रामचन्द्रको प्रस्तावले कांग्रेसमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका दुई वरिष्ठ नेतालाई प्रधानमन्त्री स्विकारेर जानुपर्ने अभिव्यक्ति दिएसँगै कांग्रेसभित्र नयाँ तरंग उब्जिएको छ । केही दिनअघि वरिष्ठ नेता पौडेलले जसपाका नेताद्वय डा. बाबुराम भट्टराई र महन्थ ठाकुरलाई प्रधानमन्त्री स्विकार्ने फराकिलो छाती कांग्रेसमा हुनुपर्ने कुरा बताएका थिए ।
पौडेलको भनाइ आएसँगै सभापति शेरबहादुर देउवा सशंकित बन्न पुगेका छन् । ‘सरकारको नेतृत्व गर्ने परिस्थिति अनुकूल नभएको’ भन्दै आएका सभापति देउवाले पछिल्लो समय भने सरकारको नेतृत्व गर्ने रुचि देखाउन थालेका थिए । सत्ता समीकरणका लागि जसपासँग एक चरण वार्तासमेत गरिसकेका थिए । तर, आफ्नै पार्टीका वरिष्ठ नेता पौडेलले देउवालाई सहज रूपमा स्वीकार्नुको साटो डा. भट्टराई र ठाकुरको नाम प्रस्तावित गरेपछि भने देउवा पक्ष झस्किन पुगेको हो ।
संसद् पुनस्र्थापना भएलगत्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तत्कालीन परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार गठन गर्नुपर्ने एक मात्र एजेन्डा रहेको हुँदा पनि देउवालाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरिएको थियो । तर, देउवाले सो प्रस्तावलाई सहज रूपमा स्विकारेका थिएनन् । तर, पछिल्लो समय भने सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक–फरक दलको हैसियतमा रहेपछि भने देउवाले नयाँ समीकरण बनाएर आफू प्रधानमन्त्री बन्ने प्रयत्न गरिरहेका थिए ।
सत्ता समीकरणको खेल सुरु भएसँगै जसपाका नेता ठाकुरको नाम पनि प्रधानमन्त्रीको रूपमा चर्चामा आएको थियो । जसपाभित्रको एउटा पंक्ति ओलीको विकल्प खोज्नमा ढिलाइ भइरहेको निष्कर्षमा पुगे पनि ठाकुरलगायतका नेताहरू भने ओली नेतृत्वको सरकारलाई नै समर्थन गरेर जाने वा नयाँ सरकार गठनका लागि पहल गर्ने भन्ने द्विविधामा देखिएका छन् ।
कांग्रेस सभापति देउवा आफूबाहेक अरूलाई प्रधानमन्त्री स्वीकार्ने मनस्थितिमा नरहेका हुँदा कांग्रेसले पनि नयाँ सत्ता समीकरणका लागि खुलेर पहल गरिरहेको छैन । देउवाले प्रस्ट रूपमा नयाँ सरकार गठन हुने भए कांग्रेसकै नेतृत्वमा हुनुपर्ने र अरू दलको पिछलग्गु भएर जान नहुने भन्दै आएका छन् । जसपा र माओवादी केन्द्रलाई मनाएर सरकारको नेतृत्व गर्ने दाउमा देउवा रहेका छन् । तर, कांग्रेसभित्र पौडेल पक्षधरहरू ओली सरकारलाई तत्काल विस्थापन गर्नुपर्ने अडानमा उभिए पनि देउवालाई प्रधानमन्त्रीका रूपमा सहज रूपमा स्विकारेर जाने पक्षमा देखिएको छैन । यद्यपि, संसद्को अंकगणितलाई हेर्दा ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्न जसपाको निर्णायक भूमिका रहने प्रस्टै छ । सरकार गठनमा जसपाको निर्णायक भूमिका रहेको हुँदा प्रधानमन्त्री ओलीले सो पार्टीका नेताहरूलाई फकाएर आफू सत्तामा टिकिरहन प्रयत्न जारी नराखेका होइनन् । तर, पछिल्लो समय ओली र जसपाका नेताहरूबीच वार्ता भए पनि जसपाका नेताहरू ओलीको बोलीप्रति विश्वस्त हुन सकेका छैनन् ।
सम्बन्धित समाचार
- अर्बपति सांसदले पनि छाडेनन् घरमर्मत खर्च
- क–कसले लेख्दैछन् प्रतिबद्धतापत्र ?
-
कोभिड महामारीकै बीच टेलिकमले कमायो ९ अर्ब ७४ करोड
-
कांग्रेसको दहीच्युरे पारा
-
कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा
- बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको वार्षिक साधारण सभा सम्पन्न
-
सेराबगरमा नेकपा दाहाल–नेपाल पक्षको भेला सम्पन्न
- पर्सा र सिरहामा चार सय थान कम्बल वितरण
-
सकारात्मक समाचार प्रवाह गर्ने विश्वास
- नेकपा शिवपुरीको आठै वडामा भेला सम्पन्न
- अप्रजातान्त्रिक कदमको सर्वत्र विरोध
-
मेगाले ल्यायो मेगा अभिभावक बचत खाता
Leave a Reply