भेरीमा कार्यकर्ताले माधव नेपाललाई भने– ‘पार्टी बचाउन तपाईं अध्यक्ष हुनुपर्छ’

भेरीमा कार्यकर्ताले माधव नेपाललाई भने–
‘पार्टी बचाउन तपाईं अध्यक्ष हुनुपर्छ’
सुर्खेत । ‘माधव नेपालले एमालेको अध्यक्ष भएर पनि थप पाउने केही होइन र उहाँले त्यति ठूलो रुचि पनि देखाउनुभएको छैन । तर, एमालेको भविष्यका लागि उहाँले यस पटक जिम्मेवारी लिनुपर्छ ।’
वीरेन्द्रनगरको जिल्ला विकास समितिको हलमा भेला भएका तीन सयभन्दा बढी कार्यकर्ताका बीचमा एमालेका केन्द्रीय कमिटीका वैकल्पिक सदस्य तथा सभासद् दलबहादुर सुनारले उक्त कुरा भन्दा कार्यकर्ताले तालीले अनुमोदन गरे । त्यस्तो धारणा राख्ने सुनार एक्ला थिएनन् । पूर्वकेन्द्रीय सदस्य तथा सल्लाहकार समिति सदस्य गोविन्द कोइरालाले कार्यकर्तालाई साक्षी राख्दै भने– ‘पार्टी कामको मेरो अहिलेसम्मको अनुभवले भन्छ– हाम्रो पार्टीको भविष्यका लागि माधव नेपालबाहेक अहिले अर्को विकल्प छैन ।’
कार्यक्रममा दैलेखका जिल्ला अध्यक्ष तथा सभासद् अमरबहादुर थापाले अहिलेको अवश्यकता पूरा गर्नका लागि माधव नेपालको नेतृत्व अनिवार्य भएको उल्लेख गर्दै त्यसका लागि पार्टी पंक्ति लाग्ने बताए भने जाजरकोटका उपाध्यक्ष कालु हमाल र सुर्खेतका सचिव गगन सुनारले पनि त्यस्तै धारणा राखेका थिए । दैलेखका पूर्वसभासद् राजबहादुर बुढा, पूर्वजिविस सभापति टेकबहादुर खाँड, सुर्खेतका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नन्दा शर्मा, वरिष्ठ अधिवक्ता भुषण मानन्धरलगायतले पनि धारणा राखेका थिए ।
सहिद ऋषि शर्मा स्मृति प्रतिष्ठानले एमालेको नवौं महाधिवेशनका सन्दर्भमा नेपाली समाजको विश्लेषण विषयमा आयोजना गरेको विचार गोष्ठीमा सहभागी हुन भेरी अञ्चलका पाँचै जिल्लाका अगुवा कार्यकर्ताहरू सुर्खेतमा जम्मा भएका थिए । शुक्रबार र शनिबार चलेको भेलालाई सम्बोधन गर्न शनिबार एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुग्नुभएको थियो । कार्यक्रममा डेढ घन्टा लामो मन्तव्य राख्ने क्रममा वरिष्ठ नेता नेपालले नेपाली समाजबाट सामान्तवादका केही अवशेष बाँकी रहे पनि मूल रूपमा समाप्त भएको चर्चा गर्दै पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारीका बारेमा भने मञ्चबाट केही बोल्नुभएन ।
कार्यक्रमलाई सम्बोधन गर्न काठमाडौंबाट पोलिटब्युरो सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, केन्द्रीय कमिटी सदस्य घनश्याम भुसाल, पूर्वकेन्द्रीय सदस्य त्रिलोचन ढकाल, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भीम केसी, गोविन्द बन्दी, निरज आचार्यलगायत सुर्खेत पुगेका थिए ।
कार्यक्रमपछि वरिष्ठ नेता नेपालले जिल्ला–जिल्लाका कार्यकर्तासँग अलग–अलग भेट गरी सुझाव पनि लिनुभएको थियो । पाँचै जिल्लाका कार्यकर्तासँग उहाँले महाधिवेशनका सन्दर्भमा छलफल गर्नुभएको थियो । सुर्खेतका नेता धु्रव शाहीले वरिष्ठ नेता नेपालप्रति कार्यकर्तामा आकर्षण रहेको उल्लेख गर्दै विचार, सक्रियता र समेट्न सक्ने व्यक्तित्व जस्ता कारणले नेपालको विकल्प नभएको बताए ।
संविधानसभाको निर्वाचनमा सुर्खेत–१ बाट उम्मेदवार रहेकै बेला ०६४ चैत २६ गते मैनतडामा कांग्रेस कार्यकर्ताको आक्रमणमा परी ज्यान गुमाउनुभएका एमाले सुर्खेतका प्रमुख ऋषिप्रसाद शर्माको स्मृतिमा घटनँस्थलमै बनेको प्रतीक्षालय पनि वरिष्ठ नेता नेपालले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा मैनतडा वरपरका स्थानीय बासिन्दाको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
बाँकेको कोहलपुरमा पनि वरिष्ठ नेता नेपालले कार्यकर्तासँग भेट गर्नुभएको थियो । बाँकेका पूर्वअध्यक्ष अशोक कोइराला, वर्तमान उपाध्यक्ष इन्द्रबहादुर थापा, सचिवालय सदस्य होमनाथ सापकोटा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य राधा महत, नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य, युवा संघका सचिवालय सदस्य दीपक जीएमलगायतले जिल्लाको अवस्थाका बारेमा जानकारी दिएका थिए ।
आइतबार नै वरिष्ठ नेता नेपालले एमालेको बर्दिया जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्नुभएको थियो । गुलरियास्थित पार्टी कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले समृद्ध एमाले बनाउने र त्यसमार्फत देशलाई समृद्ध बनाउने योजनाबारे चर्चा गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply