प्रशासनका कर्मचारीलाई ‘चिची–पापा’
काठमाडौं । प्रशासन समूहका कर्मचारीहरू दरबन्दी बढाएर संघमै रहेपछि अरू समूहका कर्मचारीहरू आक्रोशित भएका छन् । अरू समूहका कर्मचारीहरूले आफूहरूलाई पनि संघमातहतमै राख्नुपर्ने कुरा जोडदार रूपले उठाउन थालेका छन् ।
सरकारले पर्सि फागुन ३ गतेसम्म कर्मचारी समायोजन सक्ने गरी कार्य अघि बढाए पनि अहिलेसम्म ५० प्रतिशत कर्मचारीको मात्रै समायोजन हुन सकेको छ । आधा कर्मचारीहरूको समायोजन हुन बाँकी नै रहेको हुँदा कर्मचारी समायोजन निर्धारित समयभन्दा अझ पर धकेलिने देखिएको छ । तर, अहिलेसम्म प्रशासनतिरका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरूको समायोजन सकिएको छ । प्रशासनतिरका प्रायः सबैजसो कर्मचारीहरूले दरबन्दी बढाएर संघमातहतमै रहेका छन् । प्रशासनतिरको ८८ जना शाखा अधिकृत मात्र स्थानीय र प्रदेशमातहत समायोजन भएका छन् । तर, उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र भने बुझिसकेका छैनन् ।
तर, प्राविधिकतर्फका उपसचिवहरूको भने अझै समायोजन हुन सकेको छैन । शिक्षा, स्वास्थ्य, लेखा, इन्जिनियरिङ समूहका उपसचिवहरू समायोजनमा पर्नै बाँकी छ । यी समूहका उपसचिवहरूको केही दिनभित्रै स्थानीय र प्रदेश तहमा समायोजन हुने बताइन्छ । प्रशासनतिरका सुब्बा र खरिदार तहका कर्मचारीहरूको भने समायोजन भइसकेको छ ।
स्वास्थ्य सेवाका कर्मचारीहरू भने समायोजनप्रति सन्तुष्ट देखिएका छैनन् । आफूलाई संघमातहतमा नराखी प्रदेश र स्थानीय तहमातहत समायोजन गरिएको भन्दै उनीहरूले केही दिनअघि स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका थिए । तर, धर्ना दिइरहेको बेला प्रहरीले हस्तक्षेप गरी धर्नास्थलबाट उठाएपछि उनीहरू झनै आक्रोशित बन्न पुगेको बताइन्छ ।
त्यसो त, कर्मचारी समायोजनका सबै काम सफ्टवेयरले गर्ने हल्ला मच्चाए पनि सफ्टवेयरले भनेजस्तो काम नगरेको बताइन्छ । ५० लाख रुपैयाँ खर्च गरेर जडान गरिएको सफ्टवेयरले समायोजनका सबै काम एक हप्ताभित्र सिध्याउने कुरा मन्त्री लालबाबु पण्डितलाई सचिव, सहसचिवहरूले बताएका थिए । तर, सफ्टवेयरले न त समायोजन नै भयो, न त एक हप्ताभित्र नै सबै काम सकियो । अहिले यही विषयलाई लिएर कर्मचारीहरूले आफूहरूलाई झुक्याउन सफ्टवेयरको हल्ला मच्चाइएको बताउन थालेका छन् ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply