गोल्डेनगेटको सफलता
दुई महिनाअघि, महाभूकम्पले थिल्थिलो बनाएका देशका मध्य भूभागका किसानहरू यतिबेला रोपाइको चटारोमा छन् । महाभूकम्पले मन मस्तिष्कहरू खल्बल्याए पनि विस्तारै तंगिँ्रदै गरिरहेका किसानहरूलाई अहिले जसरी असारको चटारोले छोपेको छ, देशका शैक्षिक संस्थानहरूलाई पनि अहिले त्यस्तै चटारोले छोएको छ । कुनै बेला ‘फलामे ढोका’ मानिने प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू अहिले आफ्नो भविष्यको रूपरेखा कोर्ने दिशामा केन्द्रित छन् र उनीहरू राम्रा शैक्षिक संस्थानहरू रोज्ने र अध्ययनमा अब्बल देखाउने तयारीमा छन् ।
देशकै अग्रणी गोल्डेनगेट इन्टरनेसनल कलेजका अध्यक्ष एवम् कार्यकारी–निर्देशक रमेश सिलवालले अहिले आफ्नो व्यस्तताको मापन गर्न सकिरहेका छैनन् । कलेजमा अध्ययन गर्न आउने विद्यार्थी र अभिभावकहरूका जिज्ञासालाई शान्त पार्न उनी बिहान–बेलुकी नै क्रियाशील छन् । सिलवाल भन्छन्– ‘अहिले मैले अभिभावक र विद्यार्थीहरूका जिज्ञासा मेट्ने बेला हो । भर्ना हुनुअघि अभिभावकहरू आउँछन् र कलेजका विषयमा राम्ररी बुझ्न चाहन्छन् । ती अभिभावकहरूका जिज्ञासा शान्त पार्नु हाम्रो दायित्व हो ।’ आफूले चौबीसै घन्टा कलेजका निम्ति समय दिइरहेको बताउँदै सिलवालले भने– ‘यतिबेला जोकोही अभिभावक र विद्यार्थीले कलेजका बारेमा बुझ्न चाहन्छन् र आफ्नो क्षमताले भ्याउँछ कि भ्याउँदैन भन्ने बारेमा पनि उनीहरू सोच्छन् ।’
अरू कलेजहरूमा जस्तै गोल्डेनगेटमा पनि उच्च शिक्षा प्राप्त गर्ने लालसाले अहिले विद्यार्थीहरू ओइरिएका छन् र विद्यार्थीको चाप बाक्लो छ । संयोग पनि त्यस्तै पर्यो, यसपालिको एसएलसीमा प्रथम हुने दीक्षित पौडेलको रोजाइमा पनि गोल्डेनगेट नै पर्यो । एसएलसीमा ९४ प्रतिशत ल्याएका पौडेलले विज्ञान संकायको एकेडेमिक निर्देशक तथा सेयरधनीसमेत रहेका गोल्डेनगेटमा नै अध्ययन गर्न सहज ठाने । सिलवाल भन्छन्– ‘दीक्षितका अभिभावकले आफ्नै लगानी रहेको यही कलेजमा पढाउन चाहेका हुन् ।’ एसएलसीमा प्रथम भएका विद्यार्थीले रोजेको कलेजमा अरू विद्यार्थीहरुको आँखा पर्नु स्वाभाविकै हो र त्यही कारण गोल्डेनगेटमा यस पटक विद्यार्थीको चाप परेको हो ।
तर, अढाई दशकदेखि शैक्षिक क्षेत्रमा नै भिज्दै आएका सिलवाल भने कुनै पनि विद्यार्थी र अभिभावकले कलेज छान्नुअघि सिस्टम छान्नु जरुरी रहेको बताउँछन् । भन्छन्– ‘मैले खोलेकै कलेजमा पढ्नुपर्छ भन्ने छैन । तर, कुनै पनि अभिभावक र विद्यार्थीले कलेज छान्नुअघि उक्त कलेज कुन दृष्टिकोणले खोलिएको हो, त्यो हेर्नुपर्छ । किनकि, कुनै पनि शैक्षिक संस्था सफल हुनुमा त्यसले बोकेको दृष्टिकोण स्पष्ट हुनुपर्छ ।’ दृष्टिकोणका साथसाथै कुनै पनि कलेज कुन उद्देश्यले खोलिएको हो, त्यसलाई पनि पहिचान गर्नुपर्ने सिलवाल बताउँछन् । भन्छन्– ‘हामीले उद्देश्य त हेर्नैपर्छ । त्यसको साथै, शिक्षकहरूको गुणस्तरीयता कस्तो छ भन्नेबारे पनि बुझ्नु अनिवार्य छ ।’ यसबाहेक, कलेजको भौतिक संरचनाका साथै पुस्तकालय, खेलकुद, ल्याब के कस्ता छन्, ती पनि हेर्नु अनिवार्य रहेको सिलवाल बताउँछन् । उनी थप्छन्– ‘सबै पक्ष राम्रो हुँदाहुँदै पनि परिणाम राम्रो छैन भने त्यसले कुनै अर्थ राख्दैन । तसर्थ, हामीले परिणामलाई पनि हेर्नुपर्ने हुन्छ ।’
