधिकांश विद्यालयहरूले भने सो कार्यढाँचालाई नपछ्याई कक्षा सञ्चालन गर्न थालेको पनि पाइएको छ । कार्यढाँचामा ‘संक्रमणको जोखिम अवधिभर सामूहिक क्रियाकलापमा कम प्राथमिकता दिने, न्यूनतम भौतिक दूरी कायम गर्न नसक्ने अवस्थामा जस्तै प्रार्थना, समूह खेल आदि नगराउने, अवस्था हेरी रमाइला र सिर्जनात्मक जीवनोपयोगी क्रियाकलापहरू व्यक्तिगत रूपमा गर्ने, गराउने वा भौतिक दूरी कायम गरी नियमित रूपमा शारीरिक व्यायाम तथा योग अभ्यासहरू गर्ने’ लगायतका प्रावधानहरू उल्लेख छन् ।
कार्यढाँचामा विद्यालयमा प्रवेश गर्दा शिक्षक, कर्मचारी र विद्यार्थी सबैले अनिवार्य रूपमा ज्वरो नाप्नुपर्ने, मास्कको प्रयोग गर्नुपर्ने, हात धुनुपर्नेजस्ता व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै, स्वास्थ्य सामग्रीहरू पनि उपलब्ध हुनुपर्ने तोकिएको छ । कतिपय विद्यालयहरूले यस्ता व्यवस्थालाई पछ्याए पनि कतिपयले भने नपछ्याईकन पढाइ सञ्चालन गर्न थालेको बताइन्छ । यसले झन् जोखिम निम्त्याउने सम्भावना रहेको छ । कार्यढाँचामा उल्लेख भएअनुरूप स्वास्थ्य मापदण्ड नअनाएकै कारण केही दिनपूर्व डोल्पाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । ठूलो संख्याका विद्यार्थीहरूमा कोरोना संक्रमण देखिएपछि उनीहरूलाई छात्राबासमा आइसोलेसनमा राखिएको छ भने विद्यालय बन्द गरिएको छ ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply