आजदेखि दशैं शुरु, नवरात्रीको पहिलो दिन घटस्थापना गरिँदै
२१ असोज, काठमाडौं । नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ ।
घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।
कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।
घटस्थापनाको दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
Leave a Reply