विद्यार्थीहरूलाई अध्ययनका साथै समाजप्रति प्रतिबद्ध र जिम्मेवार नागरिक बनाउने हेतुले आठ वर्षअघि स्थापना भएको गोल्डेनगेटमा अहिले ४५ सय विद्यार्थी अध्ययनरत छन् । ०६४ सालमा १ हजार ५ सय विद्यार्थीबाट प्रारम्भ भएको उक्त कलेजको प्रारम्भिक लगानी ५ करोड रहेको थियो । तर, अहिले भने ६० करोडको भौतिक संरचना पुगिसकेको छ । प्राध्यापन पेसामा आबद्ध ५० जना व्यक्तिहरूको लगानीमा खोलिएको गोल्डेनगेटमा अहिले शिक्षक र कर्मचारी गरी ६ सय ५० जना आबद्ध छन् । सिलवाल भन्छन्– ‘अहिले हाम्रो कलेजमा सत्तरी प्रतिशत शिक्षक पूर्णकालीन रूपमा कार्यरत छन् ।’
त्यसो त, आठ वर्षअघि कलेज स्थापना गर्दा एउटा लक्ष्य राखिएको थियो– एक दशकभित्रै विश्वविद्यालयमा स्तरोन्नति गर्ने । गोल्डेनगेट कलेज अहिले त्यही दिशातिर केन्द्रित छ । अध्यक्ष सिलवाल भन्छन्– ‘हामीले यो कलेज खोल्नुको मुख्य उद्देश्य नै यसलाई निजी क्षेत्रको भरपर्दो विश्वविद्यालय बनाउने रहेको थियो । हामीकहाँ त्रिभुवन विश्वविद्यालयबाहेक अरू विश्वविद्यालयहरूको गठन प्रक्रिया नै गतिलो भएन । काठमाडौं विश्वविद्यालयबाहेक अरूको अवस्था राम्रो छँदा पनि छैन ।’ बिजोग तरिकाले विश्वविद्यालय खोल्नुभन्दा नखोल्दा नै उत्तम हुने बताउँदै सिलवाल भन्छन्– ‘ऐन, कानुन र नियमले साथ दियो भने हामी एक दशकभित्र नै विश्वविद्यालय स्थापना गर्छौं । किनकि, एउटा विश्वविद्यालयका लागि आवश्यक पर्ने भौतिकलगायत अन्य पूर्वाधारहरू हामीसँग छ ।’
वि.सं.२०२२ सालमा धादिङको बेनिघाटमा जन्मिएका सिलवालले प्रारम्भिक शिक्षा भने गाउँकै चन्द्रोदय प्राथमिक विद्यालयबाट पूरा गरे । त्यसपछि उनले ६ देखि एसएलसीसम्म भने पाटन हाइस्कुलबाट पूरा गरे । त्रिचन्द्र कलेजबाट आईएस्सी र बीएस्सी गरेका उनले एमएस्सी भने कीर्तिपुरबाट गरेका हुन् । बीएल र बीएको पनि अध्ययन गरेका उनले सुरुदेखि नै शिक्षण पेसालाई नै रोजे । भन्छन्– ‘मेरो पहिलादेखिकै सोच शिक्षण पेसा गर्ने नै थियो । शिक्षण पेसामा नै आफूलाई खुसी हुने ठानेपछि मैले मास्टर्स सिध्याउनेबित्तिकै शिक्षण पेसा रोजेको हुँ ।’ आफू सुरुदेखि नै सरकारी सेवामा प्रवेश गर्न नचाहेको पनि उनले बताए । शिक्षणबाहेक खेलकुद र राजनीतिमा समेत रुचि राख्ने सिलवाल प्राय: गाडी चलाउँदा सार्थक गीत/संगीतमा पनि मन बहलाउँछन् । भन्छन्– ‘म प्राय: पुराना गीतहरू सुन्न रुचाउँछु । र, मौलिकपन भएका गीतहरूले मलाई आकर्षित गर्दछ ।’ उनी नारायणगोपाल, बच्चु कैलाश, नातिकाजी, रामकृष्ण ढकाल, बद्री पंगेनी, भगवान भण्डारी र पशुपति शर्माका गीतहरू सुनेर आनन्द लिन्छन् ।
५३ वटा शैक्षिक, गैरशैक्षिक र सामाजिक संघसंस्थाहरूमा आबद्ध सिलवाल एडभान्स इन्जिनियरिङ कलेजको अध्यक्ष, काठमाडौं भ्याली उच्च माविका उपाध्यक्ष र हिसानको उपाध्यक्षको जिम्मेवारीमा समेत छन् । यति धेरै संघसंस्थामा आबद्ध हुँदा समय चाहिँ मिलाइरहेका छन् त उनले ? भन्छन्–‘सबैको समय नियमित हुन्छ । तर, त्यसलाई व्यवस्थापन गर्न सकियो भने समय मिलाउन सकिन्छ । मैले पनि त्यसरी नै व्यवस्थापन गरिरहेको छु ।’
रमेश सिलवाल
अध्यक्ष तथा कार्यकारी निर्देशक
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply